लेख्दै थिएँ म उसको डायरी। अचानक हुरी चल्यो र हुरीले बिजुलीको पोल ढल्यो। बत्ती झ्याप्प निभ्यो। मेरो हातबाट कलम फुत्त झर्यो।
म झस्किएँ कतै यसरी नै वसन्तको जीवन.....!
धत्! म पनि कहाँबाट कहाँ पुगेँ। आफैंसँग गुनासो गर्दै झस्किएँ।
प्राधिकरणका कर्मचारी आएर पोल उठाए। चुँडिएको तार जोडियो। बत्ती पुन: बल्यो। उज्यालो पोखियो फेरि बाटाभरि। मेरो कलम भेटियो। म निरन्तर लेख्दै रहेँ।
वसन्त दश वर्षको हुँदो हो मैले उसलाई चिन्दा। ऊभित्र मैले एउटा दार्शनिक व्यक्तित्व देखेकी थिएँ। अहिले झ्याप्प दाह्री पालेको, कपाल घुङ्ग्रिएको तर लामो अलि बिस्याहार जस्तो देखिने वसन्त पहिले जस्तो चिटिक्क र स्मार्ट देखिन छोडेको थियो। कता-कता चिन्तनमा डुबेको वैरागीजस्तो। म झापाबाट काठमाडौं आउँदा वसन्त कक्षा पाँचमा अध्ययन गर्दै थियो। निकै शान्त र सुशील बालकको रूपमा मैले उसलाई चिनेदेखि तीस वर्षसम्म उसको शालीनतामा कत्ति पनि परिवर्तन आएको थिएन। पढाइमा निकै अब्बल दर्जा लिएर अगाडि हिँडिरहेको वसन्तले त्यही दश वर्षदेखि कविताका पङ्क्तिहरू सजाउन जानेको थियो।
पहिलो पटकको भेटमा मैले उसको छोटो कविता सुनेकी थिएँ 'साथी'
शीर्षकको।
साथी-
नपाएको भए तिमीलाई
म, म रहने थिइनँ।
कैयौं महरूको भिडबाट
मलाई चिनाउने थिइनँ।
आँखाहरू तिम्रा निम्ति झुकाउँदै छु प्रिय
हरेक पल भावनामा बगिरहेछु प्रिय।
रगत सबैको रातो हुन्छ काटेर त हेर
साथी कति प्रिय हुन्छ मुटु साटेर त हेर।
सोध्यो भने कसैले साथी के हो? भनिदिनु प्रिय,
'भावना एउटा साथी हो,
ऊ सधैं मभन्दा माथि छ'
वसन्त
२०५८/१२/२०
स्कुल र कक्षामा सधैंजसो कविताको कार्यक्रममा प्रथम हुने वसन्तको हरेक आनीबानीमा म सधैं परिचित रहन्थेँ। मलाई एउटा उपन्यास लेख्न मन थियो। ऊजस्तै दार्शनिक व्यक्तित्वको तर मेरो बसमा थिएन लेखाइ। मेरो आँखामा उपन्यासको पात्र बनेको वसन्त किन कसैको आँखामा धोकाको मजेत्रो बन्यो।
आफ्नै पहिचान गुमाएर वसन्त अरूको नजरमा बहुलाहा जस्तो भएको थियो तर उसको व्यथालाई मैले नजिकबाट हेरेकी थिएँ। म उसका लागि साहसको पोखरी थिएँ। घरिघरि पानी उघाए जसरी उसले आँट र हौसला उघाउँथ्यो मबाट।
उसका लागि म प्रिय व्यक्ति थिएँ। उसका आर्थिक खाडललाई मैले आफ्नो झिनो तलबको एउटा हिस्साबाट कैंयन् पटक छोप्न सघाएकी थिएँ। पाँच वर्ष अगाडिको कुरो हो, एउटा साहित्यिक मञ्चमा मैले उसकै हातको डायरीबाट कविताहरू सुनेकी थिएँ परिपक्व र दार्शनिक कविता।
मैले काठमाडौंको आगमनसँगै पत्रकारिताको बर्को ओढेकी थिएँ। अहिलेसम्म मैले फेर्न नसकेको त्यो बर्को पत्रकारिताका अनेकौं रङले भने पक्कै रङ्गयाएकी थिएँ।
केही कमाउनु, केही गुमाउनु जीवनको चक्र थियो मेरा लागि।
जीवनलाई रूमानी उडानमा छोड्नु खुसीको छहरा झैं लाग्थे मलाई। एउटा अनौठो संयोगजस्तो लाग्थ्यो वसन्त र मेरो भेट। न कुनै रगतको नाता थियो ऊसँग, न कुनै उमेरको दौतरी। उसको र मेरो उमेर आमा छोराको जस्तो थियो। म उसलाई छोरोसरह मान्थेँ, ऊ मलाई आमा। कैंयन् पटक उसले मलाई मातातीर्थ औंसीमा शुभकामना पनि दिएको थियो। आर्थिक अभावमा एउटा साहित्यकारले कस्तो जिन्दगी जिउन सक्छ?
मभित्र प्रश्न दौडिरहन्थे घरि मन घरि मस्तिष्कसम्म। ऊ एउटा स्कुलको शिक्षक तर रोमाको व्यवहारले विछिप्त बनेको वसन्तले स्कुल पनि छोड्नु परेको थियो।
तीस वर्षको युवा दार्शनिक अनुहार अचानक कसरी दुनियाँको नजरबाट पागल कहलियो र झुक्यो यसरी?
आखिर एउटा सशक्त रचनाको अवसान कसरी भयो? शक्तिशाली शब्द र भावले मञ्च थर्काउने वसन्तलाई न त कसैले चिने, त न कसैलाई आफ्नो परिचय ओकल्दै हिँडेको नै थियो।
अस्पतालको शय्यामा वसन्तले जीवनका कठिन दिनहरूलाई पञ्चमीका पाइलाझैं समय गन्दै एक वर्ष बितायो। वसन्तको अस्पतालको हालतबाट छुट्कारा दिलाउन मैले के के गरिनँ र? उसका आमा, बा र दाजुसँग सल्लाह गरेर राम्रो उपचारपछि घरसम्म पुर्याउन सकेकोमा आफैंसँग आभार प्रकट गरेँ मैले।
हरेक साँझ म वसन्तको घर पुग्थेँ हातमा फलफूल र जुसको झोला बोकेर। त्यतिमात्र कहाँ हो र? मभित्र एउटा डाक्टर पनि सँगै हिँड्थ्यो उसको स्वास्थ्य सुधारका लागि। जसरी पनि वसन्तलाई उठाउनु थियो। उसको टाउकोको चोट निको पार्नु थियो। हुन पनि धेरै दिन लाग्यो टाउकाको चोट निको हुन, त्यसभन्दा धेरै समय त मुटुको चोट निको हुन लाग्दोरहेछ। थाहा थिएन मलाई यसरी आफ्नै कविता आफैंसँग शत्रु बन्छ भनेर।
निरन्तर कोसिसका कारण वर्षदिनपछि वसन्त पूर्ण रूपमा स्वस्थ बन्यो। मेरो जीवनको सबभन्दा ठूलो खुसी नै मैले वसन्तलाई स्वस्थ बनाउन सक्नु हो भन्ने लाग्यो। एउटा युवा कवि जसको जीवनले ठूलो धोका पाएको थियो। मलाई त्यही धोकाको पर्दाफास गर्नु थियो। धन्न वसन्तको जीवनको मंगलदीप निभेको रहेनछ।
'ढुंगाको काप फेरेर पनि उम्रन्छ पिपल,
सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल।'
राष्ट्रकविको कविताले झसक्क पार्यो।
ऊ कविता लेखनमा निरन्तर अगाडि बढ्न थाल्यो। उसको कविता संग्रह प्रकाशन गरिदिने अठोट मैले लिइसकेकी थिएँ।
एकदिनको कुरा हो, म वसन्तको कविता संग्रह प्रकाशनको तयारीका लागि प्रेसमा पुगेकी थिएँ। कविताको पाण्डुलिपी हातमा बोकेर म सम्पादकसँग कुरा गर्दै थिएँ। एक सुन्दर युवतीको प्रवेशले प्रेसमा सन्नाटा छायो। टकटक जुत्ताको आवाज, ठाँटिलो पहिरन, तेजिला आँखा, गुलाबी गाला निकै आकर्षक रूप सिधै सम्पादकको भित्री कक्षमा प्रवेश गर्यो।
'भित्रै हिँड्नुस् न म्याडम'
सम्पादकज्यूले मलाई भित्र जाने बाटोको संकेत गरे। भित्र सोफामा तिनै सुन्दर युवती विराजमान थिइन्। सम्पादकज्यू र म भित्र पस्यौं। उनले मधुर स्वरमा नमस्कार गरिन्। मैले पनि नमस्कारको सम्मानमा हात जोडें। सम्पादकज्यूले मलाई सङ्केत गर्दै 'महिला पत्रकार गीता साम्वा हुनुहुन्छ उहाँ ' भन्दै ती युवतीसँग मेरो परिचय गराए। उनी फेरि हात जोडेर नमस्कारमा व्यस्त रहिन्। म उनलाई नियाल्दै थिएँ।
पुन: सम्पादकज्यू उनको परिचय दिँदै 'उहाँ वरिष्ठ कवि रोजिला स्मृति' भन्दै मपट्टि फर्किए।
उनले थप्दै गए, 'उहाँको नयाँ कविता संग्रह विमोचन र राष्ट्रिय सम्मान एकैदिन मिलाउने तयारीमा छौं हामी।'
उनी मुसुक्क मुस्कुराइन्।
म उनको कुरामा केन्द्रित भएँ र बधाई तथा शुभकामना थपेँ। मेरो शुभकामना छातीमा हात राखेर स्वीकार गरिन्। मैले ठम्याउन सकेँ या सकिनँ भन्ने लाग्यो।
मैले एउटा घातक वाण हानेँ, 'कविज्यू 'वसन्त कोकिल' लाई चिन्नुहुन्छ?'
निकै अलमल परे झैँ, आत्तिए झैँ-
'हजुर सायद नाम याद भएन' भन्दै निहुरिइन् ती सुन्दर युवती। वसन्तले डायरीभरि बनाएका सुन्दर आकृति तिनै निहुरिरहेकी युवतीका थिए दुरूस्तै। मैले तपाईंलाई कतै कुनै आर्टिस्टले कोरेको तस्विरमा देखेकी थिएँ सायद। उनी आफूलाई छेपारो बनाएर निलो रङ्गमा बदल्दै छट्पटाउन लागिन्।
मैले 'वसन्त कोकिलका कविता पनि पढ्नुहोला कविज्यू निकै दार्शनिक छन्' भनेँ।
उनी कृत्रिम मुस्कान खिसिक्क छोडेर जुरूक्क उठिन्। मोबाइल पल्टाएर एकछिन बाहिर काम परेको बहाना बनाएर फुत्किइन्।
सम्पादकज्यूसँग वसन्तका कविताबारे कुरा गर्दै थिएँ। मलाई कवि रोजिलाका कविता हेर्न मन लाग्यो। सम्पादकले भन्दै गए
'निकै सम्पन्न परिवारकी महिला लेखिका हुन् उनी तर भुइँमान्छेका उत्कृष्ट कविता लेख्छिन्।'
मैले मुन्टो हल्लाएँ।
'उहाँका कविता हेर्न मिल्छ?' मैले जिज्ञासा राखेँ।
उनले पाण्डुलिपी हेर्न दिए पत्रकार भएका नाताले। धेरै पटक एउटै ग्रुपमा काम गरेका थियौं हामी। मसँग पनि वसन्तका कविता थिए। सबै कविता वसन्तका हुबहु।
मैले सम्पादकसँग यसबारे केही भन्न सकिनँ। रोजिलाको पाण्डुलिपी फिर्ता दिँदै अर्को पटक वसन्त कोकिललाई पनि लिएर आउने सोचमा म फर्किएँ।
मनमा अनेक प्रश्न खहरे बने। रोजिला, वसन्त पालैपालो मेरो मन मस्तिष्कमा आए। सम्पन्न परिवार र भुइँमान्छे। कस्तो सम्बन्ध हुन्छ सम्पन्न र अभावको बीचमा?
वसन्तहरू जस्ता विपन्नका सिर्जनाले कहिले पाउँछन् सम्मान?
सम्पन्नहरू विपन्नका प्रतिभालाई यसरी नै च्यातिरहन्छन् कागजका पाना झैं?
म सिधै वसन्तको घर गएँ। ऊ घरमा थिएन। ऊ एउटा विद्यालयमा पढाउन थालेको थियो। म अफिसतिर फर्किएँ। खट्पटी बोकेर दिनभर अफिसमै बसेँ। साँझ गाडीमा फर्कंदै थिएँ फोन बज्यो नचिनेको नम्बरबाट।
मैले भनेँ, 'हेलो ! '
'...!'
'नमस्कार! को बोल्नुभएको?'
'...'
'हजुर ए, रोजिला स्मृति?
'ओहो! कविज्यू भन्नुस्।'
त्यसपछि एकोहोरो उनी बोल्दै गइन्। म सुनिरहेँ।
म छक्क परेँ। अघि बिहानमात्र मेरो भेट भएको थियो।
वसन्त कोकिल र मेरो सम्बन्धबारे बिचरी कविज्यूलाई जिज्ञासा बढेछ। मलाई डायरीमा लेख्ने धेरै कुरा थपिँदै थिए। वसन्त मेरो आख्यानको नायक। म मस्तिष्कमा विचारका कलम दौडाउँदै थिएँ। घर पो आइपुगेछु। गाडी झ्याप्प रोकेँ। विचारलाई झोलामा थन्क्याई रोजिला र वसन्तलाई मस्तिष्कमा बोकेर म स्व:स्फूर्त गृहिणी बनेँ। क्रमश: .....अर्को भागमा।
यो पनि:
डायरीकाे नयाँ पाना (भाग- १)