हिँड्नै छ!
हिँड्नै पर्छ भने
दौडिनै पर्छ भने
ठोक्किनै पर्छ भने
रोक्किँदै ठोक्किँदै
हिँड्ने एक्लो यात्री म
साथीभाइ, भिडभाड
आफ्ना पराई, नातागोता
इष्टमित्र सबै सबैलाई
पाखा लगाएँ मैले त
जब हिँड्नु नै छ भने
एक्लै एक्लै दौडिनै छ भने
पौडिनै छ भने
एक्लै एक्लै पौडिने
एक्लो यात्री म
जति सक्छु हिँड्छु
कति सक्छु दौडिन्छु
कतै रोकिन्छु
कतै फेरि पनि ठोकिन्छु
हिँड्दा हिँड्दै ठेस लाग्छ
ऐंया भन्दै चिच्याउँछु
आफ्नै आवाज प्रति ध्वनि भएर
आफैंसँग ठोकिन्छ
कहिले सुसेल्छु
कहिले गुनगुनाउँछु
कहिले हेर्छु आकाश तिर
कहिले टेक्छु धर्ती तिर
कहिले चढ्छु उकाली
कहिले झर्छु भञ्ज्याङ अनि चौतारी
कहिले ताल चरीसँगै उड्छु माथि गगनमा
कहिले झारपातसँगै खेल्छु
हिँड्दा हिँड्दै पात पतिङ्गरसँग पो माया लाएछु
कहिल्यै नछुट्ने कसम खाएछु
कीरा, फटयांग्रासँग प्रगाढ नाता जोडेछु
पतझड बुट्यानहरूसँग पो मीत लाएछु
यिनैसँग प्रित लाएछु
कोइलीसँग मीठो गीत गाएछु
बिना गोरेटोको यात्री म
बिना गन्तव्यको यात्री म
बिना कारणको यात्री म
बिना बन्धनको यात्री म
एक्लो एक्लो यात्री म