छर्लक्क कालो वर्ण
चम्किला आँखा राता
कागकै हौ कि झैँ लाग्ने
जात कता-कता
गीत गाउँदै हिँड्छौ तिमी
वनपाखा डुली-डुली
बोलाउँछन् तिमीलाई भनि कोयली।
मधुर आवाज कति मिठो
भन्छन् स्वरै किन्नरी
घुम्छौ वन चहारी चहारी
ए फल आहारी
वसन्तमा मात्र झुल्किन्छौ
रमाउँछौ दिनरात बेसरी
रहन्छौ यस्तो अरु समय
कहाँ र कसरी?
कहिले कहन्छौ कुहू-कुहू
कहिले भन्छौ कुक्कु
सिधासाधा छौ झैँ लाग्छ
तर छौ साह्रै छट्टु
बाठोको नि बाठो छौ तिमी
गरौँ म के कुरा
कागलाई झुक्काई फुल साट्ने
हौ कति चतुर!
अल्छीमा नि अल्छी छौ तिमी
न घर बनाउँछौ
बचेरा कोरल्न, हुर्काउन
अरुलाई पिरल्छौ
सताउन अरुलाई बचेरैमा
जानेको पनि कति
तर मिठो स्वरले ढाकेको छ
अपराध भए नि ती जति।