मेरो मनको कुनामा उत्साह जाग्न थालिसकेको छ। एकान्तमा बस्न र घन्टौँ ऐनामा हेरेर आफूलाई संसारकै सुन्दरी ठान्न थालिसकेकी छु। किशोरावस्थाको चञ्चलेपनले मनमा अनेकौँ सपना आउँछन् अनि जान्छन्।
सपना पनि किन जिस्क्याउँछन् होला है! आमाका कस्मेटिक सामग्री जुटाएर आफैलाई सजाउन अनि श्रृंगारमा रमाएर आफैलाई विश्वसुन्दरी ठान्दै संसारभरको खुसीमा उत्सव मनाइरहन मन लाग्छ।
आमाको बाकसमा भएको सबैभन्दा राम्रो सारी निकालेर लगाउन थाल्छु। यो मनमा कुनै संगीत तरंगिन थाल्छ। आफै गीत गाउँछु। शरीरमा देखिएका परिवर्तनले आफैलाई काउकुती लगाइरहेको हुन्छ। आफैसँग आफैलाई लाज लाग्ने कस्तो बेला हो यो खै कुन्नि?
आमाले बेहुली हुँदा लगाउनु भएको रे यो सारी। कुनै कुनामा थन्क्याएको पनि कति वर्ष भयो होला विचरा! लगाएको भए त म जन्मनुभन्दा अगाडि नै च्यातिसक्थ्यो होला तर जतनसाथ राखेकोले आज मैले मेरो सपना सजाउन पाएकी छु।
म आफूलाई आमाजस्तै ठान्छु। म पनि ठूली भएँ अब। सायद आमा पनि बेहुली हुँदा यस्तै देखिनु भएको थियो होला। म आफैलाई बेहुली ठान्न थाल्छु। कल्पनामा बेहुलालाई नजिकमा राख्छु अनि खै के-के सोच्न पुग्छु। ऐनामा आफूलाई हेरेर आफ्नै मन अघाउँदैन, खै के भएको हो कुन्नि?
मन खुसी पार्न पहिरन पनि आवश्यक हुने रहेछ कि यो बेला नै उस्तो हो, केही थाहा पाउन सक्दिनँ। खै किन-किन आजकाल खुसीमा फुरुक्कै परिरहेकी छु!
रंगिन सपनामा झुल्दाझुल्दै किशोरावस्थाले छोइसकेको पत्तै नपाई मलाई महिनावारी भयो। छाउगोठमा बसेर आमासँग बिताएका रातहरूले मलाई तर्साउन थाल्यो। म सम्हालिन नसकेर चिच्याएँ आ…मा…!
अचानक चिच्याएको आवाजले होला आमा म भएनेर आउनुभयो। मेरो हालत देखेर थाहा पाइहाल्नु भयो। 'ला! यो त छाउ भइछे, कोठाबाट बाहिर निस्की' भन्दै हतार-हतार बाहिर निकाल्नु भयो।
आमाले मलाई छाउगोठतिर पठाउनुभयो। आमासँग जान पाउँदा खुसी हुने म आज आफै भुक्तभोगी भएर जाँदा कति फरक महसुस गरेँ। नियमित जाने छाउगोठले पनि आज मलाई गिज्याएजस्तै लाग्यो। आफैलाई लाज र डर एकैसाथ लाग्यो तर त्योभन्दा बढी आफैलाई आफ्नो जिन्दगी भारी लागेर आयो।
साँझ झमक्क पर्न लागेकोले मनमा डर पालेर छाउगोठको कुनामा कुक्रुक्क परेर बसेँ। छाउगोठका भित्ताका ढुङ्गाले मलाई शरीरभरि किचेर बेस्सरी हाँसेजस्तै लाग्यो। सास फेर्न पनि उकुसमुकुस गोठभित्र खाँदिएर बस्दा मैले जीवनमा कति धेरै दुष्कर्म या पाप गरेछु जस्तो लाग्यो अनि फेरि स्कुलमा पढेको पाठको याद आयो- महिनावारी हुनु प्राकृतिक कुरा हो, यसमा कुनै पाप वा धर्म जोडिएको हुँदैन।
झमक्क साँझ परेको बेलामा आमाले खानेकुरा ल्याएर अलि परै राखिदिनुभो र खा भन्नुभो। हिजोसम्म आमाको काखमा लुटुपुटु गरेर ममताको ओड्ने ओडेर संसार जितेकी म आज आफ्नै आमाबाट पनि यति टाढा किन आइपुगेँ खै थाहा नै पाइनँ। दूध/दही बिना खाना नखाने म आज एक्कासी आमाले ल्याइदिनुभएको सुख्खा रोटी खानु पर्दा मनमा केही भारी चिजले थिचेजस्तै भयो।
आमाले भोगेको नियति पनि त यस्तै थियो नि तर आमा कहिल्यै पनि बोल्नु हुँदैन थियो। वर्षौंदेखि नियति ठानेर चुपचाप सहनु भएछ, अहिले आफूलाई परेपछि मात्र महसुस भयो।
'नडराई बस्' भन्दै आमा घर जानुभयो। मेरो मनमा एकान्तको त्यो अनकन्टार छाउगोठ भूतजस्तै बनेर तर्साइरह्यो। रातभर एकान्त कुनामा भरोसा केही नभएको उजाड जिन्दगीलाई सम्झाउँदै महिनावारी खोलो बनेर बगिरहेको छ- मलाई झस्काउँदै, मलाई सम्झाउँदै। सायद मेरो मानसपटलमा ठ्याङ्ग्रो बनेर मलाई जिस्क्याएर अनि मेरो खिल्ली उडाएर।
पढेर जानेको कुरा पनि कहाँ सजिलै आफ्नो व्यवहारमा उतार्न सकिँदो रहेछ र? न मैले आमालाई सम्झाउन सकेँ, न आफैले आफूलाई परिवर्तन गर्न सकेँ। केवल मनमा कतै डर अनि कतै भरोसा साँचेर रातभर कुनामा बसिरहेँ।
मेरो योनीबाट बगेको रगतको धाराले मलाई आफ्नै दुनियाँमा सोच्न बाध्य बनायो। बयान गरेर गर्नै नसकिने अनुभूति दिलायो। सुखको हो कि दुःखको हो केही पत्तै नपाउने गरी जिन्दगीको समय बगाउन बगिरह्यो। लगाएको प्याड भिजिसकेको थियो तर अर्को फेर्नका लागि मसँग केही थिएन।
त्यही भिजेको कपडाको टालोको भरमा म रातभर छटपटाइरहेँ। जब-जब मेरो शरीरबाट रगत बगेको आभाष हुन्थ्यो तब-तब म झस्किन्थेँ छाँगाबाट खसेजसरी। मनमा डर लाग्नुभन्दा पहिले सचेत हुने हो तर डर लागिसकेपछि दुनियाँको कुनै भरोसा वा औषधिले पनि काम गर्न सक्दैन रहेछ। रात बढ्दै जाँदा म डराएर नै अर्धचेत अवस्थामा पुगिसकेकी थिएँ। रातसँग कि खै केसँग डराएँ कुन्नि थाहा नै पाइनँ तर मनमनै मैले मेरो चाहनाको छाउगोठ देखेँ-
'तपाईंलाई यो स्थानमा हार्दिक स्वागत छ' लेखिएको रंगिन ब्यानर एक भव्य भवनको अगाडि गेटैमा टाँगिएको छ। गेटको दायाँबायाँ दुवैतिर मुस्कुराउँदै बसेका छन्- आमा र बाबा।
'यो स्वर्गीय भूमिमा स्वागत छ' भन्दै गलामा किशोर र किशोरीले फूलका माला पहिर्याइदिन्छन् अनि अलि अगाडिबाट एक हुल केटाकेटीले तालीको आवाजसँगै जीवनको यौवनावस्थामा प्रवेश गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिन्छन्।
मेरो असजिलोपनलाई भगाउँदै मेरै उमेरका साथीहरूले हातमा समाएर नजिकै रहेको धारामा लगेर हातखुट्टा धुन सहयोग गर्छन्। धारामा स्वच्छ पानी अनि साबुनको व्यवस्थापन देखेर मन यसै रमाउँछ। भित्रपट्टि कोठाबाट सुमधुर गीतको ध्वनी आइरहेको छ, सुन्दै आनन्द लाग्ने।
किशोर वयका कोही संगीहरू एकअर्कासँग हात समाएर कम्मर मर्काइ-मर्काइ नाचिरहेका छन्। कोही आधुनिक लाइब्रेरीमा विभिन्न किसिमका कथा, कविता, उपन्यास तथा विभिन्न प्रकारका किताबहरू पढिरहेका छन्। कोही टेलिभिजनका पर्दामा आफूलाई मनपर्ने चलचित्रहरू हेरिरहेका छन्, कोही आफूलाई मनपर्ने खेलहरू खेलिरहेका छन्। सबै स्वतन्त्र, सबै खुसी, सबै दङ्ग।
मलाई उकुसमुकुस भइरहेको छ। दायाँबायाँ हेर्छु, एउटा ट्वाइलेट देख्छु अनि हतार-हतारमा त्यतातिर पस्छु। भित्र जानेबित्तिकै सबै शरीर देखिने ऐनामा आफूलाई अलमल्ल परेको आफ्नै छाया देखेपछि पो मेरो हालत देखेर आफै तर्सिएँ। लामो-लामो सास फेरेर आफूलाई शान्त पारेँ।
त्यहाँ राखिएका प्याडहरू, व्यवस्थापन गर्ने तरिका देखेर मख्ख परेँ। प्याड कसरी लगाउने भन्ने भिडिओ सामग्री पनि त्यही देखेँ र त्यसमा देखाएजस्तै गरी आफूलाई सरसफाई गरी व्यवस्थित भएर बाहिर साथीहरू भएको ठाउँमा गएँ। अलमलिएको जस्तो देखेर होला एकजना साथीले मलाई हातमा समाएर साथीहरूको बीचमा लगेर परिचित गराइदिइन्।
'उनी सपना। उनी पनि आजबाट यो किशोरावस्थाको सुरुआत गर्दै हामीजस्तै भएकी छन्। उनलाई आजको यो उल्लासमय दिनमा हार्दिक स्वागत गरौँ।' यति भन्दा भन्दै ताली पटटटटटट बजाएर मलाई टिममा स्वागत गरे, म खुसीले गद्गद् भएँ।
'तिमी यहाँ मन लागेको स्थानमा जान, मन लागेको खाना खान, मन लागेको किताब पढ्न तथा मन लागेको खेल खेल्न सक्छौ। यहाँ कुनै पनि छेकवार छैन। तिमीलाई अनुभूति भएका फरक अनुभवहरू पनि साथीसँग साट्न सक्छौ। कुनै समस्या भयो भने पनि तिमी खुलेर बोल्न सक्छौ। तिमी आफ्नो पहिलो महिनावारी उत्सवलाई जीवनभर सम्झनलायक बनाउन सक्छौ।
महिनावारी किन र कसरी हुन्छ भन्ने कुराको भिडिओ सन्देश देख्न सक्छौ। यो संसारमा तिमीमात्र होइनौ महिनावारी हुने। संसारभरिका सबै केटीमान्छेहरू किशोरावस्थामा पुगेपछि हुने मासिक चक्रका बारेमा तिमी बुझ्न सक्छौ। आफूले आफूलाई गर्व महसुस गर्न सक्छौ अनि तिमी हामीसँग मनमा लागेका कुरा सोध्न र खेल्न पनि सक्छौ' भन्दै कोही साथीहरूले मलाई भन्दै थिए।
कोही खाना बनाउँदै थिए त कोही खेल्दै थिए। साथीहरूले हात समाएर टिभी हेर्ने कोठातिर लगे। म त्यहाँ हाम्रो शरीरमा भएको विकास र परिवर्तनका बारेमा भिडिओ हेरेर मख्ख पर्दै थिएँ। नियमित मासिक चक्रका बारेमा जान्दै थिएँ अनि आफैलाई भाग्यमानी ठान्दै थिएँ।
महिनावारीका बारेमा र यसको स्वच्छताबारे जानेर यो कुनै पाप या धर्मसँग जोडिएको विषय होइन, यो नियमित र प्राकृतिक रुपमा हुने पवित्र प्रकृया जुन जीवनलाई अगाडि बढाउन र यो धर्तिको निरन्तरताका लागि अपरिहार्य छ। यसबाट नै सुन्दर जीवनको सुरुआत हुन सक्छ भन्ने बुझेर म पनि अरुजस्तै सिकाउन थाल्दै थिएँ।
'ल, यो त अझै उठेकी रहिनछ त!' भन्दै आमाले बोलाएको आवाजले झस्किएँ।
आमाका हातमा रहेको कपडाको टालो समाएर पर खोल्सामा रहेको धारामा गएर सरसफाइ गरी आफूलाई व्यवस्थित गरेँ अनि सपना र विपनाको दोसाँधमा रहेर परिवर्तनका लागि संघर्ष गर्ने निधो गरी धाराबाट सिधैँ घरतर्फ लागेँ।
आमा कराउँदै हुनुहुन्थ्यो- 'घरमा जानु हुँदैन देउता रिसाउँछन्, अनिष्ट हुन्छ।'
'आमा केही हुँदैन रे! देउतालाई अघि मैले धारामा भेटेको,' मैले आमालाई भनेँ।
'उहाँले मलाई सिधैँ घरमा गएर बस म रिसाउदिनँ भन्नुभएको छ। अनि तपाईंलाई पनि सोध्दै हुनुहुन्थ्यो। अबदेखि तपाईं पनि छाउगोठ नबस्नु रे। त्यहाँ त गाईगोरु बस्ने ठाउँ हो रे। मान्छे बस्दा उनीहरू पो रिसाउँछन् रे।
सर्प, विच्छि मात्र होइन त्यहाँ त मानिस पनि मुकुन्डो लगाएर लुट्न आउँछन् रे आमा। हाम्रो घर हामी नै बस्न नमिल्ने कहिल्यै हुँदैन रे। भगवानले कहिल्यै पनि छाउगोठ जानुपर्छ भनेर भन्नु हुन्न रे आमा। फोहोर गोठमा बस्दा विभिन्न रोग पनि लाग्छन् रे।
सफा भएर घरमा बस भन्नुभाछ के। अनि खानेकुरा पनि सबैथोक खान मिल्छ रे। हामीलाई हरेक असुरक्षाबाट बचाउनका लागि बनाएको घरमा हामी यस्तो बेलामा किन बस्न नहुने हँ? जनावरहरू चाहिँ सधैँ बस्न हुने तर मान्छे चाहिँ किन नहुने भनेर सोध्नु भयो। मैले त जवाफ पनि दिन सकिनँ।'
आमाले के-के भन्दै हुनुहुन्थ्यो कुन्नि? म आफ्नो घरमा सधैँ सुत्ने कोठामा पुगेर मेरो स्कुलको किताबमा पढ्ने पाठ- प्रजनन स्वास्थ्य र हाम्रो अधिकारका बारेमा पढेर गहिरिएर बुझ्ने प्रयास गर्दै थिएँ।
मेरो भाइले मलाई जिस्क्याउँदै थियो। मैले हाँसेर टारिदिएँ अनि खुसीले अँगालोमा बेरेँ। हाम्रो हाँसोमा बुबा पनि मुस्कुराउँदै हुनुहुन्थ्यो। आमा कहिले मलाई त कहिले बुबालाई हेरेर अलमल्ल पर्दै घरभित्र पसेर खाना बनाउन थाल्नु भयो।
म ढुक्क भएँ। आमाले मलाई कौतुहलताका साथ हेर्दै भन्नुभयो- 'तैँले साँच्चै भगवान भेटिस्? कस्तो हुनुहुन्थ्यो हँ?'
मैले खिलखिलाएर जवाफ दिएँ, 'ठ्याक्कै तपाईंजस्तो, मायालु।'