सरकार!
रत्तीभर चिन्ता नगर
मूल्यले सीमा नाघ्ने गरी
गरिबका बस्तीमा भोकमरी पस्ने गरी
असहायको घरबाट चित्कार निस्कने गरी
अभावको भुङ्ग्रोमा धकेलिदेऊ सरकार
यी नाथे गरिब त हुन् नि सरकार!
यिनको के काम? यिनको भोटको पो काम
हिम्मत गर सरकार, हिम्मत गर
अझै महंगी बढाइदेऊ सरकार।
ती गरिबका रोदनको के काम
ती असहायका चित्कारको के काम
तिमी बस्ने महलका भित्ताहरूसम्म
तिमी बस्ने महलका ढोका र झ्यालहरूसम्म
कसरी पुग्लान ती रोदन र चित्कारहरू?
साउन्ड प्रुफ सिस्टममा बसिराख तिमी
हिम्मत गर सरकार, हिम्मत गर
अझै महङ्गी बढाइदेऊ सरकार।
मर्न देऊ अभावको भुङ्ग्रोमा जलेर
छट्पटाउन देऊ, तड्पिन देऊ
ती मरेर के हुन्छ?
दुश्मनको कब्जाका निशस्त्र सिपाहीजस्तै
ती शक्तिहीन बबुराहरू!
जति सक्छौ
जति सक्छौ, अत्याचार गर
तिम्रो धित नपुगुन्जेल
तिमीलाई कुनै सन्धी सम्झौताले छुँदैन
तिमीलाई कुनै कानुनले छुँदैन
तिमी विजय मनाऊ
तिमी उत्सव मनाऊ
तिम्रो बोलीमा लोली मिलाउने
लठेतहरूको जमात ठूलो छ
तिनलाई खुसी राख
तिनलाई काखी च्याप
हिम्मत गर सरकार, हिम्मत गर
अझै महंगी बढाइदेऊ सरकार।
सरकार!
जसरी हुन्छ यिनको ढाड सेकाउनुछ
महङ्गी या खाडीको गर्मी
भ्रष्टाचार या करको भारी
यिनलाई छोडनै हुन्न सरकार
यिनलाई छोड्नै हुन्न!
यी त रैती हुन्
यिनको हाँसो छिन्नु पर्छ
यिनको खुसी मेट्नु पर्छ
हिम्मत गर सरकार, हिम्मत गर
अझै महङ्गी बढाइदेऊ सरकार।
यिनलाई आशा, आश्वासन दिए पुग्छ
यिनलाई सपना बाढिदिए पुग्छ
जति सक्छो निर्मम बन सरकार
गुलियोभित्र विष घोलिदिए पुग्छ
हिम्मत गर सरकार, हिम्मत गर
अझै महङ्गी बढाइदेऊ सरकार