जुन अंगको माध्यमबाट
यो धर्तीमा पाइला टेके
आज त्यही धर्तीको आडभरोसामा
तिनै अंगहरू चिथोरिँदै छन्
पोल्दै गरेको
मन
र
दुख्दै गरेको
चिथोरिएको तनमा
न्यायको मलम लगाउन
खोज्दै छिन् पीडित
तर
उनको
पीडाको डोज नै
ह्वातै बढाइदिन खोज्दै छन्
यतिबेला
कोही-कोही
र
भन्दै छन्-
'त्यो चिथोराइको
डेट एक्सपायर भइसक्यो
अब तैँले लाउन पाउदिनस्
न्यायको मलम-
बस् त्यतिकै सहेरै पीडा!'
चिथोरिएको प्रमाण हुँदाहुँदै
न्यायको मलम लाउन नपाइने
कस्तो देश हो यो?
अँ, अँ
नैतिकता र मानवता
एक्सपायर भएको मान्छेले सलामी पाउने
तर
चिथोरिएकी चेलीले
न्यायको मलम नपाउने देश हो क्यारे।