सडकभरि दोहोरीलत्त मानिसहरूको चहलपहल थियो। टोल-टोलमा चर्चा हुन्थ्यो। चिया पसलमा बहस चल्थ्यो। बहस बाटो बनाउने भन्ने कुराको थिएन। कुलो खन्ने बारेमा थिएन। चहलपहल खैलाबैला र बहस चुनावको थियो। यसपालि वडा अध्यक्षमा कसले जित्ला? नगर प्रमुख र उपप्रमुखमा कसले बाजी मार्ला? अनेक तर्क, अनेक अडकल। दिउरेमा उम्लेको तात्तातो चियाभन्दा तातो बहसले सबैलाई जोस्याएको थियो।
श्यामकर्ण चिया पसलको छेउमा राखिएको फलेक ठोकेर बनाइएको मेचमा टुक्रुक्क परेर बसेका थिए। सबै आ-आफ्ना तर्कमा रमाउँदै गर्दा उनीचाहिँ सुनिरहेका थिए। गोले साइँलाले भने, ‘यसपालि त खुर्सानी चिन्हले जित्छ।’
‘जितो तिम्रो खुर्सानीले। म त पत्याउँदिनँ। पक्का यसपालि त चुनाव चिन्ह भकारी जित्छ जस्तो छ। अघिल्लो भोटमा नि थोरैले मात्र हारेका त हो। अहिले त सबैजसो मान्छे भकारीकै झण्डा बोकेर हिँडेका छन्। त्यो फडके साहिँलो, दोबाटे दाइ, जलसरी, वसन्ती सबै भकारी पार्टीमा प्रवेश गरे नि, अस्तिको आम सभामा।’
‘आ जितोस् जो सुकैले। जसले जिते नि हामीलाई खाई न पाई छालाको टोपी लाई भनेजस्तै हो,’ रासनलालले मुख बिगार्दै बोल्यो।
‘खोइ, किन हो आज श्यामकर्ण बा बोल्नुहुन्न नि’, चम्पावतीले सिसाको गिलासमा चिया छान्दै बोली।
‘सुन्नुजति मजा बोल्नुमा कहाँ हुन्छ र!’ चम्पावतीले दिएको चियाको गिलासलाई एक पटक सुरूप्प पार्दै श्यामकर्ण बाको बोली फुट्यो। सबै गलल हाँसे।
उमेरले पचहत्तर नाघिसकेका श्यामकर्ण सेडाइँ पहिले चुनाव भनेपछि खुब मरिहत्ते गर्थे। उनलाई जहिल्यै चुनावमा उठ्नुपर्ने। खुब रहर लाग्थ्यो। घरपरिवारमा गाली गरे पनि उनी मान्दैनथे। उनी सहकारीका चुनावमा उठे।
विद्यालयको व्यवस्थापन समितिको सदस्य बनेर नि काम गरिसकेका थिए। स्थानीय तहको चुनावमा पनि एक दुई पटक उठिसकेका थिए। अहिले उनलाई यो चुनावले आकर्षण गर्दैन। कागलाई बेल पाकेजस्तो हुन्छ हर्ष न विष्मातको।
उनका लागि दसैंमा डाइस थापेर मार्नु र चुनाव जित्नु उस्तै असम्भव हो जस्तो लाग्छ। केटाकेटी उमेरमा दसैं तिहारमा डाइस थाप्दा नि उनले कहिल्यै मारेनन्।
श्यामकर्णले चम्पावतीको पसलमा उही आसनमा दुई घण्टा बसेर दुई कप चिया सिध्याए। उनलाई एक कप चियाले कहिल्यै धित मर्दैन। उनी हाइ काड्दै उठे। गोजीबाट पचास रुपैयाँको मैलो नोट चम्पावतीको हातमा थमाइदिए।
‘अहिलेको त भयो। बिहानको चियाको चाहिँ खोइ नि?’ चम्पावतीले बिहानको पनि सम्झाई।
श्यामकर्णले नाक खुम्च्याए। आँखिभौं उचाले। अहिले छैन भन्दै उनले गोजी टक्टक्याएर देखाइदिए। गोजी टक्टक्याउँदा भाँच्चिन आँटेको एउटा चुरोट निस्कियो। उनले डोरीले बाँधेको लाइटर बालेर सल्काए अनि लुरूलुरू बाटो लागे।
बाटाभरि उनलाई पहिलेका चुनावका कुरा याद आयो।
उनलाई सम्झना भएअनुसार उनी तीस वर्षको उमेरदेखि चुनावमा भाग लिन थालेको पैतालीस वर्षभन्दा ज्यादा भैसकेछ।
‘कहिल्यै जित्न सकिएन आफूले। जोसुकैले जितून्।’ अरूले सुन्नेगरी बर्बराए। दायाँबायाँ हेरे कसैले धन्न सुनेनछन्। नजिक कोही भए पो सुन्नु। उनले एक दुई वटा चुनावका परिदृश्य सम्झिने कोसिस गरे।
सुरूका चुनावमा उनी पार्टीबाट उठ्ने गर्थे सदस्यमा। चार जना सदस्यमा समेत छानिन सकेनन्। एक पटक त सदस्यमा उठ्दा सात भोटले मात्रै हारेको हो नि।
‘आफ्नै छिमेकीसँग श्रीमती बाख्राले साग खाएको निहुँमा नबाझेको भए त जितिने रछ। उसको परिवारको चार भोट आएको भए जित्ने थिए नि। असतीले दिएन।’ श्यामकर्णले मुख अमिलो पारे र भुइँमा प्याच्च थुके।
फेरि पनि चुनाव आयो। साथीभाइहरूले हौस्याए। अब त उठ्दिनँ भन्ने सोचेको फेरि नि उठूँ, उठूँ लाग्न थाल्यो उनलाई। गाउँघरमा लोकप्रिय नै थिए। कसैको कुभलो चिताएनन्। कसैको मन दुखाएका थिएनन्। कसो नआउला त भोट!
त्यसपछि उनलाई फेरि चुनावमा उठूँ उठूँ लाग्न थाल्यो। नागरिकका विकासको अपेक्षा अधुरा थिए। निर्वाचित भएको जनप्रतिनिधिको व्यवहार चित्त बुझ्दो थिएन।
मान्छेहरूले चिया पसलका गफमा हाम्रो होइन, राम्रो मान्छेलाई भोट दिनुपर्छ भनेको उनले सुनेका थिए। जो इमान्दार छ, जनताको सुखदु:खमा साथ जसले दिन्छ, उसलाई आफ्नो प्रतिनिधि छान्ने हो भन्ने कुरा उनले सुनेका थिए।
स्थानीय तहको चुनावमा त अब असल मान्छे हेर्नुपर्छ भनेर मान्छेले चर्कीचर्की तर्क दिएको उनले सम्झे। ओछ्यानमा पल्टिएर उनले सबै तर्कना गरे। सम्भावनाको जोड घटाउ गरे।
‘यसपालि त कसो नजितिएला त। गाउँघर छरछिमेक सबै मेरै पक्षमा छन्। सबैले सहयोग गर्ने वचन दिएका छन्। आ, यो पटक चाहिँ उठ्नु पर्यो।’ उनले वडा अध्यक्षमा उठ्ने निर्णय गरे।
‘जितेँ भने त म पनि वडा अध्यक्ष पो हुन्छु। वडाभरिको सबैभन्दा ठूलो मान्छे। वडा पनि पहिलेको जस्तो सानो हो र? झण्डै पहिलेको गाविस जत्रो। अधिकार पनि धेरै। म त निष्पक्षसँग काम गरेर जनताको मन जित्छु। विकास घर-घरमा पुर्याउँछु’ उनी आफैँभित्र हौसिए।
‘खोइ, जितिएन भने त बर्बाद हुन्छ नि फेरि! यो चुनावमा त पैसा नि धेरै खर्च हुन्छ होला। त्यत्रो पैसा कहाँबाट निकाल्नु। जग्गा नै बेच्नैपर्छ होला। नभए त उपाय छैन। हारियो भने त स्वास्नी छोराछोरीले नि गाली गर्लान्। हिजै अलिअलि कुरा सुनेर भो पदैन उठ्न भन्दै थिई बूढी।’ श्यामकर्णको अर्का मनले शंका व्यक्त गर्यो।
‘आ, कसरी हारिएला त। यतिका जनता मेरा पक्षमा छन्। पुरानाको सबैले विरोध गर्छन्। सबै जना परिवर्तनको चाहना राखेका छन्। जोखिम नमोली त कहाँ उपलब्धि हात पर्छ र? आँट पो गर्नुपर्छ।’ उनको भित्री मनले निचोड निकाल्यो।
मनोनयन पत्र दर्ता गर्ने दिन आयो। उनले आफ्ना छिमेकी हरेराम कार्कीलाई प्रस्तावक राखे। मधुसुदन चाम्लिङलाई समर्थक बनाए। उनी अर्थात् श्यामकर्ण सेडाइँ वडा अध्यक्षको उम्मेदवार भए।
चुनाव चिन्ह बाल्टी पाए उनले। प्रचारप्रसार अभियान जोडतोडले सुरू भयो। घरदैलो अभियानमा उनी वडाभरि घुमे। भोट दिन्न उनलाई कसैले भनेन। जसको घरमा पुगे पनि जहाँ गए पनि सबैले दिने आश्वासन दिए। दिन्न कसैले भनेनन्।
पैसा दिएजस्तो हातमा हालिदिने कुरा नि त थिएन भोट। बोलेपछि विश्वास गर्नुबाहेक अरू के बाँकी थियो र? उनी जीत हुने कुरामा ढुक्क थिए। बल्ल जीवनको धोको पूरा हुने भो। उनी मनमा आनन्दानुभूतिमा डुबुल्की मार्थे।
चुनाव प्रचारको नि उनीसँग अनुभव छ। सुरूसुरूमा धेरै मानिसहरू हुन्थे तर पछि बिस्तारै घट्न थाल्थे। पेट्रोल हालिदियो, मिठो नास्ता पानी र बेलुका अलिअलि खर्च दियो भने कार्यकर्ता झुम्मिने, नत्र घटिहाल्ने। प्रचारमा हिँड्दा एक्लै परिने डर।
प्रचारमा एक्लै हुँदा लाजैमर्दाे हुने। ऋण गरेकोे पैसा धेरै दिन टिक्दैनथ्यो। फेरि कहाँबाट खोज्ने होला भन्ने चिन्ताले सताउँथ्यो। काम्लामा सातु नमुछ्नु मुछेपछि नघिनाउनु भनेजस्तै भयो श्यामकर्णलाई। बीचैमा छोड्नु नि त भएन!
‘हैन, अब यो चुनावमा पैसा नहुनेले त जति असल भए पनि नउठे भएछ। पैसा खर्च गर्नेकै पछि कार्यकर्ता अनि पैसा खर्च गर्नेकै पछि मतदाता। हुन त सबै मतदाता पैसाको पछि कहाँ लाग्छन् र? तर के गर्नु पैसाको आधारमा भोट हाल्नेहरू नै जीत/हारका लागि निर्णायक भैदिन्छन्’, श्यामकर्णलाई दिक्क लाग्थ्यो।
कहिले चुनाव सकिएला भनेझैं भैसकेको थियो। आज यो टोल बिग्रियो भन्छन् अनि बीस हजार माग्छन्। भोलि अर्काे टोल बिग्रियो भन्छन्, अर्काे पच्चीस हजार माग्छन्। दिऊँ कि नदिऊँजस्तो हुन्थ्यो। नदिएर के गर्नु दिनै पर्यो। खट्नेहरूलाई दिनहुँको खाजा नास्ता, पेट्रोल त भैहाल्यो। प्रतिबद्धता पत्र छाप्नै पर्यो; प्रचार सामग्री, चुनाव चिन्ह अंकित झण्डाको व्यवस्था गर्नै पर्यो।
निर्वाचनको दिन वडाको तीन ठाउँमा मतदान केन्द्रको व्यवस्था थियो। तीन वटै ठाउँका तीन वटा होटलमा चियानास्ताको व्यवस्था गर्नुपर्ने भो। आफूलाई मत हाल्ने मतदाताका लागि उनले पनि निर्धक्कसँग व्यवस्था गरिदिए। निर्वाचनका दिन उनले व्यवस्था गरेका होटल खुबे चले।
भोट हालिसकेपछि उनका सहयोगीहरूले उपलब्ध गराएको कुपन लिएर मतदाता होटलमा जान्थे। तीन वटा मतदान केन्द्रमा गरी उनका आठ सय बत्तीस प्लेट नास्ता खर्च भएछ। यस हिसाबले हेर्दा उनी जित्नेमा ढुक्क थिए। कसो जितिँदैन त।
अघिल्लो चुनावमा जित्नेले ल्याएको सात सय एघारमा पनि एक सय एक्काइस धेर। भोट दिनेजति सबैले खाएका पनि त छैनन्। एक सय प्लेट यता उता भए नि केही फरक पर्ने छैन। उनी निश्चिन्त भए।
अर्काेदिन बिहान सुरू भएको मत गणना बेलुका सकियो। उनले चुनाव चिन्ह बाल्टिनमा जम्मा भोट भने तीन सय छयालीस पाएछन्। प्लेट सङ्ख्याको आधाजति नि भोट आएनछ। त्यस दिनदेखि श्यामकर्णलाई निर्वाचनप्रति कुनै मोह छैन।
मान्छेले अरू बेला बोल्ने र भोटका दिन मत दिने कुरा फरक रछ। अरू बेला जे असन्तुष्टि पोखे पनि आखिर भोट मान्छेले दिँदा परिवर्तन खोज्दो रैनछ। असल मान्छे छान्दो रैनछ। फेरि एक पटक श्यामकर्णले मुख अमिलो पार्दै भुइँमा प्याच्च थुके। उनका नजरमा उनीभन्दा असल अरू उम्मेदवार थिएनन्।
भोटमा नउठेको भए त्यो मूल सडकको घडेरी बेच्नुनपर्ने। अहिले भएको भए करोडमा जाने त्यो घडेरी। धनी हुन अरू केही गर्नुपर्ने रहेनछ। त्योबेला चुनाव खर्चमा लागेको ऋण तिर्न कौडीको भाउमा मिल्काउनु पर्यो। थुक्क मेरो बुद्धि भन्दै उनले आफैंलाई गाली गरे। त्यो घडेरी बेच्ने बेलामा बुढाबूढीको घरझगडा भएको सम्झे।
यावत पुराना तीता घटना स्मरण गर्दै घर छेउ आइपुगेछन्। हिँडेर दश मिनेट लाग्ने बाटो पूरा गर्न आज उनलाई बीस मिनेटजति लागेछ। यसो आँगनको डिलतिर नजर डुलाएका त आँगनमा झण्डा बोकेका एक हुल मान्छे नमूना मत पत्र देखाउँदै पत्नीसँग भोट माग्दै थिए।
उनका हातगोडा फतक्क भएर गले। एक सय मिटरजति हिँडदा आँगनमै पुगिन्थ्यो, तर उनका पाइला अघि बढ्न मानेनन्। बाटोको छेउमा रोपिएका सिमालीको सितलमा खिइसक्न आँटेका हात्तीछाप चप्पल ओछ्याएर थचक्क बसे।