तिमीसँग एउटा यात्रा मिलोस्
त्यसपछि गन्तव्यसम्म कसलाई पुग्नु छ र!
तिमी मलाई अलिकति चिन
म तिमीलाई थोरै नियाल्छु
सबै कुरा थाहा पाउन सम्भव छैन र पनि
सागरमा डुब्नेहरू तैरिएर फेरि सतहमा पुगेजस्तै
तिम्रो आँखामा डुबेपछि कहाँ पुगिन्छ जान्न मन छ
उसो त मलाई कुनै हतार छैन
मैले बादलु रातमा
बिहान हुँदासम्म जूनलाई पर्खेको छु
हिउँदको दिनहरूमा
साँझ पर्दासम्म घामलाई पर्खेको छु
चकोरले पूर्णिमा पर्खेर औँसी बिताएझैँ
म जिन्दगीका कति आजहरु संकोच नमानी बिताइदिन सक्छु
तर पर्खिँदा पर्खिँदै समय नै रहेन भने
तिमी रहेनौ या म नै रहिनँ भने
कहिलेकाहीँ उज्यालो कुर्दाकुर्दै दियो निभाएजस्तो
कुनै दिन यो सामीप्यताको कुनै अर्थ नरहला
कसलाई थाहा छ र
सँगै हिँड्दाहिँड्दै कुन ठाउँसम्म पुगेपछि छुट्टिनु छ
कहाँ पुगेर फेरि भेटिनु छ
दुनियाँको भिडमा तिमी हरायौ भने
या कुनै मोडपछि म ओझेल भएँ भने
मलाई खोज्न तिमीलाई जरुरी नलाग्न सक्छ
मैले खोज्दाखोज्दै पनि तिमीलाई नभेटाउन सक्छु
धेरै-धेरै पछि
हाम्रो भेट दोबाटोको चौतारीमा भयो भने के गर्छौ!
एकछिन पर्खिन्छौ र?
तिमीलाई बोलाउन अप्ठ्यारो
मलाई बोल्न असजिलो
कुराहरू त कति होलान्
मैले भन्न पर्ने
तिमीले सोध्न पर्ने
तर पनि हालखबर मात्रै बुझेर छुट्टिनु पर्यो भने
कहिलेसम्म परवाह गरिरहनु!
यसो गरौँ, हामी त्यहाँ भेटौँ
जहाँ बाटो मात्र होस्
पुग्न पर्ने ठाउँ नै नहोस्
केही गुमाउन नपरोस्
पाउनु पर्ने पनि केही नहोस्
अनन्त दूरी पनि भेटिएजस्तो लाग्ने
त्यो क्षितिजसम्म पुगौँ
सायद त्यसपछि हामी हुन्छौँ हुँदैनौँ
उसो त मलाई कुनै हतार छैन त्यही पनि
तिमी कति अल्झिरहनु
म कति पर्खिरहनु!