राजेन्द्र चोक, यस क्षेत्रको चिरपरिचित चोक हो।
आज हाम्रो यो चोकदेखि ५०० मिटरअगाडि दाहिनेतर्फ आउने पहिलो गल्लीको भित्र पट्टिको बाटो छेउको बायाँतिर रहेको 'दिया कटेज' को २ नम्बर क्याबिनमा जमघट हुनेवाला छ।
कामबाट फर्किएर कटेजतर्फ जाँदै गर्दा मनेले फोन गर्यो, 'अबे छिटो आइज न यार, अझै कति ढिलो गर्छस्?'
'म आउँदैछु, अब फोन नगर्। तैँले फोन गर्दा तेरो फोन उठाउनु पर्दा झन् ढिलो हुन्छ।'
'ल ल, छिटो,' उसले फोन राख्यो।
दिया कटेजको क्याबिन नम्बर २ को बीचमा टेबुल थियो। वरिपरि सोफा थिए। म पुग्दा लोके, मने र गेन्स ममःका डल्ला टोक्दै थिए। यी मेरा घनिष्ठ मित्र हुन्। अझ अरु २/४ जना घनिष्ठ मित्रहरू छुटे।
म क्याबिनभित्र छिर्दा बित्तिकै मनेले ठाडो बोली बोली पो हाल्यो, 'तँ साले औकाती, आउन यति समय लगाउँछस्? हाम्ले भन्या मान्दैनस्? यस्तो जमघट हुने भन्ने थाहा पाएपछि आज अलिक समयमा नै आउनु पर्दैन?'
ऊ बोल्दाबोल्दै एकछिन अडियो, म बोलेँ।
'साले औकाती भन्छस्? राति १२ बजे तैँले बोलाउँदा पानीमा भिज्दै-भिज्दै हस्पिटलअगाडि को आएको छ? तैँलेभन्दा बित्तिकै जहाँ जान पनि को निस्किएको छ?'
म के बोलेको थिएँ, उसको बोली बन्द।
लोके ठूलो बन्दै गरेको टावर भएको ठाउँबाट आएको हो। गेन्स बाघको डरलाई नजिकबाट नियाल्दै नियाल्दै बाघ भेटिने बाटो हुँदै डराई-डराई आएको। म र मने यही ठाउँ, यही चोक तिरका कारिन्दा हौँ। म र मनेभन्दा अलि पाका उमेरका हुन् लोके र गेन्स। उनीहरू हामीभन्दा अलि परिपक्व देखिन्छन्। व्यवहारिक पनि उत्तिकै छन्।
म लोकेसँगै उसको छेउमा बसेँ। मेरो अघिल्तिर मने र गेन्स क्रमशः बसेका थिए।
गेन्स बोल्यो, 'भेट भयो कि ब्याटल सुरु भैहाल्ने है!'
म र मने खिस्स हाँस्यौँ। त्यहाँ पुगी तातो ममःको डल्लो मुखमा हाल्दै गर्दा कम्लेलाई सम्झिएँ। उसले एकदिन हामी घुरुङको नदीछेउ होटलमा तातो ममः खाँदै गर्दा फोन गरेको थियो।
अनि सोधेको थियो कता हो भनेर। हामी एक्कासी घुम्न घुरुङ निस्कियौँ भनेको थिएँ। उसले भनेको थियो, 'भन्या भए म नि जान्थेँ। म त जिउँदै छैन है?'
म अक्क न बक्क भएको थिए। अब के बोलौँ? तातो ममःको डल्लो निल्नु न ओकल्नु भएको थियो।
सोचेँ यो जमघट भएको फोटो खिचेर फेसबुकमा हालिएला। उसले देख्ला, मन नमानी नमानी लभ रियक्ट त गर्ला तर फेरि यसैगरी फोन गरेर म त जिउँदै छैन है भनेर भन्यो भने के भनूँला? के भनेर उत्तर दिउँला?
मैले उसलाई फोन लगाए, 'तपाईं कता?'
'हजुर, म तपाईंकै ठाउँतिर आउँदैछु।'
'उसो भए यसो गर्नोस्'
'कसो गरौँ?'
'तपाईं राजेन्द्र चोकमा आउनुहोस्, त्यो चोकको दक्षिणबाट ५०० मिटरअगाडि बढ्नोस् अनि दायाँ तिरको पहिलो गल्लीतिर लम्किनोस्। त्यहाँ दिया कटेज नाउँ लेखेको बडेमानको बोर्ड भेट्नु हुनेछ। त्यो बोर्डबाट भित्र छिर्नोस्। त्यो कटेजको पछाडि तिर रहेको २ नम्बर क्याबिन भित्र पाइला बढाउनुहोस् अनि मलगायत साथीहरू भेटिनेछौँ। आइहाल्नोस् झट्टै।'
मैले उसको मनको कुरा सोधिनँ। ऊ आउन चाहान्थ्यो कि चाहँदैन थियो, त्यो केही सोधिनँ। फटाफट लोकेसन बताइदिएँ र उसलाई आउन बाध्य पारिदिएँ। ऊ यहाँ आफ्ना केही योजना बनाएर त आएको थिएन? खैर!
कम्ले केही बेरमा दिया कटेज खोज्दै खोज्दै आइपुग्यो। ऊ कालोनिलो भएको थियो। धुर्मैलो-धुर्मैलो देखिएको थियो। आफ्नो पछिल्तिर रहेको कालो ब्यागमा बसेको धुलो टकटकायो। अनि मेरो छेउमा अडेसिएर बस्यो।
मने नार्यो, 'यो कटेजको साहुलाई पैसा कमाउनु छैन कि क्या हो? तीन प्लेट ममः ल्याएर छोड्यो, त्यसपछि आफ्नो अनुहार देखाएन।'
उसले आफ्नो छेउमा भएको गेन्सलाई बेल बजाउन लगायो। बेल बजाइसक्दा पनि साहु आएन। एकछिन पर्खियो। आउँदै आएन।
मने झोक्किदै काउन्टर तिर लाग्यो। झोक्किएर एक्लै गएको मने आउँदा साहुलाई ल्याईओरी आयो।
साहु बोल्यो, 'भाइहरूलाई के ल्याउँ?'
मेरो छेउमा भएको लोके बोल्यो, 'वात्सा ल्याउनु।'
कम्ले बोल्यो, '२ प्लेट रोस्ट।'
मने बोल्यो, '२ वटा चुरोट।'
गेन्सले बोल्यो, '१,१ सलाद अनि भुटुवा' र अन्तिममा म बोलेँ, 'दुई बोत्तल पानी पनि सँगै लिएर आउनु।'
साहु निस्क्यो हाम्रो अर्डर लिन। माहोल शान्त थियो। किनभने केटाहरू सबै मोबाइलमा व्यस्त थिए।
मनेले हकारेझैँ गर्यो, 'मोबाइल चलाउने प्रतिस्पर्धा चल्दै छ यहाँ? हामी त्यही भएर बसेका हौँ? यो पारा भएन यार केटा हो। कहिलेकाहीँ त यसो गफ गरौँ न हौ। कहिलेकाहीँ त व्यवहारिक बनौँ न। सधैँ मोबाइल चलाएर हुँदैन।'
'ल अब सबैले मोबाइल बन्द गर्ने' उसले उर्दी जारी गर्यो।
लोके मनेबाट छुपाउँदै मोबाइल चलाउँदै थियो। केहीछिनमा हाम्रो अर्डर आयो।
टेबुलमा घोप्टाएर राखेको गिलास उठाएर कम्लेले वात्सा राख्यो। अन्तिम गिलासमा वात्सा राखिसकेपछि कम्लेले ठट्यौली पारामा सोध्यो, 'तपाईंहरूले वात्सा कहिले पहिलो पटक खाएको? केही सम्झना छ?'
'मैले त कहिले खाए थाहा नै छैन यार, तपाईंहरू भन्नोस् त,' कम्लेले हामीतिर प्रश्न तेर्सायो।
मने बोल्यो, 'जबदेखि यो ठाउँ, यो चोकको कारिन्दा भएँ त्यो दिनदेखि वात्सा खाइरहेछु।'
गेन्स बोल्यो, 'म त भर्खर-भर्खर हो।'
लोके बोल्यो, 'मेरो कुरा के गर्नुहुन्छ, म त उहिल्यैदेखि हो।'
अन्तिममा कम्ले मतिर फर्कियो, आँखाले इसारा गर्दै यता नि यता भनेर मलाई देखायो।
मैले भनेँ, 'जबदेखि तपाईंहरू भेट्टिनु भयो तबदेखि हो।'
मैले यसो भन्दा केटाहरूले मसँग भएको भेट सम्झिए होलान्। तर मने बोलिहाल्यो, 'हावा कुरा गर्छ, अहिले आएर हाम्लाई पो भन्छ। भोलिपर्सी अलि केही नराम्रो भयो भने केटाहरूले गर्दा हो भन्ला कि भन्ने डर पो लाग्यो यार।'
उसको कुरामा म गलल्ल हाँस्छु। कोठा गुन्जायमान हुन्छ।
कम्लेको मोबाइलमा म्यासेज नोटिफिकेसनको ट्युन बज्यो। ऊ मोबाइल चलाउन हतारियो।
'ओहो! मेरी हुन नसकेकी गर्लफ्रेन्डको म्यासेज आएको रहेछ।' उसले आफ्नो अनुहारमा अचम्मित भाव निकाल्यो।
त्यही बखत मैले कम्लेको गिलासमा मेरो गिलासमा भएको आधा वात्सा खन्याइदिएँ, उसले चाल पाएन। ऊ पानीमा हुने जल हाँसझैँ प्रेममा डुब्दै उत्रँदै गर्दै थियो। म्यासेज गर्दै मख्ख थियो। म्यासेज पढ्दै मख्ख थियो।
'कति गर्लफ्रेन्ड भन्नुहुन्छ हौ, अब बिहे गर्नोस्,' आँखा झिम्कायो लोकेले।
'हो, अब बिहे गर्नुपर्छ। सधैँ यसरी रल्लिएर हुँदैन,' कुरामा कुरा थप्यो गेन्सले।
केटाहरू सबैलाई हेर्दै गेन्सले सोध्यो, 'यहाँ सबैभन्दा जेठो र पाको उमेरको मै हुँ क्या हो?'
तपाईं हामीभन्दा जेठो हो, तपाईंले बिहे गर्नुपर्छ,' केटाहरूको स्वर एकै भयो। सबैभन्दा कम उमेरको भन्दै म भएतिर औँलो सोझ्याए।
मने मौन।
'खै बाटो छोड्, म बाथरुम जान्छु,' मने बाथरुम जान हतारियो।
'भमिट आयो क्या?' गेन्सले सोध्यो।
'यत्ति खाएर भमिट आउँछ?'
बाथरुम गएको मने आउँदा साहुजीलाई सँगै लिएर आयो।
पहिलो पटक आएको सब चिज सक्किन थालिसकेको थियो। केटाहरूको गिलासमा अलिअलि वात्सा र प्लेटमा रोस्टका टुक्राटुक्री बाकीँ थिए।
'अरु के-के खाने? अर्डर गरौँ। यहाँ बाँकी भएको सकुन्जेलसम्म अर्को अर्डर पनि आइपुग्छ,' मनेले केटाहरूलाई अर्डर गर्न अह्राउँदै थियो।
गेन्सले गिलासमा बाँकी भएको वात्सालाई देखाउँदै भन्यो, 'आधा यही बाकी छ, यत्तिले पुग्छ बरु खाना खाउँ यार।'
'यो खाइसकेपछि पनि को खाना खान्छ बे?' मने बोल्यो।
'अब एक मगाउँ अनि सबैलाई पुग्छ। हेर त लोकेको अनुहारमा, यसलाई पुग्या छ त?' मनेले लोकेको अनुहार नियाल्न लगायो। ऊ आँखा झिमिक-झिमिक पार्दै थ्यो।
फेरि एक वात्सा, एक रोस्ट मात्र ल्याइओरी आउन लगायो मनेले।
मलाई झोक चल्यो। झोकैझोकमा म बोलेँ, 'साले, अब तँ जडिया भैसकिस् यार। थोरैले तँलाई पुग्नै छाडेछ।'
ऊ बोल्यो, 'खाएपछि टन्न खाने नि यार।'
हाम्रो अर्डर लिन अघिनै साहु हुत्तिसकेको थियो। साहुले हाम्रो अर्डर ल्याउन अलिक समय लागायो। केटाहरू फेरि मोबाइलमा आँखा डुलाउँदै थिए।
'कति पटक भन्दा तिमीहरूले भन्या मान्छौ यार केटा हो?'
'मेरो आज अलि अर्जेन्ट छ के, त्यसैले मोबाइल चलाएको हुँ,' लोकेले आफ्नो सफाइ दियो।
'आज जे-जसको जति अर्जेन्ट भए पनि सबै बन्द। आज रमाइलो गर्ने हो। सधैँ त मोबाइल चलाइन्छ नि। सधैँ त यस्तो रमाइलो गरिँदैन।'
यसैबीच गम्भीर मुन्द्रामा गेन्स बोल्यो, 'मैले योपालि घर बनाउने सुरसार कस्दैछु। सकेको सहयोग सक्दो गर्नुहुनेछ भन्ने अपेक्षा छ है।'
'हो यार, सहयोग गर्नुपर्छ। अहिले उसलाई पर्दा सहयोग गरे पो भोलि मलाई पर्दा सहयोग गर्ला। मैले सहयोग गरे पो मलाई पर्दा ऊसँग सहयोग माग्न सजिलो होला।'
यस्तै सोचेँ अनि भनेँ, 'सकेको सहयोग गर्छु तर एकैपटक सक्दिनँ। मेरो सहयोग किस्ता-किस्तामा हुन्छ है।'
मैले यसो भनेपछि केटाहरूले एकपछि अर्कोले सहयोग गर्ने वचन गरे। हामीले दिएको वचनपछि गेन्सले केटाहरूले अलिअलि सहयोग गरेर घर बनाएको सपना देखिसक्यो होला। घरभित्र बसी पनि सक्यो होला। आफ्ना लागि आफूलाई मनपर्ने युवती पनि घरभित्र भित्र्याइसक्यो होला।
सपना देख्नु पनि ठूलो कुरा हो। सपना देखाउनु पनि ठूलो कुरा हो। सपना देखाउन सक्नु पनि ठूलो कुरा हो।
मनेले बोल्यो, अर्को वर्ष मैले बिहे गर्न सक्छु। मलाई नि सहयोग चाहिन्छ। बाजेबज्यैले भन्या भन्यै छन्, तनाव छ। जिम्मेवारी बढ्दो छ।
उसले आफ्नो बिहेको योजना बताउन थाल्यो, 'मैले बिहे गर्दा हाम्रो केटाहरू सबै बाइकमै जन्ती जानुपर्छ। अनि म चाहिँ बसमै जानु पर्ने हुन्छ। बेहुली लिन जाने मान्छे के बाइकमा जानू?'
गलल हाँसोको फोहोरा छुट्यो।
'अनि केटाहरूले एउटै ड्रेस लगाउनु पर्छ। केटाहरू सब युनिक बन्नु पर्छ। किनभने मनबहादुरको बिहे हो नि। बेहुली लिएर आएपछि सबै केटाहरू घरसम्मै जानुपर्छ। खसी काट्नु पर्छ। भोज खानु पर्छ। रमाइलो गर्नुपर्छ। अनि बेहुली पुर्याउन आएकी मेरी सालीसँग केटाहरू नाच्नु पर्छ है।
भोज खाएर फर्केपछि यही कटेजको यही क्याबिनमा हामी फेरि पार्टी गर्नेछौँ। अनि हाम्रो केटाहरू सबैले बिहे गरेपछि हामी जोडी जोडि मुस्ताङ घुम्न जानेछौँ।'
मैले सोचेँ, मुस्ताङमा सम्भव त तीन जनाको जोडी होला। किनभने यीहरू सबैले गरेपछि पो मेरो बिहे होला।
मन खिन्न भयो एक मनले सोच्यो, कवाबमा हड्डी हुन किन जानु? फेरि मनमा खयाल आयो, के थाहा! लगन जुर्ने पालो पहिले मेरो पो हो कि। मन फुरुङ्ग भयो। मनमा लड्डु फुर्यो।
मनको लड्डु मनमनै खाएँ। मुहारमा मुस्कान आएको आभास भयो। सायद केटाहरूले नोटिस गरे कि? हुन त सुरुवात कान्छोबाट हुनुपर्छ भन्दै थिए। म भने मनमा खुसीले गद्गद् भए पनि बाहिर त्यसको भाव आउन नदिन हरसम्भव प्रयास गरी मुखले 'हैन, त्यस्तो हुँदैन, पालो गेन्सको हो' भनेर कुरा ऊतिर सारिदिएँ।
लोके र कम्लेले होमा हो मिलाए, सहमति जनाए। कुरा गेन्सतिर मोडिएकोमा मेरो मन ढुक्क भयो, चैनको लामो सास फेरेँ। मनेले आफ्नो बिहेको योजना बताएर सक्यो, केटाहरूले उसले भनेका कुरामा 'हो हो, त्यसै गर्नुपर्छ' भने।
उसले आफ्नो कुरा सकिसकेपछि मैले भनेँ, 'हेर केटा हो, यो मान्छेले अहिले जे जति योजना सुनायो त्यो केही गर्ने वाला छैन। यदि यसले बिहे गर्यो भने सुटुक्क गर्ला अनि केटाहरूलाई सके बिहेको अघिल्लो दिन खबर गर्ला नत्र बिहेकै दिन फोन गर्ला र समय मिल्छ भने आऊ भन्ला। अहँ! यो अहिले भनेजस्तो केही पार्टी वार्टी गर्ने वाला छैन। पैसा केही खर्च गर्नेवाला छैन केटा हो।'
हेर्दै जान मैले जे भनेको छु, जे बोलेको छु सबै पूरा गर्दै आएको छु। यो पनि त पूरा हुन्छ।' मनेले आफूले भनेका कुरा पूरा गर्छु भनेर जिद्दी गर्यो।
बिहेको कुरा सकिसक्दा साहुले हाम्रो अर्डर ल्याइपुर्यायो।
'अरे दाइ, कति ढिलो ल्याएको हौ?' गेन्सले साहुलाई हेर्दै सोध्यो।
'के गर्नु भाइ, काम गर्ने मान्छे आज म मात्रै छु। काम गर्ने केटो बिदामा बसेको छ। एक्लो मान्छेलाई भ्याई नभ्याई छ। कता-कता दौडनु। तपाईंले खाइरहनु भएको वात्सा पनि सकिसकेको थियो। अहिले माथि चोकबाट लिएर आएको हुँ। साहुजीले आफ्नो दुखेसो सुनायो र क्याबिनबाट बाहिरियो।
खाली भएको गिलासमा एकपछि अर्को गर्दै दोश्रो पटक पनि कम्लेले वात्सा राख्यो। मनेले चुरोटको खिल्ली सल्कायो। जबरजस्ती लोकेलाई एक सर्को तान्न लगायो। उसले ख्वाक्क ख्वाक्क गर्दै एक सर्को तान्यो र फेरि मनेलाई नै फर्कायो।
'अरे यार, चुरोट नखानोस् के। यहाँ धूम्रपान मन नपराउने मान्छे पनि छन्।'
मनेको नाकका पोरापोराबाट चुरोटको धुवाँ निस्किँदै थियो। कम्लेको कुरा के मान्थ्यो र, उसको कुरा नसुनेझैँ गर्यो र चुरोट तान्ने र धुवाँ फाल्ने काम गरिरह्यो। कोठाभरि धुवाँ नै धुवाँ भैरह्यो।
वात्सा गिलासमा राख्नुअघि नै रोस्ट सकिसकेको थियो। मने बोल्यो, 'अरे यार, गिलासको नसकिएरै प्लेटको रोस्ट सक्कियो त।' उसले मतिर हेर्यो। मैले रोस्ट चपाइरहेको थिएँ। 'गिलासको खाने हैन, अरु सब सक्दिन्छ यार।'
'अब चाउचाउ साधेर ल्याउन भन् त।'
गेन्सले बेल बजायो। साहुले सुनेन। साहु आएन। मेरो छेउमा रहेको कम्ले काउन्टर तिर निस्कियो। ऊ अलि ढिलो आयो तर साधेको चाउचाउ बोकेर आयो। विस्तारै विस्तारै वात्साले छोप्दै थियो। शरीरमा वात्सा चढ्दै चढ्दै थियो।
कम्लेको फोन बज्यो।
'को हो?' मनेले सोधी भ्यायो।
'त्यही हुन नसकेकी गर्लफ्रेन्ड के।'
'ए ए, उसो भए ले म कुरा गर्छु।'
कम्लेले फोन उठायो र एक्छिन कुरा गर्यो। अनि मनेतिर आफ्नो फोन बढायो।
त्यही बेला मेरो मोबाइलमा फोन बज्यो। लोकेले को हो? इसारा गर्यो।
'एकजना हो।'
म बाहिर निस्किएँ अनि भित्तामा अडेसिएर कुरा गर्न थालेँ।
गेन्स बाहिर निस्कियो। म अलि सजक भए। उसले मेरो ढाड पछाडिबाट फोटो खिच्न भ्यायो। फोन सकेर क्याबिनमा फर्किएँ।
मनेले फोनमा कुरा गर्दै थियो, 'तिमी कस्तो राम्रो के!' यस्तै केही भन्दै थियो।
कम्लेले मोबाइल खोस्यो, फोन काट्यो र भन्यो, 'मिल्न लाग्या कुरा नि बोगार्देउला यार।'
गिलासको वात्सा निख्रिँदै थियो। मने झन् मात्तिँदै थियो। लठ्ठिएको आवाजमा ऊ बोल्यो, 'फेरि अर्को एक लट मगाउँ है।'
'अहँ! हुँदैन' तीन जनाको एकै स्वर भयो।
'उसो भए हिसाब गर्न भनौँ।'
छेउमा भएको कम्ले काउन्टर तिर लाग्यो र एकछिनमा क्याबिनमा फर्कियो।
'जम्मा ५८५० भयो।'
'ओहो! कम खाइएछ।'
'ल सबले पैसा उठाउँ' मने बोल्यो।
गेन्सले ५०० को नोट निकाल्यो। 'मसँग त यति मात्र छ, भोलि फर्किनु पनि त छ। गाडी भाडा त चाहियो त यार। योपालि मिलाउनोस्। अर्को पालि म गरुम्ला नि है।'
कम्लेले ८५० निकाल्यो, ' मसँग नि यत्ति मात्र छ यार।' उसले कसम नै खायो।
'पैसा नहुने मान्छे किन बस्नु?' मनेले कम्ले तिर इसारा गर्यो।
मैले आफूसँग भएको १००० को नोट दिएँ। लोकेले १५०० निकाल्यो र मनेको हातमा थमायो।
'अब तपाईं गर्नोस्। मसँग नि यति मात्र छ' लोके भन्न के खोज्दै थियो, मनेले उसलाई उछिनी हाल्यो, 'अँ मै गर्छु। मै मात्र छु २/४ रुपैयाँ कमाउने मान्छे है?'
कोही केही बोलेनन्।
एकछिनमा कम्लेको आवाज सुनियो, 'तपाईं त होनि यार मनबहादुर उर्फ मने डन। यो ठाउँको डन। डनले गर्न पर्यो नि।' कम्लेले फुर्क्यायो।
'अब अर्को पटक बस्दा मैले जान्या छु,' रिसको झोकमै मनेले पिसाब रोक्न सकेन। कोठाको कुनामा गयो र पिसाब गर्यो।
'अलिकति लाज लाग्दैन? अलि आफ्नो इज्जतको पनि ख्याल गर्नुपर्छ। अर्को पटक पनि त आइन्छ होला। कि अब कहिल्यै आइँदैन? अहिले साहु आयो भने के भन्छ?' मनेले कुनामा पिसाब गरेको देखेपछि कम्ले रिसायो अनि भुनभुनिँदै क्याबिनबाट बाहिरियो।
हामी पनि एकपछि अर्को गर्दै क्याबिनबाट बाहिरियौँ। पाइन्टको जिपर लगाउँदै मने अन्तिममा निस्कियो। सरासर काउन्टरमा गयो, साहुलाई पैसा बुझायो।
बाइक राखे नजिक पुग्यो। बाइकमा चाबी घुसायो। बाइक चढ्यो र स्टार्ट गर्यो। हल्का के घुमाउन खोज्दै थियो लडाइ पो हाल्यो।
मने नजिकै भएको गेन्सले लडेको उसलाई उठायो। एकछेउमा बस्न भन्यो। अनि विस्तारै बाइक उठायो।
म, कम्ले र लोके बाइकमा चढिसकेका थियौँ। कहिल्यै अरुलाई आफ्नो बाइक चलाउन नदिने मनेले यसपालि भने गेन्सको हातमा बाइकको चाबी थमायो र चलाउनोस् भन्यो।
उसले बाइक स्टार्ट गर्यो। हामी मुख्य बाटोमा निस्किएर दक्षिणतर्फ लाग्यौँ। हामी चढेको बाइक लोकेले चलाएको थियो। उसले हस्पिटल लाइन तिर मोड्यो।
मैले टाढैबाट हस्पिटल अगाडि केही मान्छेहरू ठेलाअगाडि झुम्मिएको देखेँ अनि लोकेलाई भनेँ, त्यहाँ ठेलामा रोक्नोस् है।'
'अँ यार, चाउचाउ भए पनि पकाउन लगाएर खानु पर्छ,' कम्ले भोकाए जस्तो गरेर बोल्यो।
लोकेले ठेला नजिकै एक छेउमा बाइक रोक्यो। गेन्सले पनि अर्को छेउमा बाइक रोक्यो। म र कम्ले ठेला नजिकै रहेको बेन्चमा बस्यौँ। गेन्स, लोके र मने उभिए। कम्लेले २ वटा चाउचाउ र अन्डा बनाउन भन्यो। लोकेले मोबाइल निकाल्यो र अनेकन पोज दिन लगाउँदै फोटो खिच्न थाल्यो।
हस्पिटल गेटमा दुईजना हाम्रै उमेरका गार्ड उभिएका थिए। मनेले के सोच्यो खै उनीहरूको नजिक गयो र भन्यो, 'जाउँ आउनोस् चाउचाउ खाउँ।'
एकछिन उनीहरूले कानेखुसी गरे। उनीहरू ट्वा परे अपरिचितले चाउचाउ खुवाउने कुरा गर्दा। सुरुसुरुमा त नाईनास्ती गरे। मनेको जिद्दीपन अगाडि उनीहरूको केही लागेन, ठेला नजिक आए।
'ल ६ जनालाई राख्नु है चाउचाउ' मने बोल्यो।
उसले सोझाजस्ता देखिने उनीहरूलाई 'हामी यहाँ पूर्वबाट घुम्न आएका हौँ। हामी यस्ता हौँ। हामी उस्ता हौँ' भन्दै घच्चिको गफ दियो। उनीहरूले पत्ताएजस्तो गरे।
साहुजीले, तात्तातो चाउचाउ प्लेटमा राखे। सबैले मिठो गरी खायौँ। मनेले एक खिल्ली चुरोट सल्कायो।
'अरे! सार्वजनिक स्थलमा त धूम्रपान नगर्नोस् यार,' धूम्रपान गरेको मन नपराउने कम्ले बोल्यो।
साहुजीले हिसाबकिताब गरेर भने, 'तपाईंहरूको २५० भयो है।'
जब पैसा तिर्ने बेला भयो केटाहरू लफडा सुरु गरे। कम्ले र गेन्सले अगाडि नै पैसा छैन भनेर हात उठाइसकेका थिए। मैले पाइन्टको पछाडिको गोजी छामेँ, २० रुपैयाँको नोट भेटेँ अनि भनेँ, 'मसँग चाहिँ २० को नोट मात्र छ है।'
लोकेले क्याबिनमै छँदा पर्स रित्याइसकेको थियो। बाँकी अब मने थियो। मनेको आश थियो। उसले आफ्नो गोजी छाम्नु थियो।
पैसा तिर्ने बेला केटाहरू मुखामुख गर्दा ती गार्डहरू कालोनिलो भएका थिए। सोचेका हुँदा हुन, बेकारमा खाइएछ। पैसा पो तिराउने हुन कि?
मनेले ज्याकेटको गोजीबाट दुई हजारका नोट झिक्यो। ऊ त अचम्मित भयो। ओहो! कहाँबाट आयो यो नोट?
कम्ले बोल्यो, 'अघि त पैसा नभएजस्तो गर्दै हुनुहुन्थ्यो त?'
'पैसा कहाँबाट आयो माकसम थाहा भएन,' उसले कसम खायो।
उसले भनेको कुरा पत्ताउनु पर्ने बाध्यता आइलाग्यो। अनि अन्तिममा गनगनाउँदै मनेले पैसा तिर्यो। ठेला साहुले १००० को बल्लतल्ल खुल्ला बनाए। फिर्ता दिएको पैसा मिलाउँदै गरेको मनेतिर हेर्दै कम्ले बोल्यो, 'अब यसो गरौँ, पैसा रैछ फेरि जाउँ खान।'
'जोसँग पैसा छैन त्यसलाई चाहिँ बढी खानु पर्ने, खै खै अरु खाउ भन्नेको अनुहार हेरुम खै?' भन्दै मनेले कम्लेको अनुहारमा पुलुक्क हेर्यो।
हामी हस्पिटल अगाडिबाट निस्कियौँ। हामी निस्किँदा गार्डहरूले राम्रोसँग जानोस्, धेरै बेरसम्म रातिराति बाटोमा नभुल्नोस् भने।
केटाहरूले तिनका कुरा के सुन्थे, उनीहरूको कुरा नसुनेझैँ गरेर बाइक बुत्याए। हस्पिटल चोकलाई एक फेरो मार्यौं।
सुत्ने ठेगान थिएन। गेन्सले सोध्यो, 'यो चोक तपाईंहरूको हो। यो चोकको कारिन्दा तपाईं हो। अब कता सुत्ने भन्नोस्?'
'सुत्ने के टेन्सन? मेरो रुम छैन?' मनेले छाती फुलायो।
हामी उसको रुमतिर लाग्यौँ। घरबेटीले गेट लगाइसकेको थियो। मनेले धङधङीँदै पर्खाल नाघ्यो। यसरी उसले कैयौँ पटक पर्खाल नाघिसकेको थियो। उसले सकिनसकी गेट खोल्यो।
हामी भित्र हुलियौँ। लोकेले साँघुरो आगँनमा बाइक राख्यो, मनेले गेन्सलाई बाइक बार्दलीमै पुर्याउने आदेश दियो।
मनेले कोठाको चाबी खोल्यो र खाटमा गजधम्म पल्टियो। म पनि ऊसँगै पल्टिएँ। अर्को अलि ठूलो खाटमा गेन्स, कम्ले र लोके पल्टिए। खुलस्त भएर मोबाइल चलाउन नपाएका केटाहरू मोबाइल चलाउन थाले।
भित्तामा अड्याइएको घडीले रातको १२ बजाउनलाई तम्तयार भएर बसेको थियो। मनेलाई वात्सा र निन्द्रा दुवैले छोपेको थियो। ऊ सुतिसकेको थियो। केटाहरू पनि सुतिसकेका थिए। म पनि मोबाइल सिरानमा राखेर निदाउने प्रयास गर्दै थिएँ।
एक्कासी मने होस हराएझैँ गरेर उठ्यो अनि निराश भएझैँ गर्दै बर्बरायो, 'अब यसरी बरालिनु हुन्न, अब अलि परिपक्व बन्नुपर्छ, अलिक व्यवहारिक बन्नुपर्छ। जिम्मेवार बन्नुपर्छ। आज मलाई लाग्दैछ म धेरै मात्तिएँ। सोच्नु पर्ने कुरा धेरै छन्। गर्नुपर्ने काम धेरै छन्।'
मने यसरी बर्बराएको देखेर निदाइसकेका केटाहरू आफूले ओढेको सिरक फ्याल्दै उठे।
मने भन्दै थियो, 'विगत बिर्सनु हुन्न। अहँ! बिर्सनु हुन्न। म किन यस्तो भएँ? म त पहिला यस्तो थिइनँ। घरव्यवहार छ। आमाबा छन्। भविष्य छ। सुनौलो भविष्य बनाउनु पर्ने अर्को जिम्मेवारी छ। बल्ल त जिम्मेवारी बोध भएको छ। बल्ल त जिम्मेवारीले गिजोल्न थालेको छ। वर्षौं पहिलेदेखि देखिएका सपनाहरू पूरा भएका छैनन्। ती सपनाहरूलाई पूरा गर्नु पनि त छ। अहँ! अब यसरी हुँदैन। हुँदै हुँदैन। यस्तो कसैगरी हुँदैन। आफूलाई हेप्नेका अघिल्तिर केही त पक्कै गर्नुछ जसले बाको छाती गर्वले फुलोस्। आमाको शीर ठाडो होस्।'
ऊ निदाउँदा निदाउँदै बर्बरायो। ऊ बर्बराउदा बर्बराउँदै निदायो। ऊ निदाइसकेपछि उसलाई कसैले पनि उठाउने प्रयास गरेन। मने मस्तसँग सुत्यो।
मनेले गरेको हर्कतले गर्दा अतालिएको गेन्स बोल्यो, 'आज यस्तो के भयो? देउता आएजस्तो किन गर्यो? कति रात सँगै बसियो, कहिल्यै यस्तो गरेको देखेको थिइनँ। किन एक्कासी यसरी बर्बरायो?'
लोके बोल्यो, 'कहिल्यै यस्तो नगर्ने मान्छे किन आज यसरी बर्बरायो? मलाई त डर पो लाग्यो यार। भोलि केही नराम्रो त हुने हैन?'
कम्लेले निद्राले गर्दा चिम्लिएजस्ता आँखा अलि उघारेर बोल्यो, 'अबदेखि मने कि सुध्रिन्छ कि बिग्रिन्छ। ल अब सुतौँ यार।'
'भोलि के हुन्छ? अहिले सुतौँ' भनेर केटाहरू सुते। म भने अबेरसम्म पनि निदाउन सकिरहेको थिइनँ।
मनेले भनेको एउटा कुरा नमज्जासँग कानमा ठोक्किरहेको थियो, 'विगत बिर्सनु हुन्न, अहँ! बिर्सनु हुन्न।'