धर्म बिर्सिंदै गएपछि
कालोलाई सेतो भने हुन्छ
सेतोलाई कालो भने हुन्छ
झुटलाई सत्य भने हुन्छ
सत्यलाई झुट भने हुन्छ।
धर्म बिर्सिंदै गएपछि
आफ्नालाई घात गरे हुन्छ
जे मन लाग्यो त्यही बात गरे हुन्छ
अरुले चाहेजस्तो गर्यो जाति
नगर्यो कुरा भाँतीभाँती
धर्म बिर्सिंदै गएपछि
स्वार्थ पर्दा नजिकिए हुन्छ
स्वार्थ पूरा भएपछि टाढिए हुन्छ
चिन्नेलाई नचिन्दिए हुन्छ
नचिन्नेलाई चिन्दिए हुन्छ
धर्म बिर्सिंदै गएपछि,
धनसँग मनलाई साटे हुन्छ
सत्यतालाई बिर्सिएर एकअर्कालाई ढाँटे हुन्छ
अरुको अनुकूल बन्यो ठिक्क
नत्र सम्बन्ध फिकाफिका
धर्म बिर्सिंदै गएपछि
कालोलाई सेतो भने हुन्छ
सेतोलाई कालो भने हुन्छ।