एक दुःख
एक म
बिहानै लडाइँ गर्छौं
दिनभरि थकित शरीरले
एक मुठ्ठी विश्वास लैजान्छ
रातिमा निदाउन दिँदैन
त्यो अन्धाकार भविष्यले
सन्नटा छाउँछ मनमा
चिसो हावा खान कौसीमा पुग्छु
बाको फाटेको टोपी याद आउँछ
आमाका फुस्रा परेका हात याद आउँछ।
साँझ चिसो हावा खान कौसीमा गएको म
तातो दिमाग लिएर कोठाभित्र पस्छु
बनाउँछु जिन्दगीका बाटाहरू
कुद्छु कल्पनामै म्याराथन
आफै आफूलाई भन्छु 'धन्यवाद'
सुत्न खोज्छु म निदाउदिनँ
त्यही आफैले कोरेको बाटोमा घुमिरहन्छु
पचास रुपैयाँ नपत्याएका ठूलाबा
पचासचोटि बगेका आमाका आँसु सम्झन्छु
मेला हेर्न जाँदा दश रुपैयाँ नपाएको व्यथा
दशचोटि सम्झन्छु
कोठाको चुक्कुल हेर्छु
बन्द छ
त्यो कोठाजस्तै काला छन्
मेरा भविष्यका सपनाहरू
मार्दैछु चाहनाहरूलाई आफैभित्र
दिन पाएको छैन आफ्नै सपनाहरूलाई
अन्तिम श्रद्धाञ्जली।