गाउँमा आफू जन्मेकोमा गर्व गर्छ
भाग्यमानी ठान्छ
तन्नेरी पाखुराहरूको खाँचो अनुभव गर्छ
गाउँको पीडा र घरको अभावले ग्रसित हर्के
धन कमाउन र परिवारलाई सुखसयलमा राख्न
ऊ बेहोसीमा सहर पस्छ।
सहर!
मान्छे-मान्छेबीच नैतिकता हराएर
रमिते अनुहारहरूसँग मितेरी लाउँदै
मान्छेकै भिडबाट
पीडाले घाइते बनेर
प्रत्येक गाँस-गाँसमा हराएको छ।
कोलाहल व्याप्त मानवताहीन यो सहरमा
ठूलो भाग खान हामफालेको थियो
आफ्नै बाध्यता र विवशताले
चिथोरिरहेको छ उसका सपनाहरू
खोक्रो पेट र खोक्रो अस्तित्व बोकेर
सबले आफ्नो पीडा बोकेका छन्।
यहाँका मान्छे विदेशी सहयोगले मातेको छ
रीतिरिवाज र आडम्बरको बीचमा फसेको छ
धनको आडमा इज्जतलाई फालेको छ
भिखारीजस्तै हात फैलाएर बाँचेको छ
परम्पराको झ्याली पिटाएर
रमितैरमितामा हराएको छ
कसैलाई चुसेको छ
कसैलाई खोसेको छ
धन्य छ यहाँका माछेहरूको बाँच्ने शैली
यसैभित्र जाकिएको छ- मेरो गाउँको हर्के।
परिवारका सपनाहरू यहाँ सबै रित्तिएको छ
पौरखी हातहरूमा यहाँ सबको हतकडी छ
यो सब देख्दा छाती चसक्क दुख्छ
त्यसैले, हर्केलाई यो सहरदेखि घृणा छ।
हर्के सहरको कुकृत्य जालमा फस्न चाहँदैन
उसलाई सहरभन्दा आफ्नै गाउँ प्यारो छ
आफ्नै गोरेटो र वनपाखामा रम्न चाहन्छ ऊ
आफ्नो गाउँ सम्झँदै धुरुधुरु रून्छ
यो विवशता हर्केको मात्र होइन
सम्पूर्ण नागरिकको आफ्नै कथा हो
जो आफ्नै सोझो मजदुरीले बाँच्न चाहन्छ
त्यस्तो मान्छे यो सहरमा
अनिकाल रोपेर भोकभोकै मर्ने गर्छ।