'हेर न काली! आँखाअगाडि त्यति धेरै अन्न छ, त्यही पनि टुलुटुलु हेरेर मात्रै बस्न परेको छ। सबेरै उठेर केही पाइन्छ कि भनी सहरभरि डुलेँ, केही छैन। हिजोजस्तै आज पनि खाली हात फर्किनुपर्यो, बच्चाहरू रोइकराई गरेर बस्नु छैन। बल्ल-बल्ल यहाँ आएर केही भेटेँ, त्यो पनि हेरेर बस्नबाहेक केही गर्न सकेको छैन। म त बरु भोकै बसौँला, मात्र चिन्ता यी बच्चाहरूको लाग्छ। के गर्ने होला? खान नपाएरै मर्ने भए,' चिन्तित अनुहार पार्दै मैयाले आफ्नी साथी कालीलाई मनको पीडा सुनाउँछे।
मैया र काली दुई सुन्दर परेवाहरू हुन्। सानो हुँदादेखि नै सँगै हुर्केका उनीहरू अहिले आफ्नो सन्तानलाई कसरी हुर्काउने भन्ने चिन्ताले ग्रसित भएका छन्।
'म पनि अस्ति गर्मीले छटपटी चलेर तिर्खाले भुतुक्कै भएकी थिएँ। पानीको खोजीमा कहाँ मात्रै भौतारिन होला! धन्न ती पण्डित बाको घरको छतमा जुठो भाँडामा अलिकति भए पनि पानी रहेछ र मेरो सास आयो। नत्र भने त त्यो मेरो अन्तिम दिन रह्यो भन्ने सोचेकी थिएँ। मेरा यी चिरबिरे बच्चाहरूको के हालत हुन्थ्यो होला? हैन यो चैतमा के विधि गर्मी हो फेरि!,' कालीले कुरा थप्छे।
'अब त बाँच्न पनि मुस्किल हुन्छ जस्तो छ। बल्लबल्ल भेटेको यो अन्न पनि टुलुटुलु हेरेर मात्रै बस्न परेको छ। घाम चर्केको मौका छोपेर ती युवतीले आफ्नो घरको अन्न सुकाउन राखेकी थिइन्, यसो मौका छोपेर तीनचार दाना टिपौँ न भनेर बसेकी छु, ती युवती एक पाइला पनि हल्लिने सुरसार देख्दिनँ। आज पनि हिजोझैँ रित्तो हात फर्कनुपर्छ जस्तो छ,' लामो सास फेर्दै मैयाले भन्छे।
मैया र काली आफू गाउँमा हुदाँको पुराना रमाएला दिनलाई सम्झिएर गुनासो गरेर बस्छन्।
मैया र कालीको जन्म जुरेली नामको एक सुन्दर गाउँमा भएको थियो। जन्मेर चिरबिर गर्न सिक्ने समयदेखि नै दुईजना मिल्ने साथी बनेका थिए। उस्तै उमेरका मैया र कालीको जन्मपछि उनीहरूको परिवारले गाउँकै धनाड्य व्यक्तिको घरमा बास पाएका थिए।
मैया र कालीका आमाबुवा पनि साह्रै भाग्यमानी छोरी पायौँ सोचेर मनमनै फुरुङ्ग थिए। उनीहरू अब धनाड्य व्यक्तिको घरमा आफ्नै घर जसरी बस्न थालेका थिए। त्यही कारणले गर्दा उनीहरूलाई खानाको लागि कहिल्यै केही समस्या परेन। हरेक बिहान कजिनी आमाले आँगनभरि चामल छरेर जाने गर्थिन्। र मैया, कालीलगायत उनीहरूका परिवार सबैले पेटभरि खान पाउँथे।
बिहानबेलुका यसैगरी पेटभरि खान पाउने हुनाले चारा खोज्नको लागि कसैलाई केही समस्या पर्दैन थियो। केही समस्या परिहाल्यो भने पनि गाउँको जसको घरमा गए पनि खानाको अभाव कहिल्यै हुँदैन थियो। पानी तिर्खा लागेको छ भने नजिकैको पँधेरो-कुवामा गएर धित मरुन्जेली पानी पिउन पाइन्थ्यो।
'पहिले गाउँमा बस्दाको जिन्दगी कति रमाइलो थियो। अब त त्यस्ता दिनहरू त सम्झिएर बस्नबाहेक अरु केही गर्न सकिदैन। उफ्फऽऽऽ,' मैयाले आफ्नो पुराना दिन सम्झिँदै निरासाको लामो सास फेर्छे।
'गाउँमा पनि अब त कहाँ होला र त्यस्तो! हामी बसेको घर पनि वर्षा यामको खोला बाढीले सबै बगाएर लगिहल्यो। नत्र त त्यति रमाइलो छँदाछँदैको घर छोडेर किन सहर पस्नु पर्थ्यो र हामीले!,' कालीले कुरा थप्छे।
मैया र कालीको खुसि दैवले पनि देख्न सकेनन्। गाउँमा त्यति रमाइलो जिन्दगी बाँचेर बसेका उनीहरूको खुसी केही समयका लागि मात्रै रह्यो। असार/साउनको महिना थियो, एक दिन, दुई दिन हुँदै परेको सिमसिम पानी कुन दिन भारी वर्षामा परिणत भयो कसैलाई पत्तो भएन।
खोला नजिकैको गाउँ भएको कारण पानी गाउँमा उर्लेर आयो र गाउँका सबै घर/बस्ती तहसनहस बनायो। गाउँका सबै घरहरू खोलाले बगायो। मैया र कालीको घर त जोगिने कुरा नै आएन। यो आपतकालीन समयमा सबै आफ्नो ज्यान जोगाउन यताउता भाग्न थाले।
मैया र काली पनि आफ्नो घर बगाएको शोकमा भाग्दै गर्दा आफ्नो आमाबुवाबाट छुट्टिन पुगे। जसोतसो ज्यान बचाएर मैया र काली भने गाउँभन्दा अलिक पर रहेको सहरमा गएर आफ्नो जीविका चलाउन थाले।
सहर पसेका मैया र काली त्यहाँका ठूला-ठूला घरहरू देखेर छक्क पर्छन्। उनीहरू आफूलाई एकदमै भाग्यमानी सम्झिँदै बासस्थान खोज्न थाल्छन्। तर सोचेजस्तो कहाँ नै हुन्थ्यो र! त्यो टन्टलापुर घाममा आफू बस्ने बासस्थान खोज्दाखोज्दै कति बेला घाम डुब्यो ती दुईलाई पत्तो नै भएन।
हेर्दा ठूलो र राम्रो घरमा बासको लागि जाँदा कोही घरका मान्छेहरूले हाऽऽ भन्दै धपाउने गर्थे भने कोही घरका मान्छेहरू आफ्नो चारा बनाउन खोज्थे। बल्लबल्ल एउटा घरमा बसेका मैया र कालीलाई त्यस घरका केटाहरूले मारेर खाने भनेको कुरा सुनेपछि दुवैजनाको हंसले ठाउँ छोडेको थियो। आफू मारिने डर र दिनभरिको थकानले गर्दा भोक र तिर्खाले लखतरान भएर नजिकैको एउटा सानोतिनो आँपको रुखमा थकाइ मार्न बस्छन्।
'न पिउन पानी छ न खान चारा नै! आज एकदिन मै मरिएलाजस्तो भयो, यस्तो ठाउँमा जिन्दगी कसरी बिताउनु?,' लामो सुस्केरा तान्दै मैयाले भन्छे।
जसोतसो मैया र कालीले त्यही रुखमा बसेर त्यो एक रात कटाउँछन् र बिहान सबेरै फेरि बासस्थान खोज्न निस्किन्छन्। धेरै समयको कठोर परिश्रमपछि आफूजस्तै थुप्रै परेवा बस्ने एउटा ठाउँ भेटाउँछन् र त्यही बसेर आफ्नो जीविका चलाउन थाल्छन्।
केही समयपछि उनीहरूको आफ्नै छुट्टै परिवार हुन्छ। जसोतसो सहरमा आफू त बाचेकै थिए, अब भने उनीहरूले आफ्नो परिवार र बालबच्चालाई पनि हेर्नुपर्ने भयो। सधैँजस्तो सहरमा खाना र पानीको लागि दुःख गर्नुपर्ने हुन्थ्यो। अब उनीहरूलाई आफ्नो बालबच्चालाई कसरी हुर्काउने भन्ने चिन्ता हुन्छ।
'हाम्रो आफ्नो पनि ज्यान हो, हामी पनि प्राणी हो, हामीले पनि बाच्न पाउने अधिकार त छ नि। यी मानिसहरू आफू त्यस्तो बुद्धिमानी प्राणी भएर पनि हामीजस्तो चराचुरुंगीलाई किन सहयोग नगरेका होलान्?,' कालीले मान्छेहरूको व्यवहारले आफ्नो चित्त दुखेको कुरा मैयालाई सुनाउँछे।
'हो त नि, खेर गएको खानाहरू प्लास्टिकका प्लास्टिक फोहोरवालालाई दिएर पठाउँछन्। त्यसरी फाल्नुभन्दा हामीजस्तो चराचुरुंगी र जनावरलाई छोडिदिए त हामीले पनि बाच्ने मौका पाउने थियौँ नि। पल्लो घरको त्यो कान्छी पनि अस्ति खान नपाएरै मर्नुपर्यो। अहिले उसका बच्चाहरूको बिजोक छ। आफ्नो पनि त्यस्तै हालत होला सोचेर रातभरि निन्द्रा लाग्दैन,' मैयाले कुरा थप्छे।
मैया र काली आफूले खान नपाएरै ज्यान गुमाउन पर्ने हो कि भन्ने कुराको चिन्ता गरेर बस्छन्। यस्तैगरी सबै परेवाले ज्यान गुमाउँदै जाने हो भने त मैया, कालीजस्ता परेवाहरूको त अस्तित्व नै मेटिन सक्छ। त्यसैले आफ्नो अस्तित्व जोगाउनको लागि पनि उनीहरूले दौडधुप गर्दै जसोतसो संघर्ष गरेर बाचिरहेका हुन्छन्।
त्यतिकैमा उनीहरूको छेउमा एक गरिब, फोहोरी, भिखारी आउँछ र आफूले खाँदै गरेको मकैबाट एक मुठी मकै निकालेर भुइँमा छारिदिएर आफ्नो बाटो लाग्छ।
मैया र काली त्यो दृश्य देखेर छक्क पर्छन्। त्यति धेरै सम्पति भएका, ठूला-ठूला घर भएका सहरिया मानिसहरूले कहिल्यै उनीहरूलाई यसरी खानको लागि चारा नदिएको तर आफ्नो एक छाक पनि टार्न मुस्किल पर्ने यो गरिब मान्छेले आफ्नो भागको एक मुठी खाने कुरा आफूलाई दिएर गएको कुराले मैया र काली दुवैको आँखा रसाउँछ मनमनै त्यो मानिसलाई धन्यवाद गर्दै त्यो मकै टिप्न भुइँतिर लाग्छन्।