प्रिय जिउँदा मानिसहरू,
धेरै सम्झना अनि माया!
आशा छ तिमीहरू पनि म केही घन्टा अगाडि बाँचेकै जीवनमा बाचिरहेकै छौ। स्वार्थले भरिपूर्ण। संघर्षले भरिपूर्ण। सपनाले भरिपूर्ण। तर के लागि आफैंलाई थाहा छैन। केवल दौडाह त्यो पनि अनिश्चित भविष्यको लागि। अनिश्चित समयको लागि।
केही पल मात्रै त भएको छ। म पनि सजीव थिएँ। म पनि हिँडिरहेको थिएँ। तर अहिले निर्जीव भएको छु। सास फेर्न बिर्सिएको छु। शरीर यही भए पनि कुनै संसारमा पुगिसकेको छु। मस्तसँग कुनै मुक्ति पाए सरी लडिरहेको छु। मलाई हर्ट एट्याक भएको रे। बस केही मिनेटमा नै अन्तिम गन्तव्यमा पुगेछु अर्थात् मृत्यु। त्यसैले ए जिउँदा मानिसहरू, एक मिनेट पछिको पल कसैले देखेको छैन। अनि किन पीडामा बाँच्छौ? रमाउन सिक। आफ्नो दिमागलाई यति धेरै प्रेसर पनि नदिनु जसले तपाईंको मुटुको धड्कन अनि फोक्सोको सास रोकिदिओस्।
जीवनका ६ दशक बाचिएछ। यो समय कति छोटो लागिरहेको छ। तर बाँच्दा यस्तो कहिले पनि लागेन। किनकि समय एउटै गतिमा चलिरहे पनि खुसी हुँदा समय दौडिन्थो। अनि दु:ख हुँदा समय केवल घिस्रिन्थो।
ए जिउँदाहरू, मेरो जीवन पनि तिमीहरूको जस्तै नै थियो। सारांशमा भन्नुपर्दा, जीवनका पहिलो दशक अबुझ भएर नै बित्यो। जीवनका दोस्रो दशक केही सिक्दैमा, उर्नठेउलो मै गुज्रियो। जीवनका तेस्रो दशक जीवन बनाउनै कै लागि बित्यो। मुख्यत: जीवनका सङ्घर्ष यहीबाट सुरू भएको जस्तो लाग्छ भलै त्यो सङ्घर्ष जन्मिँदा नै सुरू भएको थियो।
बस् मेरो मानसपटलले बुझ्न सकेन। केलाउन सकेन। जीवनका दोस्रो अध्यायको अन्त्य र तेस्रो अध्यायको सुरूआतदेखि नै छोराछोरीलाई समर्पण गरियो। त्यसपछि नातिनातिना। यी सबै समयभित्र बाबुआमा कहिले पनि छुटेनन्। आज फर्किएर हेर्छु, यो ६ दशक भन्दा बढीको समयभित्र मेरो समय कति बेला थियो? के मभित्र मेरा समयहरू बाँचिरहेको थियो त? अहँ, भेटिनँ। आफ्ना लागि बाँच्छु भन्दाभन्दै मेरो समय त सकिसकेछ। के अब म भगवानसँग, केही थोरै पल सापटी माग्न जाऊँ? मलाई लाग्छ भगवान सक्षम छैनन्। भगवानसँग पनि यो साहस छैन। अब मसँग बस् छ त केही थान पछुतो मात्रै।
जिउँदै हुँदा कतै सुनेको थिएँ, मानिस जन्मँदा यो पनि हामीले जस्तै दु:ख गर्नु पर्नेछ भनेर सबै खुसी हुन्छन् रे। अनि मर्दा हामी चाहिँ दु:खमा छौं, यसले चाहिँ अब आनन्दको सास फेर्न पाउने भयो भन्दै दुखी हुन्छन् रे। स्वार्थी संसार न पर्यो। आज मृत्युको निन्द्राबाट जीवित संसार नियाल्दै छु। अहँ, सुख, शान्तिले भरिएको मान्छे विरलै देखिरहेको छु।
म कसरी कमाऊँ, म कसरी ठूलो बनूँ, सब यही तनावमा छन्। हेर्नुस् त मलाई, मैले जति कमाएँ पनि जति बचाएँ पनि, जहाँ नै पुगे पनि मेरो लासले ओढ्ने कात्रो मैले नै किन्न सकिनँ। मैले नै देख्न सकिनँ। नाङ्गो शरीर लिएर आएको नाङ्गै जाँदैछु। संसार अट्ने घरको घमण्ड जति नै गरे पनि मानिसलाई चाहिने त एक घण्टाको लागि आफू जल्ने आर्यघाटको एउटा सानो चिता नै त रहेछ।
मेरो लास आर्यघाटतिर जाँदै गर्दा मलाई नै उछिनेर कति लम्किएरहेका थिए गाडीहरू अनि मानिसहरू।
ए जिउँदाहरू, अन्तिम गन्तव्यलाई अर्थात् मृत्युलाई नै पछि पारेर कता पुग्नुछ तिमीहरूलाई?
तपाईंको एक प्रिय पात्र,
सास फेर्न बिर्सिएको एक मानव लास।