बाँसुरी उस्तै छ
धुन उस्तै छ
अलाप उस्तै छ
सुर उस्तै छ
तर तिमी भन्छौ
म अनि मेरो बाँसुरी फरक छ
मेरो धुन अनि अलाप फरक छ
मेरो सुर अनि ताल फरक छ
खै, मेरो इन्द्रियमा खोट छ कि?
मलाई त सबै उस्तै-उस्तै लाग्छ।
बाजा उस्तै छ
बादक उस्तै छ
गुरु उस्तै छ
साधक उस्तै छ
तर तिमी भन्छौ
मेरो बाजा अनि बादक फरक छ
मेरो गुरु अनि साधक फरक छ
खै, मेरो इन्द्रियमा खोट छ कि?
मलाई त सबै उस्तै-उस्तै लाग्छ।
भिड उस्तै छ
चाल उस्तै छ
वाचा उस्तै छ
गन्तव्य उस्तै छ
तर तिमी भन्छौ
मलाई पछ्याउने भिड फरक छ
मेरो चाल अनि वाचा फरक छ
मेरो सुनौलो गन्तव्य फरक छ
खै, मेरो इन्द्रियमा खोट छ कि?
मलाई त सबै उस्तै-उस्तै लाग्छ।
ज्ञान उस्तै छ
गङ्गा उस्तै छ
लोभ उस्तै छ
उद्देश्य उस्तै छ
तर तिमी भन्छौ
मेरो ज्ञान अनि गङ्गा फरक छ
लोभ बिनाको उद्देश्य फरक छ
खै, मेरो इन्द्रियमा खोट छ कि?
मलाई त सबै उस्तै-उस्तै लाग्छ।
भाषा उस्तै छ
भेष उस्तै छ
तिमीले दिने सन्देश उस्तै छ
धर्ती उस्तै छ
धरातल उस्तै छ
तर तिमी भन्छौ
मेरो भाषा अनि भेष फरक छ
मैले दिने सन्देश फरक छ
मेरो धर्ती अनि धरातल फरक छ
खै, मेरो इन्द्रियमा खोट छ कि?
मलाई त सबै उस्तै-उस्तै लाग्छ।
आश्वासन उस्तै छ
सपना उस्तै छ
व्यवहार उस्तै छ
विरासत उस्तै छ
तर तिमी भन्छौ
मेरो आश्वासन हैन विश्वास हो
मेरो सपना हैन, विपना हो
मेरो व्यवहार उदार छ
मेरो विरासत गर्विलो छ
खै, मेरो इन्द्रियमा खोट छ कि?
मलाई त सबै उस्तै-उस्तै लाग्छ।
तर बिन्ती अब त
व्यवहार अनि संस्कार सुधार
अँधेरा वस्तीका अवस्था सुधार
यो सबैलाई समेट्ने व्यवस्था सुधार।