जमिनसँग जोडिएको मान्छे भएर होला सायद
मलाई उड्नभन्दा
गुड्न साह्रै मज्जा लाग्छ
कहिलेकाहीँ मुन्टो आकाशतिर उठायो रे भन्दैमा
आरोप नलगाऊ
जमिनमुनि धसिएको मेरो पैतालाहरूले
मलाई सधैँ आभास दिलाइरहन्छ
कि म त्यहाँको लागि नभएर यहाँको लागि हो
हो, मलाई जून र घाम दुवै मनपर्छ
लाखौँ ताराहरू खेलिरहेको आफू माथिको ठूलो आँगनतिर हेर्दै
घन्टौँ गुनगुनाउन रमाइलो लाग्छ
तर त्यसको मतलब यो होइन कि
पहाडहरूसँग प्रेम छैन मलाई
लमतन्न तन्किएर सुस्ताइरहेका विशाल फाँटहरू,
खोलानाला, मरुभूमि र सागरहरूसँग मेरो नाता छैन
म त पहिलोपटक उभिएकै यहीँ फाटहरूमा हो
पहाडको कान्ला-कुना हाम फाल्दै दौडनको लागि
मेरो गोडाहरू तयार भएका हुन्
त्यो बगिरहने नदीहरूमा पौडँदै र माछा मार्दै
मैले आफ्नो बचपन गुजारेको हो
त्यसैले उडेर चन्द्र छुनेभन्दा
हिँडेर संसार डुल्ने रहर मनभित्र दबिएको छ।