वर्षौंपछि
ती मानिसहरू फेरि
क्यामेरा बोकेर आए
साथमा एक बोरा चामल पनि रहेछ
बा र आमालाई चामलको बोरा
समात्न लगाए र फोटो खिचे
र भने हाम्रो यो चिन्हमा भोट हाल्नुहोला
हाम्रो सरकार आएपछि
तपाईंलाई बगरमा गिट्टी कुट्न नपर्ने बनाउछौँ।
बा'ले
जीवन बाँच्ने श्वास बोकेर
वर्षौंदेखि बगरमा ढुङ्गाको लय मिलाउँदै
जीवनको धुन बनाउनु भयो
अब त बालाई यी ढुङ्गासँग गहिरो प्रेम छ
यसभन्दा अघि पनि थुप्रै मानिसहरूले
बा'लाई चामलको बोरा दिँदै
तस्बिर खिचेर यस्तै भनेका रहेछन्!
जीवनको चहकिलो सपना बुन्नु
भुइँमानिसहरूका निम्ति
होइन रहेछ भन्ने थाहा पाएपछि बाले
घरमा आउने यी मानिसहरूलाई केही भन्नु भएन!
भन्नेले त बालाई भोट हालिदिनुस्
बगरमा घर पनि
बनाइदिन्छौँसम्म भने
भोट हाल्ने दिन
बालाई हजारौँले नमस्कार गरे
केहिले त ढोगे पनि
भोट हालेपछि ती मानिसहरूलाई
बाले कहिल्यै देख्नुभएन!
ती मानिसहरूका सरकार पनि बने
बगरमा बाँचिरहेका
थुप्रै 'बा'हरूका आँखाहरूले बगरछेउ हुँदै हुँइकिरहेका
उनीहरूका गाडी वर्षौंदेखि
यसैगरी देखिरहेका पनि हुन्
आजभोलि त
बा'हरूका आँखाहरूले
बगरमा जीवनको सबैभन्दा गहिरो सत्य
मात्रै देख्न थालेको छ।
जीवन अस्ताएपछि त
बगरमा जलाइने मात्रै रहेछ नि है!
भोट माग्ने ती मानिसहरूले
सत्य किन नबोलेका होलान्?
किन बगरमा घर बनाइदिन्छु भनेका होलान्?
अझै पनि ती मानिसहरूले
'बा'हरूलाई बगरमा घर बनाइदिन्छौँ भनिरहेका छन्।