मलाई राम्रो लाग्छ
झरी परेको बिहान
पुलबजारको उत्सव दाइको पसलमा
चियासँगै 'ह्याप्पी ह्याप्पी' बिस्कुट खान
त्यही बिहान अघिल्लो दिन टलक्क टल्काएको छालाको जुत्ता
छाताको टुप्पबाट तपतप चुहिने पानीबाट जोगाउँदै
अफिसको लागि कुद्न
मलाई राम्रो लाग्छ
मलाई राम्रो लाग्छ
भत्-भत् पोल्ने वैशाख/जेठका घाममा
जब पात पनि थकानसँग हारेर
भुइँमा छटपटिँदै लडेका हुन्छन्
तब पुलबजारमा बाला लन्च हाउस छेउको
शीतल हावा बग्ने पिपल चौतारोमा बसेर
आधा लेखेको कविता पूरा गर्न
मलाई राम्रो लाग्छ।
मलाई राम्रो लाग्छ
अल्छी भई अफिस नगाको दिन
नुहाएर भर्खर भिजेका कपालमा
ममीले तेलले मालिस गर्दा
दुई/चार फुलेका कपाल टिपी माग्न
अनि सानोमा मावलामा कुखुराका साना चल्ला चिमोट्दै गर्दा
माउ कुखुराले खेदाउँदै ठुँगेको
अनि थुप्रै उपद्रोहरू सम्झिन
मलाई असाध्यै मनपर्छ।
मलाई असाध्यै मनपर्छ
यी पहाड, अनि भन्ज्याङ
जहाँ आत्माको आवाज यी कोलाहलमा दबिँदैनन्
कुनै गन्तव्य बिना घरबाट निस्किन
बाग्दलीका कान्ला-कान्ला पहेँलै पाकेका गहुँ बारीमा
मोबाइलको ठूलो भोलुममा
तारा देवीका 'उकाली ओरालीहरूमा' सुन्दै
प्रेम गरेर पनि 'माया छैन' भन्ने उनलाई सम्झिन
हो, मलाई असाध्यै मनपर्छ।
मलाई मनपर्छ
लाख सम्झाउँदा पनि
परीक्षा सकेपछि बिहान कुद्न धोएर राखेका
मेरा गोल्डस्टार जुत्ता लाएर
भाइले आफूभन्दा छिटो झिसमिसेमा उठेर
एक चक्कर कुदेर आएको
ढिलो उठेकै बेला
ओछ्यानसम्म उसले ल्याइदिने चियामा
उसले १०% सर्भिस चार्ज कटाको
मलाई साह्रै मनपर्छ।
मलाई मनपर्छ
स्कुलमा वान टू पढेर आएकी सानी कुसुम
भोक र तिर्खाले ब्याकुल
युनिफर्म नफुकाली खाजा खाना बसेकी
मामुले होमवर्क गराउँदा
रुँदै चाचु सम्झेकी
मलाई मनपर्छ रुँदै गरेकी कुसुमलाई
फकाइफुल्याई गरी
फेरि एक पटक हँसाउन।
मलाई मनपर्छ
चिया पसलमा भेटेको
कोही अपरिचित वृद्धलाई चिया पिलाउन
उनको जवानी र बैंसका कथा सोध्न
बुढ्यौलीले सास फुल्दै गर्दा पनि
जोसिँदै भनेका उनका पल्टनका कथा सुन्न
मलाई असाध्यै मनपर्छ।
मलाई मनपर्छ
यी तमाम चिजहरू
जो, जे, जसरी, जस्तो अवस्थामा छन्
भोलि यी सबथोक परिवर्तन हुनेछन्
न पिपल रूख सधैँ त्यहाँ हुन्छ, न सानी कुसुम सधैँ उस्तै हुन्छे
न मेरा कथा उस्तै रहन्छन्
भोलि कसले देखेको छ र
त्यसैले हरेक कुरा मलाई राम्रो लाग्छ।