दस बज्न दस मिनेट बाँकी छ
निलो पाइन्ट, सेतो सर्ट
अनि त्यहीमाथि निलै कोट लाएर
चराले चारो टिपेझैँ
हातमुख जोड्दै छु
उपभोक्ता समितिको अध्यक्षले झ्यालबाट चियाँउछ
र भन्छ- सर, भुक्तानी चाहियो।
धोएका हातहरू सुकेकै हुँदैनन्
तप-तप पानी चुहाउँदै कार्यालय जान्छु
टेबलभरि कागजात छरपष्ट छन्
एक-एक गरी केलाउँछु
एकै स्वरमा सबै बोलेझैँ लाग्छ-
सर, भुत्तानी चाहियो।
करोडौँको बाटो, पुल, अस्पताल बनाएँ
पालिकामा विकासको लहर ल्याएँ
ठेकेदार भन्छ- काम सकिसकेँ, कामदारले घर घेर्न थाले
सर, भुत्तानी चाहियो।
पेट्रोल पम्पको भाइ
महिनौँ अघिका अस्वभाविक बिलहरू
बोकेर आउँछ, चिच्याउँछ, कराउँछ
मानौँ, म श्रवणविहीन छु
आँखा राता पार्दै भन्छ- सर, भुत्तानी चाहियो
कार्यकक्षभरि सेवाग्राहीको भिडभाड छ
सहकर्मी आउँछन् र भन्छन्-
बाइक पुराना भए, बिग्रिरहन्छन्
मर्मत गरेको, खर्च धेरै भो
सर भुत्तानी चाहियो।
पत्रिका, पानी, इन्टरनेट, बिजुलीका बिलहरू हेर्दै गर्दा
पसलको भाइ टुप्लुक्क आइपुग्छ
सँगसँग आउँछन् आफ्नै खानाका बिलहरू
मागेको होइन, खाएपछि तिर्नुपर्छ
सर, भुत्तानी चाहियो।
चराहरू गुडँ फर्कंदै गर्दा
थकित हुन्छु, गलिसकेको हुन्छु
आफ्नै ज्यान भारी लाग्छ, शीर फुट्ला जस्तो हुन्छ
क्वाटर फर्कन्छु
सम्झन्छु आफ्ना हजारौँ रहर, इच्छा अनि चाहनाहरू
सुकेका पातझैँ ओइलाउँदै छन् ती सबै
लामो श्वास फेर्छु, देउता सम्झन्छु र भन्छु-
भगवान्, मेरा सपनाको भुत्तानी चाहियो।