शताब्दीले
घिसार्दै पठाएको उही
डङ्गुर
गन्हाइरहनेछ भोलिसम्म।
दुई आकृतिहरू
एकको इच्छाविपरीत
एकै ठाउँ हुँदा
छायामा एउटै जस्तो देखिएको थियो
त्यति बेलादेखि
छायाहरू भिमकाय लाग्छन् 'ऊ'हरूलाई।
प्रश्न, टिप्पणी, घृणासँग
अविश्वास र दोहोरिने डर धम्कीहरू मिसिएर
आवाजमा लगाइएको बन्देजका बाबजुद
आएका इसाराहरू देख्ने बित्तिकै बन्द भएका आँखाहरू
आज आ-आफ्ना समवेदनाका कारण देखाएर
आँसु बगाइरहेछन्- निसंकोच।
कर्तव्यको लेपन लगाएर
मुक्ति/न्यायका निम्ति गरिएका
कथित प्रयासहरू
हिँड्ने/हिँडिरहेको फराकिलो बाटो
वास्तविकताको गोरेटोभन्दा
परै छ/रहेछ।
भित्ताहरूले सुनिरहने
लगातारको चिच्याहटले
नखलबलिएका निद्राहरूको चेतना
कहिल्यै ब्युँझने छैन।
त्यसपछि
१. पीडकका जस्ता देखिने पैतालाले
कुल्चिएको जस्तो लाग्ने माटोमा
खतराको रातो सङ्केत देखिएजस्तो
२. अघि बढिरहेका हरेक हातहरू
हिंसाकै हातहरू भएजस्तो
३. सम्बन्धित घटनाहरूले
विगतसँग सोझो सम्बन्ध राखेजस्तो
४.
५.
.
.
अनन्त
त्यसपछि
त्यसअघि जस्तो
कहिल्यै नहुँदो रहेछ।
तर
विवशतामाथि थापेको जालको मद्दतले
छोपेका माछाहरूले
कुनै पनि हड्डीहरू
दिगो मजबुत हुने छैनन्- कदापि।