कौतुहलता, सोचाइ अनि भोगाइ यी सबै फरक कुरा हुन्। हामी जे सोच्छौँ त्योभन्दा हकिगत फरक हुन्छ। रमाउने, कमाउने, जिन्दगी जिउने हाम्रो छुट्टा छुट्टै अनुभव छ अनि फरक तरिका। तपाईंलाई थाहा छ हामीले सोचेकोभन्दा पनि अलिकति फरक छ यो दुनियाँ, अनि फरक छ यो संसार।
पहिलो दिन
हामी सबैको सपनाको सहर अनि त्यही सहरको एउटा ठाउँ। अँ! अझै भनौँ एउटा ठूलो घर अनि त्यही घरको एउटा सानो कोठा। उज्यालो बत्ती, एउटा सानो फ्रीज, टेबल, टिभी, एउटा खाट र केही अनौठो अक्षरमा लेखिएको खानेकुराको प्रकार।
हो, यही हो त हामी सबैको सपनाको सहर। कोठाको झ्याल खोलेँ, सिसाबाट बाहिर हेरेँ। सहर आफ्नै धुनमा थियो। मैले नेपालबाट देखेभन्दा पनि फरक थियो यो सहर। मन थियो बाहिर निस्किएर चिच्याउँदै घुमौँ। अहो! म त क्वारेन्टाइनमा पो छु त। मेरो सपनाको सहरमा टेक्न अझै केही समय लाग्ने भयो। जे होस सहर वाउ! छ।
दोश्रो दिन
बिहान कसैले नबोलाई नखुल्ने निन्द्रा आज छिट्टै खुलेछ। घडीमा आँखा पुगे, हेरेको बिहानको ८ बजेछ। अघिल्लो दिनको थकाइ, यी सबै कुरा बिसाएको खाटलाई मिलाउँदै थिएँ मोबाइल बज्यो। साथीको फोन थियो, 'ओइ, कस्तो छ जापान?'
पहिलो प्रश्न- कस्तो लागि रहेको छ? दोश्रो- के भैरहेको छ? तेस्रो- यो सबै प्रश्नको उत्तर दिनलाई मैले पहिले त बाहिर जानु थियो। झ्यालको पर्दाबाट देखिएको भरमा कसरी मैले उत्तर दिनू? मैले यति भनेँ- 'खत्रा छ यार।'
पहिलो दिन वाउ लागेको सहर मलाई खत्रा लाग्न थालेको थियो, कौतुहलता जो थियो मनमा। साथीसँगको कुराकानीपछि खानेकुरा खाने निर्णय गरेँ। खल्लो खल्लो खानेकुरा खाएँ। नेपालको जस्तो थिएन खाना। केही नपुगे जस्तो, केही नभए जस्तो। खल्लो खाने कुरा पूरै रुचेन, फ्याँकिदिएँ। दिन मोबाइल, झ्यालबाट बाहिर हेर्दै अनि नयाँ-नयाँ कुराहरू सोच्दै गयो।
तेश्रो दिन
उही उज्यालो, उही सहर, बस फरक म थिएँ अनि मेरो कौतुहलता। उठ्ने बित्तिकै झ्याल खोलेँ, सहरमा चहलपहल थियो। अरु दिनजस्तै निस्तो अनि खल्लो खाना, कौतुहलताले भरिएको मन अनि मोबाइल भरिका कुरा।
दिनको १२ बजेतिर क्याम्पसबाट फोन आयो। केही कुराहरू भन्दै थिए, मैले कति बुझेँ त्योभन्दा धेरै बुझिनँ। नेपालमा 'ह्या जापान गएर पढौँला' भने बसेको पारा देखिँदै थियो। त्यति बेलासम्म मैले बुझिसकेको थिएँ कि जापान भाषा बिना बाच्न गाह्रो छ।
चौथो दिन
खुलेको आकाश, घमाइलो दिन। यो सबै समावेश भए पनि मनमा कहीँ कतै नेपालको याद आउन थालेको थियो। तर यो थाहा थियो कि अब कति पनि याद गर्नु हुन्न। दैनिक लिने परीक्षण अनि नजानिँदो भाषाका कारण जापान पक्कै पनि गाह्रो छ भन्ने आभास मनमा भइसकेको थियो।
अब पढाइ र काम, यो सबै दैनिकी बन्ने छ थाहा हुन थालेको थियो। सबैभन्दा ठूलो समस्या भनेको भाषा थियो, यो राम्रोसित भैसकेको थियो। त्यहीअनुसार अघि बढ्ने प्रण गरेँ।
पाँचौँ दिन
प्रत्येक दिनको बिहानजस्तै यो दिन पनि चाडै आँखा खुलेन। आँखा खुल्दा सहर काममा व्यस्त हुन थालिसकेको थियो। मेरो काम त बस खाने, बस्ने, मोबाइल चलाउने त्यही त थियो। नेपाली खानाको बहुत याद आइरहेको थियो।
हामी नेपालीहरूको बानी नै यही हो, आफ्नो स्वादभन्दा बाहिरको अलिकति पनि खान सक्दैनौँ। यहाँ जापानमा पनि नेपाली रेस्टुरेन्टहरू धेरै छन्। सबैको पहुँचमा कहाँ हुन्छ र त्यो पनि! मैले यहीँ बस्ने दाइलाई फोन गरेँ, खाना ल्याउने कुरा गर्नुभयो। तर कहाँ ल्याउने भन्ने अन्योल, नयाँ आउने मान्छेको मुख्य समस्या नै यही हो। भाषा राम्रो नभएपछि ठाउँको समस्या त भै नै हाल्छ। अब समस्या ठाउँको पनि हुन थाल्ने छ, मैले महसुस गरेँ नेपाल मजस्तो छैन भन्ने।
छैटौँ दिन
दिन बित्दै थियो, बाहिरी दुनियाँबाट टाढा बसेको धेरै भैसकेको थियो। अब त सपनाको सहर सपनामा मात्र सीमित भैरहेको थियो। मेरो आँखा अनि जे भने पनि त्यो झ्याल थियो जहाँबाट बाहिरको उज्यालो मात्र देख्न सकिन्थ्यो। बाहिरी दुनियाँसँग घुलमिल हुनलाई मलाई समय लाग्ने महसुस गर्दै थिएँ।
यस्तै-यस्तै कुराले मेरो दिन बित्यो। भोलि बिहानै यहाँबाट निस्किनु पर्ने सन्देश आइसकेको थियो। मैले घरमा फोन गरेर खबर दिएँ। मेरोजस्तै हालत त होला मेरो नजिकै बसेका नेपालीको। म त यहाँबाट बाहिर निस्किएँ तर उनीहरूको के होला? बोल्न त पाको छैन, भए पनि आफ्नै देशको भनेपछि छिट्टै माया लागेर आउने।
सातौँ दिन
बिहान कहिल्यै चाँडै नउठ्ने म आज चाँडै निन्द्रा खुल्यो। छिट्टै निस्किनु थियो, नुहाउने यताउति काम सक्काएँ। बाँकी अलिअलि सामान प्याक गर्नु गरेँ। तयार हुँदै गर्दा कोठालाई राम्रोसँग हेरेँ।
'पक्कै हाम्रो भेट अब हुन्न होला, जिन्दगी के हो? एक्लोपन के हो? मैले तँभित्र समावेश भएर थाहा पाएँ। मलाई नबिर्सिएस्,' निर्जीव वस्तुसँगको वार्तालापपछि म त्यहाँबाट निस्किएँ। अब वास्तविक संघर्षको मैदानमा निस्किँदै थिएँ, आफूले आफूलाई नै शुभकामना दिएँ अनि अघि बढेँ।