एउटा बडेमानको घर छ
तीन तल्ला भाडामा छ
बाँकी आफूले चलाएको छ
छोरीहरू बिहेपछि
आ-आफ्नोघर गए
एउटा छोरो बाँकी थियो
ऊ पनि विदेशतिर गयो
बुहारी उसकै पछि लागी।
अब यो घरमा
मात्र उमेर पुगेका नितान्त
हामी आमाबुबा मात्र बाँकी छौँ
बिरामी भएर ओछ्यान पर्दा
जीउले साथ नदिँदा
तलमाथि गर्न नसक्दा
कोठेमा पोको परेर बस्नुपर्दा
आफैलाई खिन्न लाग्छ
आफ्नो कुरा कति सुनाउनु
बुढीको कुरा कति सुन्नु
मन परे पनि सुन्नु परेकै छ
मन नपरे पनि सुन्नु परेकै
बेलाबेलामा छोराले
भिडिओ कल गर्छ, कुराकानी गर्छ
के छ, कस्तो छ भनी सोध्छ
मनको पीर, व्यथा गाँठो पारेर
ठिकै छु भन्छु
बेलाबेलामा छोरीले फोन गर्छे
कुरा गर्छु
एकछिन भए पनि समय भुल्छु
आफैलाई भुल्ने गर्छु
बस् जिन्दगी यसरी गुज्रिरहेको छ।
पहिला पैसा थिएन, खान पाइनँ
अहिले पैसा छ, खान हुँदैन
भनेजस्तै भएको छ
छोराले पठाएको पैसा
सम्झिँदा भतभती मन पोल्छ
छाती चसक्क हुन्छ
सहारा बिनाको त्यो पैसा पनि
आफैलाई बोझ भएको छ।
लोग्नेलाई स्वास्नी र
स्वास्नीलाई लोग्नेको सहारा भनेजस्तै
बीचमा आएका सन्तान पनि बीचमै भनेजस्तै
बुढेसकालको सहारा अब
विदेशतिर लागेपछि
साँच्चै
यो घर रित्तो-रित्तो भएको छ।