गधा गाई होला भनि सोच्नु हाम्रै मूर्खता भयो
यिनलाई चिन्न नसकेर वर्षौंवर्ष खेर गयो
गधा होइन हामीलाई काम गर्ने मान्छे चाहिन्छ
आँखा खोलेर हेरौँ वरपर सक्षम मान्छे पाइन्छ
गधा पनि गधाजस्तै भैदिए धेरै काम दिन्थ्यो
उसले ज्याला भनेर थोरै अन्नपानी मात्र लिन्थ्यो
अहिलेका गधा खान्छन् मात्रै धेरै गर्दैनन् काम
कालो काम सेतो कुरा गरेरै कमाउँछन् दाम
साँच्चीकै गधाहरूलाई बरु पूजा गर्न हुन्थ्यो
गधा भए पनि बरु उसले मान्छेको कुरा सुन्थ्यो
अहिलेका गधाहरूले पटमूर्खका कुरा सुन्छन्
सोझा गोठालोलाई लात हानेर साडे हुन्छन्
उकाली ओरालीमा पनि भारी बोकेर हिँड्थ्यो
हिँडभन्दा हिँड्थ्यो, रुक भन्दा ट्याक्क रोकिन्थ्यो
अहिलेका गधाहरू त ठोकेर अनि टोकेर हिँड्छन्
लाभको काममा आफ्नालाई नै बोकेर हिँड्छन्।