त्यो दिन उसले निन्याउरो अनुहार लगाएर मलाई भेट्न आएको थियो। त्यो नै हाम्रो अन्तिम भेट रहेछ, तिम्रो आत्माले शान्ति पाओस् भाइ। हार्दिक श्रद्धाञ्जली!
तिमीले यस्तो निर्णय लिन्छौ होला भन्ने मैले सोचेकै थिइनँ। तिमीसँग २/३ घण्टा चिया गफमा तिमीले मलाई आत्मीय सम्झेर सेयर गरेको तिम्रो अधुरो प्रेम कथा जस्ताको त्यस्तै लेख्ने प्रयास गरेको छु। तिम्रो ज्यानै लिने निष्ठुरी मायासम्म पुग्छ वा पुग्दैन तर पनि तिमीजस्ता कलिला युवाले फेरि पागलपनमा कहिले ज्यान गुमाउन नपरोस्।
'उसले आफूभन्दा पनि बढी माया गर्ने मान्छे भेट्टाएकी रहेछ दाइ। हिजो मैले उसको स्टाटस पढेको थिए- आफूभन्दा पनि बढी माया गर्ने मान्छे भेटिएको महसुस भएको छ।
मैले ऊसँग कुरा गर्न छोडे पनि उसका हरेक क्रियाकलापहरू नियालिरहन्छु। हुन पनि हो, जुन कुरा उसले मबाट कहिले पाउन सकिन त्यो अरु कसैले उसलाई दिन्छ भने त्यसमा ऊ सन्तुष्टि हुनु स्वाभाविक कुरा हो। फेरि उसलाई बहाना पनि त चाहिरहेको थियो, कसरी मबाट छुटकारा पाउन सक्छु भनेर।
मैले केही समय पहिले नै उसको मनको भाव बुझिसकेको थिएँ। तर मलाई स्थिति जस्तोसुकै भए पनि ऊसँग नै जिन्दगी बिताउनु पर्छ भन्ने भ्रम मनमा रहिरह्यो। म सम्बन्ध बचाउनलाई उसको सामु कयौँ पटक झुकेको थिएँ। उसको सामु हात जोडेरसम्म गिडगिडाएको थिएँ। आवश्यकताभन्दा बढी झुक्नु पनि हुँदैन रहेछ दाइ।
मलाई अहिले आएर चाहिँ एउटै कुराको खुब पश्चताप हुन्छ- जुन चिज मेरो हैसियतभन्दा धेरै माथि थियो, मैले त्यो चिजलाई किन यति धेरै महत्त्व दिएँ होला! माया त त्यो होइन नि है दाइ जहाँ एकअर्काप्रति सम्मान नै हुँदैन। हुन त मैले ऊबाट धेरै सहयोग पाएको थिएँ। तर के त्यसको बदलामा मलाई उसले आफ्नो पाउमुनि नै राख्नु पर्छ भन्ने हो र दाइ?'
उसले यो कुराहरू सुनाउँदा बीचबीचमा रोकिएर भावुक भइरहन्थ्यो। मैले 'चिन्ता नगर भाइ, सबै ठिक हुन्छ। जुन चिज हाम्रो लागि बनेकै हुँदैन, त्यसको आश गर्नु हुँदैन। त्योभन्दा अझै राम्रो केटी पाइहाल्छौ नि।'
उसले टाउको हल्लाउँदै फेरि सुरु भयो।
'सुन्नुस् न दाइ, मायामा जब बदलाको भावना सिर्जना हुन्छ तब कुनै स्थितिको कदर हुँदैन रहेछ। जुन मैले सुरुमा उसलाई देखेको भेटेको थिएँ नि दाइ, त्यो गुण ऊमा पछि मैले कहिले भेट्टाउन सकिनँ। हुन त उसलाई परिवर्तन म आफैले हुन सिकाएको हुँ। पैसा नै सबथोक हो भन्ने पनि मैले नै सिकाएको हुँ।
पैसाको पछाडि हिँड्न म आफैले सिकाउने अनि किन हिँडिस भनेर भन्न पनि त नमिल्ने है दाइ? तर मलाई के कुराको विश्वास थियो भने उसले आत्मसम्मान नै गुमाएर पैसाको पछि भाग्छे होला भन्ने कहिले सोचेको थिइनँ। कुनै समय सर्वश्व नै उसको लागि म हुँ भनेर विश्वास दिलाएको मान्छेलाई नै उल्लु बनाउँछे होला भन्ने पनि मैले कहिले सोचेको थिइनँ।
म मेरा लागि उसले केही गरिन कहिले भन्दिनँ, म ऊजस्तो नयाँ सहर, नयाँ मान्छे, नयाँ परिवेशसँग बदलिन कहिले सकिनँ र मैले आफ्नो हैसियत धरातल कहिले बिर्सिनँ। म यो कुरामा गर्व गर्छु कि मसँग केही छैन गुमाउनु पर्ने चिज, सबै गुमाइसकेँ र पनि मसँग इमानदारिता अझै बाँकी छ। म मागेरै खान्छु बरु झुट बोल्न कहिले सकिनँ। ऊजस्तो सत्य कुरा लुकाउन अथवा सोधेको प्रश्नको जवाफ समेत दिन आफू फ्रस्टेड भएको बहाना बनाएर उल्टै दोष लगाएर मुख नै छोडेर गालीसम्म गर्न म जान्दिनँ।
सम्बन्धमा उतारचढाव हुन्छ नै, झैझगडा पनि सामान्य हो। सधैँ एउटै मूड कसैको हुँदैन। मैले ऊबाट टाढा हुने निर्णय धेरै कठोर भएर लिएको हुँ। र समय पनि धेरै लिएको हुँ। सहज त मलाई पनि पक्कै कहाँ थियो र! मलाई पनि ऊ जतिको मान्छे गुमाउँदा निकै दुःख लागेको थियो। मैले ऊजस्तो मान्छे कहिले भेट्टाउदिनँ होला तर म आफ्नै हैसियतको मान्छे खोज्ने प्रयास गर्नेर्छु।
उसलाई त अब बानी लागिसकेको छ जुन कार्य गरिरहेको छ, त्यहीँ कार्यलाई निरन्तरता दियोस। आफूसँग जे छ त्यही चिज बेच्ने त रहेछ यहाँ। ऊ अहिले फुरुंग छे होला। उसलाई मेरा यस्ता कुराले पनि कत्ति छुँदैन। जब उसको रुपको घमण्ड झर्नेछ, उसको चम्किला गालाहरू चाउरी पर्नेछन्। अनि समय धेरै ढिला भैसकेको हुनेछ।
हो, यो सत्य हो उसले भनेजस्तै म उसलाई आवश्यक परेकै बेला सम्झिन्थेँ। मेरो लागि ऊबाहेक अरु कोही थिएनन् र नै सम्झन्थेँ उसको लागि त म कहिले आवश्यक नै नपर्ने मान्छे, यो उसको आफ्नै शब्द हो। उसले मसँग अन्तिम पटक कल गर्दा यही शब्द भनेकी थिई।
अब त म मर्छु बरु छटपटीमा कहिले उसको सामु हात फैलाउने छैन, भिख मागेरै खानु परोस् बरु उसको सहयोगको आशा कहिेले गर्ने छैन। आजको दिनसम्म आउँदा उसले मेरा लागि जे-जति गरी त्यसको लागि धन्यवादले मात्र नपुग्ला, समय आएछ भने अवश्य गुण तिरुँला।
उसले मलाई गरेको आर्थिक, नैतिक, भौतिक सहयोग पनि कहिले बिर्सने छैन। जस्तो बेलामा उसले मलाई सहयोग गरेको थिई, त्यो मैले आजसम्म कसैबाट पाएको पाएको पनि छैन। हो, मैले बहुमूल्य चिज नै गुमाएको हुँ तर मलाई अब कुनै पश्चताप भने छैन, म आफ्नै हैसियतमा रहेर अझै पनि उसको सम्मान गर्दै उसको सामु कहिले देखा नपर्ने कसम खान्छु।
उसको सधैँ भलो नै होस्। मेरो जीवनमा ऊ आउनुभन्दा पहिले पनि धेरै मान्छेहरू आएका थिए। कति बाध्यताले टाढा भए, कति बहानामा। अरुजस्तै ऊ पनि मेरो जीवनको मिठो सपना नै हो। जति समय मैले ऊसँग बिताएँ पछिल्ला केही दिन बाहेक सबै स्मरणीय छन्। मैले ऊबाट पाएको खुसी सदा-सदा याद गरिरहने छु।
अन्तिममा ऊसँग एउटा अनुरोध गरेको थिएँ- तिमी मलाई जति नै गाली गर केही फरक पर्दैन तर आत्मालोचना चाहिँ गर्नु है! कहाँनिर के गल्ती भयो भनेर तिमीलाई पनि थाहा होस मैले यो निर्णय किन लिएँ भनेर।
ऊसँग मेरो यो नै अन्तिम इच्छा थियो दाइ। म त अझै पनि उसको उज्ज्वल भविष्यको कामना गर्छु।'
यति कुरा सुनाइसकेपछि भाइको गहभरि आँसु भरिएको थियो।
खै! मैले सक्दो सम्झाउन कोसिस गरेकै हो तर पनि तिम्रो भाग्यको लेखा यहीसम्म रहेछ भाइ। तिमीसँग बिताएका हरेक पलहरू सम्झनामा रहिरहने छन्।