सुन ए मान्छेहरू हो सुन
आजको रात
प्रसव बेदनामा छ
उसलाई
भोलि बिहानै
उज्यालो जन्माउनु छ
जुन उज्यालोले
आजका
अहंकारका अँध्याराहरूलाई
उन्मादका पहाडहरूलाई
र
स्वैच्छचारिताको पराकाष्ठलाई
सहजै समापन गरेर
युगानुकूल
मानव बस्ती बसाउनु छ
जुन बस्तीमा
हिमाल आफ्नो जीवन देख्न सक्छ
पहाड आफ्नो प्राण भेट्न सक्छ
र
तराई आफ्नु उर्जा उमार्न सक्छ
जुन जितमा
हिमाली जीवन
पहाडी प्राण र तराईको उर्जा छैन
म कसरी पत्याउँ
यो जित मेरो पनि हो भनेर
जितको सगरमाथाबाट
हारको गहिराई नाप्न
लम्पसार परेका एक हुल फित्ताहरू
नागरिक स्वाभिमानलाई बन्धकी राखेर
सामाजिक सद्भावलाई
कागजी टुक्रामा टुक्रा-टुक्रा पारेर
आफू अनुकूलको पाक्तौलिमा
अनुकूलकै खिचडी पकाएर
लत्याएको जनादेश उपर
धावा बोल्न
समाधी समाधीबाट
उठिरहेका छन् सहिदहरू
र
गरिरहेका छन् खबरदारी
फेरि पनि तिमी भन्छौ
यो जित जनताको हो
म कसरी पत्याउँ
यो जित मेरो पनि हो भनेर
शीतलहरमा नछोपिएको आङले
तुषारामा पौठेजोरी खेलेका खाली पैतलाले
र
हिउँमा कक्रिएका हातहरूले
अनुमोदन नगरेको
तिम्रो फूल अबिरलाई
वेदना चपाएर ङिचिक्क हाँस्ने
हिमालले नपत्याएको तिम्रो जितलाई
पहाडी खोल्सी-खोल्सीमा
संगीत भर्न नसकेको तिम्रो जितलाई
तराईका फाँट-फाँटमा
जीवन उमार्न नसकेको तिम्रो जितलाई
म कसरी पत्याउँ
यो जित मेरो पनि हो भनेर।
चिया बगानमा नफुलेको सपना
यार्चागुम्बामा नउम्रिएको उमङ्ग
कारखानामा नभेटिएको कर्म
र
खेतमा नटुँसाएको जीवन देखेर
म कसरी पत्याउँ
यो जित मेरो पनि हो भनेर
हिउँ पग्लेला उचाइमा
फुट्लान चट्टान पर्वतमा
तर
वर्षौंदेखिको
हाम्रो दुःखको सगरमाथा
ढल्न सकेन गर्लम्म भने
चेतनाका शृङ्खला
उचाइमा धरहराको, सकेन उठ्न भने
म कसरी पत्याउँ
यो जित मेरो पनि हो भनेर
आमाको काखमा नभेटिएका सन्तान
बाबुको कर्ममा नभेटिएको सन्तान
जसको लागि देश बिरानु भयो
जसले चाहेरै पनि
बगेनन् पसिना उसको प्रिय माटोमा
जो परिवारको रहर पूरा गर्न
अरबको तातो बालुवामा
आफ्नो समृद्धिको टुँसा खोजिरहेको छ
फगत तिम्रो कुटिल बातमा
आफ्नो जीवन आफूबाटै अलग्याएर
खाडीको गहिराइमा
आफ्नो देशको उचाइ नाप्ने
बलवीरे कान्छो हेर्दा
म कसरी पत्याउँ
यो जित मेरो पनि हो भनेर
ए मान्छेहरू हो, सुन
सुन! ए मान्छेहरू हो, सुन
मेरो जितमा
हिमाल हाँस्नु पर्छ
पहाड नाच्नु पर्छ
र
तराई गाउनु पर्छ
मेरो जितमा
श्रमिक जित्नु पर्छ
मालिक जित्नु पर्छ
किसान जित्नु पर्छ
रोजगार जित्नु पर्छ
बेरोजगार जित्नु पर्छ
अझ भनौँ
मेरो जितमा
देश जित्नु पर्छ
नागरिक जित्नु पर्छ
तिमी जुन जितलाई
जुन फूल अबिरलाई
जनताको जितको संज्ञा दिँदै छौ नि
हो, त्यही जित
हो, त्यही फूल अबिर
आखिर
नागरिक हारको सुरुआती भएको छ।