तन्त्रहरूका कपालमा नि टुँसारो लागेछ
तर मन्त्र जप्नेहरू उही पुरानै साँढे
विकासले त बामे सर्न नि बिर्सेछ
तर झुटा सपनाहरू हर्लक्कै बढे
पसिनाको मोल त पसिनालाई थाहा होला
ती बगाउनेको मोल अरु कसैले गरे
रातदिन गरेर दैनिकी धानिने ठाउँमा
कुनै पदलाई कसैले करोडौँ तिरे
गुण्डा पालेर कानुन बनाउने देशमा
अपराध बढ्नु स्वभाविक हो
जनताभन्दा चम्चे धेरै भएको देशमा
बुढा स्यालको रजाइँ स्वाभाविक हो
यो भएन र त्यो भएन भन्नेहरूको देशमा
परिवर्तन नहुनु स्वभाविक हो
योग्य युवाहरूलाई पुच्छर बनाउने देशमा
स्वच्छ नेता नभेटिनु पनि स्वभाविक हो।
बच्चालाई सानैमा चकलेटले फकाएपछि
भ्रष्टचार गर्न ऊ नलम्किएर के गरोस्
मातृभूमिलाई धिक्कारी विदेशीको सिको गरेपछि
बचेराहरूले देश नछोडेर के गरोस्
अमूल्य जीवनलाई धन सम्पत्तिसँग दाँजेपछि
चोखो पिउने पानी पनि कसरी मिलोस् त
राजनीति फोहोर भो भन्दै तिनैलाई जिताएपछि
देशमा सुन्दर विकास चाहिँ कसरी होस् त
परिवर्तन गर्न चाहने भए मौका यही हो
चुनावमा भोट असल योग्यलाई दिउँ
कान चिरेका जोगीबाट छुट्टिने मौका यही हो
राष्ट्रप्रेमी युवालाई अघि बढाऊँ
देशलाई कोल्टे फेराउने हामी जनताले हो
नत्र चाउरिएका भुँडेले उत्तानै पार्ला
शिक्षित युवालाई गर्न दिने समय यही हो
नत्र फेरि पाँच वर्ष सरापेरै बस्नुपर्ला।