एकाबिहानै आमा मेरो छ्यौमा आएर बस्नुभयो। आफूले चलाइरहेको मोबाइल देखाउँदै भन्नुभयो, 'हेर् न, फलानोको छोरीले त कति चिटिक्क परेर आमासँग फोटो खिचिओरी फेसबुकमा हालिछे।'
मैले यसो चिहाएँ।
झिलिमिली कागजले बेरेको टोकरी आमालाई दिँदै गरेको तस्बिर रहेछ। माथि क्यापसन लेखिएको थियो, 'ह्याप्पी बर्थडे आमा! यू आर भेरि स्पेसल फर मि।'
आमाले हाँस्दै फोटोमा लाइक गरेजस्तो गर्दै भन्नुभो, 'तँ पनि मेरो जन्मदिनमा एउटा यस्तै उपहार र क्याप्सन लेखेर फोटो हाल् है।'
मैले भनेँ, 'तिमी मेरो लागि सधैँ स्पेसल छेऊ आमा। न त तिमीप्रति मेरो माया दर्शाउन मलाई कुनै सन्दर्भ नै चाहिन्छ। तिमी त मेरो लागि हरेक दिन हरेक पल उत्ति नै महत्वपूर्ण छेऊ। चाहे त्यो जन्मदिन होस् या अरु केही पर्व।'
आमा हाँस्दै जानुभयो।
आमाको महत्व त हरेक दिन हरेक पल उत्तिनै हुन्छ। फेरि कुनै तिथि चाड छानेर मात्र सबैले किन आमालाई खुसी पार्ने चटारो गर्छन्, म बझ्न सक्दिनँ।
तर आज मैले फुर्सद जुटाएँ। आमाले आजसम्म दिएको अनगिन्ती माया र झेलेका दुःखहरूलाई स्मरण गर्ने।
जस्तोसुकै दुःख झेल्न पनि तयार, जस्तोसुकै पीडा लुकाउन पनि तयार, जस्तोसुकै कष्ट छिचोल्न पनि तयार हुने मेरी आमाको झलक सम्झिएर म भावुक भएँ। आज मलाई पनि आमालाई खुसी पारौँझैँ लाग्यो। आजसम्म मेरो लागि सहेका कष्टको कदर गर्दै एउटा सानो उपहार दिउँझैँ लाग्यो।
तर आमा! तिमी त संसारकै सबैभन्दा प्रेमिल उपहार हौ। तिमीलाई म के दिउँ?
मसँग त तिमीलाई दिन केही पनि छैन। तिमीले गर्ने साँचो माया र सत्यताको अगाडि मैले जे दिए पनि फिक्का हुन्छ आमा।
म त तिमीले मलाई दिएजस्तै माया दिन खोज्छु तर सक्दिनँ। तिम्रो मायासँग म मेरो माया तुलना नै गर्न सक्दिनँ।
जब तिम्रो हातमा केही पर्छ, तिमी थपक्क झोलामा हाल्छ्यौ अनि घर आएर मेरो हातमा थमाइदिन्छ्यौ। अस्ती बाबाले लेराइदिएको तिम्रो मनपर्ने मिठाई पनि एउटै नखाई मेरो लागि मात्र रखिदिएउ। त्यो मिठाईमा तिम्रो माया पनि छचल्किएको थियो आमा। तिमीले दिएजति छताछुल्ल माया म तिमीलाई दिन सक्दिनँ आमा। म त आफ्नो हातमा केही पर्ने बित्तिकै कप्प खाइहाल्छु।
बिहान सबेरै उठेर सबैको मनपर्ने खाना बनाउछ्यौ। तिमीले बनाएको खानाको स्वादमा छुट्टै मिठास हुन्छ आमा। त्यो मिठास तिम्रो मायाको हो। त्योजस्तै मिठास म दिन सकुँला र आमा?
मैले बनाएको खाना त खल्लो हुन्छ। बिना मिठासको। बिना मायाको।
घरमा कसैले कराए पनि, गाली गरे पनि, चुपचाप सही रहन्छ्यौ, सुनिरहन्छ्यौ। मनमा पीडा लुकाई एउटा मिठो मुस्कान छरिरहन्छ्यौ। तिम्रोजस्तै मिठो मुस्कान म तिमीलाई दिन सक्दिनँ आमा। म त कसैले कराए रिसाइहाल्छु। झर्की हाल्छु।
आमा, तिमीलाई सम्झँदा पलपलमा आँखा भरिएर आउँछन्। तिमी अनेकौँ भावनाहरूको आभास हौ। म तिमीजस्तो हुन सक्दिनँ आमा। तिमी अलग छ्यौ। अमूल्य छ्यौ। जो आफूमै यति अमूल्य छ, उसलाई म के दिउँ आमा?
आमा, कतै चोटपटक लग्ने बित्तिकै तिम्रो याद आइहाल्छ। तिमी कति शक्तिशाली छ्यौ। तिमीलाई सम्झने बित्तिकै ती सारा चोट निको भइजान्छन्। जब तिमीले आफ्नो हात मेरो शीरमा राखेर सुमसुमाउछ्यौ, म सबै पिर चिन्ता बिर्सिन्छु। तिमी मेरो लागि ओखति हौ आमा। जहिल्यै खान मन लागिरहने ओखति। म तिम्रो लागि त्यस्तै ओखति बन्न सकुँला र आमा?
साँझ घर पुगेर झोला बिसाउँछु तर तिमीलाई नदेखेसम्म मेरो दिउँसभरिको थकान मेटिँदैन आमा। तिम्रो हातको एक कप चिया नखाई मेरो भोक मेटिँदैन आमा।
मेरो हरेक दुखसँग तिमी जोडिएर आउछ्यौ। आफू सँगसँगै खुसी छाउछ्यौ। मेरो हरेक जितमा तिमी मभन्दा बढी खुसी हुन्छ्यौ। मैले जति नै मेहनत गरेर साथ दिन्छ्यौ। तिमी आफैमा जितको भन्डार हौ आमा। खुसीको भन्डार हौ। म तिमीलाई के दिउँ?
तिमीले त मलाई मायाको तलाउमा डुबाएर रखेकी छ्यौ आमा। कहिल्यै नतैरिने गरी। कहिल्यै नउत्रिने गरी। तिमीले दिए जति माया मैले तिमीलाई दिनै सक्दिनँ आमा।
मैले आजसम्म तिमीलाई केही दिन सकेको पनि छैन। तर तिमीमा त सबै कुरा आफैमा सम्भव छ। भनन, म तिमीलाई के दिउँ आमा? संसारमा तिमीभन्दा अमूल्य केही छैन कि म तिमीलाई दिन सकुँ।