चुनावी माहोलसँगै गाउँघरमा दसैँ-तिहार आएजस्तो थियो। जताततै मान्छेहरूको भेला, लावालस्कर, चर्को आवाज गरी बजाइएका विभिन्न चुनावी गीतहरूले चुनावको माहोल दर्शाएको थियो।
तर नेताज्यूको आफ्नै परिवारमा के बितिरहेको छ, कसलाई के थाहा? नेताज्यू आफै पनि अनविज्ञ कतिपय कुरामा त। नेताज्यू बाहिर-बाहिर धेरै, घरमा त आधारातमा आउने गर्नुहुन्थ्यो। साना दूधे बालक छोराछोरीलाई ढोका थुनेर, कोक्रोमा सुताएर नेताज्यूकी श्रीमतीले मेलापातसँगै अन्य कामहरू गर्नुपर्थ्यो।
बेलुका साँझ परेपछि घर आएर भैँसी, गाई गोठको धन्दा सकेर मात्र छोराछोरीको अवस्था हेर्नु पर्थ्यो। नत्र दिनभरि छोडेका छोराछोरी काखमा बसेपछि झर्न मान्दैनन्, काम गरिदिने कोही छैन। काम सकिसकेर हेर्दा बिजोग हुन्थ्यो, दिसा, पिसाब, सिँगान सबै एकै ठाउँ। कतिपटक पिसाब गरेर दिसा गरेर सुकेर बसेका हुन्थे।
हत्तपत्त चुलामा आगो बालेर तातोपानीले छोराछोरीलाई सफा पारी खाने कुरा बनाएर, खुवाएर छोराछोरीका गुह्य कपडा धुन थाल्थिन् नेताज्यूकी श्रीमती। घरको काम सम्हालेर सक्दा १२ बजिसकेको हुन्छ जहिल्यै।
नेताज्यूको घर आउने ठेगान हुँदैन। कहिले मध्यरातमा, कहिले उज्यालो हुन लाग्दा त कहिले घरमै नआउने। सोध्न पनि सक्थिनन् उनले, डाँकोले खाइहाल्थे- 'किन धेरै जान्ने हुनु पर्यो?' नबोली-नबोली घरधन्दा, मेलापात गरिरहन्थिन्। त्यति मात्र गर्न त उनलाई गाह्रो पटक्कै थिएन। केही समयपछि छोराछोरी ठूला हुन्छन्, काम गर्न गरिरहेकै ज्यान हो भन्ने सोच्थिन्।
एक दिन सदाझैँ काम सकेर साढे १२ बजे सुत्न मात्र ढल्केकी थिइन् बाहिरबाट एक हुल मान्छे आए, सँगै नेताज्यू पनि। घरको पश्चिम पट्टिको ढोका सधैँ ढेपिएको मात्र हुन्थ्यो। सबैजना पालैपालो भित्र पसे। भित्र पस्नेवित्तिकै नेताज्यूले चर्को स्वरमा बोलाए- 'हैन निदाइस् कि क्या हो? ल उठ्, चिया त पका।'
झटपट उठेर कपडा मिलाई चुला तिर आगो फुक्न थालिन्। चिया बसालेर भाडा निकाल्ने निहुँ पारी कति जना रैछन् चिहाइन। १०/१२ जना रहेछन्, सबैलाई चिया दिइन्। एकजनाले खुब प्रशंसा गरे 'भाउजूको हातको चिया नै मिठो, अब एकदिन खाना नि खुवाउनु होला।'
उनले बाध्यताको मुस्कान फालिन्। उनैले फेरि कुरा थपे, 'नेताज्यू, अब एउटा ग्याँस चुल्हो जोडिदिनुस्। भाउजूलाई नि सहज होला नि।'
नेताज्यू हाँसोमा उडाउँदै 'किन चाहियो? आफ्नै पाखोवन छ, दाउरा छन् अनि यसको काम के नै छ र? पकाइहाल्छे नि। अनि आगोमा पकाएको जस्तो मिठो कहाँ हुन्छ र ग्याँसमा फेरि।'
चिया पिइसकेपछि केही बस्ने र केही जाने सल्लाह गरे। नेताज्यूसँगै ५ जना बस्ने भए, फेरि ५ जनाको लागि खाना पकाउनु पर्यो। आजै मेलामा पनि काम धेरै भएर ज्यान थाकेको थियो, एकैछिन सुतौँला भनेर मनमनै कुरा सुस्ताउँदै दाल, भात, तरकारी पकाएर खुवाइन्।
त्यो दिन आफू नि अल्छी मानेर केटाकेटीलाई पकाएको भातमा नुन छर्केर खुर्सानीसँग खाएर पल्टेकी थिइन्। बाँकी रहेको भात-तरकारी खाइन्। सुत्नेहरूलाई विस्तारा तयार पारिदिएर भाडाँकुडाँ माझ्न थालिन्। सबै काम सक्दा त उज्यालो हुने बेला भैसकेछ। अनि के सुत्नु? भैँसी गोठतिर लागिन्।
भैँसीलाई कुँडोपानी खुवाइवरी पिउने पानी लिन गाग्रो बोकेर पँधेरा लागिन्। उसो त अरु कामका लागि खोलाको पानी घरमा पाइपबाट आउने व्यवस्था मिलाएकी थिइन् आफैले। पधेराँबाट फर्किँदा अरु पधेँरा जाँदै थिए।
'हैन, कति छिटो फर्किसकेकी!'
छिल्लिँदै अर्कीले भनिन्, 'हिजो राति हल्लाखल्ला थियो रे, नेताज्यू घरमा आएका के सुत्न दिन्थे। धेरैपछि जो बसेका रे...' यस्तै-यस्तै भन्दै थिए उनी नबोली आफ्नो बाटो लागिन्।
गाउँघरका धेरैले उनको कुरा नै काट्थे। एउटी जेठानी पर्ने दिदी थिइन्। रोए पनि उनैसँग, हाँसे पनि उनैसँग। दुःखसुख, पर्मपैचोँ सबै उनैसँग गर्थिन्। उनै दिदीलाई थाहा थियो उनको सबै व्यथाकथा। निकै सहयोग पनि गर्थिन्।
चुनावमा वडाध्यक्षको उमेदवार थिए रे नेताज्यू। अन्य स्थानका सभा सम्मेलन र कार्यक्रमहरूमा 'यो काम गर्छु, यस्ता विकासका आयोजना पूरा गर्छु, तपाईंहरूलाई केही कुरामा कष्ट हुँदैन, मत दिनुस्, जिताउनुस्' भन्दै भाषण छाट्थे रे। उनै जेठानीले भनेर थाहा पाएकी। तर घर कसरी चलेको छ? चुलो कसरी बालेकी छ? एक पैसो कसरी जोरजाम गरेकी छ? भनेर एक वचन सोध्न पनि सोध्दैनन्।
म मेरो गुजारा चलाएकी छु, अरु जेसुकै होस् भन्ने सोच्थिन्। चुनावको अघिल्लो दिनको कुरा हो, सधैँजस्तै फौज लिएर आधा रातमा नेताज्यूको घर सवारी भयो। त्यो दिनमा उनी कपडा धुँदै थिइन्। सुत्न पाएकी थिइनन्, त्यो फौज सँगैको दृश्य देखेर छक्क परिन्। नेताज्यूलाई ४ हातपाउमा समाएर ल्याएका थिएर। राताम्मै, आँखा, मुखभरि र्यालैर्याल घिनलाग्दो।
अरु सँगै आएका सबैमा नजर लगाइन्। सबै त्यस्तै-त्यस्तै भएर आएका। ती चिया मिठो भन्ने बाबुले भने, 'भाउजू, आज अलि धेरै नै भयो सबैलाई, गाह्रो नमान्नु है।'
नेताज्यूलाई विस्तारामा लगेर सुताएपछि फेरि भाषण सुरु भयो उहाँको, 'ओई, खाना पका, मासु पका, मलाई तेरो हातले बनाएको मासु खान मन छ।'
'मेरो मासु खाएर पुगेन' भन्न त मन थियो तर मनमै राखिन्। 'मध्यरातमा कहाँ गएर मासु ल्याउनु? पैसा नि छैन अनि धान कुट्न मिसिनमा लगेको कुट्ने पालो आएन, भिड थियो। आज त सबैलाई पकाउने चामल पनि छैन' के भन्दै थिइन् नेताज्यू कड्के 'ए! यत्रो खेत भाको मान्छेका घर चामल छैन भन्न लाज लाग्दैन? जा तेरा माइत गएर ल्या र पका डङ्किनी।'
बिनाकारण फेरि माइतीलाई दोष दिएकोमा रुन थालिन्।
उनका आँसु त उनका लागि केही थिएन। मनमा चोट नपुगी सितिमीती आँसु आउँदैन थियो उनको। कमलो मनकी ढुंगाजस्तो त भैसकेकी थिइन् तर सामन्य कुरा पनि नबुझिदिँदा मन कटक्क भएर आउने। केका लागि बाँच्नु जस्तो हुन्छ भन्दै उनै दिदीसँग गएर रुन्थिन्।
त्यो रात आएका मध्ये एकले कता-कता क-कसलाई खबर गरेर सबै प्रपन्च मिलाए दुई बजे राति सबैलाई पकाएर खुवाइन्। त्यसको २/४ दिनपछि फेरि र्याली लावालस्कर तामझामसहित नेताज्यू अबिर लगाएर घरको बाटो हुँदै गए। जित भएछ भन्ने बुझिन्।
फेरि ४/५ दिन विजय उत्सव मनाउँदै बितेछन्, घरमा सवारी भएन। त्यसपछिका दिनमा लगातार पछिल्लो पटकजस्तो घटना दोहोरिरह्यो, उही जाँडको तालमा घर आउने दुनियाँदारी कुरा गर्ने तर काम केही नगर्ने। घरमा छोराछोरी कस्ता भए, कत्रा भए भन्ने नि थाहा छैन।
हैन यो राजनीति सबैलाई यस्तै लाग्छ कि हाम्रालाई मात्र हो कुन्नी भन्थिन्। घरमा श्रीमतीलाई एउटा काममा सहयोग नगर्नेले के देशको विकास गर्लान् र? मनैमनमा कुरा खेलाउँथिन्। घरमा दिनकै १२/१५ जनाको ओइरो लाग्न थालेपछि हैरान पर्न थालिन्। दिनभरि आफ्नो दैनिकी काम त्यसमाथि आराम गर्ने बेला जहिले पनि रातभरि १२/१५ जनालाई भान्सा भतेर लगाएर उतार्नु पर्ने, आजित भएपछि रुँदै दिदीकोमा।
त्यो दिन दिदीसँग त मरे सुख पाइन्छ कि भनिन्। दिदीले अनेक सम्झाउन थालिन्, 'अरु जे गरे पनि मर्ने कुरा नगर्, मरेर जित्नी केही होइन। अब त छोराछोरी ठूला भैसके, तिनको पालामा सुख पाइहाल्छेस् नि। कस्ता दुःखका कसला काटिस्, अब सुख पाउने बेला के विपरीत वुद्धि निकालेकी' भन्दै सम्झाइन्।
आज ठिक ३ वर्ष भयो नेताज्यूले वडाध्यक्षमा जितेको र उनका कष्टकर यात्रा सुरु भएको। ती तीन वर्ष उनका लागि कालकोठरीजस्तै भयो। दिनमा कामले कहिले नि फुर्सद हुँदैन, रातमा आराम पनि पाइनन्। ज्यान सुकेर लौरीजस्तो भइसकेकिन्। काम गरेर सुक्नु पर्ने ज्यान त नेताको थियो तर उल्टो भएको उनको भुडी लागेको प्वाट्ट, झन् रातापिरा भएका थिए।
बसेको छ, थर्काएको छ, खाएको छ अनि केको पिर? कामको नाममा एक आँटे भने आधा गर्छन्। आधा कहाँ जान्छ पत्तो हुन्न। उनलाई दिनरात एक भयो। अब त सिधैँ मर्न बाहेक दिमागमा अरु केही सोचै आउन छाड्यो।
कमसेकम यत्रा जनताले पत्याएर मत दिएको श्रीमानले एक वचन श्रीमतीसँग मिठो बोल्ने गरे पनि हुन्थ्यो नि, छैन। बरु घरमा नआउँदै ठिक थियो। मनभरी नानाभाँती कुरा खेलाउँथिन्। लाहुरेहरू कति दुःख गर्छन्, खाडीमा जानेका लोग्नेहरूले नि आफू दुःख गरी-गरी कसरी श्रीमतीलाई सुखी बनाउन सकिन्छ मात्र सोच्छन्। कुन दिनमा यी नेतालाई दिएछन् बाउले!
आफ्नै बाउसँग रिसाउन थालिन्। तर के गर्नु? यो राजनीतिको नसा लागेपछि लाग्यो-लाग्यो, कसका बाउको के लाग्छ! राजनीतिमै लागे पनि अरुका घरमा कस्तो हुन्छ कुन्नी! दिनकै जेठानी दिदीसँग गएर रुने गर्न थालिन्।
'दिदी, म मरिहाले भने नि मेरा साना छोराछोरीलाई टुहुरा हुन नदिनू है। म त बाँच्छु भन्ने एक रति सोचेको नै छैन, कहिले कहाँ कसरी मर्छु, मर्छु मर्न त। मरे मात्र सबै कुराबाट छुटकारा पाउने भएँ दिदी' भन्थिन्।
त्यो दिन दिदी पनि केही बोलिनन्। सम्झाउँदा सम्झाउँदा दिक्क परिसकेकी थिइन्, जीवनदेखि नै दिक्क।
असार मासको समय थियो। दिनभरि झरी परेको, मेलामा नि दुःख पाएकी। केटाकेटीलाई मेलामा दिएको खाजा पोको पारेर ल्याएर खान दिइन्। गाईभैँसीलाई घाँस काट्न नि सकिनन्। जीउ पूरै दुखेर आएछ।
भोको पेटमा पटुकी कसेर यसो झकाएकी थिइन् नेताज्यूसँगै ४/५ जना होहल्ला गर्दै आए। उठ्न नि सकिनन् उनी। नेताज्यूको बानी सदाझैँ चिच्याए। उनी मरेको लासझैँ सुतिरहिन्।
'हैन, मरी कि क्या हो?' कड्के नेता।
उनले विस्तारै भनिन्, 'बिरामी भाछु, उठ्न सकिनँ।'
यति मात्र के भनेकी थिइन् नानाभाती गाली गलौज गरे। 'पकाएर खुवाइनस् भने तेरा बङगारा झार्छु' सम्म भने।
उठेर पकाउन सक्ने हिम्मत पटक्कै थिएन, बल गरेर उठेर उनको छेउमा गएर भनिन्, 'आज मलाई निकै गाह्रो भएको छ। दिनभरि मेलामा गएकी, पानी पर्यो, दाउरा ओत राख्न भुलेछु। केटाकेटीलाई मेलाबाट ल्याएको चिउरा, दालमोठ पानीसँग खुवाएर सुताएकी, अब ती चिसा दाउरा सल्काएर पकाउँदा रात सकिन्छ। मेरो लागि आराम भन्ने कहिले पनि छैन र? मारे मार्नु म मर्न तयार छु, म आज पकाउन सक्दिनँ।
नेताज्यू नाजवाफ भए, सँगै आएका अर्का एकजनाले को-कोसँग सम्पर्क गरी चाँजोपाँजो मिलाएर तुरुन्त ग्याँस चुलो जडान गरिसकेछन्। अनि भने, 'भाउजू, मैले फुक्न नपर्ने चुलो ल्याइदिएको छु ल पकाउनुस् अब।'
त्यति भन्दा नि उनी 'सक्दिनँ, मलाई गाह्रो भएको छ' भनेपछि नेताज्यू कड्किए, 'ए बाबा, अब त सजिलो भैगो नि किन आलटाल गरेकी, गइहाल् पका। तेरा बाउको घर जान मन छ र अटेर गरेकी?'
सकिनसकी पकाउन बाध्य भइन्। पकाएर खुवाइन्। अरु सबै सम्हालिन्। उही रात बित्यो। उज्यालोसँगै भैँसी कराउन थाले। उनी विस्तारामै परिन्। कतिबेला उठेर सबै गएछन् थाहा नै पाइनन्। सबै समेल्न नसकेर डिया डाँगर कराएपछि उनै दिदी आएर समेलिदिइछन्। २/४ दिनपछि अलि विशेक भएपछि फेरि आफै गरिन्।
तर त्यो हालमा छोडेकी श्रीमती मरी कि बाँची, सन्चो, विसन्चो के भो एक पटक फर्केर आएनन्। सोधेनन कति निष्ठुरी रहेछन नेताज्यू। झन् त्यो दिनदेखि बाच्ने इच्छा नै रहेन उनमा। जेठो छोरा र छोरी बुझ्ने भैसकेका थिए, कान्छो र कान्छी अलि साना हुन् तैपनि मागेर ज्यान पाल्ने भएका थिए।
बिरामी भएर उठेको पर्सिपल्ट भैँसी दुहेर छोराछोरी सबैलाई टन्न हुने गरी खिर, तरकारी पकाएर खुवाइन्। तिनीहरूका कपडा सर्लक्क पारेर धोइदिइन्। नुहाइदिएर राम्रा बनाइन्। घर पनि सफा पारिन्। मेलामा आज आउदिनँ भनिदिइन्। घरमा भएको पूजाकोठाको दियोमा बत्ती बालिन्, गाईभैँसीलाई टन्न हुने गरी घाँस काटेर अगाडि राखिदिइन्।
छोराछोरी लाई २/३ दिनलाई हुने गरी भात तरकारी पकाएर राखिदिइन अनि ठूलो छोरालाई 'बाबु, म घरमा नभए पनि भाँडाको भात तताएर खाऊ अनि भाइबहिनीलाई नि देऊ ल' भनिन्।
उसले निदाउरो मुख लाएर हेरिरह्यो। अरुका त अनुहारमा हेर्न पनि सकिनन्, घरमा भएको सबैभन्दा पुरानो र च्यातिएको धोती लगाए र डोरो लिएर भैँसीका भकारामा गइन् जीवनमा अब फर्केर कहिले नआउने निधो गर्दै। तर जति-जति भकारोतिर उनका पाइला मोडिन्थे, उति-उति उनलाई बदलाको भावना पलाएर आएजस्तो भयो।
केका लागि ज्यान फाल्ने? केका लागि मर्नु मैले? मेरो गल्ती के नै हो र? मनमा अनेक कुरा खेलाउँदै भकारामा रहेका पुराना काठ मिलाउन थालिन्। आज यो हालसम्म उनलाई पुर्याउने उनकै श्रीमान थिए। उनलाई जीवनभर जीवनसाथी भएर पनि कहिले साथ नपाएकोमा चुकचुक भयो।
आखिर मलाई पनि सबैले नेताज्यूकी श्रीमती भनेर चिन्छन्, केही गरुँ भने कसो नसकुँला र भन्ने सोचिन् र आउदो चुनावमा अध्यक्ष पदकै उमेदवारी दर्ता गराउने निर्णय गरिन्। जित पक्का हुनेछ, उनको जित नै नेताज्यूको लागि बदला लिने बलियो हतियार हुनेछ भन्ने विश्वासका साथ अगाडि बढिन्।
यो खवरले नेताज्यू छाँगाबाट खसेजस्तै भए। 'किन जान्ने पल्टेकी? मसँग किन सल्लाह नगरेकी?' भन्दै घरमा कराउन पनि छोडेनन् नेताज्यू तर उनी आफ्नो निर्णयप्रति अडिग नै रहिन्। चुपचाप बसिन्।
समयले सबै जवाफ आफै दिनेछ भन्दै सोचिरहिन्। साँच्चीनै चुनाव आएलगत्तै उनको सोही पदमा जित पनि भयो। ततपश्चात 'नेताज्यू, घर समाल्नुस् म हिँडे मेरो मिटिङ छ' भन्दै उनी आफ्नो दैनिकी राजनीतिमा लगाइन्।
नेतालाई घरधन्दा, छोराछोरी स्याहारसुसार, पकाउ, खाउ सबै आफै गर्नु पर्ने भयो। यी काम कहिल्यै गरेका थिएनन्। नगरेर पनि सुख त पाएनन्, गर्नै पर्ने भो। बेलामा घाँस नपाए डियाडागर कराउँथे, खाना नपाए छोराछोरी च्याउँच्याउँ कराउँथे। पकाएर नखाए आफ्नै पेट भोको रहन्थ्यो।
दिनभरि यति काम गर्दा मरेतुल्य हुन्थे नेताज्यू, मेलापात त परको कुरा कति डिया त बेचि पनि सकेका थिए। श्रीमती आउने कुनै निधो थिएन, आउने हो वा होइन, कतिबेला हो पत्तो केही थिएन। पूरा घरका काम सम्हाल्दा सम्हाल्दै उनको एक वर्ष बित्यो।
यो एक वर्ष बिताउन उनलाई एक दशक काटेजस्तो भयो। आफ्ना पुराना दिनहरू झलझली सम्झिन थाले। उसले त कति काम नि गर्थी, मेलापात, साना छोराछोरी मेरो व्यवहार सबै सम्हान्थी। कहिले पनि गाह्रो भयो भनिन। हुन त गाह्रो भयो भने पनि मैले कति अन्याय गरेको रहेछु भन्दै पछुतो मान्न थाले।
रातभरि निदाउन सकेनन्। मनभरि कुरा खेले। त्यो रात पनि श्रीमती घर आइनन्। अर्को दिनमा राति बल्ल आइन। उनी आएपछि नेताज्यू श्रीमतीको खुटटा समातेर रुन थाले।
'म पापी रहेछु, मैले ठूलो अपराध गरेको रहेछु। तिमी देवीसमान श्रीमती चिन्न मलाई यत्रो वर्ष लाग्यो। मलाई माफ गर्न मिले माफ गर नत्र मारिदेऊ' भन्न थाले।
उनी प्रफुल्ल भइन्। उनको कुरा बुझ्न, दुःख बुझ्न, आवश्यकता महत्व बुझ्न नेताज्यूलाई एक वर्ष काफी भयो। मनमनमै हर्षित हुँदै माफी गरिदिइन्, कमलो मन पलाएर आयो। दुवैजना धेरै बेरसम्म विगतका कुरा गर्दै रुने हाँस्ने भइरहे।
त्यसपछिका दिनमा 'दुवै जना मिलेर काम गरौँ, जे पनि सम्भव छ घर पनि सम्हालिन्छ, समाजसेवा पनि गरिन्छ, राजनीति पनि सँगैसँगै गरिन्छ, मिलेर गर्यो भने जे पनि त सम्भव छ' भन्दै सम्झाइन।
आफूभन्दा श्रीमती धेरै नै बुझकारी र समझदार भएको कुरा बुझी नेताज्यू मनमनै मख्ख र दङग परे। अरुबेला कामको नाममा केही पनि नगरेकी श्रीमती एक वर्षपछि घरको धन्दा पुनः सम्हाल्न थालिन्। श्रीमतीको काममा सघाउन थाले नेताज्यू पनि। दुवै जना मिलिजुली घरधन्दा, मेलापात, समाजसेवा सँगै राजनीतिमा पनि राम्रो दखल पुर्याउन सफल भए।