खै! कहाँबाट सुरु गरौँ अनि कहाँ लगेर अन्त्य गरौँ? लेख्ने शब्द त धेरै छन् तर तिमीलाई के भनेर लेखुँ? गाली गरेर पत्र लेखुँ भने अब मसँग त्यो अधिकार छैन किनकि अब तिमी अरु कसैको भइसक्यौ, गाली गर्न सक्दिनँ। माया गरेर पत्र लेखुँ त तिमी मायाको लायक नै छैनौ।
निष्ठुरी अब त खुसी छौ होला नि? तिमीले जे चाहेका थियौ, आज त्यही भएको छ। तिमीले चाहेको सबै पायौ अनि मैले गुमाएँ। अब कत्ति पनि चिन्ता नगर किनकि तिमीबाट म धेरै टाढा गइसकेको छु।
भाग्यमा हाम्रो साथ यत्ति लेखेको रहेछ। मैले तिम्रो लागि के-केसम्म गरिनँ तर तिमीलाई आफ्नो बनाउन सकिनँ। सायद तिमी र एक हुन भाग्यमा नै लेखिएको थिएन। तर जे भयो आज ठिकै भयो, तिमी तिम्रै परिवारसँग खुसी छौ अनि म मेरो आफ्नै दुनियाँमा रमाउने कोसिस गर्दैछु।
तिम्रो परिवारले धेरै माया दिनु भएको थियो, तर सरी! अब म बस्न सक्दिनँ। अब कसको सहाराले बसौँ? तिम्रो घरमा के नाताले बसौँ? मैले तिम्रो लागि मलाई जन्मदिने आमाबुवा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र साथीसंगी सबै छोडेर आएको थिएँ। अहिले तिमीले नै मलाई छोडेर अर्कैसँग रमायौ, म कसको लागि बसौँ?
भन्नुहुन्थ्यो मेरी आमाले, 'पछिको जिन्दगी कसैलाई थाहा छैन, दुःख पाउछेस्, यो हतारमा विवाहको कुरा फिक्स नगर्।'
तर आमाको कुरा नसुनी मेरो इच्छाले हतारमा विवाह गरेँ। अहिले आएर बुझेँ कि मैले गलत गरेछु। त्यो दिन मैले आमाको कुरालाई सुनेको भए आज यो दिन आउँदैन थियो तर आज मैले धेरै पीडा पाएँ। कसलाई सुनाउँ, कसलाई भनुँ?
यसरी पलपल मर्दै बाँच्नुभन्दा त सधैँको लागि सबै दुःख, पीर, हाँसो, आँसु अनि सबैको माया संगालेर धेरै टाढा जानु नै बेस लाग्छ। आमा बाँचुन्जेल जिन्दगी बिताउन कति गाह्रो हुँदो रैछ है? के गर्नु, परिवारको सदस्यमध्ये मै अभागी भएर जन्मिएछु। मैले कसैलाई खुसी दिन सकिनँ आमा, मैले हजुरहरूलाई कति धेरै पीडा दिएँ है? मलाई माफ गर्नुहोला, मेरो बाबाआमा।
आफैले रोजेर बिहे गरेँ, पीडा पाएँ। फेरि फर्केर आउन मनले मानेन। मेरो दाइ, आमालाई नरुनु भन्दिनु है! दाइ आमालाई सम्झाउनु है! मलाई माफ गरिदिनु है दाइ-भाउजू। मलाई सम्झेर कहिलै नरुनु है, म जहाँ पुगे पनि हजुरहरूको माया सधैँ मनमा रहने छ। मेरो याद आएमा ती तस्वीर हेरेर चित्त बुझाउनु है!
मेरो लागि एक थोपा आँसु नझार्नू, आफ्नो ख्याल गर्नू है। बाबा-आमा, अर्को जुनि पाएँ भने तपाईंकै छोरी भएर जन्मिन पाउँ। मेरो दाइ-भाउजू, म तपाईंकै बहिनि, र बहिनीहरूकै दिदी हुन पाउँ, भाइकै दिदी भएर जन्मिन पाउँ। अनि त्यही काख, त्यही आँगनमा खेल्न पाउँ है!
मेरा साथीहरू, मबाट धेरै भुल भए होला, जानी-नजानी कसैको मन दुखाएँ होला। मलाई माफ गरिदेऊ है? के गर्नु, मानव जीवन हो, कसैको मन नदुखाऊ, सबैलाई खुसी पारौँ भन्दाभन्दै पनि जानी नजानी गल्ती हुन पुग्दो रहेछ।
निष्ठुरी, कति खुसी थिएँ हाम्रो मायाको चिनो मेरो पेटमा आउँदा। तिमीले छोरा जन्मेपछि कति धेरै सपना बुनेको थियौ।
छोरालाई धेरै ठूलो मान्छे बनाउने, धेरै पढाउने र सबैले चिन्ने ठूलो गायक बनाउने, बाबा आमाको सपना छोरालाई पूरा गराउने र छोरालाई समाजसेवी बनाउने, यस्तै-यस्तै धेरै सपनाहरू थिए नि हैन र? खै आज कहाँ गए ती सपनाहरू? हाम्रो बच्चा हामी दुईको सपना खै आज कसको आँखा लाग्यो?
मैले मनलाई कति रोक्न खोजेँ तर सकिनँ। घर छोड्ने, तिमीलाई डिभोर्स दिने रहर थिएन। तर तिमी अरु कसैको भएको हेर्न सक्ने हिम्मत पनि त थिएन। म हुँदाहुँदै एउटा त ल्यायौ-ल्यायौ, करिब दुई वर्ष मुटुमाथि ढुंगा राखी सहेरै बसेँ। मनमा जति पीडा भए पनि बाहिर दुनियाँको सामु हाँसेरै जिएँ।
मैले नसहेको हैन, धेरै सहेँ। मैले तिम्रो अनि परिवारको मान, मर्यादा र इज्जतका लागि आफूभित्र भएका रहर र चाहनाहरूलाई थाती राखेर दुनियाँको अगाडि तिम्रो इज्जत बचाउँला भनेर धेरै कोसिस गरेँ, तर सकिनँ।
तिमीले फेरि पनि अर्को गल्ती गर्यौ सौतामाथि अर्को सौता थप्यौ। म कसरी सहुँ आफै भनन ए निष्ठुरी! मेरो ठाँउमा तिमी बसेर हेर, के मैले पनि तिमी हुँदाहुँदै एउटै घरमा एउटै रुममा अर्को दुई केटा ल्याएर बस्दा तिमी सहन सक्छौ?
नारी भनेको त सृष्टिका मुहान हुन् भनिन्छ, तर पनि एउटा नारीले अर्को नारीको मर्म किन बुझ्दैनन्? आखिर किन नारीको दुष्मन नारी नै हुन्छन्? एउटा पुरुष विवाहित हो भनेर थाहा हुँदाहुँदै आखिर किन अर्की नारीको खुसी खोस्न भित्रिन्छन् नयाँ? कि त्यसैलाई संसारको सबैभन्दा ठूलो जित सम्झिन्छन्।
के दुवै नारी हैनन् र? के आफ्नो खुसीको लागि अर्को नारीको खुसीमा आगो लगाउनु नै नारी हुनुको परिचय हो? आखिर किन सोच्दैनन् आफूलाई त्यो ठाउँमा राखेर? हुन त पत्थरको मुटु हुनेलाई के थाहा पीडा!
निष्ठुरी, मेरो भावनामाथि धेरै खेल खेल्यौ तिमीले। मलाई खेलौना सोच्यौ। मेरो सोझोपनको फाइदा उठायौ। तर पनि म चुप बसेँ। तिम्रो हरेक बदनामी हाँसी-हाँसी स्वीकार गरेँ, तिम्रो हरेक सुखदुःखमा साथ दिएँ, आफू लुटिएर तिमीलाई खुट्टा टेकाउने प्रयास गरेँ।
तिमीले दिएको हरेक चोटलाई मैले स्वीकार गरेँ, तर तिमीले मलाई एकचोटि पनि बुझ्ने प्रयास गर्यौ? तिमीबाट ठूलो गल्ती भएको छ। कसैको जिन्दगी बर्बाद गरेको छौ। अर्कीलाई छोडिदेऊ भन्न पनि सकिनँ। विचरीलाई समाजले के भन्ला? त्यो अबोध बालकको हालत के होला?
त्यसैले तिमी अब हाँसी-हाँसी उसैसँग बस है! तिमीले मेरो छोराको चिन्ता गर्नु पर्दैन, अझैसम्म यी मेरा दुई हातखुट्टा केही भएको छैन। मैले मेरो छारालाई एउटी असल आमा हुनुको कर्तव्य अवश्य पूरा गर्नेछु।
मैले छोराको लागि भनेर तिमीले दिएको सबै चोट सहेर बसेँ। छोराले बाबाको माया, साथ पाउला भनेर दुई-दुई जना सौता हाल्दा पनि मिलेरै बस्ने प्रयास गरेँ र बसेँ पनि। तर अब मभित्र सहन सक्ने हिम्मत छैन। तिमीलाई पनि त थाहै थियो नि, छोराले बाबा भनेपछि कत्ति माया गर्थ्यौ। नपाउने चिजको धेरै माया लाग्छ भन्थे, वास्तवमा हो रहेछ। भोलि छोरा ठूलो भएपछि के जवाफ दिन्छौ?
छोरा, तिमी कति अभागी रहेछौ। बाबाआमा ज्युँदै भए पनि टुहुरो भयौ। सानैदेखि तिमीले न बाबाको साथ पायौ न माया, न सँगै समय बिताउन पायौ न त मैले तिमीलाई समय दिनै सकेँ। छोरा हुन सक्छ भने यो अभागी आमालाई माफ गरीदेऊ है।
पाप नलागोस्, मैले चाहेर तिमीलाई यस्तो गरेको हैन। मैले तिमीलाई बाबाको साथ छुटाइनँ भने हाम्रो मात्र होइन, हामी ६ जनाकै जिन्दगी बर्बाद हुन्छ। मेरो धेरै बाध्यताहरू छन् छोरा, जुन यहाँ उल्लेख गर्न सक्दिनँ।
छोरा, अहिले तिमी सानै छौ तर तिमीले विस्तारै थाहा पाउने छौ हाम्रो जीवन कथा। तर छोरा तिमीले जिन्दगीमा कहिलै हार नखानू, आफ्नो शत्रुलाई आफैलाई झैँ प्रेम गर्नु है छोरा! यो अभागी आमालाई माफ गर छोरा।
निष्ठुरी, सायद अब तिम्रा अरू दुवै श्रीमती धेरै खुसी हुनेछन् किनकि म उनीहरूको नजरदेखि टाढा भइदिएको छु। तिमीसँग आएकी नारीलाई धेरै माया गर है, उनीहरूलाई पीडा नदेऊ ल।
यो जुनी यत्ति रहेछ, हाम्रो साथ। भावीले जे लेखिदियो त्यो भोग्न पर्ने भाग्य आआफ्नो रहेछ। छोरा र मलाई सम्झेर तिमी कत्ति पनि नरुनू। तिम्रो त अरू दुई श्रीमती साथमा छन्। तिम्रो प्यारो छोरा छ। मेरो पो को नै छ र, यही एउटा छोराबाहेक?
उनीहरूसँगै हाँसी-हाँसी जिन्दगी बिताउनू अनि मलाई कतै नखोज्नू। र मेरो अर्को पनि छोरा थियो भनेर कहिलै नसम्झनू। जुन बेला छोरा र मलाई तिम्रो साथको आवश्यकता थियो, हामी एक्लै थियौँ। त्यो बेला तिमी अन्तै रमाउँदै थियौ।
नरमाउनु पनि कसरी? तिमीलाई केहीको पनि कमी थिएन। गुनासो त धेरै छन् तिमीसँग तर सबै गुनासो कसरी पोखुँ?
पोखेर पनि के गर्नु? कसले सुन्छ? कसले बुझ्छ? बुझिदिने को नै छ र मेरो? मेरा शब्दले तिम्रो घाउमा नुनचुक लगाउने काम गरेछ भन्ने नठान्नू। यो पनि मेरै भाग्यको कहानी हो। अब धेरै खुसी हुनेछौ, किनकि मबाट छुटकारा पाएको छौ।
तिम्रो परिवार सम्हाल, सुन्दर संसार बनाऊ। मलाईजस्तो तिमीसँग आएका नारीलाई नरुवाऊ। तिम्रो बाँकी भविष्य सफलताको कामना।
उही तिम्रो अभागी मान्छे।