थाहा छैन आज बिहान उठ्दा किन हो एकदमै खुसी थिएँ। मन फुर्तिलो भैरहेको थियो। मनमा छुट्टै किसिमको खुसी आइरहेको थियो। उठेँ, नुहाएँ, चिया बनाएँ अनि बिस्कुट र चिया खाएँ।
अलिक छिटो उठेछु क्यारे, बाहिर होहल्ला पनि धेरै थिएन। गर्मीको मौसम अनि बिहानको सिर्सिरे हावा निकै प्यारो थियो। एकछिन छतमा गएँ अनि छेउमा बसेँ र वरिपरि हेरेँ। के-के सम्झिँदै बसेको एक घन्टा बितेको पत्तै पाइनछु।
घाम झुल्केर पनि ताता भैसकेका थिए। मेरो शरीरमा तातो लाग्न थलिसकेको थियो। भित्र गएँ अनि एकछिन मोबाइल चलाएँ। ८:३० भएछ, खाना बनाउनु पर्यो भनी किचनतिर लागेँ। कुकर पखालेर दाल बसाएँ। फ्रीजमा हेरेको सब्जी सकिन लागेको रहेछ। केही समय अगाडि ल्याएको आलु भने त्यसै थियो।
बाहिर जान अल्छी लागिरहेको थियो। त्यसैले त्यही आलुको सब्जी पकाउँछु दुई जनालाई त हो, पुगिहाल्छ नि भन्ने सोचेँ। आलु काटेर राखेँ। बोराबाट एक अञ्जुली र अलिकति चामल निकालेँ। त्यसलाई पखालेर कुकरमा बसाएँ। दाल पाकिसकेको थियो, निकालेर त्यहाँ कराई बसाएँ र सब्जी पकाएँ।
खाना तयार भैसकेको थियो। निकै समयअगाडि बट्टामा मुलाको अचार राखेको थिएँ। त्यसलाई निकालेँ। दुई वटा थाल निकालेर पखालेँ। कचौरा निकालेँ र दुई ठाँउमा दाल, सब्जी र दही पस्किएँ। दुवै थालको छेउमा मुलाको अचार राखेँ र उहाँलाई बोलाएँ।
ढोकाबाट सिटिङ रुमतिर फर्केर 'आगमन' भनेर बोलाएँ। केही जवाफ आएन, फेरि बोलाएँ ठूलो स्वरमा 'आगमन! खाना खन आऊ न सेलाइसक्यो।'
फेरि केही आवाज आएन। रुन्चे स्वर पार्दै भनेँ, 'आगमन हाउ, भोक लागिसको भन्या छिटो आऊ न।'
अचानक भित्तामा राखेको तस्बिरमा आँखा पुग्यो। वरिपरि सबै कालो भएर आयो र के ठूलो भयानक कालो चिजले मलाई किच्यो, म बेहोस भएछु। मलाई एकदमै प्यास लाग्यो, मुख सबै सुकेको थियो। मेरो जिब्रो सबै फुस्रो भैसकेको थियो। मलाई मात्र पानी चाहिएको थियो, अरु केही होइन।
आँखा खोलेँ, भुइँमा सुतेकी रहेछु। दिमागमा पानीबाहेक अरु केही चिज आएकै थिएन, उठेर पानी खान खोजेँ तर उठ्नै सकिनँ। आफ्नो शरीर नै भारी भएको थियो। बसेर नै घिस्रिँदै गाग्रो भएको ठाउँमा पुगेँ अनि दुई घुड्की पानी खाएँ। थोरै आनन्द मिल्यो।
विस्तारै डाइनिङ टेबल समाएर उठेँ। एउटा गिलासमा भरी पानी सारेँ, घट-घट पिएँ। सम्झिएँ कि आगमनले त मलाई सपनामा पो 'तिमीले पकाएको खानेकुरा सम्झेको छु' भनेको थियो। अनि पो बिहानैबाट मन खुसी भएको रहेछ। भित्तामा त उसको फूलको माला चढाएको तस्बिर पो छ त, कहाँ बोल्थ्यो र ऊ!
कोरोनाले तीन महिनाअघि नै मबाट मेरो भगवानलाई खोसेर लग्यो। मेरो सिउँदोको सिन्दुर खोसेर लग्यो। मेरो गलाको पोते खोसेर लग्यो। मेरा हातमा लगाएका ती राता चुरा खोसेर लग्यो। मेरो ओठको हाँसो खोसेर लग्यो। मेरो चञ्चले बानी खोसेर लग्यो।
रुन थालेँ, आज तिमी भएको भए त यस्तो दिन आउँदैन थियो नि आगमन। छोडेर गएको तीन महिना भइसकेछ। सपनामा आएका थियौ र भन्दै थियौ कि मेरो हातको खानेकुरा धेरै सम्झिन्छु भनेर। तिमीलाई त मैले बनाएको खानेकुरा धेरै मिठो लाग्थ्यो होइन अनि यत्रो समय के खाएर बसेको छौ?
मैले बनाएको आलुको सब्जी तिमीलाई संसारकै सबैभन्दा मिठो लाग्थ्यो होइन? आजभोलि कसले बनाएर दिन्छ तिमीलाई? आगमन भन न, बोलन मसँग एक पटक भए नि। आगमन आऊ न यहाँ एकचोटि, देख्न मन छ तिमीलाई आउन। तिमीसँग अंगालो हालेर रुँदै मान्छेले मलाई विधवा भन्दाको पीडा सुनाउनु छ। तिम्री आमाले मेरो छोरो खाई अनि तिम्री दिदीले मेरो भाइलाई खान हाम्रो घरमा आएकी भन्दा मनमा भएको पीडा सुनाउनु छ। माइत जाँदा भाउजूले आफ्नु बुढो खाई अनि गरिखान नसकेर आएकी भन्दा मनमा परेको पिर सुनाउनु छ।
आमाले 'छोरी अब के गर्छेस्, म बुढी भएँ मरिहाल्छु। म मरेपछि तँलाई सुख हुँदैन नानी, कति अभागी रहेछस् तँ' भन्दा दुखेको मन निको हुनेगरी रुनुछ तिमीसँग। तिम्रो हातमा हात मिलाएर रमाइला कुरा गर्दै बजार जानुछ। फेरि आऊ न। अनि तिमी अफिसबाट ढिलो आयौ भनेर फेरि घुर्क्याउँदै ठुस्किएर बस्नु छ।
आऊ न प्लिज आगमन, एकपटक आऊ बरु फेरि कहिल्यै तिमीसँग झगडा गर्दिनँ। जे भन्छौ त्यही मान्छु तर आउन चाहिँ आऊ। थाहा छ, तिमी बिरामी भएको दिनदेखि आजसम्म मैले राम्रोसँग खाना खाएको छैन। म अलिअलि मोटाउँदा राम्री देखिन्छ भन्थ्यौ नि, आज हड्डीबाहेक केही छैन मेरो शरीरमा।
तिमीलाई त थाहा छ होइन ५८ किलो पुगेकी थिएँ तर आज हेरन ३८ किलो छु। मोटाएऊ, धेरै मोटी भन्थ्यौ नि, हेर आज मेरो हालत। म के गरूँ माया?
हेर मलाई, म सेतो कपडामा सजिएकी छु। तिमीले दिएका ती राता सारी दराजभित्र यसरी बसिरहेका छन् कि मानौँ कुनै ठूलो युद्ध जितेर विश्राम लिएको हो। हुन त अब तिनीहरूको विश्राम गर्नुभन्दा बाहेक अरु काम पनि त छैन।
तिमी मलाई सिन्दुर लगाउँदा खुलेको देखिन्छ भन्थ्यौ त, किन सँगै लिएर गएको त्यो मेरो सिन्दुर? अनि हेर न. तिमीले लगनको बेला लगाइदिएको हरियो पोतेको ठाउँमा एउटा सेतो मोतीमाला लगाएकी छु। तिमीले दिएका ती इन्द्रेणीजस्ता चुरा लगाउने हात हेर न आज एउटा सेतो धागोभित्र कैद छन्।
के यही थियो तिमीले मलाई देखाएको सपना? के यही थियो कि तिमीले मलाई जिन्दगीभरि खुसी राख्छु भनेर खाएको कसम? अनि तिम्रो त मसँग गोवा जाने सपना थियो हैन? खोई त त्यो सपना? तिमी त मलाई रानी बनाएर राख्छु भन्थ्यौ, यही हो तिम्री रानी?
मान्छेले मलाई पागल भै भन्छन् आगमन। सबैले दया देखाउँछन् मलाई। तिमीलाई मन पर्दैन थियो हैन कसैले दया देखाएको? ३/४ महिनादेखि राम्रोसँग स्याहार नगरेको घिनलाग्दो कपाल। मासु कसिएको भित्रका सबै हड्डी देखिने गरीको अनुहार। सेता कुर्था-सुरूवाल अनि सेतै चप्पल।
यही हो तिम्री रानी? यही हो तिमीले दिएको खुसी? म खुसी छैन आगमन, यो भेषमा मलाई खुसी लागेन। तिमी बिनाको यो घर, यो समाज, यो संसार सबै खल्लो छ।