‘चश्मा खोलौँ न। अलि टल्कियो।’ कुर्सी मिलाउदै लोकेन्द्रले भन्यो।
‘नखोलौँ कि भनेको। चश्मा लगाउनुको फाईदा थाहा छ र?,’ मोहिनीले चस्मा फोल्ड गरेर ब्यागमा राख्तै भनी।
‘अँ। मन परेका मान्छेलाई धीत मरून्जेल हेर्न पाईन्छ।’
‘आफ्नो वास्तविकता छोप्न पनि पाईन्छ नि।’ ठट्टैमा सत्य बोली मोहिनी।
‘हँ ?’ मोहिनीको जवाफ अनपेक्षित थियो।
‘चश्मा मैले होइन खासमा तिमीले लगाउन पर्ने हो। तिमी अरू नै केही बोलिरहेका हुन्छौ तर आँखा ठिक विपरित इसारा गरिरहेका हुन्छन्। तिमीले बोलेकै कुरामा म विश्वास गर्छु भन्ने ठान्दा हौ। तिम्रा अभिव्यक्ति र नयनका भावहरूले मलाई सधै दुविधा श्रृजना गराउँछन्। हिजो पनि दुविधामा थिएँ र आज पनि दुविधामै छु।’
विस्तारै भावनाको अतल पोखरीमा डुबी मोहिनी–‘तिम्रा नयन प्रेमरसले भरिएका हुन्थे। ती प्रेमपूर्ण नयन हेर्न लालयित हुन्थेँ म तर तिमी चस्मामा हुन्थ्यौ। आक्कलझुक्कल चस्माबिनाको प्रेमाशक्तपूर्ण नजरसँग साक्षात्कार हुँदा मन हुरूक्क हुन्थ्यो। लाग्थ्यो– सधैँ तिम्रा नयन पढिरहुँ र प्रेमिल वार्ता गरिरहुँ। कालो चस्माले कहिल्यै नछोपोस्। मान्छेले तिम्रो चस्माको बयान गर्दा ममाथि पुगेको पीडा अभिव्यक्त गर्नै सक्तिनँ।
... ... दारी, कालो चस्मा। कलरवाला टी–सर्ट, अगाडिबाट वक्षमा पोखिएका छोटा रौं...। केटाहरूलाई चाहिँ किन ‘सेक्सी’ नभनेको होला? तिम्रो आकर्षण त ‘ह्यान्डसम’ ले मात्र धान्न सक्तैन। मुठ्ठी कस्थेँ, दाँतले आफ्नै ओठ टोक्थेँ बेस्सरी अनि स्वीकार्थे तिम्रो आकर्षित व्यक्तित्व मनैमन।
‘छाता नबोकेपछि चर्को घाम होस् वा घना वर्षा, चुपचाप शिरोधार्य गर्नु’ को विकल्प थिएन। घाममा राप खेप्नु र झरीमा रूझ्नु।’ ५ वर्षअघि लोकेन्द्रसँगका चित्ताकर्षक अवयवहरु सम्झँदै थिई मोहिनी।
‘ठट्टा नगर न यार। बढी नै हेन्सी देखिएँ रे, त्यसैले चस्मा लाउन छोडेको,’ स्पष्टीकरण दियो उसले।
‘त्यसबेलाको लक्की चस्मा आज अनलक्की भएको त होइन नि?’
‘ल, त्यो चस्मा छोड। के छ नयाँ कुरा सुनाउ।’ प्रसंग मोड्यो लोकेन्द्रले।
‘गुनासाका पोका छन् , धेरै। ’
‘गुनासालाई अहिले थाँती नै राखौँ। संवाद जारी नै छ। पछि छलफल गरौंला। अँ साँच्ची अभियान चैँ छोड्नु हुन्न है अहिले पनि।’
मोहिनीले जिज्ञासु नजर फ्याँकी लोकेन्द्रतिर।
‘मतलब चुनावी अभियान। युवा र महिलाका लागि।’ लोकन्द्रले आफैं स्पष्ट पार्यो।
‘गुनासाहरुको चित्तबुझ्दो जवाफ नदिएसम्म सहकार्यमा पाइला चाल्न सक्तिनँ।’
‘नरिसाउ न प्लीज। समयसँगै सबै गुनासा सम्बोधन हुँदै जानेछन्। अभियान चल्यो भने निरन्तरता बुझिनेछ। युवा र महिला जिताउ अभियानको सूत्रधारको इतिहासमा तिम्रो नाम चित्रित हुनेछ। त्यसैले यो पनि गहन जिम्मेवारी हो।’
‘मेरो भूमिकालाई तिम्रो अभियानको साधकको रूपमा मात्रै सिमित राख्दा मलाई अनि स्वयम् आफूलाई न्याय दिईरहेका हुनेछौ?,’ अन्तस्करणको चाहानालाई थोरै उघारी उसले।
‘निरपेक्ष सोच्नुभएन। असल साथीको रूपमा मेरो सदाशय र सदिच्छा सधै हुनेछ।’
‘बाँकी...? मेरो सपना...? अनि ..’ मनभित्र गुजुल्टिएका असन्तुष्ठीहरु बाहिर निकाल्नै सकिन। प्रेमाक्षाको अपिल आँखाको डिलमा आँसु बनेर टिलपिलायो। झुकेका नजर अन्यत्रै मोडी मोहिनीले।
‘हाहा ...। सोच्न पाईयो। सपना देख्न पाईयो। तिमीले जस्तै धेरैले देखेका थिए सपना। मिठो कल्पना गरेका थिए धेरैले।’ सतही प्रतिक्रिया दियो लोकेन्द्रले।
‘उडाएको? ’
‘पैसा नलाग्ने सपना देख्न पाईयो भनेको नि। उसै पनि तिम्रो सपना, कल्पना र चिन्तनमा मेरो कुनै संलग्नता छैन। सपना तिमीले देखेकी हौ। पुरा गर्ने प्रयास पनि तिमीले नै गर्नुपर्छ,’ अलि नरम देखियो लोकेन्द्र।
‘दिनको पसिना र रातको निन्द्रा अमूल्य थियो मेरो ....।’ प्रेमाक्षाको बहिखाता मिलानमा तम्सिई ऊ।
‘मैले पछ्यौरी थापेँ। मकैको घोगा दिने कि मुटु नै झिकेर दिने? व्यक्तिमा निर्भर रहने कुरा हो। फेरि दान दिएको कुरा ‘फिर्ता देउ’ भन्न मिल्छ र? दानमा प्रतिफलको स्वार्थ पनि त राखिदैन नि!, ’ लोकेन्द्र प्रतिरक्षामा उत्रियो।
‘तिम्रा फ्यानले लहडमा गरेको मतदान जस्तो होइन मेरो दान। मैले मन दिएँ। तिमीले मुटु चोर्यौं। कसैको अनुभूतिमाथि राजनीति गर्न मिल्छ?’
‘मन होस् वा मत,आखिर दुवै दान हुन्। प्रतिफलको आशा राख्नु नै गलत हो,’ लोकेन्द्रको कठोरता पहिलोपटक अनुभूत गरी उसले।
‘तिमी यति स्वार्थी होउला भन्ने सोचेकी थिईनँ मैले। कुटनीतिक धोका !’
‘हरेक व्यक्तिसँग स्वार्थ हुन्छ। स्वार्थ पुरा गर्ने माध्यमको रुपमा सम्बन्धहरु विकसित हुन्छन्। हरेक सम्बन्धमा लोभ हुन्छ। प्रत्येक व्यक्तिका स्वार्थ र लोभ भिन्न हुन्छन्। सबैले आफूअनुकूलको लोभ, स्वार्थ र सम्बन्ध खोज्नु स्वभाविक हो। मान्छे आफ्नै वरपर मात्रै केन्द्रित हुन्छ। त्यसैले तिम्रो चाहाना र सपनासंग मेरो चाहाना र सपना कहिल्यै एकाकार हुन सक्तैनन्,’ लोकेन्द्रको वकालत शैलीबाट मर्माहत भई मोहिनी।
‘४ वर्षअघि अर्थात् अप्रिल २४ को वार्तालाप ताजै छ। नेताले जसरी बोली फेर्न पाउँदैनौ। के भनेका थियौ त्यसदिन? सम्झना दिलाउँ?’
‘अहिले समय छैन। उम्मेदवारीको अन्तिम टुंगो लाउनु छ। अर्को कुनै दिन कुरा गरौंला। एउटा साथीको नाताले मेरो सद्भाव सहितको अपेक्षा–तिमी अभियानमा लाग।’
‘एकसरो साथीमा मात्रै सिमित राखेकी छैन मैले। तिमीले नक्सा बनाउन बिर्स्यौ होला।
इन्टेरियर डिजाईनका लागि सयौं घरका फाइलको चाङ छ...’ संवाद टुंगिएको निष्कर्षसहित ब्यागबाट चस्मा झिकी।
‘म पनि मान्छे नै हुँ। तर डर लाग्छ,’ लोकेन्द्रको स्वर मसिनो भयो।
‘डर के को? सपना बाँड्यौं। जनताले भरोसा गरे। विश्वासको मत दिए। तिनको अपेक्षा सम्बोधन नगर्दा डर लागेन? फेरि पुरानै नारा लिएर आएका छौ त।’ प्रतिकारमा उत्रिई ऊ पनि।
‘मुद्दा उठान र मुद्दा समाधान भिन्न विषय हुन् जसरी प्रेम गर्नु र प्रेमलाई स्वीकार्नु फरक विषय हो।
प्रेम हुँदाहुदै पनि त्यसको औपचारिक रुपान्तरण कठिन हुन्छ। समाजमा प्रेम स्थापित नहुने संशयका कारण दुवैपक्षबाट समझदारीमा अस्वीकृत भएका कयौं दृष्टान्त छन्। समझदारी कायम हुन नसक्दा जसरी प्रेम दुर्घटनामा पर्छ जनताका अपेक्षा पनि त्यसैगरी दुर्घटित हुन्छन्। सामाजिक संयन्त्र जस्तै पुरातन छन् सरकारका संयन्त्र पनि।’
लोकेन्द्रको भद्राभीव्यक्तिमा विरोधाभाष देखी उसले –‘समाज सधै विद्रोही हुन्छ। परिर्वतन चाहनु नै एकप्रकारको विद्रोह हो। समाज सधै परिर्वतन चाहन्छ। तिम्रो राजनीतिक नेतृत्व मात्रै होइन निश्चित उमेर समूहको प्रेममा पनि परिर्वतन चाहिरहेछ समाज। समाज र सोच परिर्वतनका नाममा धेरैले भ्रम छरे, धोका दिए। सपना विथोलियो। प्रयत्नहरु नै दुषित भएकाले सपना विथोलिने क्रम रोकिएन। त्यही परिवेशमा अनायासै प्रकट भयौ तिमी। आशाको दियो चम्कियो। सपना साकार हुने मृगतृष्णा ब्युँतियो। तर सबै अपेक्षामा हातमा लाग्यो शून्य। परिणामःउही एकान्त!’
‘हामी असल साथी हौं। साथीको कर्तव्य, जिम्मेवारी र दायित्व पुरा गर्नेछु, ’ उसले भन्यो।
‘हामी बिचको सम्बन्ध असल साथीको सीमा भित्रै थिए?’
‘मैले भनिसकेँ नि, समाज परिर्वतन भएको छैन। फर्गेट यस्टर्ड।’
लोकेन्द्रको प्राथमिकता ‘महिला र युवा जिताउ अभियान’ मात्रै भएको बुझेपछि औपचारिकता बिनै लभ गार्डेनबाट बाहिरिई मोहिनी।
‘हरियाली सहर, सहरी सुन्दरता, सपनाको सहर’ को नारा सहित केही वर्ष अघि बनेको बगैंचालाई ‘लभ गार्डेन’ को नाम दिईएको थियो। अक्सर युवायुवती प्रेमालाप गरिरहेका हुन्थे त्यहाँ।
‘ऊ पुरूष हो, महिलालाई जिस्क्याउने हक राख्छ। गिजोल्ने हक राख्छ। मन चोर्ने हक राख्छ। भावनासँग खेलवाड गर्ने हक राख्छ। त्याग, समर्पण, सहनशील र धैर्य महिलाका लागि मात्रै बनेका शब्द..।’ स्कुटर यन्त्रवत अगाडि बढाई। विद्रोही मनले धैर्य र सहनशील बनेकोमा पश्चाताप गर्यो।
लोकेन्द्रसँग भेटघाट भएदेखिका सबै परिवेश मस्तिष्कमा नाचिरहेँ।
‘म त तपाईँको क्रियसनबाट फिदा भएँ।’ आफूले बनाएको घरको नक्सामा मोहिनीले गरेको आन्तरिक डेकोरेसको ब्रिफिङमा लोकेन्द्रको पहिलो प्रतिक्रिया थियो। कसैलाई गुनासो गर्ने गुञ्जायसै नराखी काम गर्थे उनीहरू। लोकेन्द्र एकाएक व्यवसाय छोडेर राजनीतिमा लाग्यो। उसले लोकेन्द्रलाई पुरा पुर सहयोग गरी। घोषणापत्रदेखि प्रचारप्रसार सबैमा।
घोषणापत्र बनेपछि छातीमा टाँस्तै खुसीले भूइँमा लडिबुडी खेलेको थियो लोकेन्द्र। घोषणापत्र जस्तै एकदिन उसको बाहुपासमा बाँधिने सपना त्यसैदिन देखेकी थिई मोहिनीले। त्यसपछि विस्तारै उनीहरुबीचका तगारा हट्तै गए। सानिध्य बढेर कहिले एकाकार भई ऊसँग, पत्तै पाइन।
लोकेन्द्रले चुनाव जित्यो। पूरा कार्यकाल नेतृत्वमा बस्यो तर मोहिनीको सपना साकार भएन। न जनताका सपना पुरा गर्यो न उसको। विभिन्न बहानामा समय थप्तै गयो लोकेन्द्र– कहिले समाज, कहिले संयन्त्र।
लोकेन्द्रको छातमा टाँसिएको घोषणापत्रको दृश्य सँगै मोहिनीको मनभित्र अंकुरित अद्भूत अनुभूति प्राप्तिको लालसा ठूलो सपनामा रुपान्तरण हुँदै गएको थियो।
जनताले दिएको मत र उसको मनलाई एउटै डालोमा राख्ता मोहिनीको हृदय छियाछिया भयो।
चुनावी प्रचारमा सुनेका वार्तालापहरु स्मृतिपटलमा ताजा भए–‘बुढापाकाले सही भनेका रहेछन्। ’ फरक निष्कर्षमा पुगी ऊ।
लोकेन्द्रलाई मत माग्दै गर्दा मान्छेहरुले भनेका थिए –‘फ्यान हुनु र कार्यकर्ता हुनु भिन्न विषय हुन्। फ्यानले कलाकार बदल्न सक्छ तर कार्यकर्ताहरुलाई सहजै नेतृत्व बदल्ने छुट हुँदैन। फ्यान भनेको साबुनको फिँज हो। बाटाभरी सावुनको फिँज देखिँदा ‘ओहो! कतिधेरै पानी’ जस्तो लाग्छ तर त्यो फिँज हटाएर हेर्दा पानी त पीँथमा हुन्छ। तर कार्यकर्ता भनेको संगठन हो। त्यसको वजन नै फरक हुन्छ। ’
‘समाज राजनीतिमा सचेत छ। विग्रिएको त नेतृत्व हो। सचेत भएकैले हरेक निर्वाचनमा समाजले नेतृत्व परिर्वतन खोज्छ। अर्थात् परिर्वतित नेतृत्वको पक्षमा वकालत गर्छ समाज। निर्दलीय व्यवस्थामा पनि देश विरुद्ध लडेको बहुदल जिताउन उद्यत थियो समाज। समाजले निरन्तर परिवर्तन खोजिरहेको छ। विगतका सबै नेतृत्व चयनमा समाजले परिवर्तनको आशा राख्यो। लोकेन्द्रको क्रेजमा पनि समाजको त्यही परिर्वतनकामी यथार्थ एकाकार भएको छ,’ उसले यसरी मतदातालाई सम्झाएकी थिई।
‘समाजले निरन्तर आफू अनुकुलको परिर्वतन खोजेको छ। यो सचेत समाज भएरै हो तर हाम्रा नेतृत्वले समाजको परिर्वतनलाई देखेनन्। नेतृत्वले समाजको दृष्टिकोण आत्मसाथ गर्ने क्षमता गुमाईसक्यो। हरेक निर्णय स्वार्थकेन्द्रीत भए। उम्मेदवारी छनोटदेखि नै नेतृत्वको आर्थिक र वैयक्तिक स्वार्थ जोडियो।’
‘परिर्वतनको सूचक हुनसक्छ लोकेन्द्र तर परिर्वतनकामी आन्दोलन होइन। उसका पछाडि हामीले व्यक्ति देखेका छौ, योजना होइन। सरकार भनेको एउटा संगठन हो। योजना बनाउन व्यक्तिले सक्छ तर कार्यान्वयन गर्न संगठन अर्थात् कार्यकर्ता चाहिन्छ। उनले देखाएको सपना सही छ तर उनले आफ्नै भोटरलाई धोका दिँदैछन्। वर्तमान परिवेशमा दलीयता उच्च छ जसको स्वीकृति विना एक्लो लोकेन्द्रले केही गर्न सक्तैन, ’ प्रतिक्रिया अनेक सुनेकी थिई उसले।
चुनावमा पराजयको शंसय त थियो तर लोकेन्न्द्रले बाँडेका सपनाले मान्छेको मन तानेको थियो।
‘पार्टीको सक्रिय सदस्य भएर पनि मत स्वतन्त्रलाई राखियो।’
‘एउटा भोट चैँ श्रीमानको निर्देशनबाहिर राखियो।’
‘एउटाको प्रचार अर्कोलाई भोट। क्या धोका हगि?’
‘बाहिर जे भने नि भोट चैँ उसैलाई दिइयो।’
‘म त पूरै फिदा। सबैतिर उसैलाई देख्छु। ६ वटा छाप एउटै चिन्हमा लाए नि?’
मतदानको समयमा कयौं सुखद धोकाहरुसँग ठोक्किएकी थिई मोहिनी।
‘तिमीले समाजलाई मात्रै होइन मलाई पनि धोका दियौ। हाम्रो सामुहिक अस्तित्व के? न श्रीमान् न श्रीमती। तिमीले जनतालाई सपना देखायौ। तिमी र तिम्रा मतदाताबिचको समुच्च रुप खै? कहीँँ संकेत छोड्न सक्यौ? तिम्रा सपनालाई मतदाताले पत्याए र उनीहरु पनि तिम्रै सपनामा दंग परे। सपनाको सत्य ‘रित्तो’ हो– खाली अर्थात् शून्य। आज उनीहरु रित्ता छन्। म रित्तो छु।’
आफ्नो र जनताको सपनालाई तुलना गरी, दुवै पुरा भएका थिएनन्। सपना तुहिएकोमा दुखी थिई ऊ। तर सपना यात्रामा बटुलेका अनूभूतिले सुखद प्रेरणा दिएका थिए।
‘तपाईँ झ्यालबाट संसार चिहाउन सक्नुहुन्छ तर संसार प्रवेश गर्न ढोकै चाहिन्छ। ढोका संगठन हो, दलीय गठजोड। विचार, संगठन, नेतृत्व र सम्बन्धका आधारमा दलहरु बलिया हुन्छन्। सामान्य अर्थमा ढोका हामीसँग अभ्यस्त छ, पूर्वपरिचित। ढोका खुलेको र बन्द भएको मान्छेले सामान्य रुपमा लिन्छ तर झ्यालमा कोही उभिएको छ भने दृष्टिकोण फरक हुन्छ। ढोकाबाट प्रवेश गर्न निम्तो चाहिन्छ। औपचारिक प्रवेशको कारण हुन्छ, झ्याल औपचारिक होइन। धरहराको टुप्पोबाट सुनधारमा विस्थापित सिर्जना हेर्न सहज हुन्छ र?’ मोहिनीको मन भित्र अन्तरसंहर्ष चलिरह्यो।
टुटेको सपना र गिजोलिएको मन लिएर घर पुग्दा चुनावी प्रचारको एक हुल आँगनदेखि बाटो सम्म थियो।
बाटोछेउमै स्कुटर रोक्न खोज्दै थिई, छप्ल्याङ्ङ सडकको हिलो छ्याप्दै हुइँकियो एउटा ट्याक्सी। हिलाम्मे सडकका बाछिटाहरु उसको अनुहार हुँदै चुनावी प्रचारको भीडसम्म पुग्यो। उबडखाबड सडक आज पनि उस्तै थियो। खाल्डाहरु त्यसैगरी फोहोर पानीले जमेका थिए। अरूले जस्तै उसले पनि सपनामा चिल्लो सडक देखेकी थिई।
हिलो छ्याप्ने ट्याक्सी पर पुगिसके पनि ट्याक्सीभित्र बजेको गीत टट्कारै सुनिन्थ्यो–
‘पोहर पनि ढाट्यौ आमा,यसपालि नि ढाट्यौ। खै त मलाई झुम्के बुलाँकी?....’