म मेरा तमाम दुःखहरूलाई
हृदय उघारेर स्वागत गर्छु
दुःखका प्रत्येक कण-कणहरू अनुभूत गर्छु
र उत्सव मनाउँछु दुःखहरूको।
किनकि मलाई थाहा हुन्छ
यी दुःखहरू अनादिदेखि रहेछन् यहाँ
र म सूचित हुन्छु
कि दुःखका नुनिला सागरहरूमा
कसरी तैरिरहेछ मान्छे- उषादेखि निशासम्म।
यिनलाई स्वागत गर्ने पहिलो होइन म
न अन्तिम हुँ
कयौँ मध्ये म त फगत प्रतिनिधि हुँ।
मेरो मनमा तैरिएका प्रत्येक भावनाहरू
पहिले नै तैरिसकेका छन्- असङ्ख्य हृदयहरूमा
र अझै तयार हुँदैछन् स्वागतार्थ
अरु असङ्ख्य हृदयहरू।
त्यसैले म चाहान्छु
धरतीका प्रत्येक भावनाहरू
निमेषभरका लागि भए पनि
मेरो हृदयबाट गुज्रेर जाउन
र बनोस् मेरो हृदय- अनुभूतिको अनुपम संग्रहालय।