चुनाव आउँछ
विकास, समृद्धिको
बहार नै ल्याउँछ!
चुनाव आउँछ
सुन्दर सपनाको
विगुल फुक्छ
क्षणभर मै पूरा हुन्छ!
चुनाव आउँछ
शताब्दीकै उच्च चेतना
सभ्य र शिक्षित
समाज बनाउँछ!
चुनाव आउँछ
गाउँमा उन्नत
लोकतन्त्र, गणतन्त्र आउँछ
सुशासन पनि आउँछ!
चुनाव आउँछ
कहाँ बेरोजगारी छ भन्छ
गरिबी कहाँ छ भन्छ
समाज परिवर्तन गरेको छु भन्छ!
चुनाव आउँछ
नेता आउँछ
इतिहास भट्याउँछ
जयजयकार गर्छ
बाटो, पुल, ढल
स्कुल, पाठशाला, अस्पताल
घर-घरमा पानी, बिजुली आउँछ
सबै-सबै आउँछ!
चुनाव आउँछ
गाउँमा चुलोचौको
बल्छ
भकारीभरि अन्न पातले
भरिन्छ
सबैको दैनिकी फेरिन्छ!
चुनाव आउँछ
माइक तेर्याउँछ
मेट्रो र मोनोरेल चलाउँछ
बेकामी जनतालाई
कामीयाबी बनाउँछ!
चुनाव आउँछ
सुन्दर सपनाको महल बन्छ
नैतिकता इमान
जमानलाई चुस्त पार्छ
र त चुनाव आउँछ!
चुनाव आउँछ
सोध्न मन छ
सदैव चुनाउ आउनु है!
मेरो गाउँ-सहरमा
समाजको यसरी नै
उन्नति गर्नु छ
समृद्धिको यात्रा तय गर्नु छ
त्यसैले त
चुनावमा भाग लिन मन छ!