आज म र मेरा मनहरू
कतै लौरो भएर उभिँदै छन्
भन्नुस् यसलाई एउटा स्वतन्त्रताको लडाइँ
अनेकन जाल र उल्झनभन्दा पर
एउटा स्वतन्त्र परिवेशको लडाइँ
यी कतै भुइँकटहर भएर उभिँदै छन्
भन्नुस् यसलाई बागीको लडाइँ
आफै र आफ्नालाई ढाल्न खोज्ने विरुद्ध
म पनि त छु
मेरो औकात कम नआँक
भन्नाको लडाइँ
यी कतै पुतली होलान्
यी कतै खरायो होलान्
यी कतै पुस्तक होलान्
यी चिन्ह होइनन्
मभित्र बाँचेका विविध मन हुन्
आफ्नो स्वतन्त्रताको अध्याय
सानो रुपमा
ठूलो रुपमा
म आफै बदल्छु भन्ने हिम्मतहरू हुन्
यी मभित्रै बाँचेका मेरा सपनाहरू हुन्।