विजय र मेरो भेट रामेछापको मन्थलीमा भएको थियो। विजय पाँच वर्षदेखि मन्थलीमा काम गर्नु हुँदो रहेछ। म प्लस-टु सकेर कामको सिलसिलामा मन्थली आएको थिएँ। म बिहान कलेज जान्थेँ अनि दिउँसो एउटा सहकारीमा काम गर्थें।
एकदिन म साथीहरूसँग घुम्न भनेर दोलखा गएँ। धेरै ठाउँमा घुम्यौँ। मलाई त्यो दिनभरिको हिँडाइले गर्दा होला एकदमै टाउको दुखेको थियो। साथीहरू फोटो खिच्ने, टिकटक बनाउने गर्दै हुनुहुन्थ्यो। म भने एउटा पिपलको छेउमा बसिरहेको थिएँ।
म बसेको ठाउँमा एकजना निकै राम्रो, हाँस्दा गालामा डिम्पल पर्ने, हल्का दारीको रेखी बसेको अग्लो केटा मेरै नजिकै आएर सोध्नुभयो, 'किन एक्लै बस्नु भएको? अनि यहाँ कहिले आउनु भएको? सन्चो भएन कि?'
म अचम्म परेर उहाँलाई हेर्दै भनेँ, 'हजुरले मलाई चिन्नु हुन्छ र कहिले आएको भनेर सोध्नु भएको? अनि हजुरको नाम के हो?'
उहाँ मेरो छेउमा बसेर 'मेरो नाम विजय, मेरो घर यही परतिर पर्छ। म पनि मन्थलीमै बस्छु। तिमीलाई मैले मन्थलीमा धेरै पटक देखेको छु। म पनि मन्थलीमा सानो जागिर गर्छु' भन्नु भयो।
विजय पनि हामीसँगै जाने भन्नु भयो र हामी सबैजना सँगै मन्थली आयौँ। गाडीमा पनि विजय र म सँगै बसेको थियौँ। उहाँले मसँग धेरै कुराहरू भन्नु भयो उहाँको बारेमा, मैले पनि।
हामी पहिलादेखि नै फेसबुकमा साथी रहेछौँ। कुरा गर्दैगर्दै हामी मन्थली आइपुग्यौँ। सबैजना आ-आफ्नो घरमा जानुभयो, म पनि रुम गएँ। म रुम पुगेको लगभग एक घन्टापछि मेरो मेसेन्जरमा विजयको कल आयो।
'रुम पुग्नु भयो? कस्तो छ अहिले टाउको दुख्न?' उहाँले सोध्नु भयो। मलाई धेरै टाउको दुखेकोले 'मलाई टाउको दुखेको छ, म सुत्छु भोलि कुरा गर्छु' भनेर फोन काटिदिएँ।
भोलिपल्ट बिहानै उहाँको कल आयो- 'कस्तो भयो? टाउको दुखिरहेको छ र अझै?'
म ठिक भइसकेकोले 'म ठिक भएँ' भनेर उहाँलाई भनेँ। 'आफ्नो राम्रो ख्याल राख्नु, भरे कल गर्छु, मेरो अफिस जाने बेला भयो' भनेर विजयले फोन राख्दिनु भयो।
त्यसपछि हाम्रो कुराकानी बढ्दै गयो। विजय मलाई धेरै कुराहरू भन्नु हुन्थ्यो। म पनि उहाँलाई हरेक कुरा शेयर गर्थें। एकदिन उहाँले शनिबार परेर घुम्न जाने कुरा गर्नुभयो। मैले पनि उहाँको कुरालाई हुँदैन भन्न सकिनँ।
हामी घुम्न मन्थली नजिकै गयौँ। विजयसँग पहिलो पटक घुम्न गएकाले होला मलाई अलि डर लागिरहेको थियो। तर उहाँ मैले सोचेभन्दा अलि फरक नै हुनुहुन्थ्यो। हामी हिँड्दै अलि माथि डाँडामा गयौँ। बाटोमा मलाई हिँड्न अलि गाह्रो भएको थियो तर उहाँले मेरो हात समातेर लिएर जानुभयो।
केही समय बसेर हामी रुम फर्कियौँ। केही समयपछि विजयले कल गर्नुभयो र भन्नु भयो, 'तिमीसँग एउटा कुरा गर्नु छ। रिसाउँदिनौ भने भन्छु।'
मैले 'भन्नुस् न किन रिसाउनु' भनेँ।
उहाँले मलाई धेरै माया गर्ने, मन पराएको कुरा गर्नु भयो। मैले केही जवाफ दिइनँ। उहाँले मलाई सोध्नु भयो, 'के तिमी पनि मलाई माया गर्छौ?'
मैले केही दिनमा भन्छु भनेँ। उहाँले मेरो जवाफको प्रतीक्षामा रहेको कुरा भन्नु भयो। मैले पनि उहाँको बारेमा धेरै सोचेँ। राम्रो हुनुहुन्छ, बानी पनि राम्रो थियो। मेरो धेरै ख्याल राख्नु हुन्थ्यो। मलाई पनि उहाँ मन पर्न थालेको थियो।
फेरि एकदिन कल गरेर उहाँले सोध्नुभयो र मैले पनि माया गर्ने कुरा गरेँ। हामी धेरै खुसी थियौँ। दिनहरू यसरी नै बित्दै गए। मेरो स्वभाव अलि रिसाउने थियो, म धेरै रिसाउथेँ तर विजय मलाई असाध्यै मायालु तरिकाले फकाउनु हुन्थ्यो।
एकदिन कुरै कुरामा मैले विजयलाई सोधेँ, 'विजय, हजुरले मलाई किन मन पराउनु भएको? हजुर त सरकारी जागिरे मान्छे, राम्रो पनि हुनुहुन्छ, सम्झदार पनि हुनुहुन्छ। ठूलै पदमा पुगेको मान्छे हो हजुर, फेरि मलाई किन मन पराउनु भएको?'
उहाँको जवाफ सुनेर म एकछिन छाँगाबाट खसेजस्तै भएँ।
'मेरो साथी शोभितले र मैले एउटा बाजी राखेका थियौँ- जसले तिमीलाई पहिला आफ्नो बनाउँछ त्यसले बाजी जित्छु' त्यति भनेर विजय एकदमै हाँस्नु भयो।
म उहाँको कुरा सुनेर केही बोल्न सकिनँ। उहाँले सोध्नु भयो, 'किन नबोलेको? म माया गर्छु लाटी पिर नगर, त्यो बाजी मात्रै हो' भन्नु भयो।
मैले त्यसको केही उत्तर दिइनँ र सधैँ बोल्ने जसरी हाँसीहाँसी कुरा गरिरहेँ। तर मनमा भने निकै पीडा भएको थियो। मैले त साँचो माया गरेको थिएँ तर उहाँले त मसँग मायाको नाटक गर्नु भएको रहेछ जस्तो लाग्यो। धेरै रोएँ तर उहाँलाई केही भनिनँ।
उहाँको केही दिनमा परीक्षा आउँदै थियो। उहाँ परीक्षाको पनि तयारी गरिरहनु भएको थियो। मलाई फोन गर्ने समय उहाँसँग खासै हुन्न थियो। तर समय धेरै नभए नि एसएमएसमा आफ्नो ख्याल राख्नु, राम्रोसँग काम गर्नु भन्नु हुन्थ्यो।
उहाँको परीक्षा केही दिनमा सकियो। परीक्षा सकिने बित्तिकै मैले उहाँमा धेरै फरक पाउन थालेँ। हिजो म एकछिन नबोल्दा छटपटिने ऊ आज एक्कासी अलग हुनुभयो। म रुँदा 'नरोऊ, तिमीलाई कहिल्यै धोका दिन्नँ' भन्ने मान्छे म रुँदा फोन अफ गरेर सुत्न थाल्नु भयो।
उहाँ बदलिएको देखेर मलाई एकदमै पीडा हुन थाल्यो। मैले किन यसरी बद्लिनु भयो भनेर सोध्दा 'म बिजी हुन्छु तर म तिमीलाई धेरै माया गर्छु, तिमीलाई धोका दिन्नँ' भन्ने।
तर मेरो मनमा ऊ परिवर्तन भएको र मलाई झुट बोलिरहेको जस्तो लाग्यो। म एक्लो महसुस गर्ने लागेँ। म धेरै रुन्थेँ। विस्तारै विस्तारै मसँग कुरा कम गर्न थाल्नु भयो। मलाई झन् पीडा हुन्न लाग्यो। उहाँले गरेका पुराना एसएमएस हेर्दै आफूले आफूलाई सम्हाल्ने कोसिस गर्थेँ तर धेरै गाह्रो भएको थियो।
एकदिन विजयलाई मैले कल गरेँ। उहाँले मेरो कल उठाउनु भएन। धेरै पटक गर्दा नि नउठाएपछि मलाई एकदमै गाह्रो भयो। सास फेर्न पनि धेरै गाह्रो भएर मलाई घरबेटी दिदीदाइले हस्पिटल लानु भयो।
म त्यो रात हस्पिटलमै बसेँ। विजयलाई राति धेरै पटक कल गरेको थिएँ। बिहानै लगभग ५:३० तिर उहाँको फोन आयो र कल आएको थाहै नपाएको भन्नु भयो।
मेरो मन धेरै नै दुखेको भएर रुँदै 'मलाई कल नगर्नुस् अबदेखि' भनेँ। उहाँले नि 'हस्' भनेर कल काट्नु भयो। म घरमा आएपछि उहाँसँग मैले गरेका भ्वाइस मेसेजहरू सुनेँ। हरेक मेसेजमा 'तिमीलाई धोका दिन्नँ, म पनि तिमीबिना बाच्न सक्दिनँ' भन्ने शब्दहरू थियो।
मलाई एक पटक उहाँसँग कुरा गरेर सोध्न मन लाग्यो। मैले विजयलाई धेरै प्रश्न गरेर धेरै लामो मेसेज पठाएँ। उहाँले लेख्नु भएको थियो-
'प्यारी सानु, तिमीलाई मेरो बारेमा सबै कुरा थाहा छ किनकि मैले मेरो बारेमा तिमीलाई सबै कुरा बताइसकेको छु र मेरो कतिपय अवस्थाको बारेमा तिमीले प्रत्यक्ष रुपमा देखेको पनि छौ। यतिसम्म थाहा हुँदाहुँदै र मैले तिमीलाई भनेको कुरामा कहाँ मेल खाएन वा मेरो माया कहाँ कमजोर थियो भन्ने कुरा बस् तिमीलाई मात्र थाहा होला।
किनकि मलाई मेरो मायामा तिमी धेरै रोएको छौ। मेरो कारणले तिमीले धेरै आँसु बगाएको मैले प्रत्यक्ष देखेको छु। यति भन्दै गर्दा यो नसम्झ कि मैले मात्रै माया गरेको थिएँ र म रोएँ,। माया त मैले पनि जानी नजानी तिमीलाई गरेको थिएँ। जति तिमीले मलाई माया गरेऊ त्यति माया मैले चाहेर पनि तिमीलाई गर्न सकिनँ र पनि मैले मेरो व्यक्तिगत स्वार्थको लागि मात्र तिमीलाई माया गरेको थिइनँ।
खै! एउटै कुरा धेरै पटक भन्दा तितो हुन सक्छ। तिमीलाई अहिले मायाको खाँचो छ अनि मलाई यो मायालाई कसरी जीवनको अन्तिमसम्म पुर्याउने भन्ने चिन्ता छ। सायद यही कुरा फरक भयो होला। मैले तिमीलाई पटक-पटक भनेको छु, मलाई तिमीले धेरै माया गर्छौ, मैले पनि माया गरेको छु, मलाई विश्वास गर। म तिमीलाई धोका दिन्नँ। तिम्रो यो उमेर भनेको पढ्ने अनि आफ्नो भविष्यको लागि के गर्दा राम्रो हुन्छ वा के गर्ने विचार छ त्यो पूरा गर्न तर्फ लाग।
अहिले नै माया माया मात्रै भन्दा, दिनरात मायाकै मात्र पछाडि लाग्दा आफ्ना सपनाहरू अधुरै रहन्छन्। जीवनमा के गर्ने मन छ, त्यो गर्ने बेला यही हो। विवाहपछि त आफ्ना बालबच्चा र परिवारको बारेमा सोच्दासोच्दै आफ्नो बारेमा सोच्ने मौकासम्म मिल्दैन। मेरो मायाको लागि धेरै नरोऊ, धेरै आँसु नझार भनेर धेरै सम्झाएँ तर तिमी किन मान्दिनौ?
यसले मलाई झुटो माया गरेको हो, यसले मलाई बीचमा छाड्छ र अन्तमा मैले अरु कसैसँग जीवन बिताउनु पर्छ वा अन्तमा मेरो भविष्य अन्यौल हुन्छ भन्ने कुरा नै तिम्रो मुख्य सोचाइ हुनुपर्छ र सायद तिमीलाई बारबार रुवाउने सोचाइ नै यही नै हुनुपर्छ। मैले भरपूर तिम्रो माया पाइरहेको महसुस गरेको छु र मलाई विश्वास दिएर मेरो विश्वास मात्र गरे पनि हुन्छ प्यारी।
मैले यो सबै कुरा मेरो मात्र स्वार्थको लागि भनेको होइन, मैले धेरै पहिलेदेखि भनेको छु। तिमीलाई माया गर्न थालेदेखि र तिमीले मलाई माया गरेदेखि बाँकी जीवन जिउन केही सोचहरू समेत परिवर्तन गरिसकेको थिएँ। खै, तिमीलाई मेरो मायामा कहाँ चित्त बुझेन? त्यो मलाई थाहा भएन। सायद मैले यही कुरा नबुझेर होला तिमीले सोचे जति माया दिन सकिनँ होला।
अब तिमीलाई धेरै रुवाउन चाहन्नँ। तिमीले मेरो लागि बगाएको आँसु काफी हुन्छ। आफ्नो जीवनलाई बर्बाद पार्ने कुरा कहिल्यै नसोच्नू। यदि मेरो विश्वास लाग्छ र विश्वासकै आडमा अहिलेसम्म मलाई माया गरेको हो भने मेरो लागि नरुनू, म तिमीलाई सधैँ माया गरिरहन्छु। मैले तिमीलाई पटक-पटक भनिसकेको छु र मेरो विश्वास छैन भने तिमीलाई आफ्नो बाँकी जीवन जिउनको लागि बाटो खुला गर्दिने छु।
धेरै कुरा त के भनौँ र खै, तिमी पनि नबुझ्ने मान्छे होइनौ। यथार्थ कुरा यो हो कि मैले पनि तिमीलाई माया गरेको छु, त्यो कदापि भुल्ने छैन। माया गर्ने उमेर हो, माया गर्नु पर्छ र आफ्नो भविष्यको लागि केही गर्नु छ भने त्यो कामको सुरुआत गर्ने बेला भएको छ।
आफ्नो भविष्य कता लैजाने, कुन बाटोको प्रयोग गर्ने भन्ने कुरा निर्धारण गर्न ढिला गर्यो भने सम्झे हुन्छ कि म अरु कसैको सहारमा बाँच्छु, कि मेरा सपनाहरू यो जुनीमा अधुरै रहन्छन्। धेरै नरुनू, म बद्लिएको छैन। म माया गरिरहन्छु।'
विजयको यस्तो मेसेज पढिसकेपछि म आफैलाई आफू नै गलत भएको महसुस भयो। फेरि उहाँलाई कल गरेर अब कहिले पनि उहाँसँग नरिसाउने अनि शंका नगर्ने भनेँ। फेरि हाम्रो सम्बन्ध पहिलाको जस्तै भयो।
विजय धेरै कम बोल्न थाल्नु भएको थियो। तर पनि म उहाँ बिजी हुनुहुन्छ होला, कल गर्नु हुन्छ भन्दै बस्थेँ। त्यसरी नै केही समय बित्दै गयो तर विजयको एसएमएस, कल झन्-झन् कम हुँदै गयो। मलाई धेरै नराम्रो लाग्थ्यो अनि एक्लो महसुस हुन्थ्यो। तर बाध्यताले पनि अरुको अगाडि खुसी भएको देखाउँथेँ।
आँखाभरि आँसु हुन्थ्यो। उहाँ मसँग बोल्नै कम गर्नु भयो, बिजी छु, काम छ, पछि कल गर्छु भन्न थाल्नु भयो। यसरी बारबार आफूलाई पनि जबर्जस्ती कल गर्ने ठिक लागेन। म धेरै रुन्थेँ।
एकदिन उहाँको कल आउँला-आउँला भन्दाभन्दै राति १२ बजिसकेछ तर पनि उहाँको कल आएन। मलाई एकदमै पीडा भयो अनि मैले आफूलाई नै थप पीडा हुने काम गरेँ।
म रोएँ, कराएँ तर उहाँको मनमा मेरो लागि ठाउँ बनाउन सकिनँ। उसले पनि मलाई मतलब गर्न छोड्यो, अरुसँगै खुसी हुन थाल्यो। अनि म उसले दिएको पीडा सहन बाध्य भएको छु।
धेरै दिन पछि फेरि आज उहीँ पुरानो अतीतले मेरो मन छिया-छिया पार्यो। हामी छुटेको त धेरै समय भयो तर जति समय भए पनि मैले विजयलाई गरेको माया कहिल्यै पुरानो भएन। समयसँगै धेरै कुरा बदलियो तर उसलाई माया गर्ने मेरो मन कहिल्यै बदलिएन सानु।
यस्तो कुनै समय आवोस्, जुन पल मलाई तिम्रो याद नै नआओस्। तिम्रो यादले मलाई हरपल सताएको हुन्छ सानु। तिमीलाई त मेरो याद नै आउँदैन होला, बिर्सिसक्यौ होला। थाहा त थियो मलाई मान्छेहरू बदलिन्छन् तर मैले तिमीलाई ती मान्छेमा कहिल्यै गनिनँ।
हामी छुटेको त धेरै भयो तर तिम्रो कल अनि एसएमएसको प्रतीक्षा गर्न मैले कहिल्यै छोडिनँ। आज पनि तिमीसँग बिताएका हरेक पल मलाई याद छ। बेलाबेलामा झस्काउने तिम्रा ती यादले मलाई यसरी कमजोर बनायो कि म तिमीले छोडेर गएदेखि फेरि कहिल्यै खुलेर हाँस्न सकिनँ। तिमीसँग बिताएका ती पल आज फेरि एक पटक याद गर्दैछु।