मण्डपमा सजिएका बेहुला-बेहुलीजस्ता
युगौँदेखि बलिराछन् वरपर यस्ता
विलक्षणका स्वरुप लिई जन्मिएका यहाँ
पानीमाथि आगो बल्ने शक्ति पाए महा
विज्ञान भन्छ इन्धन हो, धर्म देउता मान्छ
जनविश्वास रहेको छ, दु:ख खोसी लान्छ
मंगलबार, शनिबार घुइचो भक्तजनको
पूजापाठ गरेपछि शान्ति मिल्छ मनको
श्रीस्थान, कालसैनी देव, नाभिस्थान, ठांगी
बहुमूल्य सम्पदाको भरिपूर्ण खानी
डाँडा-काडाँ वनपाखा अति राम्रो ठाउँ छ
पावन पुण्य भूमि हाम्रो त्रिविस्टप लाग्छ
पर्यटक स्वागतद्वार गुराँसेको बाग
चिसो पानी, मिठो बोली ममताको लाख
पहरेदार सैनिक हुन्, पादुका डुन्गेश्वर
चट्टसँगै बसेका छन् कीर्तिस्तम्भका फेर
महाबुका शृंखला उभिएका जन्ती
पण्डवले सर्प मार्दा सिर्जेको किम्बदन्ती
शीर खसेर श्रीस्थान, नाभी खसेर नाभिस्थान
शीतकालीन खसको राज्य सानो छैन मान
कोठार खस्यो कोटिला रे, पाउ पादुकामा
त्रिपद ओदान ज्वालाजीका हाम्रा बाबाआमा
कीर्तिस्तम्भदेखि पर बाँकी धुलो धुलेश्वर
मालिका र पाथरनाउली पञ्चदेवल पनि नेर
कदम मिलाई विकास गरौँ पञ्चकोशी सेरो
कुन शब्दले बयान गरुँ चाँदनीको फेरो
वारि दुल्लु पारि दैलेख माँझा छामघाट खोला
दर्शन गर्न वरदान माग्न नबिर्सनु होला।