पर टेबलको घोषणापत्रको किताब दंग छ
भताभुंग छ
पुरानो भत्किन लागेको गरिबको झुप्रोझैँ
बनेको उसको मन
पुराना कुराहरूसँग संवाद गर्दैछ
फिरन्ते स्वाद बाढ्ने निहुँमा
अनि मजबुरीसँगै झोस्न भ्रम र भयको आगो मजदुरको जीउमा।
मन मसानघाट बारे सोचिरहेछ
घोषणापत्रका पुस्तकहरूमा बाटाहरू खोजिरहेछ
जहाँ टाठाबाठा जेल बनाउँदै
हत्कडी कस्न
आफ्ना शब्दरुपी अस्त्रको जाल बिछ्याइ रहेछन्
ऊ कल्पित सपनाको बाटोमा चिच्चाइ रहेछ
कि उसका दिवंगत सपनाहरूको चिहान अभावको डरमा।
सुदूरबाट आएको मनको बतासले
उसको सपनाको चितामा
बित्ता नाप्दै
चिहान बनाइरहेछ
त केबल फिरन्ते मसानघाटबाट गनाइरहेका सपनाहरूको लास
देशको भाग्य बारे लेखिएका किताबहरूमा राख्ने आशमा।
मस्तिष्कको मसानघाट गन्ध भो
बुद्धि मन्द भो
फिरन्ते मनको सोचाइको मसानघाट कविता कुञ्ज भो
मन र बुद्धिबीच द्वन्द्व भो
उसको बुद्धि बन्द भो
नेतृत्वले जन्माएको समाज
र
समाजले जन्माएको नेतृत्व धेरै भिन्न भो
तर पनि साथी हो
समाजमा सपनाको फिरन्ते मसानघाट भन्नु नै उसको चुनाव चिन्ह भो
के हजुर हाल्नु हुन्छ त अब उसलाई अनि उसका घोषणापत्रमा भोट?
कि उसका फिरन्ते मसानघाटको चुनाव चिन्हमा देख्नु हुन्छ खोट?
नझुक्किनु है
उसका
मासुभात
सपनाका खात
सँगै मिठा चुनावी बातमा
ए नेपाली,
विवेक पुर्याऊ
भाग्य जुराऊ
चुनाव चिन्ह फिरन्ते मसानघाटलाई हराऊ
सँगै केबल देश अनि जनताको भाग्य बनाऊ।