एउटा गरिब किसान। विचरो म, बबुरो मतदाता। निर्वाचन नजिकिँदै छ। उम्मेदवारहरू प्रणाम गर्न दैलोसम्म आउने क्रम जारी छ। हिजोसम्म बाटो हिँड्दा नचिन्ने उनीहरू आज चिन्न थालेका छन्।
आफ्नै मान्छेझैँ गरी निकट भाव देखाउँछन्। घरसम्मै आउँछन्। मैले पीडा पोख्छु। उनीहरूले गहन तरिकाले सुन्छन्। मेरा समस्याहरू उनीहरूका नै हुन् कि झैँ गर्छन्। मनन् गर्छन्। भावुक भएझैँ गर्छन्। अनि पूरा गरीदिने पूर्ण आश्वासन दिन्छन्। प्रत्याभुति दिन्छन्।
त्यति मात्र नभएर थप आश्वासनका पोकाहरू फुकाउँछन्। यसअघि जेसुकै भए पनि अब चाहिँ गरिबी निवारणका कार्यक्रमहरू लागु हुने विश्वास दिलाउँछन्। अनि फर्कन्छन्। यो क्रम केही दिनदेखि चलिरहेको छ। निर्वाचनको दिनसम्म चल्ने पक्का छ।
विगतदेखि हालसम्म विभिन्न दलका उम्मेदवारहरूले आशा जगाइदिएका कारण म रनभुल्ल परेको छु। एक दलका नेताले माग सम्बोधन गर्छन् कि भनि एउटा निर्वाचनमा म त्यतै लाग्छु। हुँदैन। फेरि अर्को निर्वाचनमा अर्कोतिर लाग्छु। अहँ! त्यहाँबाट पनि केही पार लाग्दैन।
भएका सबै दलतिर पालैपालो लाग्छु। कहीँबाट मलाई राहत मिल्दैन। मेरो चुलो बल्दैन। नेताहरूले यतिका वर्ष मलाई भकुण्डोलाई झैँ हानेर यता र उता गरे। विश्वासले म पनि त्यसै गर्न बाध्य भएँ।
जब निर्वाचन नजिकिन्छ तब केही मिलिहाल्छ कि भनेर म बबुरो झन् बेस्सरी यो कुना र त्यो कुना गर्छु। आशमा यता र उता भौतारिइरहन्छु। एउटाले हल्ला गर्छ, पल्लो गाउँमा सबैले रकम पाए रे। नेताको खल्तीबाट फुत्त हात्ती खसि पो हाल्छ कि भन्ने आशाले त्यहाँ पुगेर उनीहरूका खल्ती नियाल्छु। हातमा लाग्छ शून्य।
अर्को टोलमा भोज आयोजना भएको छ रे भन्ने खबर पाउँछु। एक छाक मासुभात पो पाइन्छ कि भनेर खोजनीति गर्छु। चासो लिन्छु। त्यहाँ पनि केही मिल्दैन। गरिबका नाम भजाएर चुनावमा समेत खाने समूह हुँदा रहेछन्। नेताबाट रकम झार्ने अनि आफै कुम्ल्याउने। म अभागी भनौँ वा परिस्थिति नै प्रतिकूल भनौँ। जता भौतारिए पनि सोह्र दुना आठजस्तै हुन्छ।
म सानै थिएँ पञ्चायतलाई तिलाञ्जली दिँदा। उतिबेला धेरै आशा थियो जनतामा। जनताको शासन अर्थात् प्रजातन्त्रप्रति अगाध विश्वास थियो। त्यसैले हर्षौल्लासका साथ प्रजातन्त्रको पुनर्स्थापनलाई सबैले स्वागत गरे। खासगरी मजस्ता गरिबलाई थप राहत होला भन्ने आश थियो।
भोका पेटले जाउलो पाउलान्। नाङ्गा शरीर ढाक्न पाइएला। जाडोमा सिरक ओढेर निदाउन पाइएला। आफू असाक्षर भए पनि छोराछोरीलाई शिक्षा दिन पाइएला। बिरामी पर्दा उपचार पाइएला। अशक्त हुँदा सहयोग मिल्ला। काकाकुलझैँ खानेपानी खोज्दै भौतारिने दिनको अन्त्य होला।
विभिन्न पेसा संचालन गर्न अनुदान मिल्ला। सहुलियतमा ऋण मिल्ला। कृषिमा आधुनिकीकरण होला। औजारहरू पाइएला। समयमै मल पाइएला। बिउ पाइएला। सडक संजाल विस्तार होला। गाउँका उत्पादन सहरमा पूर्याउने वातवरण मिल्ला। बिचौलियाले ढाड सेक्ने समयको अन्त्य होला।
निचोडमा किसानमैत्री सरकार होला। युवाहरूका सपना साकार होलान्। उच्च तहको रोजगारी हैन कि योग्यता अनुसारको रोजगारी मिल्ला। सबैको मर्का बुझेर यथोचित सम्बोधन होला।
तथापि अपेक्षा माथि कुठाराघात हुँदै आयो। गणतान्त्रीक नेपालको स्थापनापश्चात पनि अधिक मजस्ता नेपालीहरूले अपेक्षित सेवा सुविधा पाउन सकेका छैनन्। आजसम्म देशभर विकासका पूर्वाधारहरू तयार हुन सकेका छैनन्। विकास निर्माणका प्राथमिकता निर्धारण भएका छैन। जनताका आधारभूत आवश्यकता पूर्ती हुन सकेका छैनन्।
जनताको जीवन स्तरमा अपेक्षित सुधार आएको छैन। गरिब र धनीको दूरी झन् बढ्दो छ। विज्ञानको आविष्कारले विश्व कहाँ पुगिसकेको छ। धेरै देशका नागरिकहरू आधुनिक सुविधा सम्पन्न छन्। तथापि हाम्रो देशका नागरिकहरू न्यूनतम आवश्यकता पूरा गर्नका लागि सरकारसँग सिँघौरी खेल्नु परेको छ।
प्रजातन्त्र स्थापना पछिका तीन दशकभन्दा बढी समयमा पनि उही गाँस, बास, कपास, सामान्य रोजगारी, न्यूनतम पूर्वाधार, शिक्षा, सडकका खाल्डाखुल्डी मर्मतजस्ता सामान्य कुराहरूमा सरकारसँग जनताले भिख माग्नु परेको छ। संघीय गणतन्त्रको स्थापनापछि केही राहत होला भनेको झन् करको मारमा जनता परेका छन्।
कागजात बनाउन कर लाग्ने गरेको छ। सेवा लिएबापत समेत पनि कर नै थोपरिएको छ। लाजमर्दो त यस मानेमा छ कि मानव अधिकारको रक्षा, हत्या, बलात्कार, हिंसा आदिमा संग्लग्नलाई कारबाहीको माग गर्दै सडक, सडक भौतारिइरहनु परेको छ। यो साह्रै खेदजनक कुरा हो।
यसरी नै एउटा कुनाबाट अर्कोमा फ्याकिएको छ मलाई। प्रत्येक निर्वाचनमा कुनै न कुनै आश्वासनको पोको फ्याकिन्छ। वाचा गरिन्छ। प्रतिवद्धता व्यक्त हुन्छ। म विश्वास गर्छु। उनीहरूतिरै दौडन्छु। शासनमा पुगेपछि त्यो सब मर्लक्कै भुलिन्छ।
लोकतन्त्रमा जनप्रतिनिधिहरू शासक होइन, सेवक हुनुपर्छ। तर हाम्रोमा सेवक हैन शासक बनेर शासन गर्छन्। अझ बादशाहजस्ता बन्छन्। सेवकहरूलाई निश्चित सर्तमा आफ्नो काम गर्न निर्वाचनमार्फत जनतानले आदेश गर्छन्। त्यसैले निर्वाचन स्वयं मतदातालाई अझ बलियो, सार्वभौम र स्वतन्त्र बनाउने बृहत्तर अभियान हो।
निर्वाचनले प्रतिनिधिहरू छान्न मतदातालाई जागरुक मात्र गर्दैन, जनप्रतिनिधिहरू माथि थप नियन्त्रण बढाउन उत्प्रेरित समेत गर्छ। तर यो सब सिद्धान्त नेपालमा लागु हुँदैन।
आज दासझैँ गरी भोट माग्नेहरू जित पछि तानाशाह बन्छन्। थप पाँच वर्षको लाइसेन्स नवीकरण भएझैँ आफ्नो धुनमा लाग्छन्। बजेट र सत्ता आफ्ना कट्टर कार्यकर्ताको लागि प्रयोग गर्छन्। उनकै आसेपासे ठेकेदार, निर्माण व्यावसायी आदि आदि बनेर देश झन् खोक्रो पार्छन्। म टुलुटुलु हेर्ने सिवाय केही गर्न सक्दिनँ।
यस्ता अधर्मी नेताको देशमा जन्मनु परेकोमा म विक्षिप्त छु। लाग्छ म बबुरो त केवल नेताहरूलाई निर्वाचन मार्फत देश लुट्न चाबी दिइरहेछु। पाँच वर्षका लागि ठगी गर्ने बैधता प्रदान गर्दैछु।
निर्वाचन गर्नुको उद्धेश्य के हो? केवल नयाँ प्रतिनिधि आउने मात्रै हो? शासकीय प्रभुत्वको नवीकरण मात्रै हो? दलहरू नवीकरण हुनु मात्र हो। नयाँ जनमत लिनु मात्र हो। विजय वा पराजय मात्र हो? निर्वाचन कसैका पक्षमा भोट खसाउने फगत एउटा क्रियाकलाप मात्र हो?
पक्का होइन। यो लोकतन्त्रलाई सवल गर्ने मुख्य काम हो। निर्वाचनमार्फत जनताको अभिमत ब्यालेट बक्समा प्रकट गर्ने समय हो। जसको अधिक मत हुन्छ उसले विजय हुने अवसर पाउँछ। सत्तामा पुग्छ।
सपनाका साइजहरू फरक-फरक हुँदा रहेछन्। कोही ठूला सपना देख्छन्। कोही मध्यम। कोही साना। कुनै सपना महत्वकांक्षी हुन्छन्। कुनै व्यवहारिक। जे होस् सबैले औकात अनुसारका सपना देख्छन, बुन्छन्। अब म बबुराको सपना कस्तो होला? एउटा गरिब नेपालीले बुनेको सपना कत्रो होला?
पक्का सानै साइजको होला। उसले धेरै अपेक्षा राखेको पक्कै हुँदैन। राख्ने आँट गर्दैन पनि। त्यो सपना कसबाट पूरा होस् भन्ने आश गरेको होला? सरकारसँग। तथापि यहाँका सरकारहरू केवल आश्वासन मात्रै दिन्छन्। अहिल्यै जीवन कष्टकर भइरहँदा भोलिको समृद्धिको समय देखाउँदै गरिबलाई खेलौना बनाइरहन्छन्। प्रभाव, प्रलोभन, दबाबमा पारेर आफ्नो पक्षमा तान्छन्। अनि हाता लाग्यो शून्य। यो चक्र धेरै दशकदेखि चलिरहेको छ।
नो भोटको विकल्प मतपत्रमा राखिएको छैन। त्यसैले खराब आलुहरू मध्ये एउटा छान्नु परेको छ। जबसम्म राजनीति लाजनीति भइरहन्छ तबसम्म म बबुराले भोट खसाल्न बाहेक के नै गर्न सक्छु र? मैले भोट नदिए पनि निर्वाचन रोकिने हैन। शासकहरू नचुनिने हैन।
सुध्रन्छन् कि भन्ने आशमा निर्वाचनलाई विकल्पका रुपमा प्रयोग गर्नै पर्यो। यही अवस्था कायम रहे विद्रोहबाहेक अन्य विकल्प छैन। र त्यो विद्रोह भयानक हुनेछ। कसैको तागतले रोक्न सक्ने छैन।