घर धन्दा, चुरा पोते, गृहिणी यी सबै बेकारका कुरा लाग्थे मलाई। स्वतन्त्र भएर पारिवारिक सम्बन्धलाई निर्वाह गर्न सक्नु नै जीवन हो जस्तो लाग्थ्यो। घरभित्रको काममा चुरा पोतेकै आवाज आउनुपर्छ भन्ने कहाँ लेखिएको छ र? ...र थिएन पनि मेरो घर परिवारमा त्यस्तो असमान व्यवहार। जसले देख्छ उसले काममा हात बढाउँथ्यो।
अफिस सकेर फर्किंदा होस् या अफिसका लागि दौडादौड होस्। म पनि थकानमा एक कप कफी आरामले पिउन पाउँथें।
प्राय:जसो खाना पनि तयार हुन्थ्यो। समता र समानता समाजका निकै राम्रा कुरा हुन्। यिनै अधिकार र स्वतन्त्रताका सौन्दर्य मेरो घरका कुना कुनामा भेटिन्थे। सबैले एक अर्कालाई सम्मान गर्न जानेका पनि थियौं। छोरी समताको सुरिलो आवाज नियमित भजन झैं झन्कार गर्दै शुभ समय सुरू हुन्थ्यो। उनी सबैका लागि बिहानको चिया र पानी तयार पार्थिन्। म स्कुल, कलेज र अफिसका ड्रेस तयार गर्थेँ।
अफिस र कलेजका लागि लन्चको बट्टा तयार गर्ने काम श्रीमानले गर्नुहुन्थ्यो। मिलीजुली खाना पनि तयार हुन्थ्यो। कसैको समय खाली थिएन। जुत्तामा पालिस लगाएर सबैका लागि छोरी समानता सहयोगी बन्थिन्।
आमा बुबा घरका गहनाझैं हुनुहुन्थ्यो। कौसीमा रमाउने चराचुरूङ्गीका लागि चारो र पानी राखिदिनुहुन्थ्यो। गमलाका फूल नियाल्नुहुन्थ्यो।
आमाबुबाको मप्रतिको बोधगम्य हेराइ सम्मानित लाग्थे।
यही पारिवारिक मेलमिलाप र सम्बन्धको सौन्दर्यले मलाई एउटा सक्षम महिला भएर हिँड्न बाटो देखाइएको थियो। जस्तोसुकै काममा पारिवारिक सहयोग थियो मेरा लागि। तै पनि सबैको कलेज, स्कुल र अफिस नियमित। जे भए पनि समयले पर्खिंदैन, बिहानको हतारो सधैंजसो उस्तै।
बुबा र आमाको स्वास्थ्यको ख्याल, श्रीमान र आफ्नो अफिस, छोरीहरूको कलेज, स्कुल, घरको सरसफाइ तर पनि मस्तिष्क आरामले दुनियाँका विचार र कुराहरूलाई खेलाइरहन्थ्यो सबैलाई बिदा गर्दै काम निप्ट्याउनु र अफिसका लागि तयार हुनु नियमित व्यायामजस्तो लाग्थ्यो सबैको।
लन्च बक्स गाडीमा राख्दै मैले अफिसका लागि गाडी निकालें। उही गाडीभित्र पस्नासाथ झोलामा थन्किएका विचारहरू एकै पटक ह्वार्रह्वार्ती निस्किए। वसन्त र रोजिला त मेरा दिमागका स्थायी पात्र। मलाई अफिसभन्दा पहिला वसन्तलाई भेट्नु थियो।
फोन थिचेँ।
'हेलो! वसन्त बाबु।' म थकानलाई जोगाउन बिस्तारै बोल्दै लामो सास फेरेँ।
'नमस्कार'
'नमस्कार '
'हजुर हिँड्नु भयो म्याडम?'
'हजुर! हजुर! म आइपुग्न लागेँ।' मैले थपेँ।
वसन्त बाटोमा पर्खिरहेको थियो। उसलाई लिँदै म मेरै अफिस हानिएँ। अफिसको सानोतिनो काम मिलाएर म वसन्तलाई लिएर प्रेसतिर लागेँ।
मैले बाटाभरि उसलाई हिजो रोजिलासँग भेटमा र फोनमा भएका केही कुराकानी सुनाए पनि रोजिला को हुन्? भन्ने वसन्तलाई थाहा थिएन।
रोजिलाको भेटको खबरले वसन्तमा उत्साह र उमङ्ग थपिएको देखेँ मैले। सायद वसन्तले रोजिलाभित्र एउटी कवि साथी रोमालाई देख्यो कि?
म झट्ट पाँच वर्ष अगाडिको चिटिक्क परेको युवक जो रोमाको प्रेममा चुर्लुम्म डुबेर कविता पोखिरहन्थ्यो त्यो वसन्तलाई भेट्न पुगेँ। हरेक मञ्च दुबैका लागि साझा हुन्थे। वसन्तका कवितामा रोमाको ताली कविताको सौन्दर्यपक्ष थियो। रोमा पनि कविता लेख्थी तर वसन्तका झैं बौद्धिक र सन्देशमूलक बनेका थिएनन् उसका कविता।
अचानक वसन्तको चार सय कविता भएको डायरी हराउनु र रोमासँग सम्बन्ध बिग्रनुले उनीहरू बीचमा कुनै रहस्यमय घटना छ भन्ने मलाई लाग्थ्यो। त्यसैले होला मभित्र एक प्रकारले अनौठो छाल उठिरहेको थियो।
बिहान रोजिला स्मृतिलाई भेट्नु , दिउँसो रोजिलाको फोन आउनु, भोलि भेट्ने कुरा व्यक्त गर्नु,वसन्तलाई नचिनेको नाटक गर्नु,वसन्तले पनि रोजिलाको छद्म नाम थाहा नपाउनु, यी सबै कुराहरू मेरो मस्तिष्कमा रोइला गर्न व्यस्त थिए।
एक वर्षसम्म सबै कुरा बिर्सिएर ओछ्यान परेको मानिस तन्दुरूस्त भएर फेरि पहिलेकै जस्तो दमदार कविताको मूल बन्नुले कुनै संयोग हुँदैछ भन्ने मेरो मस्तिष्कले सोच्यो। मन र मस्तिष्क अचानक सोच्न पुगे,
'प्रेम! वाह! आत्मिक प्रेम।
के प्रेम एकोहोरो हुन्छ?
किन नहुने?
नहुने भए त वसन्तले रोमालाई यति धेरै माया किन गर्थ्यो?'
म मौन संवादमा व्यस्त रहेँ।
कहाँ वसन्त बौद्धिकताको भण्डार, कहाँ रोजिला प्रेमको दरिद्र! तर पैसाका मलामी बनेका दुनियाँले वसन्तलाई चिन्न नै सकेनन्।
चिनून् पनि कसरी? कहिले चिनाउने कोसिस पनि त भएन। तीन वर्षदेखि मानसिक पीडामा खट्पटिएको एउटा युवा कवि विल्कुलै ठिक भइसकेको थियो। वसन्त अब तन्दुरूस्त युवा देखिन्थ्यो। दाह्री काटेको, कपाल मिलाएको चिटिक्क परेको शिक्षक बनेको थियो। आर्थिक दृष्टिकोणले कमजोर भए पनि सुन्दर व्यक्तित्वको धनी वसन्त कोकिल निकै आकर्षक थियो। मैले घ्याच्च गाडी रोकेँ।
नमस्कार सम्पादकज्यू!
ढोकामै उभिएका थिए सम्पादक। मैले दुबै हात जोडेर सम्बोधन गरेँ।
नमस्कार! नमस्कार!
'वहाँ कवि वसन्त कोकिल' मैले गाँठो फुकाएर बोलेँ।
'नमस्कार!'
दुबै हात जोडेर वसन्तले सम्बोधन गर्यो।
'नमस्कार कविज्यू!'
सहजै सम्पादकले सम्मानित सम्बोधन गरे।
'भित्रै जाऊँ हजुर' आफू अघि लागेर हामीलाई डोर्याए उनले।
वसन्त र म उनको पछिपछि भित्री कक्षमा पुग्यौँ।
उही सोफा जहाँ हिजो रोजिला बसेकी थिई त्यही ठाउँमा वसन्त बस्यो। म पनि सोफाको एकापट्टि बसेँ।
सम्पादकले बिस्तारै कुरा झिके , 'कुन कुन विधामा कलम चलाउन हुन्छ?'
'म कविता लेख्छु। कवितामै बाँच्छु।' वसन्त मुलायम स्वरमा बोल्यो।
मैले बीचमै बोले,
'उहाँलाई त कविता कै बिस्तारा बनाएर सुत्न पाए आरामले निद्रा पर्थ्यो।'
सबैजनाको एकैपटक हाँसो फुट्यो ।
वसन्तले एउटा सिङ्गो डायरी सम्पादक सामु राख्दै भन्यो,
'मेरा कविता यिनै हुन् ।'
डायरी निकै ठूलो थियो।
'ओहो! निकै मेहनत गरेर लेख्नु भएको रहेछ।'
सम्पादकले प्रशंसा गरे।
'यो मेहनत त सबै गीता मेडमको हो। उहाँले मेरो डायरी नलेख्नु भएको भए सायद आज मसँग मेरै कविता हुने थिएनन्।'
वसन्त मप्रति आभारी बन्यो।
मैले टाउको मात्र हल्लाएँ।
'किन तपाईंका कविता तपाईंसँगै नहुने?' पत्रकार साँच्चै पत्रकार बनेर सवाल तेर्स्याइ रहे।
उसले अन्कनाउँदै भन्यो, 'मेरो पुरानो डायरी हराएको थियो।'
'ओहो! हराएर पो?'
'यसमा कति वटा कविता छन्?' सम्पादकले जिज्ञासा राखे।
'पाँच सय दश वटा छन्' वसन्तले जवाफ दियो।
'ओहो! कति धेरै त? यति विधि कविता लेखेर पनि पुस्तक बनाउनु भएन?' सम्पादकले आश्चर्यचकित हुँदै प्रश्न तेर्स्याए।
'समय अनुकूल चल्न सकिनँ ' ऊ भावुक हुँदै बोल्यो।
सायद ऊ रोमासँग डुब्दैथियो कल्पनामा।
रोमा र उसको सम्बन्ध। दुबैको कविताप्रति मोह। दुबैको सपनाको संसार विपना नहुँदै झस्केर गएको एउटा यथार्थ। सायद सोचमा डुब्यो ऊ। मसँग धेरै कुरा थिए बोल्नलाई तर मस्तिष्कले नबोल्ने आदेश दियो। म चुपचाप बसेँ।
डायरी पल्टाउँदै सम्पादकले कविता हेर्न थाले। हरेक कविताको तलपट्टि मिति पनि लेखिएको थियो। हेर्दै गए सम्पादक, जति जति डायरीका पाना पल्टिँदै जान्थे उति उति चकित पनि बन्दै गए। उसको दार्शनिक कविता अनि लेखेको समय!
जुरूक्क उठेर कवि वसन्तको कुममा हात राखी भन्दै गए- 'कविज्यू तपाईंले कुनै सम्पादकसँग कहिल्यै भेट्नु भएन यी कविता बोकेर?'
'यी कविताको स्तरीयताको पंक्तिमा अहिलेसम्म कुनै कविता पर्न सग्दैनन्।'
एकछिन रोकिएर
'अँ! रोजिला स्मृतिको कविता चै यस्तै यस्तै छन्।' कता कता रोजिलाका कविता पढेर जस्तो भयो मलाई।
'उहाँलाई कविताको स्तर मापन गरेर नै राष्ट्रिय सम्मान दिने भएको छ।'
'कवि, रोजिला स्मृतिको दोस्रो पुस्तक पनि तयार भइसकेको छ। उहाँले निकै खर्च गरेर किताबलाई सुन्दर बनाउनु भएको छ। कभरमा पनि उहाँलाई मन पराउने मान्छेले बनाएको आफ्नै फोटो राख्नुभएको छ। पख्नुस् है!' रोजिला स्मृतिको प्रशंसा गर्दै उनले भने।
उनी कभर पेज बोकेर वसन्तको छेउमा आए।
वसन्तले झोलाबाट अर्को डायरी झिकेर सम्पादकलाई दियो र भन्यो मेरी प्रियाका लागि मेरो चित्रकारिता। सम्पादकले डायरी हेर्नासाथ बोल्न नसकेर टक्क रोकिए र वसन्तलाई हेरिरहे। डायरीको तस्बिर र रोजिलाको कविता संग्रहको कभर पेजमा रहेको तस्बिर तुलना गरेर हेर्दै डायरी फिर्ता गरेर सम्पादक थच्च सोफामा बसे। तपाईंसँग रोजिलाजीको तस्विरका डायरी?
वसन्त अलि छक्क पर्दै हाँसेर
'सम्पादकज्यू ' सम्बोधन गरेर रोकियो।
उसले आफ्नै हातले बनाएको रोमाको तस्बिर पायो र हेरिरह्यो तस्बिर, मनलाई आनन्दित पार्दै। सायद सोच्यो होला मेरी रोमा नै रोजिला हुन्।
'रोजिलाको पहिलो कृति छ तपाईंसँग?'
मैले वसन्त रोकिएको मौकामा सम्पादकलाई सोधिहालेँ।
'छ नि ' उनी झस्किएर
आल्मारीबाट थुतेर एकप्रति किताब वसन्त र अर्कोप्रति मलाई दिए। वसन्त र मेरो आँखा जुध्यो।
हामी मुसुक्क हाँस्यौँ।
वसन्त बोल्यो, 'यो पुस्तक पोहोर साल प्रकाशन भएको राज पुस्तकालयको विमोचन कक्षमा भव्य कार्यक्रमको बीच भएको थियो।'
'मेरै पुस्तकालय हो नि राज पुस्तकालय।' सम्पादकज्यूले थपे।
त्यसबेला पनि वसन्त र मेरा आँखा जुधे तर चुपचाप। सम्पादक बोलिरहेका थिए, 'त्यो बेला पनि एउटा लफडा भएको थियो। एक जना मानसिक असन्तुलन भएजस्तो मानिसले नराम्रोसँग कुटाइ खाएका थिए। कवि रोजिलाको पाण्डुलिपी चोरेको निहुँमा। कवि रोजिलाले त त्यो मानिस जीवित नभएकै शंका गर्नुभएको थियो। लास बनाएर छोडेका थिए रे उनका सहयोगीहरूले।
एकजना महिलाले उठाएर लगिन् भन्ने हल्ला थियो। पत्रकारहरू समाचार बनाउन खोज्दै थिए तर कविज्यूले नबनाउन अनुरोध गर्नुभयो। त्यसैले कुरा लुक्यो।'
म घाँटीभरि शब्द पोको पारेर बसिरहेँ बोल्न सकिनँ। वसन्त पनि बोल्न सकेन। चुपचाप बस्यौँ दुबै।
केही समय मौन बसेपछि वसन्तले मुख खोल्यो, 'रोमा मेरी प्रिय हुन्। एकदिन राज पुस्तकालयमा पुस्तक किन्ने क्रममा मेरो चार सय कविता भएको डायरी हरायो। मेरो जीवनको बहुमूल्य वस्तु एक एक गर्दै मबाट छुटे। रोमा र मेरो सम्बन्ध पनि हावामा उडेको सिमलको भुवाजस्तो भयो तर म फेरि सिमल फुल्ने आशामा बाँचिरहेँ।'
'हराएको डायरी भेटेर खुसी थिएँ म त्यो दिन तर मलाई पागल र चोर भनेर मरणासन्न हुनेगरी पिटियो र मेरै कविताको डायरी मेरो हातबाट खोसियो ।'
वसन्तको कुरा सुनेर सम्पादक छक्क मात्र परेनन् आश्चर्यले ट्वा परिरहे।
वसन्तले फेरि थप्यो,' संयोगवस गीता म्याडम त्यहाँ नआइपुग्नु भएको भए म अहिले यहाँ नभएर स्वर्गमा इन्द्रलाई कविता सुनाउँदै हुनेथिएँ।'
सबै हाँसे।
बाहिर उही जुत्ताको आवाज टकटक।
मैले रोजिलाको प्रवेशको अड्कल काटिसकेकी थिएँ।
मलिन मुस्कानमा रोजिलाको प्रवेश भयो म ढोकाको छेउमा बसेकाले नमस्कार आदानप्रदान पहिलो हेराइमै भयो। सम्पादकले पनि नमस्कार गर्दै आउनुस् कविज्यू भनी सम्बोधन गरे।
नाटकीय अभिनय भनौं या यस्तै भावुक थिई रोजिला मैले अन्दाज गर्न सकिनँ।
वसन्तले रोजिलालाई देख्नासाथ रोमा भन्दै जुरूक्क उठ्यो। उसले नचिनेझैं गरी। वसन्त झस्कियो 'मैले कसलाई बोलाएँ, उनी मेरी रोमा होइनन्?' मनमनै झस्कियो वसन्त।
ऊ पनि वसन्तलाई देख्नासाथ झस्किई। उही सुन्दर युवक, उस्तै आकर्षक आभा बोकेर वसन्त उभिएको देखेर उसले विश्वास गरिन सायद। घटना एक वर्ष अघि घटिसकेको थियो।
'नमस्कार!'
'माफ गर्नु होला म रोमा होइन। म रोजिला स्मृति। हजुरको शुभ नाम?'
रोजिलाले निर्धक्क भएर सोधी।
वसन्त थोरै हिच्किचाएर ' म वसन्त' भन्यो ।
'ओ! वसन्त कोकिल?' रोजिला निकै परिवर्तित मुद्रामा बोली। 'गीता मेडमले भन्नुभएको दार्शनिक कवि वसन्त कोकिल'
'वाह!'
यहाँलाई भेट्न पाएर निकै खुसी लाग्यो' ऊ बोल्दै गई।
सम्पादकले रोजिलाको बनावटी गफलाई चिन्ने कोसिस गर्दै थिए। सायद मैले त अड्कल काटिसकेकी थिएँ।
'दोस्रो कृतिको तयारीमा छु म पनि' रोजिला निकै घमन्ड पोखेर सम्पादकतिर फर्केर मुस्कुराउँदै बोली। सम्पादकले के सोचे कुन्नी
सम्पादक अलि असहज र कठोर बनेर रोजिलालाई सम्बोधन गर्दै बोले-
'तपाईंलाई अब म सहयोग गर्न सक्दिँन रोजिलाजी र सायद यो पहिलो कृतिको पनि छानबिन हुन जरूरी देखियो। पुरस्कार पनि अहिलेलाई स्थकित हुन्छ। यो विषयमा छानबिन भइसकेपछि मात्र निर्णय हुनेछ।'
'के को छानबिन? किन रोकिन्छ मेरो पुरस्कार?'
ऊ चर्किएर बोली।
'हेर्नुस् रोजिलाजी तपाईंलाई सायद थाहा छ यी कविताहरू कसका कवितासँग मेल खाए? 'र किन रोकियो काम भनेर पनि।'
'मलाई कसरी थाहा हुन्छ?' कसका कविता कस्ता छन्? मेरो कविता मेरो अधिकार'
रोजिला बोल्दै गई, 'सम्पादक तपाईं मात्र हुनुहुन्न बुझ्नुभयो?'
'तपाईं जस्ता हजारौंले प्रेस खोलेर बसेका छन्।'
'पैसा हुनुपर्छ यहाँ बाँच्नलाई'
वसन्त र म मुक दर्शक बनिरह्यौँ।
रोजिला भाषण दिँदै थिई
'के सोच्नुभएको छ तपाईंको यो व्यवहारले तपाईंलाई प्रेसमा नै कर्मठ बनाउला? 'कदापि बनाउने छैन।'
'हजारौं रोजिला स्मृतिहरू यसरी नै बाँचेका छन् पैसाले।'
'म महिला हुँ' तपाईंको पेशा जोगाउन सक्नुहुन्छ सम्पादकज्यू?'
'सम्पत्ति मात्र ठूलो कुरा हैन बुझ्नुभो रोजिलाजी' मैले सहन सकिनँ। म जुरूक्क उठेर बोलेँ।
ऊ चुपचाप भई। म थपिँदै गएँ,
'रोजिलाजी तपाईं बढी नै बोल्नुभयो। म पनि महिला हुँ तर म निजी स्वार्थभन्दा सामाजिक स्वर्थमा आफ्नो विचारलाई प्रयोग गर्छु। महिला हुँ भनेर हामीले अरूको अधिकार र स्वतन्त्रताको हनन् गर्न थाल्यौँ भने हामी र पित्तृसत्तामा के फरक?' म अलि कठोर भएर नै बोलेँ।
'एउटा कविले अर्को कविको प्रशंसा गर्नु, साथ दिनु, सहकार्य गर्नु पो राम्रो हो यसरी चोरेर पनि कवि हुनु सकिन्छ।'
सम्पादकले मलाई खुला सम्बोधन गर्दै भने 'लेख्नुस् पत्रकार महोदय, यस्तो कहानी लेख्नुस् जसले डायरीमा सयौँ नयाँ पानाहरू थपिएर जाऊन्। रोमाहरू नाम र पुरस्कारको मोहमा अनुहार नबदलून् । वसन्तहरू प्रतिभा लुकाएर विछिप्त नबनून्।'
वसन्त रोमातिर हेर्दै सम्बोधन गर्दैथियो,' रोमाजी चिन्ता नलिनुस् तपाईंका आफ्ना कविताहरू मसँग पनि छन् होला सबै समेटेर आफ्नै कविताको संग्रह निकाल्नुस्। म पनि सहयोग गर्छु।'
रोजिला झडङ्ग झर्किंदै, 'जसको एउटा पुस्तक निकाल्न सक्ने औकात छैन उसले सघाउने, हा हा हा! सुन्नुभयो सम्पादक महोदय?'
सम्पादकले रोजिलाका कुरालाई बेवास्ता गरे।
रोजिला आवेशमा प्रेसको मूल कक्षबाट बाहिर निस्किई।
एक्कासि कक्षमा सन्नाटा छायो।
केही समयपछि सम्पादकले सन्नाटालाई चिर्दै 'कविज्यू अब पालो तपाईंको आएको छ। पुस्तक प्रकाशन गर्ने जिम्मा मेरो भयो। लोकार्पण पनि रोजिलाको पुस्तक लोकार्पणका लागि तोकेको समयमा नै गर्नुपर्छ। राष्ट्रिय सम्मानका विषयमा भने अब छानबिन हुनैपर्छ' भने।
वसन्त नबोली बाहिरियो।
'दुनियाँमा अनेक मान्छे भेटिन्छ गीताजी हेर्नुस् त रोजिलालाई?' सम्पादकले थपे।
म सम्पादकसँग अबका योजनाबारे कुरा गर्दैथिएँ। कताकता रोजिलाप्रतिको दया लागेर आयो। फेरि कताकता सोचेँ एउटा सम्मानका लागि आफ्नो प्रिय मान्छेलाई धोका दिने कतिसम्मको निर्घिनी कार्य? म पनि महिला हुँ तर कदापि म महिला हुनुको गलत फाइदा समाज र राष्ट्रबाट लिन चाहन्नँ। सायद विचार र व्यवहार आफ्नो होला। सबै महिला गलत हुन्नन् र पुरूषहरूमा त झन् अरूलाई टेकेर माथि जाने अभ्यास भएको हुन्छ तर सबै पुरूष पनि त गलत हुँदैनन्। यो मानवीय स्वभाव हो जो जे पनि गर्न सक्छ। हामी सचेत रहनुपर्छ।
अब वसन्तले सम्मान पाउनैपर्छ। हामी एउटा निष्कर्षमा पुग्यौँ। सम्पादकज्यूसँग बिदा मागेर बाहिरिन खोज्दै थिएँ। चलचित्रको कुनै भावुक दृश्यझैं आँखामा पर्यो। मैले सम्पादकज्यूलाई बोलाएँ। दुबैले परैबाट हेर्यौं।
कठोर आवाजमा वसन्तको सामु रोमा सम्पत्ति र पैसाको रवाफ पोखिरहेकी थिई। वसन्त रोमालाई सम्झाउँदै आफूले कुटाइ खाएर बेहोस् भए पनि गीता साम्वाको सहयोगमा बाँचेको कुरा सुनाउँदै, रोजिला सौन्दर्य र अहम् बोकेर वसन्त जस्तो सन्त कविका अगाडि आत्मप्रशंसा गरिरहेको दृश्य आदि आदि निकै उत्तेजक र भावुक दृश्यहरू थिए।
हतार गर्दै म गाडी घुमाउन लागेँ। सम्पादकज्यू मेरो नजिक आएर भन्न लागे, 'गीताजी, प्रेम भन्ने चिज त अनौठो पो हुँदो रहेछ। वसन्तको एकोहोरो आत्मिक प्रेमलाई रोजिला जस्ताले कहिले बुझ्छन्।'
मभित्र उकुसमुकुस भावना सल्बलाए। अर्को पानो फेरि थपिने भयो डायरीका पाना बीच, म सोच्न थालेँ।
वसन्तले रोजिलालाई एकपटक आफू को हो भनेर चिन्न र आफ्नै कविताहरूबाट आफूलाई सबै समक्ष चिनाउन अझै अनुरोध गरिरहेको थियो।
ऊ भन्दै थियो, ' फर्किएर पुरानै ठाउँ आऊ म पर्खिरहेको छु।'
अहंकारी रोजिलामा कत्ति पनि परिवर्तन आएको थिएन।
'फेरि उही हालत भोग्नु पर्ला भिखारी कवि सचेत रहनुहोला' भन्दै गाडीको ढोका गड्याम्म लगाएर ऊ हुइँकिई।
ऊ फर्किएर चुपचाप गाडीमा बस्यो । मैले केही सोध्नु उचित सम्झिनँ।
वसन्तको समय तैरिरहेको थियो दु:खको दहबाट। रोमाको अपमान सहन उसलाई निकै गाह्रो परेको थियो तर पनि ऊ प्रेम गर्थ्यो रोमालाई, आत्मिक प्रेम।
उता रोमाको घृणित कार्य देखेर मभित्र आक्रोश बढ्दै थियो। पुस्तक प्रकाशनले पूर्णरूप लिइसकेको थियो। भव्य तयारीमा प्रेसको टिम जुटेको थियो।
लोकार्पणका दिन सबैतिर उसैगरी आमन्त्रितहरूको लागि सम्मानको तयारीसाथै पुस्तक लोकार्पण भव्य कार्यक्रमको पूर्व सन्ध्यामा हामी थियौँ।
आमन्त्रित र सहभागीहरूका लागि चियापानको व्यवस्था गरिरहँदा मलाई वसन्तले बताएका पुराना कुराको याद आइरह्यो।
अघिल्लो साल रोजिलाकै पुस्तक लोकार्पण दिन एक हुल मानिसको समूहले मरणासन्न हुनेगरी वसन्तलाई पिट्नुले कहिल्यै नबिर्सने छाप मेरो मन र मस्तिष्कमा सिंहमर्मरको झैं बसेको थियो तर पनि त्यति विधि पीडा बोकेको वसन्त आफ्नो प्रेमीको सामुन्ने नतमस्तक बनेको थियो।
प्रेमको शक्ति! वाह!
वसन्तका आँखाले रोमालाई खोजिरहथ्यो। म वसन्तलाई नियाली रहेकी थिएँ। पर गेटमा केही युवा जमातका अघि लागेर रोमा भित्रिएकी जस्तो लाग्यो। म झसङ्ग झस्किएर सम्पादकज्यू भन्दै उनको नजिक पुगेँ।
'मलाई अघि नै फोन आइसकेको थियो नडराउनुस्, म सम्हाल्दैछु वातावरण। कसैलाई शंका नहोस्। पैसाले कति दिन सत्य छोप्न सक्छ र?' भन्दै सम्पादकज्यूले मलाई ढाडस गरे।
म नडराए पनि रोमाको नाटकीय व्यवहार देखेर चकित थिएँ। एकछिनमा एक गाडी प्रहरी सुरक्षा बल सभा हलमा भित्रियो। म पत्रकारमात्र हैन लेखक पनि हुँ यसरी चकित हुँदै थप्दै थिएँ नयाँ पानाहरू उसको डायरीमा। क्रमश:
यी पनि:
डायरीकाे नयाँ पाना (भाग- १)
डायरीकाे नयाँ पाना- भाग २