कथा भनुँ या व्यथा, बुझ्न सकेको छैन। जिन्दगी बडा कठोर हुँदो रहेछ। आफूले नचाहँदा नचाहँदै पनि समय अगाडि उभिएर हुकुम दिन्छ अनि जिन्दगीको लागि समयले अह्राएको कार्य गर्नुपर्ने हुन्छ।
जिन्दगीमा मैले धेरै चिज गुमाएँ र पाएँ पनि। म मध्यम वर्गीय परिवारमा जन्मिएको व्यक्ति हुँ। परिवारको दुई बहिनी र तीन भाइ मध्येको म जेठो सन्तान हुँ। २०५६ सालतिर म स्थानीय विद्यालय जोगडामा रुपन्देहीबाट कक्षा छ पास गरेँ। पछि बुबाले आफू कपडाको व्यवसाय गर्दै आउनुभएको ठाउँ मुर्गियास्थित प्ररोहा मावि रामनगरमा कक्षा सातमा लेखाइदिनु भयो।
त्यहाँ म कक्षा नौसम्म पढेँ र २०५८ साल राजा वीरेन्द्रको स्वर्गबास भएको पाँच महिनापछि म आफूखुसी रोजगारीको लागि राजस्थान गएँ। एघारौँ महिनाको बसाइपछि साउनको महिनामा घर फर्किएँ। त्यतिबेला द्वन्दकाल थियो। केही महिनाको अन्तरालपछि माओवादीले गाउँका लक्काजवान केटाकेटीलाई समातेर माओवादी भर्तीमा लाँदैछन् भन्ने हल्ला सुनेपछि पुनः रोजगारीको लागि भारतको गुजरातस्थित एक टेक्सटाइल मिलमा काम गर्न गएँ।
त्यहाँ गएको केही महिना मात्र बितेको थियो, एक दिन मेरो मन साह्रै बेचैन हुँदै थियो। मलाई एकदमै नराम्रो आभास भइरहेको थियो। बेलुका सँगै काम गर्ने साइनोमा मामा पर्नेको मोबाइलमा मलाई घर फर्किनुपर्ने भन्दै फोन आएछ। आफ्नो घरमा फोन त छैन कहाँबाट फोन आयो भन्दै जिज्ञासा राखेपछि थाहा भयो कि भारत उत्तर प्रदेशबाट मेरो श्रीमतीको मावलदेखि आएको रहेछ।
म आत्तिएँ, के गर्नु? के भएको होला? भन्ने प्रश्न मनमा घुम्न थाले। एकैछिनपछि मामाले कम्पनीबाट मेरो हिसाबकिताब गरी आएको पैसा मेरो हातमा दिँदै अहिले नै निस्किने भन्नुभयो। मैले कपडा फेरेँ, झोला भिरेँ, मामा र अर्को एक भाइसँगै वापी स्टेशन पुगेँ। तीन दिनपछि गाउँ पुगेँ।
घर पुग्दासम्म मलाई किन अकस्मात् बोलाइयो भन्ने कुरामा अन्जान थिएँ। सबै भाइबहिनीको आँखा रसाएको देखेँ। आत्तिएर फुपूलाई प्रश्न गरेँ- 'के भयो? बुबा कहाँ हुनुहुन्छ?'
यति प्रश्न गरेको के थिएँ सबै भक्कानो छोडेर रुन थाले। म पनि रुन थालेँ। छिमेकी, भाइबहिनी र फुपूको आँखाबाट आँसु सुकिसकेको थियो। मेरो आँखाबाट मात्र आँसु बगेको थियो। केही बेरपछि फुपूले आफ्नो सारीको सप्कोले मेरो आँसु पुछ्दै सबैकुरा भन्नुभयो।
आमाको अस्तु बिसर्जनको लागि बुबा काशी बनारस जानु भएको र आज फर्किनु हुने पनि थाहा पाएँ। जेनतेन आफूलाई सम्हालेँ। केही घण्टापछि बुबा फर्किनु भयो तर घर आउनु भएन। पहिला नै हामी सम्पूर्ण खलकका छोरामान्छे जति गाउँको बाहिर मैदानमा बसेका थियौँ। बुबा आएपछि सबैको कपाल मुन्डन भयो अनि घर फर्कियौँ।
१३ दिनका दिन उम्कियौँ। अब घरमा भाइबहिनी सम्हाल्ने कोही थिएन। मेरो बिहे म कक्षा आठमा पढ्दापढ्दै भएको थियो। भाइ बहिनीलाई सम्हाने जिम्मा एक वर्ष जति मेरो रह्यो। किनकि एक वर्षसम्म शुभ साइतको कार्य गर्न नमिल्ने चलन छ हाम्रोमा। एक वर्ष कटेपछि मेरो श्रीमती भित्र्याउने कुरा आयो। लगन जुराएर दिन ठेगान राखियो र भित्राइयो पनि।
सबैकुरा समान्य चल्दै थियो। एक दिन अचानक बुबाले म पुनः विवाह गर्छु भन्ने जिकिर गर्न थाल्नुभयो। सुनेर म झसंग भएँ। प्रश्न गरेँ- 'के यो तपाईंको बिहे गर्ने उमेर हो? दुई भाइ र दुई बहिनीको भविष्यको जिम्मा को लिन्छ?'
मेरो एक सुन्नु भएन। आखिर एकदिन अन्तरजातीय विवाह गरी सौतेनी आमा भित्र्याउनु भयो। मेरो केही चलेन। यहाँदेखि हामी सबै भाइ-बहिनाको जीवन धरापमा पर्यो। नयाँ आमा आएको अर्को दिन श्री सम्पत्ति केही नलिइकन हामी श्रीमानश्रीमती बुबाबाट छुट्टै बस्न थाल्यौँ।
माइलो भाइ मेरो बराबर भैसकेको थियो, बाँकी दुई बहिनी र एक भाइ सानै थिए। भाइबहिनीहरूलाई म आफूसँग राख्न सक्ने थिइनँ। राखेमा खान लाउन दिन सक्ने थिइनँ होला। एक दिन भाइबहिनी विद्यालय गएनन्। विद्यालयबाट सर/म्याडम आए। विद्यालय किन पठाएको भनी नयाँ आमासँग प्रश्न गर्न थाले।
जवाफमा 'म विद्यालय पठाउन्नँ' सहजै नयाँ आमाले भनिन् र बाध्य भएर सर/म्याडमहरू फर्किनु भयो। त्यसपछि पनि भाइबहिनीहरूलाई भोको, कपडाको कमी, धेरै कुराको दुःख आखाले देख्न बाध्य थिए। कहिलेकाहीँ म आमा र बुबासँग किन यस्तो गरेको भन्दा झगडा समेत गर्दथे।
लुकीछिपी भाइबहिनीहरूलाई सक्दो सहयोग गरिरहेको थिएँ। केही वर्ष बितेपछि बहिनीको बिहे बुबाले गर्दिनु भयो। पछि कान्छीको मैले गरिदिएँ। माइलाको बिहे बुबाले गर्नुभयो, कान्छाले आफै गर्यो।
उता नयाँ आमाबाट दुई बहिनी र एक भाइ जन्मिए। चार वर्ष पहिला अंशबन्डा भयो। तीन कोठे पक्की घर बाबुलाई भाइहरूले दिए। अहिले बुबा एक्लो हुनुभएको छ। आफूहरूलाई दिनुसम्म दुःख दिएको भन्दै भाइहरू पनि हेरेका छैनन्। मैले पनि खासै हेरेको वा सहयोग गरेको छैन।
बुबाले दोस्रो विवाह गर्नु भएको करिब १६ वर्ष भयो। हामी नजिकै भए पनि दुई नदिको किनारा भएका छौँ। १६/१७ वर्षमा मलाई याद छ बुबा र म चार वर्षपहिला अंशबन्डा गर्दा दुई दिन मात्र एकअर्कासँग बोलेका छौँ। भाइहरूको थाहा छैन, मेरो श्रीमती पनि बुबाले पटक-पटक मुख छोड्नाले ढुंगा भइछन्। हुन त मैले पनि सुनेको छु फोनमा नयाँ आमा र मेरो श्रीमती बाजेको बेला बुबाले मुख छोड्नु भएको।
चार वर्षदेखि कतारको राजधानी दोहामा छु। पैसा कमाएँ, घर बनाएँ, जग्गा पनि किनेँ। अहिले आएर कता-कता बुबाप्रति मेरो मन बदलिन थालेको छ। एक पटक कोरोना कालमा घर पैसा पठाएको बेला श्रीमतीसँग बुबालाई केही पैसा दिन भनेँ तर मानिनन्। आफूलाई मुख छोडेको र सौतेनी आमाले गरेको कलहले गर्दा आफू नदिने, आफैले दिने भए नाममा पठाइदिन भनिन्।
तर मेरो हातले भन्दा बुहारीको हातले बुबाले सहयोग पाउन् भन्न चाहन्छु। अब बुबाको धेरै उमेर भैसकेको छ। बुढेसकालमा आराम गर्नुहुन्थ्यो होला सायद तर उहाँको गल्तीले आज हामी पराई र शत्रुसरह भएका छौँ। कहिले मिलन हुन्छ वा हुँदैन थाहा छैन मलाई।
जिन्दगीले जति ठगे पनि, जे जति गुमाए पनि, दुःख पाए पनि सौतेनी आमाको दुःख कैसैलाई नमिलोस। हामी सबै भाइबहिनी दूध खाने बच्चा कोही थिएनौँ। दोस्रो विवाह गरेर हामीप्रति गैर जिम्मेवार भई भाइबहिनीको भविष्य नबिगारेको भए पनि हुनेथियो। नयाँ आमाको कुरा सुनेर हामीलाई दुःख नदिएको भए आज उहाँको हैसियत अर्कै हुन्थ्यो कि जस्तो लाग्छ।
नयाँ आमा भए पनि व्यवहार सौतेनी नगरेको भए पनि आज हामी नजिक भएर पनि टाढा हुने थिएनौँ होला। तर जे भए पनि दु:खद् दिनहरू गए। अब सुखद् मिलन दिनको कामना गर्दछु। विदेशबाट फर्किएर बुबाको हातमा केही पैसासँगै कोसेली दिएर ढोग गर्न मन छ। आफ्नै हातले उहाँको हातको नाडीमा टल्किने घडी बाध्न मन छ।
मैले आजसम्म जान अन्जानमा गरेको पापको क्षमायाचना माग्ने मन छ। हामी बाबुछोराहरू सँगै एउटै पिढीँमा बसेर थालीमा थाली टाँसेर खान मन छ। आजसम्म उहाँको आँखामा हेरेको छैन तर उहाँको आँखामा आफ्नो तस्बिर हेर्न मन छ। मेरो छोरा भन्ने वाक्य शब्द सुन्न मन छ।