म बेलुकीपख हातमा मोबाइल लिएर वाकमा हुन्छु। मोबाइलमा बजिरहेको गीतको धुनमा पाइला चाल्छु। कसैको म्यासेज या कल आएको छ कि भनेर घरीघरी फोनको स्क्रीन हेर्छु। फोन नहेरी पनि कल, म्यासेज नआएको थाहा हुन्छ।
म्यासेज आउँदा घण्टी बज्छ या कल आउँदा फोनको रिङ्गटोन तर यसै घरीघरी मोबाइल हेर्ने बानी बसेको होला। मोबाइलको जमाना हो, आजभोलि सबैको प्रायः यो बानी सामान्य भएको बुझिन्छ।
मेरो फोनको घण्टी बज्छ। दाहिने हातमा भएको फोन हेर्छु। जिग्री साथी हरिको फोन हुन्छ। आधा घण्टीमै बुढीऔँलाले हरियो बटन पिलिकपिलिक गर्दै गरेकोलाई उँभो सारेर हँसौली पारामा भन्छु- 'हल्लो... माई डियर फ्रेन्ड!'
उसले मेरो अभिवादनको प्रतिक्रिया नदिई आपतमा परेको बोलीमा भन्छ- 'ओए! तैँले देखिस्? तेरी 'एक्स' को न्यूड फोटो फेसबुकमा अपलोड भएको छ!'
मेरो मजाकीय मुडमा बोल्ने मनसा खल्लो हुन्छ। तीनछक पर्छु। अपुरो कुरा सुनेर प्रश्न गर्छु गम्भीर स्वरमा- 'को एक्स हौ? स्पष्ट भन् न?'
हरिले पनि सिधैँ नाम भन्छ- 'अरे यार, त्यही सिखा के!'
अघि एक्स भन्दै बुझेको थिएँ तर पुष्टि गर्न चाहन्थेँ।
'अबै! मैले त देखेको छैन त यार! ला, कस्तो नराम्रो भएछ। विचरी!'
साथीले पनि निराश मनले भन्छ- 'त्यही त यार, हेर्न एकचोटि।'
'पख् ल म हेर्छु' भन्दै फोन मिनिमाइज गर्छु, फोन लाउड स्पिकरमा राख्छु ताकि साथीले केही भन्यो भने जवाफ दिन पाउँ।
फेसबुकमा सर्च गर्छु सिखा नाम, भेट्दिनँ। सिखासँग फेसबुकमा फ्रेन्ड भएको पनि एक हप्ता मात्र भएको थियो। ब्रेकअप भएको पाँच वर्षपछि उनले फ्रेन्ड रिक्वेष्ट पठाएकी थिइन्। उनले पाँच वर्षपछि सम्झना त गरिन् तर मेरो जीवनमा धेरै परिवर्तन भइसकेको थियो।
उनले सबै सौधिन् मैले मेरो परिवर्तन भएको सबै कुरा केही नलुकाई भनिदिएँ। निकैबेर कुरा भयो। मैले पनि उनको बारे सोधेँ। ऊ यही म भएको सहरमा काम गर्दै गरेकी रहिछिन्। फोन नम्बर साटासाट गर्यौं। एकदिन भेट्ने भनेर पनि औपचारिकता गर्यौं।
'भेटिनस्?' भन्दै हरिले प्रश्न गर्छ।
'खोई! भेटिनँ यार। आइडी डिएक्टिभेट भएजस्तो छ।'
मेरो जवाफ सुनेर साथीले भन्छ- 'मैले स्क्रीनशट लिएको छु। सेन्ड गर्दिएँ हेर ह्वाट्सएपमा।'
लुरुक्कै ह्वाट्सएप खोल्छु। उसैको फोटो रहेछ। कमरभन्दा उभो सबै नाङ्गो। फोटो एडिट गरेको हो कि जस्तो लागेर जूम गरेर पनि हेर्छु तर एडिट जस्तो लागेन। हामी रिलेसनशीपमा हुँदा मैले उनको नग्न जीउ कहिल्यै देखेको थिइनँ। आज देखेर मलाई खल्लो लाग्छ, अप्ठ्यारो लाग्छ।
'यार! कस्तो नराम्रो घटना घटेछ। तँलाई फोटो एडिट त लागेन हरि?'
'खोई एडित जस्तो त लागेन मलाई।'
मैले अड्कल काटे जसरी नै हरिले पनि जवाफ दिन्छ।
दुवैले निकैबेर उसको न्यूड फोटो अपलोड भएकोबारे कुरा गर्छौं। उसको न्यूड फोटो अपलोड हुनुमा हामीले निकै तर्कहरू फेला पार्छौं। सिखाको प्रेमिकाले यस्तो गरेको हुनसक्छ, प्रेमिकालाई फेसबुक पासवर्ड दिएको हुँदा झगडा पर्यो होला अनि केटाले बदनाम गर्न अपलोड गरेको हुनुपर्छ, कसैले फोटा एटिड गरेर पैसा ठग्न पनि गरेको हुन सक्छ।
यस्तै तर्कहरू हामीले निकै खोदलेर निकाल्यौँ। तर हाम्रो तर्कले उनीसँग घटेको अप्रिय घटनालाई सपार्न केही सहायक हुने थिएन। यो घटनाले हामीलाई निकै खल्लो बनाइदिन्छ।
हाम्रो फोनको कुरा बिराम हुन्छ। यो समाचारले मेरो मन खिन्न भइदिन्छ। हिँड्दै गरेका मेरा खुट्टा ठिङ्ग उभिएका हुन्छन् यतिबेरसम्म। त्यहीँ चैरमा थ्याच्च बस्छु। पाँच सालअघि बितेका पल मेरा मस्तिष्कमा सल्बलाउन थाल्छन्। असारमा उर्लिएको खोलाझैँ ऊसँग गाँसिएका पल आँखाअगाडि उर्लिन थाल्छन्।
हिन्दी दिवसको उपलक्ष्यमा आयोजित दश दिवसीय शिविर थियो। शिविरको छटौँ दिन मन्दिरको परिसरमा श्रमदान हुँदै थियो। शिविरार्थी सबै साफ-सफाइमा व्यस्त थिए। म र सिखा शिक्षक हुनाले शिविरार्थीको निगरानी गर्दै थियौँ।
शिवरार्थीलाई मजाले सफाइ गर्नका लागि निर्देश दिँदै थिएँ। सिखा मेरो छेउमा आइन्। ऊ शर्मिली किसिमकी केटी थिइन। ऊ न् मिलनसार एवं हँसौली व्यवहारकी। खाइलाग्दो जीउ, सूर्यको आकार समान गोला-गोला गाला, ठूल्-ठुल्ला आँखा, बुलन्द आवाज, कडा व्यवहार, अरू केटीजस्तो श्रृङ्गारपटार नगरे पनि राम्री। मभन्दा एक वर्ष ठूली हुनाले म सिखा दिदी भन्थेँ। उनीले मलाई साह्रै स्नेह गर्ने। उनको स्नेह देखेर आफ्नोपन लाग्थ्यो।
मेरो छेउमा आँउदा उनको अनुहार लाजले डुबेको अनुभव गरेँ। आँखामा भिन्न आशा पोतिएको देखेँ।
सिखा मुसुक्क हाँसिन्।
शिविरको व्यवस्थाअनुसार दायित्वमा म ऊभन्दा थोरै सिनियर थिएँ। औपचारिक काम छोडेर मलाई सधैँ हप्काउँथिन्। विद्यार्थी सिखा म्याडम भनेपछि हुरूक्क हैन, डरले थुरूरू हुन्थे। एक चोटि एकजना विद्यार्थी खैनी खाँदा पक्राउ पर्यो, सिखाले मजाले चुटेको थिइन्। त्यो दिनबाट अरू विद्यार्थी झन् सिखाको छेउ पनि पर्न छोडे।
म पनि मुसुक्क हाँसिदिएँ।
असमञ्जस्यतामा पर्दै आज किन हो उनले गाह्रो पाराले बोली फुटाइन्- 'मलाई केही भन्नु थियो तपाईंसँग!'
'भन्नु न त के हो।'
मैले सहजै जवाफ दिएँ। अरू बेला पनि शिविरसँग सम्बन्धित कार्यले मसँग केही न केही सोधिरहेको हुन्थिन्।
मैले भन्नलाई स्वीकृति दिँदा पनि भन्ने आँट गरिनन्।
उनको अनुहार अझ रम्भेँडा जस्तो रातियो। घुटक्क थुक निलेको पनि बुझेँ उनको किल्किलेको कार्य देखेर।
मैले नै भनेँ- 'के हो भन्नु न? किन आज यसरी लजाउनु भएको?'
मेरो प्रश्नले थप अन्योलमा परिन् उनी। किच्च हाँसेर सामान्य हुने प्रयास गरिन् तर अनुहारको वातावरण असमान्य लाग्थ्यो।
'कसरी भन्नु! डर लाग्यो,' बल्लबल्ल कण्ठबाट निकालिन् बोली।
यो जवाफ सुन्दा चाहिँ मलाई कुरा सामान्य छ जस्तो लागेन। कता-कता शङ्का लाग्यो। मैले केही शङ्का नगरेको स्वाङ् गरेरे भनेँ- 'ह्या किन लजाउनु भएको हौ? भन्नु न नडराई?'
मेरो अनुहार सामान्य भए पनि मनमा डरले ठाउँ ओगट्न लाग्यो। कुरा के हो त्यो जान्न मन अझ उत्ताउलो बन्यो।
'म लेखेर दिन्छु ल! भन्न सकिनँ,' उनले विकल्प राखेर मेरो अनुमति मागिन्।
मेरो पालो 'हुन्छ' भनिदिएँ।
उनले पकेट डायरी निकालिन्। उतापट्टि फर्केर लेखिन्। तिस सेकेण्डमै लेखेर कागज पट्याइन् अनि मेरो हातमा राखेर भनिन्- 'कोठा गएर मात्र पढ्नु है!'
'हुन्छ' भन्दै म आफ्नो कोठातिर लागेँ।
चिट नखोली कोठासम्म जान मनले कहाँ मान्थ्यो होला र! ऊ ओझेल परेपछि चिट खल्तीबाट निकालेर खोलेँ। उनका हस्तलिपी साह्रै राम्रा। आज अझ सुन्दर अक्षरमा लेखेकी रहिछन् तीन शब्द- 'आइ लभ यू' होइन 'आइ लाइक यू'। मन ढुकढुक गर्यो मेरो त। खुसी पनि उत्तिकै। कुनै राम्री केटीले प्रेम प्रस्ताव दिएको नराम्रो कहाँ लाग्छ र?
मैले उनको तीन शब्दलाई केही वास्ता गरिनँ। तर अघिल्ला पाँच दिन उनले गरेको स्नेहका पल सबै दिमागमा छरिन लागे। झलझली सम्झ्नि लागेँ।
जाडामा यसै छाला फुस्रो हुन्छ। ती माथि केटा छोरीमान्छे जसरी स्याहार-सुसार गर्दैनन् आफ्नो जीउको। सिखाले शिविरको दोस्रो दिनमा फेसक्रिम र बडी लोशन दिएको थिइन् सधैँ नुहाएपछि लगाउनु भन्दै। पहिरन नमिल्दा हप्काएर ढङ्गले लगाउने तालिम दिन्थिन्। शिविरार्थी, शिक्षकगण एकै साथ बसेर भोजन गर्दा मसँगै बस्थिन्। कुनै दिन अरू शिक्षिका मसँग बसे भने दिनभरि ठूला आँखा अझ ठूला पारेर हेर्थिन्।
मलाई स्नेह गर्थिन्, त्यो मलाई राम्रो लाग्थ्यो। एकदिन बुलेकी गेट छेउमा आगो ताप्दै गरेको बखत उनले मलाई उनको परिवारबारे बताइन्-
'म दस वर्षकी हुँदा पापा बित्नु भयो। पापा बितेको एक वर्षपछि आमाले अर्को बिहे गरिहाल्नु भयो। म टुहुरी भएँ। आमाले बिहे गरेको घरमा पहिल्यैदेखि पाँच जना सन्तान थिए। मलाई त्यहाँ बस्न मन लागेन। पापाको सम्झनाले असाध्यै सताइरह्यो। आमाको नयाँ परिवारमा बस्न नमान्दा आमाले मलाई होस्टेलमा भर्ना गर्दिनु भयो।
पापाले छोडेर त जानु भयो साथमा भएकी आमाबाट पनि टाढिएँ। आमाले मेरो भविष्यको चिन्ता नगरी अर्को बिहे गर्नु मेरा लागि दिनरात असह्य पीडा दिने पैतालमा बिझेको काँडो सरी भयो। पापाले मलाई धेरै माया गर्नु हुन्थ्यो। पापालाई सम्झेर रातभरि रुन्थेँ। पापाले माया गरेको, खिलौना किन्दिएको, बजार जाँदा नयाँ लुगा किनिदएको सम्झना गर्दै सुस्किरहन्थेँ।
आँसु नझरेको कुनै रात हुँदैन थियो। ठुली हुँदै गएँ। आफै सम्हालिन थालेँ। छोरी ठुली भई भनेर आमाले साथमा राख्न ढिपी गर्नुभयो। आमाको मन राखिदिन आमासँग आएँ। मलाई त्यहाँ बस्न निसासिएकोझैँ लाग्यो। मलाई हेला पनि गरेका थिएनन् मेरा सौतेला दाइ-दिदीहरूले। त्यही पनि मन पटक्कै मानेन। अर्को कोठा लिएर बसेँ। खर्चा चाहिँ आमाले दिनुहुन्थ्यो।
कलेजबाट लखतरान भएर कोठा फकिँदा केहिले खाना हुँदैन थियो, कहिले बिहान खाएका जुठा धन्दा त्यतिकै हुन्थे। पकाउन अल्छी लाग्थ्यो। कहिले नखाइ सुत्थेँ, कहिले चियाले भोक मारेर बस्थेँ। एकचोटि पकाएर दुई-तीन छाक टार्थें। सधैँ चिसो अनि खानामा अनिमियता हुनाले सानैबाट ग्यास्ट्रिकको रोगले च्याप्यो। मेरो यो हँसिलो अनुहारमा धेरै आँसु लुकेका छन्। के गर्नु आमा-बाबाको माया मेरो भाग्यमा लेखेको रहेन।'
आफ्नो जीवनका दुःखका क्षण सुनाउँदै सिखाका आँखा ओसिला भएको देखेँ। मलाई पनि त्यो बेलुकी उनको दुःखको कथा सुनेर ऊप्रति दया पलाएर आयो। नमिठो लाग्यो।
मलाई लाग्यो आफ्नै सम्झेर सुनाइन्, नभए जोसुकैलाई यस्ता कुरा कहाँ सुनाइन्छ र? मलाई खुसी लाग्यो। उनले अरू कसैलाई पनि नसुनाएको भनेकी थिइन्। उनलाई सान्त्वना पनि दिएँ।
चिटका तीन शब्दले केही दिनअघि घटेका कुरा सबै काँचो पारिदियो। मलाई पुष्टि भयो उनले मन पराएरै यति धेरै स्नेह गरेकी रहिछिन्। तर मलाई उनको प्रेम प्रस्तावले पटक्कै फरक पारेन। मेरो मनले यो अचानक ऊप्रति राखेको भावदेखि प्रेमिल भावतिर लगेको स्वीकार्न सकेन।
सिखालाई कहिल्यै गलत नजरले हेरेको थिइनँ। मभन्दा एक वर्ष ठूली पनि थिइन्। ऊभन्दा म सानै देखिन्थेँ। म नरम स्वभावको, ऊ कडक। मैले अस्वीकार्ने यी कारण छँदै थिए तर अर्को भिन्न कारण थियो जसले सिखाको प्रस्तावलाई चिन्तन गर्न पनि अनुमति दिएको थिएन।
शिविरमा इशा नामकी विद्यार्थी थिई। असाध्यै राम्री। मैले कक्षा लिएको बेला लुकीलुकी हेरिरहेकी हुन्थी। कहिले मुसुक्क हाँस्थी। कहिले लाजले अनुहार मलिन बनाउँथी। चाहेर हो कि संयोगले कक्षाको भिडमा उसैमाथि मेरो नजर पुग्थ्यो। मैले उसलाई हेरेको उसले पनि बुझिछे। दुवैले हेर्ने हुँदा घरीघरी नजर जुद्थे।
ऊ मुसुक्क घाइते मुस्कान मुस्काइदिन्थी। म डरले थुरूरू। एकचोटि कक्षामा सबैलाई छलेर उसले मलाई आँखा पनि झिम्काई। मेरो मनमा हुरीझैँ चल्यो। उसले मलाई मन पराएको भेउ पाएँ। मैले उसलाई मन नपराउने ठाउँ नै थिएन। जसले देखे पनि लट्ठ पर्ने।
मलाई पनि प्रेमिका बनाउने रहर जागेको थियो। शिविरमा निकै साथी भेला भएका थियौँ। प्रेमका कुरा गर्थे। प्रेमिका डोर्याएर हिँडेका प्रेमिल कुरा सुनाउँथे। कत्तिचोटि मलाई पनि सोधे तर मेरो प्रेमकथा त सुरू नै भएको थिएन। मेरो प्रेमिका छैन भनिदन्थेँ। कत्तिले पत्याउँथे कतिले ढाँट्वा भन्थे। अरू साथी जसरी प्रेमिकासँग फोनमा बोल्ने, घुम्न जाने रहर ठूलै भइसकेको थियो।
प्रेम गर्ने रहरको बेला इशाको आगमन मेरा लागि स्वयं पुष्प भ्रमरको छेउमा आएझैँ भयो। शिविरमा यताउता गर्दा इशासँग जम्काभेट हुन लाग्यो। ऊसँग एउटी साथी हरेक समय हुन्थी। उसले पनि कक्षामा हुने दुईजनाको आँखाको वार्तालाप बुझिछे क्यार! या इशाले भनेकी थिई होला! अरू शिविरार्थी डरले मेरो छेउमा पर्दैनथे। अनुशासनमा कडा थिएँ।
अनुशासनलाई अझ इशामा थोप्थेँ। उसले बुझेकी थिई मलाई सरले मन पराएरै हो अरूलाई भन्दा मलाई अनुशासन थोपेको, मेरा छेउ आउने केहीनकेही बहाना बनाएको। जम्का भेटमा कक्षामा सिकाएको प्रश्न गरेर उसलाई निल्ल पारिरहन्थेँ। ऊ डराउनेवाला कहाँ थिई र? उल्टै दारिमजस्ता मिलेका दाँत देखाएर मुसुमुस हाँस्दै मेरो मनसा बुझेको आभास गराउँथी।
शिविरमा दिनदिनै सांस्कृतिक कार्यक्रम हुन्थ्यो। प्रायः म नै कार्यक्रम गराउँथेँ। दुई दिनदेखि इशा सांस्कृतिक कार्यक्रममा आएको थिइन। मैले उसको गणप्रमुखलाई सोधेँ। गणप्रमुख अर्पिता म्याडम थिइन्। उनले इशा बिरामी भएको जानकारी दिइन्। इशालगायत अरू पाँच जना पनि बिरामी भएका रहेछन्।
मैले सबैलाई भेटेर हालचाल लिने अर्पिता म्याडमलाई भने। उहाँको सहमतिमा कोठा-कोठा गएर हालचाल सौध्यौँ। अन्तमा इशाको कोठा पुग्यौँ। इशाले खुट्टामा चोट लागेको अनि खोकी लागेर जीउ दुखेको जानकरी दिई।
इशाको कोठामा पुगेपछि अर्पिता म्याडमले 'औषधि लिएर आउँछु, हजुर इशासँग कुरा गर्दै बस्नुहोस्' भनेर कोठादेखि बाहिरिइन्। केही दिनपछि आभास लाग्यो- पक्कै पनि अर्पिता म्याडमले हाम्रो आँखाको वार्तालाप बुझेर एकान्तमा कुरा गर्ने अवसर दिएकी थिइन् होली!
अर्पिता म्याडमले कोठा छोडेपछि मलाई असाध्यै डर लाग्यो। क्षणमै शिक्षकदेखि एउटा प्रेमी केटा भएँ। डरले उसलाई हेर्न पनि सकिनँ। ऊ भने निर्धक्क भएर मलाई प्रश्न गर्न लागी।
'तपाईं मलाई मन पराउनु हुन्छ?' मन पराउदिनँ भन्ने मेरो विकल्प थिएन। आखिर मन पराइ पनि त सकेको थिएँ उसलाई।
'भन्नु न?' फेरि उसले प्रश्न राखेपछि मुन्टो हल्लाएर मन पराउछु भनिदिएँ। अनि हाँस्दै 'किन डराउनु भएको त' भन्दै मेरो डराएको वातावरणलाई सामान्य बनाउन गरी।
'प्यार किया तो डरना क्या? सुन्नु भएको छैन हजुरले' भनी त हाली फेरि। म निल परेँ।
यसैबीच अर्पिता म्याडम आइपुगिन्। उसलाई औषधि दिएर हामी बाहिर लाग्यौँ।
म खुसीले पागल। मैले प्रस्ताव गर्नु पर्नेमा केटीले नै गरेपछि घिउमा औँलो समातेर हालिदिएजस्तो भयो मेरा लागि। रातभरि खुसीले घरी देब्रेतिर पल्टिएँ घरी दाहिनेतिर घरी उत्तानो। उसको मुस्कान सम्झी-सम्झी मोबाइलमा प्रेमगीत पनि सुनेँ। प्रेमिका पाएपछि त गीतको अर्थ पनि आफ्नै मनको कुरा जस्तो हुने। कठै! त्यहीमाथि पहिलो प्रेमको मुना पलाउँदा त के हो के हो!
उसलाई निको भएन। भोलिपल्ट अर्पिता म्याडमले अस्पताल लिएर जाने भनिन्। मलाई सँगै जाऊ भनेर आग्रह राखिन्। मैले अस्वीकार गर्ने ठाउँ थिएन। इशा साथ हुँदा मलाई के र? अरू दुई जना बिरामी पनि थिए अस्पताल जान।
अस्पताल पुग्यौँ। अस्पतालामा पर्चा बनाउन अर्पिता म्याडमले हामी दुवैलाई मात्र छोडेर बस्दै गर्नु है हामी पर्चा लिएर आउछौँ भन्दै गइन्। यहाँ पनि अर्पिता म्याडमले हामीलाई कुरा गर्ने अवसर दिलाइन्। इशा खुलस्त व्यवहारकी थिई। मसँग टासिएर बसी।यसरी सबैको ठाउँमा टाँसिएर नबस्नु हुँदैन भनी मैले उसलाई चेतावनी दिएँ। शिक्षक हुनाले अनुशासनको पक्का। उसले मेरा यी फिस्टे अनुशासनलाई धुलोमा मिलाइदिई, माया गर्न थालेपछि डराएर हुन्छ भन्दै। म जिल्ल परेँ।
अस्पतालमा करिब तीन घण्टा समय बिताउँदा इशासँग कुरा गर्न छुट्टै समय पाएँ। निकै सजिलो हुन लाग्यो गसँग बोल्न।
फोनमा बोलौँ भने शिविरार्थीलाई फोन अनुमति थिएन। जम्काभेट हुँदा अनि आँखाको भाषा नै दुई विकल्प थिए बोल्नका लागि। प्रायः दिनमा दुई-तीन पटक जम्काभेट हुन्थ्यो। कक्षामा सिकाएको प्रश्न बुझ्नलाई निहुँ पारेर उसको साथीसँग म घाम ताप्न बसेपछि आउँथी। उसको साथीलाई हाम्रो प्रेमको पहिलो च्याप्टर सुरू भएको थाहा भएकाले ऊ साथमा हुँदा पनि हामी कुरा मजाले गर्न लागेका थियौँ।
इशा र मेरो प्रेमको खेतमा मायाको बिउ पलाउन लागेको मात्र थियो। यसैबीच सिखाको प्रेमको चिट पाउनु मेरा लागि अचम्मको कुरा थियो। माया गर्ने रहर त गरेँ तर एकैचोटि दुई जनाबाट यसरी मायाको भेल बग्छ भन्ने मैले सुइँको पनि पाएको थिइनँ। सिखाको प्रस्ताव मलाई स्वीकार्य थिएन। बल्ल त कसैसँग मायाको बगैँचा बनाउन सरसमान भेला पार्न लागेको थिएँ।
चिट पाएको दिनकै रात्रि भोजनको समयमा सिखा मेरो छेउ आइन्। उनको हेराइ, अुनहारको वातावरणमा अर्कै न्यानोपना, आशा देखेँ। अरू बेलाको जस्तो फूर्तिले बोल्न पनि आँट आएन। मेलै चिट पढेको महसुस गराइनँ। मेरो प्रतिक्रिया विपरीत पाउँदा सिखालाई खिन्न लागेर होला एकान्त पारेर चिटको कुरा निकालिन्।
मैले जवाफमा सिधैँ साफ-साफ भनेँ- 'सम्भव छैन। हामीमा धेरै कुराको अन्तर छ। केही मेल खाँदैन हामीमा। मभन्दा राम्रो केटा पाउनु हुन्छ। तपाईंले यो कुरा मनबाट निकालिदिनू। मैले तपाईंलाई प्रेमिका बनाउने कहिल्यै सोचिनँ अनि सोच्निदिनँ पनि।'
ऊ निराश भई। हुनु पनि किन नहुनु आफूले मन पराएको मान्छेले यसरी मुटु छोड्ने कुरा भनेपछि। निराशालाई आशमा फेर्न मलाई जवाफ फर्काइन्-
'मैले माया गरेको हो तपाईंलाई। यही शिविरमा आएबाट हैन, छ महिना भयो मनमा माया साँचेर राखेकी। टाइम लिनु जवाफ दिन तर यसरी हुँदैन भनेर मेरो इन्सल्ट नगर्नु त प्लिज।'
इशासँग मेरो प्रेमप्रसङ्ग नचलेको भए पनि सिखालाई मैले स्वीकार गर्ने थिइन होला। मेरो अन्तर मनले उनलाई स्वीकार्न प्रयास नै गरेन।
दुवै विद्यार्थीका पेपर जाँच गर्दै बसेका थियौँ। जाँचेर सक्न लागेपछि सिखाले त्यही कुरा कोट्याइन्। मैले त्यही कुरा नदाहोर्योस् भनी मनमनै सोचिरहेको थिएँ।
मैले अस्वीकार गरेकोमा प्रश्न राखिन्- 'तपाईंकी प्रेमिका छिन् र मसँग नमान्नु भएको?'
जवाफमा मैले 'छैन' भनिदिएँ तत्काल।
उनले आफ्नो कडा स्वरमा मलाई तर्साइन्- 'मलाई थाहा छ किन नमान्नु भएको? त्यो इशा छे नि, त्यहीसँग तपाईंको चक्कर चल्दैछ। मलाई थाहा छैन भनेर होला! दिनैपिच्छे बोलिरहेको देखेकी छु। ऊसँग टाढा रहनु होला! अन्यथा म विद्यार्थी नभनी त्यो इशालाई टिपेर फ्याँकिदिन्छु।'
सिखाले साँचो त भनेकी थिइन् तर उनको भनाइलाई मैले हाँसरे 'होइन है' भनेर टारिदिएँ।
सिखाले अझ मलाई माया देखाएर लोभ्याउन लागिन्। चिट दिनुभन्दा अगाडिका दिन मलाई गरेको स्नेह आनन्दले स्वीकारेको थिएँ तर अहिले डर लाग्न थालेको थियो उनको स्नेह, र माया देखेर। कतै इशालाई धोका त हुँदैन भनी कल्पना गरेर पिरोलिन्थेँ। कहिले कपडा प्रेस गर्न लैजाने, कहिले धोइदिने। मलाई भने केही फरक परेन। इशासँग उम्रिँदै गरेको प्रेमले सिखाको मायालाई छेलिरह्यो।
एकदिन हामी सबै शिक्षकहरू मिटिङ दिनको भोजनको उपरान्त गर्दै थियौँ। मिटिङ सकेपछि हामी दुवैले थप मिटिङ गर्यौं। मिटिङ शिक्षिकाको कोठमा थियो। अरू शिक्षकहरू सबै आ-आफ्नो काममा लागे।
सिखा जान लागेपछि मैले उनलाई भनेँ- 'मलाई लास्टै निन्द्रा लाग्यो एकैछिन यहीँ सुतेर जान्छु ल।'
'हुन्छ' भनेर ऊ पनि गइन्।
म झप्काउन लागेको मात्र थिएँ पाँचै मिनटमा सिखा म सुतेको कोठामा आइन्।
'उठ्नु न हौ' भन्दै मलाई घचेट्न लागिन्।
'मलाई एक्छिन् सुत्न दिनु न' भन्दै अटेरी गरेर सुतिरहेँ।
घुँडा टेकेर बेडछेउ बसेर मलाई उठाउन प्रयत्न गर्न लागिन्। मैले टेरिनँ। निन्द्रा मजाले नै आएको थियो।
मेरा आँखा बन्द थिए। उनले छेउमा आएर सुस्तरी मेरो देब्रे कान टोकिन्। चस्स भएँ। मलाई इशाको याद आयो।
'यस्तो नगर्नु न हौ,' भनी हालेँ।
उनले टेरिनन्। दाहिने कानलाई पनि टोकिन् मायाले।
मन ढुकढुक भयो। आँखा अझै खोलिनँ। उठेर जाऊँ भने कसरी जानूँ? उनको प्रतिक्रिया दिउँ भने डर। हामीबीच केही सम्बन्ध पनि त थिएन, कसरी दिनु उनको मायाको प्रतिक्रिया? अझ इशा छेउमै छे जस्तो लाग्यो।
सिखाले बिराम लिनन्। मेरो गालामा म्वाई खाइदिन्। जीउ नै जिरिङ्ग भयो। अब त मेरो पुरुषार्थको कुरा पनि आयो! आँच त आउन दिनु भएन क्यारे!
'तपाईंले यही खोज्नु भएको होला' भन्दै उनको गालामा टोकिदिएँ।
'ऐया! कति साह्रो गर्नु भएको' भन्दै गाला छाम्न थालिन् सिखा। मैले आँखा खोलिसकेको थिएँ। साँच्चै गाला रातो भएको थियो।
'अब बाहिर कसरी निस्किनु' भन्दै मलाई पाखुरामा मुड्की हानिन्।
'म गएको' भन्दै कोठाबाट बाहिरिएँ।
शिविर अन्ततिर थियो। शिविर सकिएको भोलिपल्ट स्थानीय मार्केट घुम्ने अनि पर्सिपल्ट आ-आफ्ना विद्यार्थी लिएर घर जाने योजना बनिएको थियो। मेरो चाहिँ जागिरका लागि परीक्षामा बस्नु पर्नाले शिविर सकिएकै दिन घर फर्किने योजना थियो।
शिविरको अन्तिम दिनको अघिल्लो रातिको खाना खान जाँदा सिखा ड्याम्म लडिन्। म छेउमै थिएँ। उठाएँ। ग्यास्ट्रिकले च्यापेको भनिन् बर्बराउँदै। पेट दुखेर उनलाई खपिनसक्नु भयो। फत्र्याक्-फत्र्याक् पार्दो रहेछ उनलाई ग्यास्ट्रिकले। खप्न नसकेर रुन लागिन्। हत्तपत्त मेडिल लिएर गयौँ। इन्जेक्सन लगाएपछि मात्र केही आराम पाइन्। स्वास्थ्य भने नाजुक बनी रह्यो।
शिविरको सिनियर अधिकारीले म हिँड्ने दिनमै मेरो साथ पठाइदिने भयो। हामी जाने ट्रेनको रुट एकै थियो।
शिविर सकिने दिन अनि हामी दुवै हिँड्ने पनि तर इशालाई बिर्सिनँ मैले। आखिर मेरी नयाँ प्रेमिका, कसरी बिर्सिनु। दिनमा मौका छोपेर इशालाई भेटेँ। मेरो चाँडै जाने उसलाई कारण भनिदिएँ। फोन नम्बर साटासाट गर्यौं। उसको जमा भएको फोन पाएकी थिइन। फोटो सेन्ड गर्ने त्यो समय एपहरू थिएनन्। सम्झना आएको बेला तृष्णा मेटाउनका लागि पासफोटो साटासाट भयो। पर्सको भित्रीपट्टि सम्हालेर राखेँ इशाको फोटो।
त्यहीँ बेलुकी सिखासँग ट्रेन कुर्न लागेँ। उनको स्वास्थ्य ठिक नभएर पनि ऊ गम्भीर मुद्रामा थिइन्। उनले फेरि त्यहीँ कुरा निकालिन्। मैले नचाहेको कुरा फेरि आयो। उनले पुनः आफ्ना बितेका दुःखका कुरा गर्दै टुहुरी केटी माया मात्र मागेकी हुँ भन्दै विन्ती बिसाइन्। उनका आँखाबाट बररर आँसु झरेँ। मलाई पनि नमिठो लाग्यो। के भनूँ के नभनूँ भएँ। ऊ अलिक सामान्य भएपछि उनको मनलाई ठेस् नलाग्ने गरी मैले उनको प्रस्तावलाई अस्वीकार गरेँ। मेरो अस्वीकार उनले अस्वीकार नै गरिन्।
अन्तमा यो कुरा भनेर कुरा टुङयाइन्- 'चार दिनपछि मेरो जन्मदिन छ। त्यो दिन तपाईं जे जवाफ दिनुहुन्छ म स्वीकार गर्नेछु। एस् या नो मा उत्तर दिनु।'
मैले टाउको हल्लाए हुन्छ भनेँ।
हामी आ-आफ्नो घर पुग्यौँ। मैले मेरो प्रिय साथी धीरेलाई सबै वृतान्त सुनाइदिएँ। उसले मलाई मूर्ख होस् भन्दै सल्लाह दियो- 'यार तेरा लागि सिखा नै बेस्ट हो। एउटै जात, एउटै भाषा। माया पनि असाध्यै गर्दिरहिछे। इशा, उसको जात भिन्नै, भाषा पनि नमिल्ने। सिखालाई एस भन्दे केही नसोची।'
धीरेले एक क्षणमा फैसला गर्दिहाल्यो। उसलाई इशाको फोटा देखाएको च्यातेर फ्याक्ने सल्लाह थपिदियो।
म किंकर्तव्यविमूढ भएँ। केही पसेन दिमाखमा। गिदी दुखेर आयो। भित्री मनलाई उसको सल्लाहले छेउ पनि छोएन।
जन्मदिन आयो उनको। मैले 'एस' या 'नो' लेखेर पठाउने पर्ने दिन। बाह्र बज्न लागेपछि लामो म्यासेज टाइप गरेर अन्तमा अस्वीकार गरेकोमा क्षमा याचना राखेँ।
म धीरेको घरमा थिएँ। म्यासेज पठाउनुअघि धीरेलाई देखाएँ। मेरो म्यासेज हेरेर ऊ यसरी आत्तियो जस्तै म बिना पासपोर्ट विदेश छिरेको अपराधी हुँ।
'के गरेको यार तैँले! यति राम्री अनि माया गर्ने केटीलाई मायाको ठाउँमा आँसु दिन जाँदैछस्। यति माया गर्दिरहिछे, भरे तेरो 'नो' पढेर मन थाम्न नसकेर केही तलमाथि गरिभने के गर्छस्?' भन्दै उफ्रियो, करायो मेरा सातो जाने गरी। म एकछिन अलमल्ल परेँ।
'हैन गाँठे, के भएको यस्तो बा!' मनैमन भनेँ पनि।
धीरेले मैले टाइप गरेको म्यासेज डिलिट गर्यो अनि आफै टाइप गरेर सेन्ड बटन थिचिदियो।
'ला! जा!' फोन मेरो हातमा थमाइदियो यति गरेर।
म्यासेज पढेँ, लेखेको रहेछ- 'यस्, आइ लभ यू।'
तीनछक परेँ। मेरो चाहनाको विपरीत के गरेको भन्दै धीरेसँग रिसाएँ पनि। के गर्नु बन्दुकबाट गोली त निस्किसकेको थियो।
मेरै म्यासेज पर्खेर बसिरहकी रछिन् क्यार! सिखाको खुसी भएको रिप्लाई आयो। उता खुसी अनि यता के हो के हो, अत्तोपत्तो छैन।
केहीबेरमा धीरेले मलाई सम्झायो- 'हेर साथी अब जे भयो राम्रो भयो। तँलाई सिखा मन परेको छैन भने केही महिना बोल्नु अनि विस्तारै विस्तारी छोड्दिनू। उसलाई पनि इनसल्ट गरेको जस्तो लाग्दैन। माया बस्यो भने त झन् राम्रो।'
केही जवाफ दिइनँ मैले तर उसले दिएको सल्लाह नस्वीकारी अरू विकल्प भेटिनँ। उसका म्यासेज आइरहन्थे। जवाफ त दिनै पर्यो। माया गरेको ढोङ पनि गर्नै पर्यो। उसको नजरमा म उसका लागि असाध्यै माया गर्ने प्रमी बनेँ। तर मेरो मन भने अझै गाँसिएकै थिएन।
पर्सिपल्ट नयाँ नम्बरबाट कल आयो। मैले उठाएँ। इशाको रहेछ। उसको नम्बर मैले सेभ गरेकै थिइनँ डायरीबाट। उसले निराशा पोखी- 'घर गएपछि यादै गर्नु भएन, न एक म्यासेज न एक कल!'
उसलाई के थाहा र मेरो मनमा के-के बितिसकेको छ। दुवैसँग प्रेम गर्ने मेरो हिम्मत थिएन, सक्ने पनि थिइनँ दुईजनालाई सम्हाल्न।
इशालाई गहिरो सास फेरेर सम्झाउन लागेँ।
'तिमी विद्यार्थी नै छेउ। मेरो पनि पोस्ट ग्रेजुएटको पढाइ अझै गर्नु छ। म पनि त विद्यार्थी नै हुँ। जागिर लाग्नै छ। भविष्य बनाउनु छ। यसरी हामी माया गर्न लाग्यौँ भने न मेरो भविष्य बन्छ न तिम्रो। राम्रो पढ। भविष्य सपार अनि हेरौँला। मलाई माफ गर, मलाई भुलिदेऊ इशा।'
ऊ दुखी भई। उसको आवाजमा कम्पन महुसस गरेँ। लर्बरिँदै गरेको स्वरमा भनी-
'यसरी ठट्टा नगर्नु। बल्ल त माया सुरू भएको छ। सुरू मै यसरी धोका दिएर हुन्छ कतै? आई लभ यू सो मच। मलाई थाहा छ सिखा म्याडमले गर्दा होला मलाई छोड्न आँटनु भएको। हजुरको ऊसँग चक्कर छ होला या भाइ मानेर प्रेम गर्न नदिएकी होलिन्। मलाई थाहा छ हजुर उहाँको धेरे सल्लाह मान्नु हुन्छ, त्यही कारणले हो मलाई रुँलाउने कुरा गर्नु भएको।'
मैले केही बोलिनँ। फेरि सम्झाउने प्रयास गरेँ तर ऊ मानिनँ। केही धर नलागेर 'अबदेखि फोन नगर्नु ल' भन्दै फोन काटेँ। पर्समा भएको उसको फोटो पनि च्यातेर फ्याकिदिएँ। फोन ब्लक गर्दिएँ।
सिखासँग दिनरात कुरा हुन थाल्यो। उसको मन राख्न बोल्दाबोल्दै मलाई सिखा मन पर्न थाल्यो। जतिबेला पनि उनीसँग बोलिरहुँ जस्तो हुने। मेरो ढोङ मायामा परिवर्तित भइसकेको थियो।
म पढाइका लागि घरदेखि बाहिर आएँ। पार्ट टाइम गोभ गरेर पढाइ खर्चा निकाल्थेँ। फोन रोमिङमा हुनाले फोनको खर्चा बढ्न थाल्यो। रातमा सिखासँग अबेरसम्म कुरा हुन लाग्यो। केटा भएपछि फोनको रिचार्ज आफ्नो बाहेक प्रेमिकाको पनि गर्दिनु पर्यो। पार्ट टाइममा कमाएको सबै पैसा फोनमा जान लाग्यो। यता म मायाको शीर्ष स्थानमा थिएँ।
तीन महिनापछि म घर गएको थिएँ। घरको हातल हेरेँ। घरमा पढ्ने भाइ-बहिनी सानै। आमाबाबा छोराछोरीका लागि दिनरात काममा खटिने। घरको हालत देखेर मैले आफूले गर्दै गरेको प्रेमप्रसङगबारे सोचेँ- 'मैले महिनामा सबै भाइबहिनी पढ्ने खर्चा फोनमा उडाउँदै छु, आफ्नो भविष्य नसपारी प्रेमको पछाडि हिँड्दै छु।'
सोची सोची मन त्यसै खिन्न भयो। आमाबाबाको मायालाग्दो अनुहार देखेपछि मेरो मनमा उर्लेको सिखाप्रतिको प्रेम सुकेको खोलाजस्तो भान लाग्यो। आखिर मन नपराइ-पराइ उनलाई माया गरेको हुँ। अहिले नै छोडेँ भने बरू राम्रो हुन्छ। पछि गएर छोड्नुभन्दा अहिले नै छोडेको उचित हो भनेर ऊसँग टाढिन थालेँ। उनको फोन कम्ति रिसिभ गर्न लागेँ। उसले सिकायत गर्दा यता र उताको बाहाना गर्दिएँ।
घर गएको अर्को हप्तामै फेरि सेकेन्ड ब्याचको शिविर आरम्भ हुने भयो। म गएँ। सिखा पनि शिविरमा आइन्। शिविरमा उनीदेखि तर्किन थालेँ। ऊ आएको देखेर परैबाट अर्कै बाटो लाग्थेँ। दिनमा सय कल आउँथे तर म रिसिभ गर्दिनथेँ। कहिले सबै भएको बेला भेट हुँदा उनले केही नभनी पनि उनका आँखाले मलाई धेरैथोक भन्थे।
उनको मनमा चलेको पीडा सबै बुझ्थेँ तर पनि म फेरि सुरूझैँ उनलाई इग्नोर गर्न लागेँ। उनका पीडाले मेरो मनलाई छिचोल्न सकेनन्। म पर्वत समान अडिग थिएँ अब सिखासँग प्रेम नगर्ने भनेर। मैले उनलाई पन्छाएको देखेर मर्माहित भइन्।
एकदिन नबिसाइ कल गरिन्। मुटुमा ढुङ्गा राखेर फोन उठाएँ। गाली खान्छु भनेर थाहा थियो। रुँदै उनले पीडा पोखिन्। मैले उनलाई बेवास्ता गरेको कारण सोधिन्, म मौन रहेँ।
'घर गएपछि अर्की मभन्दा राम्री केटी पाउनु भयो होला त्यही भएर मलाई पीडा दिनुभएको' भन्दै रोइन्।
मेरो मौनले उनलाई अझ पीडा दियो। मैले फोन काटिदिएँ। मेरो बोल्ने ठाउँ नै थिएन।
उनको प्रत्येक कल इग्नोर गरेँ। एकदिन भोजन गर्न जाँदा सिखा सिधैँ मतिर आइन्। हातमा लामो पत्र राखेर गइन्। कोठामा गएर पढेँ। मेलै बेवास्ता गरेको पीडा सबै पत्रमा लेखेकी थिइन्। उनका आँसु पीडा पत्रमा मैले छर्लङ्ग महसुस गरेँ। पत्रलाई पट्याएर सम्हालेर मेरो पर्सनल डायरीमा राखेँ। जवाफ केही दिन। पत्रले मेरो संकल्प हल्लाएन। कक्षामा भेट हुँदा पत्रको जवाफ दिन्छकी जस्तो गरेर उनले मलाई हेरिन् तर मैले पीडा नै दिएँ।
भोलिपल्ट त्यसरी नै अर्को पत्र दिइन्। प्रथम पत्रभन्दा अझ मेरो मनलाई घोच्नेवाला थियो यो पत्र। तर मेरो ढुङ्गोजस्तो मनमा केही फरक परेन। अन्तमा लेखेकी थिइन्-
'जसरी मेरो मायाको अवहेलना गरेर मलाई पीडा दिनु भयो, त्यसरी नै हजुरले माया गर्ने केटीले मलाई पीडा दिए जसरी नै पीडा दियोस्। आजबाट म हजुरको जीवनबाट जाँदैछु। अबदेखि हजुरलाई दुःख दिन्नँ।'
अन्तका कुराले म ढुक्क भएँ। उसका म्यासेज, फोन आउन छोडे। शिविर समाप्त भयो। सबै आ-आफ्नो घर लाग्यौँ।
एक महिनापछि नयाँ नम्बरबाट कल आएको थियो। फोन उठाएको सिखाको रहेछ। उनले सामान्य रूपमा बोलिन्। मैले पनि सामान्य भएर बोलेँ। घरमा उनको बिहे गर्दिने कुरा भएको सुनाइन्। मैले खुसीको खबर भनेर प्रशन्नता जनाएँ।
साँच्चै उनको बिहेको खबर सुनेर म खुसी भएको थिएँ। कतिचोटि मन्दिर जाँदा उनले राम्रो केटा पाऊन् भनेर प्रार्थना पनि गरेको थिएँ। फोन राख्नुअघि उनले हजुरको धैरै याद आउँछ भनिन्। 'याद त मलाई पनि आउँछ नि' मैले पनि यही जवाफ दिएँ। साँच्चै याद त आइरहन्थ्यो।
त्यहाँबाट उनको कहिल्यै कल आएन। मैले पनि गर्ने चेष्टा गरिनँ। ऊ आफ्नो बाटो लागिन् म आफ्नो बाटो लागेँ। बीचमा उनको बिहे भएको खबर सुनेँ। खुसी लाग्यो। मेरो पनि केही वर्षपछि बिहे भयो।
दुवैको बिहे भएको पाँच वर्षपछि फेसबुकमा उनले याद गरिन्। कुरा भएको एकै हप्तामा उनको न्यूड फोटो देख्नु निराश्य कुरा थियो।
चौरामा त्यसै केही बेर बसिरहेँ अतीतका कुरा सम्झिँदै। हरिको फेरि कल आयो।
'फेसबुकमा देखिस् उनका कुनै आफन्तले फोटो अपलोड गर्नेलाई छोड्दिनँ भनेर स्टेटस् हालेको छ'।
मलाई हेर्न यसै मन लागेन। हरिको फोन राखेपछि मेरी अर्धाङ्गिनीको कल आउँछ- 'घर आउनु न, छोराले पापा कि पापा भनेर घरै उचालिसक्यो।'
हुन्छ भनेर फोन काट्छु। सिखाले भर्खरै दिएको नम्बरमा कल गरेको अफ भन्यो। लामो सास फेरेर घरतिर लाग्छु। अहिलेसम्म मलाई पत्तो छैन सिखा कहाँ छिन्!