वैशाख जेठको त्यो चर्को घाम। गोठालाहरू गर्मी भयो भनेर खहरेखोला तिर एक डुबुल्की लगाउँदै मनलाई शान्त गर्थे। म पनि शीतल खोज्दै रुखको छाहारीमुनि बसेर निजामती तर्फको तयारीमा जुटिरहेको थिएँ। त्यसै बीचमा जोडिएकी थिइन् रचना।
फेसबुकमा एक नोटिफिकेसन आयो। हेरेँ म्यासेज रिक्वेस्ट रहे। छ लेखिएको थियो- 'सर तपाईंसँग जिके आइक्यूको पिडिएफ छ?'
मैले छ भनेँ।
'कति पर्छ?'
'पैसा पर्दैन तपाईंजस्तो मेहनतीलाई। भएको कुरा सेयर गर्नुपर्छ,' मैले जवाफ फर्काएको थिएँ।
त्यसपछि म आफैले कुरा सुरु गरेको थिएँ, घर कता हो? के गर्नुहुन्छ?
उत्तर एक मिनेटमै आयो- 'मेरो घर १ नम्बर प्रदेश हो। ब्याचलर सक्काएँ। तपाईं के गर्नु हुन्छ?'
उनको उत्तरमा मैले भनेँ, 'म त गोठालो हुँ, भैँसी चराउँछु।'
'ए राम्रो गर्नु हुँदो रहेछ।'
संवाद टुङ्गियो।
तीन दिनपछि फेरि म्यासेज गरेँ- 'हेलो मिस, सन्चै हुनुहुन्छ?'
'ठिक छु, तिम्रो के छ?'
'मलाई तिमी भन्ने!' रिसाएको इमोजी पठाएको थिएँ।
'उम् तिमी त भन्छु, भाइ परेछौ कान्छो जो रैछौ।'
'लौ तपाईंसित बोल्दिनँ है,' म रिसाएझैँ गरेर मुख बटारेको इमोजी पठाएँ।
'ल, उसो भए साथी भन्छु नि त, घर कता हो साथीको?' उताबाट प्रश्न आयो।
'घर डडेल्धुरा हो।'
'देउवाको जिल्ला!'
'जिल्ला मात्रै हैन, गाउँपालिका पनि एउटै' मैले मुस्कान सहितको इमोजी पठाएF।
'ए, ल ल धन्यवाद है!'
'हवस्।'
यस्तै संवाद चलिरह्यो महिनौ। साउन ८ गते मेरो जन्मदिन। जन्मदिनको 'शुभकामना है जनक' भन्दै म्यासेज आयो। धन्यावाद भनेँ।
उसले 'एउटा प्रश्न सोधुँ' भनी।
मैले सोध्नुहोस् न भनेँ।
'तपाईंको व्यवहार, तपाईंको सोच, तपाईंको इमान्दारीता मन पर्यो। आहा! मैले त ढुंङ्गा खोज्दा देउता नै भेट्टाएझैँ लाग्यो।'
मैले पनि उत्तर दिएँ, 'तपाईंको तारिफको लागि धन्यवाद है।'
'म तपाईंलाई मन पराउँछु' डराउँदै भनेँ।
उताबाट हाँसेको इमोजीसहित म्यासेज आयो, 'लब यु टू।'
पहिलो भिडिओ कल म सम्झिन्छु साउनको ९ गते। आहा! १२ बजेसम्म कहिले भिडिओ कल कहिले अडियो। निक नेममा मैले रचु उसले मेरो नाम 'जुन्कु' राखेका थियौँ।
लगातारको संवाद यतिसम्म भइसकेको थियो जिन्दगीका रङ्गिन सपनाको संसारमा हामी लिन भइसकेका थियौँ कि अबका हरेक निर्णयमा हाम्रो लक्ष्यसँग जोडिएको हुन्थ्यो। कहिले पिएचडीको कुरा आउथ्यो, कहिले नेता बन्ने मेरो चाहनाको। उनको एक्यवद्धता सधैँ हुन्थ्यो।
सम्बन्धमा बसेको करिब २ वर्षपछि हामी काठमाडौँमा भेट्ने निर्णयमा पुग्यौँ। डडेल्धुराबाट हिँडेको बाटोमा दशौँ पटक उनले कल गरेर 'कता पुग्नुभयो? म त यहाँबाट हिँडिसकेँ' भनेर कल गरिरहिन्।
मभन्दा केही घण्टा अगाडि उनी पुगिसकेकी थिइन्। म थानकोटको जाममा थिएँ उनी गन्तव्यमा पुगिसकेको रहेछिन्। केही समय कुराएर त्यतै बस्नु भेट्नु पर्छ भनेर उनलाई भनेँ। मलाई उमंग थियो, आज २ वर्षको उनलाई भेट्ने हुटहुटी शान्त गर्नुछ।
उनले जाने ठाउँ त्यही सातदोबाटो नजिक, म पनि त्यहाँबाट ग्वार्को साथीमा जाने। दुवै त्यही रोकिने निर्णय फोनबाटै मैले गरेँ। म ठिक सातदोबाटो प्रहरी बिट नजिक पुगेर फोन गरेँ, 'कता हो तपाईं?'
म अक्सर उसलाई तपाईं नै भन्थेँ।
'ठिक अगाडि, फर्कनुहोस् त' उसले देखिछ क्यारे। कस्सेर अङ्गालो हाल्ने मन थियो तर खै के कुराले रोक्यो, हात मिलायौँ। पूर्वको कोसेली उनले मलाई थमाइदिइन्। 'म जान्छु दिदीहरू पर्खाइमा हुनुहुन्छ' भनिन्।
'हस् जानुस्।'
'भोलि भेट्नु पर्छ,' उनको त्यो बोलीले सान्त्वना दियो।
म साथीको कोठा ललितपुरको ग्वार्को पुगेँ। २४ घन्टाको यात्राले म लखतरान भएको हुनाले मैले उनलाई एक म्यासेज गर्न सकिनँ। रातभरि मिठो निन्द्रा परेछ क्यारे बिहान छिट्टै निन्द्रा खुल्यो। फोन लगाएँ, आज पशुपतिनाथ जानु पर्छ है।'
उनको आवाज आयो, '५ बज्यो, कहाँ अहिले जाने भनेको?'
ओहो! मैले त भुलेछु क्यार। दिनभरि सँगै घुम्ने उमंगले समय समेत नहेरी फोन लगाएछु। उनले 'मसँग बहिनी पनि आउँदै छिन सुजिता, तिनै जना जाउँला है पशुपतिनाथ' भनिन्।
उनको दिदीको छोरी रहेछिन् सुजिता। एकदम मिलनसार रैछिन् उनी पजि।
उनले सुनाइछन् हाम्रो बारेमा सुजितालाई। सुजिताको परीक्षा भएका कारण धेरै भेट भएन।
अर्को पटक पाथिभरा जाने कसम साथ घुमेर दोस्रो दिन हामी छुट्टियौँ। लाग्यौँ आफ्नो घरतिर।
करिब छ महिनासम्म उनको प्रेममा केही मिसावट थिएन। सायद त्यो भेटले प्रेमलाई झन् मूर्त रुप दिएको थियो कि। त्यसपश्चातका दिनहरूमा उनले पहिलाजस्तै वास्ता गर्न छोडिन्। अब उनका लागि मेरा सपनाहरू कुँहिएको चिजजस्तै थियो।
उनलाइ खुसी चाहिएको थियो। अब उनलाई हैसियत र औकात प्रिय लाग्दै थियो जो मैले कमाउन धेरै समय पर्खिनु पर्थ्यो। सायद माघको पाँच गते उनले म्यासेज छोडेकी थिइन्- 'जनक हामी अब यही छुट्टिनु पर्छ। मेरो बिहे हुँदैछ। माया गरेका थियौ भने मायाको कसम, अब मलाई छोडिदेऊ।'