झुस्स दारी, ख्याउटे अनुहार। छरपस्ट र बेमतलब छाडिएका ती लामा लामा कपाल अनि जीर्ण शरीर। मात्र यति देखिन्छ उसको प्रथम परिचय।
शरीरमा छ त वास्तविक रङ नै भुलिसकेको एउटा पुरानो टिसर्ट अनि घुँडाका दुई पाङ्ग्रा देखिने हाल्फ पाइन्ट। उसको वर्तमान संसारको पूर्ण परिचय यति नै हो।
ऊ अर्थात्, राजन नेपाली।
अहो,राजन त पुरानो परिचय पो त उसको । ऊ अर्थात्, सडक मान्छे, अझ झर्रा नेपाली भाषामा भन्दा 'खाते'।
यति ठूलो सडकमा आफ्नो एउटा सानो जीवन बिताइरहेको एक भुइँ मान्छे। उसको परिचय पनि सडक अनि घर र सम्पत्ति पनि सडक।
मैले सडक नै उसको सम्पत्तिभन्दा कता कता तपाईंलाई नरमाइलो लाग्यो होला है? उसको सम्पत्ति मात्रै सडक होइन, तपाईं हामीले खाएर फ्याँलेका पानी, रेडबुल अनि वियरका केही थान खाली बोतल पनि हुन्। जसले उसको प्राण यो सहरका सडकमा बचाइराख्न भरपुर प्रयास गरिरहेका छन्।
सामान्यतया यही र यस्तै परिचय लिएर बाँचिरहेको एक भुइँ मान्छे हो, राजन नेपाली।
हुन त, उसलाई त्यति मतलब लाग्दैन। आज भोलि आफ्नै नामको किनकि उसको परिचयको लागि लायक भैदिएन उसको नाम। भलै आजको दिनमा। लाग्छ, उसलाई राजन त त्यो मान्छेको पो नाम हुनुपर्छ जसले राजाले जसरी जीवन जिउन पाएको हुन्छ। म त बेराजन हुँ। किनकि म त सबैको बेमतलवी पात्र हुँ। अर्थात्, म त खाते हुँ! म एक भुइँ मान्छे हुँ।
कथा लामो छ, आज सडकको छेउमा फोहोरझैं फ्याँकिएको राजनको। भर्खर भर्खर किशोर अवस्था टेकेको अल्लारे केटो। विद्यालयको प्रांगणमा साथीसङ्गी सँगै खेल्दै, जिस्किँदै बितिरहेका थिए स्वर्णिम बाल्यकाल।
कक्षा-९ मा पढ्दै गरेको राजन पढाइमा निक्कै अब्बल थियो। राम्रो पढाइ र उच्च अनुशासनको पर्यावाची बनेको राजन सबैको प्यारो थियो।
देशमा चरम रूपमा बढ्दै गरेको जनक्रान्तिको नाराले स्कुलका पर्खालहरू भर्खर भर्खर पोतिन थालेका थिए। अक्षरहरू चिनिसकेका विद्यार्थीहरु हर दिन क्रान्तिका नयाँ नाराहरू विद्यालयका पर्खालमा पोतिएका देखेपछि खुब ध्यान दिएर पढ्थे।
बाल मानसपटलमा धेरै कुरा नअटाए पनि आफ्नै बाल बुझाइ लगाउँथे। मान्छे सबै बराबर हुन्, मान्छेले मान्छेलाई भेदभाव गर्न पाइँदैन।
यो देशको समृद्धिका लागि एउटा क्रान्ति चाहिएको छ .......उठ्नुस्.... अघि बढ्नुहोस्......आदि आदि।
धेरै कुरा त बुझेन राजनले मात्रै यति बुझ्यो मान्छे मान्छे बीचको भेदभाव चाहिँ हुनु हुँदैन।
सम्झियो, आफैंले मुखियाको घर बाहिरको पेटीमा बसेर हात थापेर पानी खाएको अनि मन्दिर र धारामा जाँदा बाहुनी आमाले भनेको, 'अलि परै, बस् है कान्छा ...यता नआइज'
यसरी अनेकौं विभेदको उदाहरण देखेको र भोगेको राजनलाई यो कुरा साह्रै चित्त बुझ्यो कि मान्छे सबै एउटै हुन्। आखिर किन छ भेदभाव? विस्तारै ऊ क्रान्तिका नारा र लाल सेनाप्रति मोहित हुँदै गयो र फलस्वरूप एक रात घर छोडिलाग्यो जनक्रान्तिको युद्धमा।
युद्धका लाल गीत गाउँदै र जनकारबाही भन्दै कहिले सल्यान त कहिले रूकुम र रोल्पा पुग्यो। कमरेडहरूको भारी बोक्यो, बन्दुक र बारूद बोक्यो। सँगै हिँडेका साथीको लास पनि बोक्यो र पुर्यो पनि।
शाही सरकार र हरेक सेना प्रहरीलाई शत्रुताको संज्ञा देख्यो। सक्दो गोला बारूद पनि बर्सायो। कहिले आफूले हार्यो त कहिले शत्रुलाई हरायो। यसैबीचमा उसको सुप्रिमो कमाण्डरले राइफल छोडेर कलम समाते र गरे बाह्र (१२) बुँदे शान्ति सम्झौता। त्यसपछिको सेना समायोजनले आफ्नै पार्टीबाट अयोग्य ठहरियो राजन।
जीवनको ऊर्जाशील समय क्रान्ति र पार्टीका लागि दिएको राजन अन्तत: पार्टीको लागि नै अयोग्य ठहरिएपछि हानियो मेनपावरतिर विदेशिन..... ।
देशले राजनीति र व्यवस्था फेर्यो उसले जीवन धान्न देश फेर्यो।
विदेशमा मजदूरीको साबेल चलायो। मेहनतको पसिना बगायो र घरमा रहेका छोराछोरीलाई जसोतसो पालनपोषण गर्न थाल्यो।
वर्षहरू दिन रात, हप्ता, महिना गर्दै बिते। भर्खर भर्खर आएको फेसबुक र म्यासेन्जरमा विदेशी भूमिमा नेपालमा रहेका
छोराछोरी र श्रीमतीको तस्वीर हेर्दै ५ वर्ष बितायो। परिवारको सुन्दर भविष्यको लागि अरबको चर्को गर्मी सह्यो। पसिनासँग रिङ्गेट साट्यो। देशको राजनीति र हिजोको युद्धका सम्झना सम्हालेर अरबको ठूला ठूला टावरमा रङ लगायो। ४०,४५ डिग्रीको गर्मीमा बगेको पसिनालाई हिजो बारूदको भारी बोकी रोल्पा रूकुमको उकाली चढ्दा आएको पसिनासँग तुलना गर्थ्यो अनि आफैं अनयासै मुस्कुराउँथ्यो।
यसरी विदेशमा पसिना बेचेर स्वदेशमा परिवारको भविष्य खोजिरहेको राजन एक दिन गाउँको माइलो भाइको फोनले सर्वस्व लुटिन्छ। घरमा रहेकी श्रीमती अरू नै कोहीसँग सारा सम्पत्ति लिएर फरार भएको र छोराछोरी आफ्नो घरमा ल्याएर राखेको कुरा माइलो भाइले बताउँछ।
एकैछिन राजन कुनै सपना मान्छ तर जब वास्तविकताको पर्दा उघारिन्छ। राजन मरणासन्न हुन्छ। त्यसको केही दिनमै नेपाल फर्किन्छ र देख्छ आफ्नो सारा संसार भताभुङ्ग भएको। त्यत्रो वर्ष दु:खले कमाएर पठाएको न सम्पत्ति रह्यो न श्रीमती न परिवार। जीवनको यो बज्रपातलाई सहन नसकी मदिराको सहारामा पुग्छ।
हिजो क्रान्ति गर्यो, पार्टीले अयोग्य ठहरायो। आज परिवार बनाउन खोज्यो, परिवारले एक्लो बनायो। अन्तत: ऊ डिप्रेसनको शिकार भई यो सडकको जीवनमा आइपुग्छ।
आज पनि दिनभरि खाली सिसा र बोतल खोजेर ल्याएको भारी कवाडीमा बेचेर आएको पैसाले प्लास्टिकमा अलि कति मासु र मिनिरल वाटरको बोतलमा उही पीडा भुलाउने लोकल हालेर सडकको छेउमा टहलिँदै गरेको देखिन्छ ऊ.... ।
उफफफ्......कसो हानेन भर्खर गएको त्यो कारले...अलि कति मात्रैले बच्यो..... । ऊ....खिस्स हाँस्यो.....कारलाई हेरेर....खै ! किन हो ?....बाँचेकोमा खुसीले हो कि अझ दु:ख नसकिएको सम्झेर....???