निलो आकाशमुनि चलेको चिसो बताससँगै उडेका
एक जोडी परेवा देख्दा तिम्रै याद आउँछ
हामी पनि खुसी थियौ नि है!
ती परेवाका जोडीजस्तै
हामी पनि हाम्रो सपनाको विशाल आकाशमा
बेफिक्र उडिरहेका थियौँ
जमिनमा बगिरहेका नदीनालाहरूलाई गिज्याउँदै
मान्छेहरूका स-साना आकृतिहरूमा आँखा डुलाउँदै
अनि उपत्यकाका गल्लीहरूबाट उडेका
महङ्गा अत्तरका सुगन्धमा आफूलाई भुलाउँदै।
हाम्रो सपनाको आकाशमा उड्दै गर्दा
सायद हामीले आफ्नो धरातल बिर्सिएछौ
हामीले त यो पनि बिर्सिएछौँ कि
हाम्रो अस्तित्व त त्यही जमिनसँग जोडिएको छ
जुन जमिनलाई हामी हेयको भावले नियालिरहेका छौँ।
आकाशमा कालो बादल थपिँदै गएपछि
बादल वर्षात् बनेर हामीमाथि ठोक्किँदै गएपछि
हामीले पत्तो पायौँ
हामीले त त्यही जमिनमा गएर
आफ्नो शीर लुकाउनु छ
उपत्यकाका त्यही गल्लीमा गएर
आहारको खोजी गर्नु छ।
सायद हाम्रो प्रेम नै सही थिएन
प्रेममा भएर पनि आँखै अगाडिको
हाम्रो भविष्य देख्न सकेनौँ
सायद हाम्रा सपनाहरू नै सही थिएनन्
सँगै भएर पनि पूरा गर्ने प्रयत्न गर्न सकेनौँ।
हामी वर्षातको मारले जमिनमा खसालियौँ
केही चोट तिमीलाई लाग्यो
केही चोट मलाई पनि
केही आँसु तिम्रा पनि खसे
केही मेरा पनि तर
हाम्रो प्रेमको उडानलाई रोकिदिने
वर्षातसँग केही गुनासो छैन।
वर्षाले प्रेमको आकाशमा उड्दै गरेका
हामी दुईलाई नखसाइ दिएको भए
हामीले हिँड्न कहिल्यै सिक्ने थिएनौँ
हामीले गिज्याउने उपत्यकाभित्र लुकेका
सङ्घर्ष र सफलताका पात्रहरूलाई कहिल्यै चिन्ने थिएनौँ।
तिमीसँग सङ्घर्ष र सफलताको
आफ्नै कहानी छ
अनि मसँग पनि
तिमी एक पटक सोच त
सायद हाम्रो जीवनमा वर्षात नभैदिएको भए
आफ्ना बचेराहरूलाई कुन चाहिँ
सिलक हालेर सुताउथ्यौँ होला
आफ्ना बचेराहरूलाई कुन चाहिँ वास्तविकता हो
अनि कुन चाहिँ फगत सपना मात्र हो भनेर
सम्झाउथ्यौँ होला!