गए चुनाव ताका त नेताजी
दिनदिनै हाम्रा गाउँघरमा आउनु हुन्थ्यो
हाम्रा टोल, गल्लीहरूमा घुम्नु हुन्थ्यो
खोलावारि, खोलापारि, डाँडाघरदेखि गैरीघरसम्म
सिरानघरदेखि पुछारघरसम्म
घरलौरी पस्नु हुन्थ्यो, डुल्नु हुन्थ्यो
अनि दस औँला जोडेर सबैलाई भन्नुहुन्थ्यो-
नमस्ते, नमस्ते, नमस्ते!
ठूलाबा, कान्छाबा र हजुरबाहरूलाई
साने, काले र चंखेको बाउहरूलाई
च्यान्टी, भुन्टी र पुन्टी बहिनीहरूलाई
वीरे, मसिने र सेते दाइहरूलाई
साइली काकी, माइली भाउजू र जेठी माइजूहरूलाई
सबै बुढाबुढीहरूलाई, सबै केटाकेटीहरूलाई
सबै-सबैलाई लठ्ठ पार्नु हुन्थ्यो, मख्ख पार्नु हुन्थ्यो
फुर्क्याउनु हुन्थ्यो, सुर्क्याउनु हुन्थ्यो।
झलमल्ल बिजुली बत्ती बालिदिने
डाँडापाखाहरूमा मोटर गुडाइदिने
घरलौरी खानेपानीका पाइप ओछ्याइदिने
सिँचाइका कुलोनहरहरू खनिदिने
स्कुल, पुस्तकालय, खेलमैदान,
हस्पिटल, पुलिस चौकी, बैँक, सहकारी खोलिदिने
टेलिफोन, मोबाइल, इन्टरनेट सुविधा ल्याइदिने
आहा! कति सुन्दर थिए तपाईंका वाचाहरू!
कति मिठा थिए तपाईंका प्रतिज्ञाहरू!
घरपायकमै उच्च शिक्षा पढ्न पाउने
पानी बोक्न खोला धाइरहनु नपर्ने
सिलाई बुनाई गाउँमै सिक्न पाइने
कति खुसी थिए
दिलमाया, फूलमाया र मनमाया दिदीहरू
च्यान्टी, भुन्टी र पुन्टी बहिनीहरू
गाउँमै आयआर्जन र रोजगारीका अवसरहरू
कलकलाउँदा छोराछोरीहरूबाट टाढा हुनु नपर्ने
वृद्धावृद्ध आमाबुबाको स्याहारसुसार गर्न पाइने
मायालु श्रीमती छाडेर विदेशिनु नपर्ने
कति खुसी थिए- वीरे, मसिने र सेते दाइहरू।
जे होस् हामी सबैले तपाईंलाई भोट दियौँ
वारिपारि सबै आफन्त र नातेदारहरूसँग भोट माग्यौँ
चुनाव तपाईंले जित्नुभयो
नेताजी, तपाईं सभासद बन्नुभयो
मन्त्री पनि हुनुभयो
गोष्ठी, सभा-सम्मेलन, बैठकमा
भाग लिन भ्याई नभ्याई भो तपाईंलाई
शिलान्यास र उद्घाटनले फुर्सद भएन तपाईंलाई
हामीलाई बाँड्नु भएका आश्वासनहरू पोकाहरू
उडाउनु भयो विदेशी महंगा रक्सीका चुस्की र चुरोटका धुँवासँगै
तपाईंका आफन्त-आफन्तीहरू
कोही के, कोही के, खै के-के हो के-के भए
यता गाउँमा छरिएको कनिका बजेट पनि
आउरेबाउरेहरूले लुछाचुँडी गरेरै सके
भोकमरी सहन नसकेर धेरै आमाहरू दूधे सन्तानसँगै
कर्णाली र त्रिशुलीमा हाम फालेर आफैलाई सिध्याए
एक गाग्री पानी भर्न दुई घण्टा ओराली-उकाली गर्दै
घामले डढेको अनुहार चाउरी पार्दै आफ्नै भाग्यलाई सराप्दैछन्
जाबो ग्याष्ट्रिकको ओखति गर्न तपाईं नेताज्यू
युरोप अमेरिकाका महंगा हस्पिटलहरूको सयर गर्नुभयो
हामी एक ट्याबलेट सिटामोलको लागि लड्दैछौँ
तपाईंहरू कुर्सीको महान युद्ध फेरि लड्दै हुन्छ
हामी अभागी खप्पर बोकेका भुइँमान्छेहरू
मेलम्ची, जुरे, तमादीसँगै पहिरोमा पुरिँदै गर्दा
आँधिबेहरीले हाम्रा छाप्राका छानाहरू उडाउँदै गर्दा
सानो सिंहदरबारका हाकिमहरू समेत
पिर्कामाथि चढेर सलामी थाप्न पो व्यस्त हुनुभयो
कानुन फेरेर सुविधा बढाउन पो हुरुक्क भयो
आफ्नै पार्टीको होनहार युवालाई पाखा लगाउँदै
अब आउने चुनावमा फेरि तपाईं उठ्दै हुनुहुन्छ रे
जुक्ति बुन्दै हुनुहुन्छ फेरि पनि हामीलाई झुक्याउन
घामले डढेका हामी काले डिङ्गरहरू
हिलोधुलोले छोपिएका हामी धसिंग्रेहरू
उज्यालो माग्ने हामी पाखेहरू
लोक सेवा जित्ने हामी थाङ्नेहरू
सुशासन चाहने हामी मोतिबिन्दुयाँहरू
आवाजबाहेक केही नहुने हामी हुतिहाराहरू
तपाईं पैसाका बाहुबलीहरूसँग
अब त नझुक्किने भएका छौँ
अब त हामी कान नचिरिएको जोगीको खोजीमा छौँ
तपाईंले धेरै खोक्नु भो
भो अब पुग्यो तपाईंका फोस्रा आश्वासनहरू
अब हामी आफ्नो संसार आफ्नै शिल्पी हातहरूले बनाउँछौँ
भो अब चाहिएनन् तपाईंका झुटको स्वर्ग
अब हामी आफ्नो सपना आफै सजाउँछौँ।
माफ गर्नु होला नेताजी
च्यान्टी, पुन्टी र भुन्टीहरूको तर्फबाट
वीरे, मसिने र सेते दाइहरूको तर्फबाट
ठूलाबा, कान्छाबा र बडाबाहरूको तर्फबाट
हामी सबै-सबैको तर्फबाट सधैँ-सधैँको लागि
बाई-बाई नेताजी।