सधैँझैँ योपालि
पनि चुनाव आयो
हाम्रै घर अगाडिका
वर्षामा हिलाम्मे हुने
बाटाहरू सबै पिच भए
साँघुरा बाटा फराकिलो
हुने रे चुनावी जात्रामा
पाँच वर्ष पहिले वार्डका
सबैभित्र सडकमा नगर बस
सररररर भनेको
अहिले साइकलसम्म सरररर
नहिँड्ने हुनाले
अहिले त्यो काम गर्न
गाउँभरि दुई भित्ते टालो
पर्चा छरे छोराछोरीले
त्यही पर्चा टिपेर सोध्छन्
बाबा किन यी सबै सँगै छापेछन्
परारै त छुट्टै-छुट्टै थिए
म भन्छु यो राजनीतिक प्रेम हो छोरा
छोरी
योपालि हँसिया हथौडा, रुख, गिलास, गाई, सूर्य
बेमेलको जोडी मिलेको छ
अब यो पालिको चुनावमा
पाँच वर्षमा विस्तार भएर थोरै
बाँकी रहेको घर-घरमा ग्यास लाइन
छिट्टै पूरा गर्ने रे
मेचि-महाकाली मेट्रो रेलको काम ७५% भैसकेको
बाँकी २५% काम छिटो पूरा गर्ने रे
सबै सार्वजनिक ठाउँमा फ्री वाइफाई
पुगिसकेकोले फाइभ-जी विस्तारको काम तीव्र रुपमा गरिने
उहिले पचास लाख युवा विदेशमा थिए
पाँच वर्षमा स्वदेशमा रोजगारी सिर्जना भएकोले
अहिले जम्मा सत्तरी लाख युवा बाहिर छन् रे
देशको अर्थतन्त्र डामाडोल भएकोले
रेमिटान्स आर्जन गरेर देश धान्न
यो संख्या छिट्टै करोड पुर्याइने
गाउँमा सीपमूलक शिक्षा पुगेर
गाउँका विद्यार्थी सहर आउनै नपर्ने
सहरका पढ्न गाउँमा जाने
हिन्द महासागरमा चलिरहेका दुई वटा पानीजहाज
अब तीन वटा थपेर छिट्टै पाँच वटा बनाई सञ्चालन गरिने
देशभरि स्मार्ट र मेघा गरी पचास वटा
अत्याधुनिक सिटी बनेर तयार भएको र
ती सिटी अहिले २० घण्टा खुला रहेकोमा
यही चुनावपछि २४ घण्टा सञ्चालन गरिने
जसरी पनि जनता ठग्नु, झक्याउनु नै हो
कठै! हामी
यिनीहरूको कारण हामी ब्ल्याक एण्ड ह्वाइट
उनीहरू रंगिन कसरी?