तीन दिन भयो कुहिरोले पूरै छोपेको। सेतो खोल हालेको सिराकभित्र सुतेजस्तो भएको छ गाउँ। बाक्लो कुहिरोले १० मिटर परको मान्छे समेत नदेखिने। तल नाम्चेतिरबाट आएको कुहिरो कति दिन बस्छ, पत्तै छैन।
'कति दिनमा फाट्ला यो कुहिरो?'
आङमायाले दिएको चिया समाउँदै उसले अड्कल काट्यो। कुहिरोको घुम्टोभित्र हराउँदा दिक्क छ ऊ।
आङमायाले झ्याल खोली। बाहिरतिर पुलुक्क हेरी। फुसफुस हिउँ झरिरहेको देखी। भुइँमा हिउँको थाक बाक्लै बनिसकेको थियो।
'लु आज त हिउँ पनि बाक्लो झरेछ,' दोर्जीलाई सुनाई आङमायाले।
चियाको कप भुइँमा राख्यो, डाइनिङबाटै पुलुक्क बाहिर नियाल्यो दोर्जीले पनि।
'भोलिबाट मौसम खुल्छ जस्तो छ' दोर्जीले चिया सुट्ट पियो।
चिसो छ मौसम। तापक्रम माइनस हाराहारी। डाइनिङको तातोले कोठा चाहिँ न्यानो छ। सगरमाथाको आड हो, फोर्चे गाउँ। पर्यटकले सगरमाथाको फेदी पनि भन्छन्। उचाइ चार हजार हारहारी छ।
डाइनिङको आगो नबाली त बस्नै सकिन्न। टिनको भाँडो काटेर अँगेनो बनाएको छ। टिनभरि दाउरा हालेपछि डाइनिङ तातो बन्छ। न्यानो दिइरहन्छ।
डाइनिङमा दाउरा थप्दै बोल्यो दोर्जी, 'मौसम खुलेपछि त गेष्ट आउन थाल्छन्। सिजन पनि सुरु हुन लाग्यो अब त।'
'सिजन लागेर के गर्नु? यो पटक तिम्रो अफिसमा एक्सपिडिसन छैन,' आङमाया दोर्जीले काम नपाएकोमा चिन्तित थिई।
दोर्जी मौन बन्यो। डाइनिङको तातोमा एकोहोरो भयो।
'यसपालि तेन्जिङलाई काठमाडौँ लगेर पढाउनु पर्ने। पेम्बाको ६ वर्षकी छोरी त लाने रे। तेन्जिङ त ७ वर्ष भइसकी,' आङमाया गुनासो गर्न थाली, 'छोरो भए पो नपढे पनि हिमाल चढेर खाला भन्नु। छोरीलाई त हिमाल चढ्न पनि गाह्रो हुन्छ। दुई/चार कक्षा पढाइदिन पाए त एउटा राम्रो केटो पाइहाल्थी कि।'
'हिमाल चढ्नेलाई त दिनु हुँदैन्,' मौन दोर्जीले मुख खोल्यो, 'दुखाए पेसा हो यो। कामको निश्चित हुँदैन। काम पाए ज्यानको निश्चित हुँदैन।'
दोर्जीले अनुहार अँध्यारो बनायो। सिजन लाग्यो कि दोर्जीलाई कामकै चिन्ता हुन्छ। यसपालि अझ बढी चिन्तित छ दोर्जी। बितेका वर्षमा पुस महिनातिरै सगरमाथा एक्सपिडिसनको टुंगो हुन्थ्यो। माघ महिना सकिन लाग्यो। कामको टुंगो भएको छैन। चिन्ताले उकुसमुकुस छ दोर्जी।
अनुभव पनि छ दोर्जीसँग। एघार पटक त सगरमाथा चढिसक्यो। अरु हिमाल र पिकहरू पनि थुप्रै चढेको छ। वर्षमा एक पटक सगरमाथा चढ्छ। ग्रुप राम्रो हुँदा झन्डै १० लाख कमाइ हुन्छ। यही कमाइले गुजारा चल्छ वर्षभरि।
दुई जनाबाट चार जना भएको छ दोर्जीको परिवार। ७ वर्षकी तेन्जिङ र ४ वर्षकी पेमालाई पढाउने दिन आयो। खर्च बढ्दैछ। छोराको बाउ हुन पनि रहर लागेको दोर्जीलाई। आङमायाले पनि त छोराकी आमा हुने रहर गरेकी छे।
लभ म्यारिज हो आङमाया र दोर्जीको। सगरमाथा चढेर फर्किँदै थियो दोर्जी। मौसम बिग्रिएर तीन दिन लुक्लामा हवाईजहाज उडेन। दोर्जी सफा मौसमको पर्खाइमा थियो। काठमाडौँ उड्नको लागि हवाईजहाज कुरिरहेकी थिई आङमाया पनि। मौसमले भेट गरायो दोर्जी र आङमायाको।
पहिलो यात्रा पटक काठमाडौँ आएकी थिई आङमाया। लुक्लाको हवाईजहाज कच्ची सडकमा लोकल बसको यात्राजस्तै हुन्छ। कोल्टाको कोल्टाई गर्ने। तल र माथि गरिरहने। थर्रर डराएकी थिई आङमाया।
दोर्जी भने यात्रा गरिरहेको मान्छे। 'लुक्लाको फ्लाइट यस्तै हो' आङमायाको डर भगाउने प्रयास गर्यो।
आङमाया काप्दा च्याप्प समाउँथ्यो दोर्जी। नडराउको संकेत गर्दथ्यो। केही हुन दिन्न भनेर मन शान्त बनाउथ्यो। त्यही बेला त हो नि दोर्जीले आङमायाको मन चोरेको। काठमाडौँ आएपछि भेटघाट बढ्यो। मायाको जालो बनाए आङमाया दोर्जीले।
'तिमीलाई पहिलो बच्चा के भइदिए हुन्थ्यो?' एकान्तमा हुँदा आङमाया दोर्जीसँग माया साट्थी।
दोर्जी छोराभन्दा आङमाया ठुस्स पर्थी। फेरि दोर्जी आङमायालाई फुलाउन छोरी भन्थ्यो।
'छोरीछोरी भए भने?,' दोर्जी निराश हुन्थ्यो।
'छोरा न छोरी उस्तै त हो। दुई सन्तान ईश्वरका बरदान,' आङमाया छोरी भए पनि खुसी हुने कुरा गर्दथी।
बिहेअघि मात्रै रहेछ त्यस्ता कुरा त। तेन्जिङ जन्मिँदा खुसी नै थिई आङमाया। पेमा जन्मेपछि भने छोराको रहर गर्न थाली आङमाया।
छोरीहरूलाई काठमाडौँ पढाउने। त्यहीबेला स्वास्थ्य जाँच गरेर छोरा जन्माउने योजना बनाउन थालेकी थिई आङमाया।
दोर्जी आङमायाको सपना कसरी पूरा गर्नेमा चिन्ता थियो। लभ गर्दा भनेको थियो, 'तिम्रा हरेक सपनामा साथ दिन्छु, तिमीलाई कहिल्यै एक्लै पार्दिनँ म।'
प्रतिवद्धता एकतिर थिए, गुजरा कसरी चलाउने अर्को समस्या थियो दोर्जीको अगाडि। 'यस पटक एक्सपिडिसन भएन भने कसरी गुजरा चलाउने होला?' यो प्रश्न बारम्बार गुञ्जिरहन्छ दोर्जीको कानमा। रातभरि निन्द्रा पनि पर्दैन दोर्जीलाई। चिन्ता कामको छ। छटपटाउँदा कति बेला निदायो पत्तै भएन दोर्जीलाई।
'बुढा आज मैले खुब नराम्रा सपना देखेँ, कस्तो डर लाग्यो!' आङमायाको आवाजले ब्युँझायो दोर्जीलाई। आङमाया दोर्जीलाई ओछ्यान चिया पुर्याउन गएकी थिई।
'यो पटक एक्सपिडिसन त जानु छैन, छोरीहरूलाई पो सञ्चो नहुने हो कि,' आङमायाको शंका छोरीतिर गयो।
'सपनादेखि पनि डराउँछन्! हामी हिमालमा कस्तो-कस्तो जोखिममा त डराउँदैनौँ,' दोर्जीले आङमायालाई सम्झायो, 'युद्ध मैदान र हिमाल उस्ता उस्तै हो, कतिबेला ज्यान जान्छ थाहा हुँदैन।'
यो कुरा सुनेपछि आङमायाले, 'तिमीहरू त बानी परिसक्यौ नि' भनी।
'बानीले मात्रै पनि हुँदैन। हिम सम्राट भनेर चिनिएका बाबुछिरी शेर्पा त दशौँ पटक सगरमाथा चढ्ने क्रममा खरपसमा परेर मरे क्याम्प टुमा।'
दोर्जी श्रीमतीसँग हिमालमा हुने दुखःको कुरा कहिल्यै सुनाउँदैन थियो। हिमाल चढेर आउँदा जहिल्यै यो पटक पनि सजिलो भयो भन्थ्यो। तर, यसपटक भने केही कुराहरू खोल्यो उसले। कारण यसपटक एक्सपिडिसन फिक्स भएको थिएन दोर्जीको।
छ दिनपछि बल्ल हिमाल देखिए। पूरै सेताम्मे भएछन् हिउँले। हिउँ त दोर्जीको घर वरपर पनि सेताम्मे थियो। चिसोले बाहिर निस्की सक्नु थिएन। बिहानदेखि बेलुकासम्मै डाइनिङ तापेर दिन बित्थ्यो उनीहरूको।
धेरै दिनपछि मोबाइल बज्यो दोर्जीको। आङमायाले डाइनिङबाट जुरुक्क उठेर ल्याई। दोर्जीले मोबाइल समात्यो। यसो नम्बर हेर्यो। ओठमा अलिकति खुसी छायो।
'हेलो, टाँसिदेले।'
'ठिक छ।'
'तयारी छु।'
'हुन्छ।'
दोर्जीले फोन राख्यो।
'कसले गरेको रछ बुढा?' श्रीमानको ओठमा देखिएको हाँसोको जान्न खोजी आङमायाले।
'अफिसबाट रहेछ। एक्सपिडिसन ग्रुप आउने निश्चित भयो रे पाँच जनाको। अमेरिकन हो रे ग्रुप पनि। यताको सबै म्यानेज मैले नै गर्नपर्ने रे।'
दोर्जीको कुराले आङमाया पनि अलिकति खुसी भई। तर, किन-किन सधैँको जस्तो भने मन खुलास्त हुन सकेन। त्यसैले त न खुसी मनाउन सकी न नजाऊ भन्न नै।
ग्रुप लुक्ला आयो। दोर्जी लुक्लासम्मै लिन आयो ग्रुपलाई। एक दिन फाप्दिङ बस्यो। अर्को दिन नाम्चे। नाम्चेमा अर्को दिन पनि बस्यो। एक हजार मिटरमाथि उक्लेपछि उचाइमा घुलमिल हुन बस्नुपर्छ भनिन्छ। ग्रुपलाई उचाइमा घुलमिल गराउन त्यहाँ राख्यो।
त्यसपछि त्याङबोचे पुगे उनीहरू। त्याङबोचेबाट भने दोर्जीको घर नजिकै पर्छ फोर्चे गाउँ। कसेर हिँड्दा एक घण्टाको पैदल दूरी। त्याङबोचेको होटल हिमालयनमा ग्रुपलाई राखेर दोर्जी भने बस्न आफ्नै घर आयो।
रातभरि श्रीमतीसँग निकै गनथन गर्यो, 'यसपालिको ग्रुप सदाको भन्दा राम्रो छ। टिप्स पनि राम्रै देलान्। कम्पनीले पनि राम्रै तलब दिउँला भनेको छ। यसपालि चाहिँ तेन्जिङलाई जसरी पनि पढाउन पठाउनु पर्छ काठमाडौँ।'
गनथनकै क्रममा दोर्जीले योजना बनायो, 'घर पनि त मर्मत गर्नपर्ने भएको छ। छोरीलाई पढाउन लैजाने बेलामा हामी पनि काठमाडौँ गएर बौद्धनाथ र स्वयम्भुनाथको दर्शन गरेर आउनुपर्छ। तिम्रो स्वास्थ्यको जाँच पनि त गर्नछ।'
आङमाया भने यसपटक दोर्जीको कुरा मात्र सुनिरही। केही भन्नै मन लागेन आङमायालाई। 'चाँडै उज्यालो नहोस्,' आङमाया मनमनै प्रार्थना गरिरहेकी थिई भगवानसँग।
उज्यालो भयो। दोर्जीले लुगाफाटा झोलामा प्याक गर्यो। स्लिपिङ ब्याग पनि हाल्यो। आङमायाले बनाएका सातु हाल्यो। आइस एक्स भने हातमै बोक्ने भयो उसले।
'त्याङबोचेसम्म म पनि जान्छु, तिम्रो खैरे हेरेर फर्किन्छु,' आङमायाले रहर गरी।
'हामी पनि जाने पापासँग,' तेन्जिङ र पेमा पनि तयार भए।
'तिमीहरू यहीँ बस, फर्किँदा मिठाई ल्याइदिउँला,' आङमायाले जति फकाउँदा पनि मानेनन्।
'तिमी जानु पर्दैन, समिट गरेर फर्किँदा भेट्नु खैरेलाई।'
छोरीहरू नमानेपछि आङमाया नजाने भई।
'छोरीहरूलाई गाली नगर्नू,' दोर्जीले सम्झायो हिँड्ने बेलामा।
पालैपालो छोरीहरूलाई बोक्यो दोर्जीले। दुवैतिरको गालामा म्वाइँ खायो। छोरीहरूलाई पनि त उसैगरी म्वाइँ खुवाउन लगायो। आङमायालाई पनि झ्याम्म अंगालो मारयो दोर्जीले। निकैबेर न्यानो महसुस भयो। गालामा चप्पचप्प किस खायो। आङमाया लजाई थोरै।
एउटा खादा लगाइदिई आङमायाले। सगुन ल्याएर खुवाई। म्वाइँ खाई गालामा। गर्लम्म आँगालो हाली। आङमाया प्रेमिल सुगन्धमा डुबी।
'राम्रोसँग समिट गरेर छिटै आउनु है,' आँखाभरि आँसु पारी आङमायाले।
दोर्जी झोला र हातमा आइस एक्स बोक्यो।
'पापा, छिटै आउनु है,' कान्छी छोरी लाक्पाले बाई गरी।
पिलिक्क नियालेर त्याङबोचेतिर पाइला बढायो दोर्जीले। त्याङबोचेमा ग्रुपले दोर्जीलाई कुरिरहेका थिए।
'दोर्जी, वेलकम ब्याक। हाउ इज योर फेम्ली,' त्याङबोचेमा कुरिरहेका गेष्टले सोध्यो।
'अ या, गुड,' दोर्जीलाई राम्रोसँग अंग्रेजी आउँदैन। ब्रोकन अंग्रेजी बोलेर काम चलाउँछ। सगरमाथा चढेर फर्कने विदेशीलाई 'किप इन टच' भन्छन् दोर्जीलाई। अंग्रेजी राम्रो नभएपछि ऊ विदेशीसँग नजिक हुन सकेको छैन।
आफूलाई अंग्रेजी नआएकाले नै छोरीलाई काठमाडौँ ल्याएर पढाउने सोच छ दोर्जीको। त्यसपछि चाहिँ विदेशीसँग नजिक हुने सपना देखेको छ।
त्याङबोचेबाट दिङबोचेतिर लागे उनीहरू। दिङबोचे पुग्ने बाटोमा भने कतै उकालो छैन। तेर्सो-तेर्सो बाटो छ। करिब पाँच घण्टा हिँड्दै पुगिन्छ तेङबोचे।
'टुडे वाक, इजी वे,' दोर्जी आफ्नो पाहुनालाई बताउँथ्यो।
'टुमरो, वि वाक डिफक्लट वे, स्टेप एण्ड स्टेप,' दोर्जी गेष्टलाई भन्थ्यो, 'वी आर गोइङ टु समिट माउन्ट एभरेष्ट।'
दिङबोचेबाट लोबुचेको हुन्छ अर्को दिनको यात्रा। लोबुचे पुग्न दिङबोचबाट ठाडै उकालो बाटो छ। त्यहाँदेखि माथि बोट बिरुवा पनि पाउँदैन।
अर्को दिन गोरक्षमा पुर्याउँछ दोर्जीले ग्रुपलाई। त्यसपछि अर्को दिन बेस क्याम्प।
'म बेस क्याम्प पुगेँ, छोरीहरूलाई कस्तो छ?' दोर्जी विदेशीको साथमा छ। मन घरमा रहेका छोरीहरू माथि। श्रीमतीको पनि कम्ता याद आउँदैन उसलाई।
१० वर्षअघि बिहे गरेको हो दोर्जीले। दुम्जी पर्वमा जाँदा नाम्चेबाट भगाएर काठमाडौँ ल्याएको। छोरी जन्मेपछि आङमायालाई गर्ने माया छोरीतिर सारेको छ दोर्जीले।
'मेरा र छोरीहरूको चिन्ता धेरै नलिनू, आफ्नो काममा ध्यान दिनू,' आङमायाको बोलीले दोर्जी मुसुक्क हाँस्यो।
बेसक्याम्प पुगेको थियो दोर्जी। बेसक्याम्पमा गेष्ट मिलाउने जिम्मा सबै उसको छ। तम्बु गाडेर सामान राख्नुछ।
आरोहण थाल्नुअघि पूजा गर्नपर्छ बेस क्याम्पमा। पूजा सामग्री जतनसाथ राख्छ पहिला।
आङमायाले पनि त पूजा राम्रोसँग गर्नु भनेर अह्राएकी छ दोर्जीलाई। 'सपना नराम्रो देखेकी छु, पूजा राम्रोसँग गर्नु है योपालि,' आङमायाले भनेकी थिई।
दोर्जीले पनि त त्याङबोचेका रिम्पोछेलाई जोखना हेराएको थियो, 'यो साल नराम्रो छ, ख्याल गर्नू।'
'पूजा राम्रोसँग गरेपछि केही हुन्न,' दोर्जी भगवानसँग विश्वास गर्दछ। भरोसा छ सगरमाथा देवीसँग दोर्जीको।
पूजापछि क्याम्प फिट गर्न पर्दछ। विदेशीलाई तलमाथि गराएर मौसममा घुलमिल गराउनुपर्छ। सगरमाथाको बाटो हिँडाउन सिकाउनु पर्छ।
क्याम्प वान र क्याम्प टु सेट गरिसकेको थियो दोर्जीको टिमले। क्याम्प थ्री फिट गर्न जानु थियो। त्यो दिन विदेशीलाई आराम गर्न लगायो। दोर्जीले आफ्नो टिम लिएर क्याम्प थ्रीमा जाने तयारी गर्यो।
'भोलि बिहानै क्याम्प थ्री जाँदैछु,' दोर्जीले आङमायालाई फोन गरेर भन्यो, 'दुई दिन मेरो फोन लाग्दैन।'
दोर्जी बेलुका भएपछि दैनिक फोन गर्दथ्यो। आङमाया र छोरीसँग कुरा गर्दथ्यो। मन छोरीमाथि थियो। निदाउँदा पनि उसले छोरीहरू देख्यो। ब्युँझिँदा सपना थियो त्यो।
पेमा झसंग भई। हातखुट्टा फाँकी। 'के भयो पेमा?' आङमाया ब्युँझिई। जीउ भारी भएको थियो आङमायाको।
'कस्तो आलस्य भयो आज?' आङमाया एक्लै बोली। घडीमा ८ बजिसकेको थियो। बिहानै काम केही हुँदैन। आङमाया ढिलै ब्युँझिन्छे।
'हाम्रो पापा कहिले आउने रे?' तेन्जिङले बुबालाई सम्झी। आङमाया केही बोलिन।
दोर्जीले दावालाई टिभी ल्यादिन भनेको थियो। दावा तीन दिनअघि काठमाडौँबाट आयो। अघिल्लो दिन मात्रै दावाले टिभी ल्याएर फिट गरेको छ।
'साँची तेरो बाबालाई टिभी ल्याएको कुरा भन्ने भुलेछौँ हिजो,' तेन्जिङ र पेमासँग कुरा गरी आङमायाले।
तेन्जिङ टिभी खोलेर हेर्न थाली।
'टिभीमा त हाम्रोजस्तै हिमाल देखाउँदो रहेछ,' आङमाया पनि तेन्जिङसँग टिभी हेर्न थाली।
'सगरमाथामा हिमपहिरो, अमेरिकन ग्रुपका टिम लिडर दोर्जी शेर्पासहित ११ जना हिमपहिरोमा पुरिए' समाचार टिभीमा बजिरह्यो। आङमाया टिभी हेर्दाहेर्दै ढली।
घडीमा रातको तीन बजेको हुँदो हो। दोर्जी टिमलाई लिएर क्याम्पतिर लाग्यो। खुम्बुआइसफलको बाटो खतरनाक छ। घाम लाग्दा हिउँ खस्छ भनेर बिहानको राति हिँड्नु पर्छ। घडीमा पाँच बजेको थियो होला। दोर्जीको टिम खुम्बु आइसफल पार गर्न लागेको थियो। ठूलो आवाज आयो ड्वाङ-ड्वाङको।
'के हो?' दोर्जीले माथितिर हेर्यो।
हिमपहिरो आइरहेको देख्यो। भाग्ने ठाउँ कतै थिएन। 'सबै जना एकै ठाउँमा बसौँ, हामी नबाँचे पनि लास खोज्दा एकै ठाउँमा भेटिन्छ।' दोर्जीले अन्तिम शब्द बोल्यो। १२ जना एकै ठाउँ जम्मा भए। दावा जीवित रह्यो। एघार जनाको लास एकै ठाउँमा भयो।
आङमायाले थाहा पाई। बेहोस भई आङमाया। तेन्जिङ र पेमाले बोलाए। आङमाया बोल्न छोडेपछि रोए। गाउँलेले थाहा पाएर आउँदा आङमाया चिसी भइसकेकी थिई। दोर्जीलाई सगरमाथाको हिउँले चिसो बनाएको थियो। आङमायालाई चाहिँ दोर्जीको सम्झनाले।