चुनाव आउँछ र देश सम्पन्न बन्छ
घर-घरमा बिजुली आउँछ
सडकहरू फराकिला बन्छन्
स्कुलहरू निर्माण गरिन्छन्
युवाहरू घर फर्कन्छन्
रोजगारी सृजना हुन्छ
कायाँपलट हुन्छ देशमा
चुनावी माहोलमा
नाङ्गा डाँडाहरूले स्वरुप फेर्छन्
पहाडहरू सुन्दर बन्दछन्
बागमतीहरू सफा हुन्छन्
सिमानाहरू मजबुत बन्छन्
र यो देश समुन्नत बन्छ
किनकि
अचेल चुनावी माहोल छ
सपनाहरूको मेन्यु तयार छ
र कतै पुलहरू बन्छन्
वस्ती-वस्तीमा बगैँचाहरू बन्छन्
अनि कतै केबुलकारहरू बन्छन्
सकिने नसकिने सबै बन्छन्
किनकि
पत्याइदिने हामी नागरिक छौ
मन्त्रमुग्ध भएर सुन्ने हामी छौँ
त्यसैले त
कहिले नेपाल स्विजरल्याण्ड बन्छ
अनि कहिले सिंगापुर बन्छ
तर नेपाल, नेपाल कहिल्यै बन्दैन
नक्सा च्यातिएको छ
स्वाभिमानमा खोट लागेको छ
गरिबीको कुचक्रमा परेको छ देश
महङ्गी आकाशिएको छ
र पनि
सपना बाँडिन्छन् अनि साँटिन्छन्
केवल एक भोटका नाममा।