महिनौँ भयो
यो भित्ताहरूले मसँग बात मार्न छाडेको
आजभोलि त ती अघिल्तिर झुन्डिरहेको फोटोहरू पनि
मुर्दामा परिणत भएका छन्
न त बेलाबेलामा आँखा तर्छन्, न त मुस्कुराउँछन्
टिभी, सोफा, कुर्सीहरू खै किन हो, सबै रिसाएका छन्
फेसबुकका भित्ताहरू एउटा कहालीलाग्दो मरुभूमिमा परिवर्तित भइसके
जसमा जति मलजल र सिँचाइ गरे पनि
फसल लाग्ने कुनै छाँटकाँट छैन
त्यसैले कहिलेकाहीँ त यस्तो लाग्छ
यो निर्जीव कोठाको एउटा कुनामा
आफू पनि निर्जीव भई आँखा चिम्लिएर बसिरहुँ
दिन, हप्ता, महिना, वर्ष यसैगरी बितिरहोस्
तबसम्म आँखा नखोलौँ
जबसम्म त्यो कुरा थाहा हुँदैन
जुन कुरा थाहा भएपछि यो संसारको सबै रहस्य जानिन्छ।