तिमी आफ्नो भाइलाई स्वकीय राख्ने निर्णय नगर्नू, मैले मेरो सालोलाई ड्राइभर भर्नाका लागि प्रस्ताव राख्ने प्रसंगै भएन। किनकि हामी गाडीको सुविधा प्रयोग गर्दैनौँ। इन्धनको चरम मूल्यवृद्धिलाई आफैबाट निरुत्साहित गर्नुपर्छ।
तिमीले दुवै छोराहरूलाई समानुपातिक ढङ्गबाट व्यवहार गर्नू, घरपालिकाको बैठकमा उनीहरूलाई पनि समावेश गराउने प्रस्ताव पेश गर्न चाहान्छु। उपमेयर भन्ने बित्तिकै महिला सम्झने यो समाजमा तिमी मेयर भएर उदाहरणीय कार्य गर्नू।
तिमी घरपालिका मेयर अनि म उपमेयर। प्यानल एउटै, निर्विरोध विजयी। खासै आश्वसन दिनु नपर्ने, ठूलो खर्च पनि गर्नु नपर्ने, घोषणा पत्र र विकासका मुद्दामा पनि मेल खाने। दुवैले एउटै परिवारको हकहितका लागि काम गर्ने, आऊ सहकार्य गरौँ। वर्षौंवर्ष एक भई कार्य गर्ने प्रतिद्धता व्यक्त गरौँ।
न त झण्डा न त कुनै प्रचार सामाग्री, न त मासुभात र चुनावी प्रचार न त कसैलाई पेट्रोल हालिदिनु पर्ने। न त भत्ता नै टक्र्याउन पर्ने, न चुनावी खर्च व्यवस्थापनमा घडेरी बेच्नुपर्ने। न कार्यकर्ता जम्मा पारी घोक्रो फुलाउनु पर्ने न त उमेद्वारको मुहार सुकाउनु पर्ने। न त घरदैलो न झुटा आश्वासन, न त गठबन्धन गर्नुपर्ने, न कसैलाई आरोप प्रत्यारोप गर्नुपर्ने।
आऊ, उम्मेदारी दर्ता गरौँ। प्रस्तावकमा तिमीले ठूलो छोरालाई राख, म सानो छोरालाई राख्छु। समर्थन हामी एकले अर्कालाई गरौँ। जताततै महिला उपमेयर भएकोमा तिमी मेयर भएर उदाहरण बन्नू, म तिम्रै उपमेयर भएर रमाउने छु।
मेरो प्रस्तावमा उनी तयार भइन्, मलाई उनको समर्थन मिल्यो।
तिमी र म निर्वाचित भएपछि केही समय निकालेर योजना बनाउँला। पूरै पेसा छाडेर यसैमा रमाउन त गाह्रो हुन्छ हामीलाई किनकि एउटा घरपालिकाको समृद्धि, उन्नति र विकास गर्न सम्पूर्ण समय आवश्यक हुँदैन र हामीले सो संचालन गरेबापत कुनै अतिरिक्त सुविधा पनि लिनेछैनौँ।
घरपालिका संचालन गर्ने क्रममा घरप्रतिनिधि बापत कुनै भत्ता नलिने कुरा आज नै घोषणा गरौँ।
म बच्चालाई खाना खुवाउँदै प्रस्ताव पेश गर्छु, तिमी रोटी सेक्दै प्रस्ताव स्वीकृत गर्नू। तिमी वासिङ मेसिनमा कपडा हाल्दै मलाई आदेश दिनू, म बच्चालाई स्कुलका लागि तयार गर्छु।
तिमीले पूजाको घण्टी टिङ्ग बजाएपछि मैले तिम्रा लागि चिया तयार पार्छु। तिमी अफिस अनि बाबुहरूको स्कुलको तयारी गर्दैगर्दा म किचनमा खाना तयार गर्दै खाजाको लागि राय माग गर्दछु र तिमी सुझाव पेश गर्नू, त्यही सुझावको आधारमा मितव्ययी र समावेशी ढङ्गको खाजा प्याक गरिदिन्छु।
तपाईं मेयर बन्नु, म उपमेयर बन्छु भन्थौ तिमी। छोरो पनि अचम्म मान्दै सोध्थ्यो- 'बाबा, तपाईं किन मम्मीभन्दा जुनियर?'
अझ सानो छोरालाई त मनै नपरेको रे म उपमेयर भएको। 'उता टोलतिर तपाईंको कुरा काट्दै थिए, तपाईं मम्मीको अन्डरमा बसेको रे,' उसले टोल छिमेकमा कुरा गरेको सुनेछ।
विचरा सानै छ, धेरै कुरा बुझ्दैन। नारी सशक्तिकरण, समान व्यवहार, समान अधिकार, नारीलाई नेतृत्वकारी भूमिका आदि बारे उसले कैले सुनेको छैन, जान्ने त कुरै भएन। 'मम्मीको अन्डर हैन बाबु, एकअर्काको परिपूरक हो। एउटा रथको दुई पाङ्ग्राजस्तै।'
कुरा भुइँमा झर्न नपाउँदै उसले फेरि प्रश्न तेर्सायो, 'बाबा, रथ भनेको के हो?'
मैले एउटा गाडीजस्तै हो बाबु भनेँ।
'गाडीको पनि दुईटा पाङ्ग्रा हुन्छ त?' उसको त्यो कौतुहलता देखेर म फेरि नम्र हुँदै उत्तर दिएँ, 'साइकलजस्तै हो बाबु।'
'बाबा, मलाई साइकल किन्दिनु न' भन्दै रुन थाल्यो। उसले हल्ला गरेको सुनेर ठूलो बाबु पनि 'मैले अस्तिनै गियरवाला साइकल किनदिनु भनेको हो, खोई त किन्देको? मम्मी तपाईं मेयर हैन र? तपाईं त किन्दिनु, मेरो साथीको बाबा गाउँपालिकाको मेयर हुनुहुन्छ, उसलाई त कस्तो मोटो पाङ्ग्रा भएको गियरवाला साइकल किन्दिनु भाछ।'
उसको कुरा सुनेर म हेरेको हेरै भएँ। मम्मीले सम्झाउन खोज्दै थिइन्, 'बाबु, गाउँपालिका चलाउने सरकारी बजेट हुन्छ, हाम्रो घरपालिका आफै कमाएर चलाउने हो।'
'बजेट भनेको के हो बाबा?' नबोलेको देखेर उसले मलाई नै प्रश्न गर्यो।
'पैसा हो पैसा।'
'अनि गाउँमा पैसा हुने, घरसम्म नआउने त्यो पैसा कता जान्छ त? त्यो केका लागि देको त सरखारले?'
यो प्रश्नलाई प्रष्टाउने मसँग कुनै शब्द थिएन, 'बाबुहरू किचनमा आऊ, मैले तिमीहरूलाई मिठो खाजा बनाइदिन्छु' भन्दै किचन तिर लागेँ।
किचनमा झ्वार्र आवाज आएको सुनेर पल्तिरको अन्टीले झ्यालबाट चियाउँदै सोध्नुभयो, 'बाबु, नानी छैनन् र? आफै खाना बनाउन लाग्नु भो।'
'छन्, भित्र आराम गर्दैछिन्,' मैले यति भनेँ।
खाना बनाउँदा त अनौठो मान्ने ती अन्टीलाई उनी मेयर अनि म उपमेयर भन्ने थाहा पाउँदा कस्तो अचम्म लाग्ला! सोचेर एकैछिन हाँसो लाग्यो।
बिहानै झिसमिसेमा बाहिर बरन्डामा झाडु पोछा लगाउँदै गर्दा मर्निङ वाकमा निस्केकी पल्लो टोलकी बजैले ज्यादै अचम्म मान्दै सोध्नु भाथ्यो, 'बाबु, नानी छैनन् र? आफै पोछा लाउनु भाछ।'
'हैन, उनी उठिछैनन्।'
मेरो जवाफ सुनेर ती बजैको मनमा कति रेक्टरको भुइँचालो गयो होला, कसो-कसो थामिँदै अगाडि बढ्नु भयो।
यताउता गर्दैगर्दा बाबुको स्कुलको मिस होम भिजिटमा आउनु भएको रहेछ। बसेर स्कुल र पढाइको बारेमा दुई/चार वटा प्रश्न सोध्नुभयो। जवाफ पाइसकेपछि उहाँ निस्कन थाल्नु भयो। मैले चिया बनाउँछु, चिया खाएर जानु भन्ने अनुरोध गरेँ।
उहाँले 'मेडम हुनुहुन्न रैछऽ अब हजुरले कहाँ चिया बनाउनुहुन्छ सर अर्को दिन मेडम भएको बेला चिया खाउलाँ' भन्दै उहाँ बाहिर निस्कनु भयो। बिहान उनीले वासिङ मेसिनमा राखेको कपडा तयार भएछ। म कपडा सुकाउन छततिर गएँ।
कपडा सुकाउँदै गर्दा पछाडिको घरको बहिनीले प्रश्न राखिन्, 'अंकल, अन्टी हुनुहुन्न र? आफै कपडा सुकाउनु भछ त!'
म केही नबोलि हल्का मुस्कान मात्र छाडेँ। मैले धेरै बेरसम्म सोचेँ ती बजै, ती अन्टी, ती जवान मिस अनि ती भर्खर किशोरावस्थामा प्रवेश गर्दै गरेकी बहिनी। सबैको विचार उस्तै। घरको काम त महिलाले मात्रै गर्नुपर्ने, पुरुषले गर्दा त कसो-कसो इज्जतै जालाझैँ!
महिला माथि भेदभाव भयो, पछाडि परे भन्दै अधिकारका लागि लड्ने टोलीको चाहिँ सोच कस्तो होला? हेर्न मन लाग्यो, त्यति कुरा मनमा खेलाउँदै कपडा सुकाउँदै थिएँ तलबाट कसैले बोलाएको आवाज सुनेँ र तल झरेँ। हाम्रै टोलकी तिवारी दिदी आउनु भएको रहेछ।
तिवारी दाइसँग राम्रै चिनजान भए पनि दिदीलाई केही हप्ता अगाडि चिनेको। उहाँको घरमा लफडा परेको थियो। घरमा काम गर्न नाबालक राखेको अनि यातना दिने गरेको भनेर अलि बढी नै हल्लिचल्ली भाथ्यो। ३-४ जना बालिकाहरूलाई घरायसी काममा राख्ने गरेको देखिएको भन्ने कुरा वल्तिर पल्तिरका छिमेकीहरूबाट पनि जानकारी हुन आएको थियो।
दिदी त स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदको उमेद्वार हुनुहुँदो रहेछ। भोट माग्न र सहयोगको लागि आउनु भएको रैछ।
'हस् दिदी, तपाईं आफ्नै टोलको मान्छे भोट त अवश्य नै दिने' आश्वासन दिलाएँ।
'नानी खै त?' दिदीले प्रश्न गर्नुभयो।
'नानी छततिर फूल बिरुवामा पानी हाल्दैछिन्' मैले तुरुन्तै जवाफ दिएँ, 'के गर्नु दिदी, दुवैजना जागिरे काम धेरै छ भ्याउँदै भ्याइँदैन।'
मेरो कुरा भुइँमा झर्न नपाउँदै दिदीले फेरि जिज्ञासा प्रस्तुत गर्नुभयो, 'धेरै कमाएर के गर्नु बाबु मरेर लाने हैन, काम गर्ने मान्छे राख्नू।'
'हैन दिदी, मिलेर गरेकै छौँ। उनी बाहिर गर्दा म भान्सामा काम गर्छु, उनी भान्सा छिर्दा म अरु काम गर्छु, चलेकै छ। भनेजस्तो काम गर्ने मान्छे कहाँ पाउँछ र दिदी?' म पनि अलि आशावादी बन्दै जवाफ फर्काएँ।
'म कुरा गरौँ त? हाम्रो सरको कन्ट्याकमा साना-साना केटीहरू छन्, तलब पनि दिनु पर्दैन, खाना खान दिए हुन्छ।'
मैले 'सल्लाह गरौँला दिदी' भनेँ। तर मन जिरिङ्ग भयो। साना बच्चालाई कसरी काम गराउन सकेका होलान्?
दिदीले जानेबेला एउटा कागज हातमा थमाउनु भयो। सरसर्ती हेर्दै गएँ। बुँदा नम्बर ९ मा चाहिँ महिला सशक्तिकरण, समान व्यवहार, लैङ्गिक समानता बालअधिकार सुनिश्चित गर्ने भन्ने एजेन्डा देखेँ। त्यो त उहाँको चुनावको घोषणा पत्र रैछ। अनि अघि मेरो मनमा उब्जिएको प्रश्नको उत्तर यसैमा भेटेँ मैले। अधिकारकर्मी फलानो, ढिस्कानो भन्ने त सबै नारा र चर्का भाषणमा मात्र सीमित रैछ, व्यवहारमा त अर्कै हुने रैछ।
तर म चाहिँ अलि फरक खालको विचार राख्ने मान्छे हो। लिङ्ग र लैङ्गिकतामा कुनै भेदभाव देख्दिनँ, कामको प्रकृति र कामको बाडँफाड परिवारमा एकआपसमा मिलेर गर्न सकिन्छ। कुनै काम पूर्वनिर्धारित रुपमा यसले गर्ने भनेर आएको हैन, त्यो त समाजले निर्धारण गरेको हो।
म केही उदाहरणीय कार्य गर्न चाहन्छु। मलाई बच्चा जन्माउन र दूध चुसाउने कामबाहेक हरेक महिलाले गर्ने काम गर्न सक्षम छु जस्तो लाग्छ र गर्ने पनि गरेको छु। हरेक महिलालाई प्राथमिकतामा राख्नुपर्छ, अवसर दिनुपर्छ, सहयोग र उत्प्रेरणा प्रदान गर्नुपर्छ। त्यसो गरिएको खण्डमा महिलाहरूले धेरै उल्लेखनीय कार्यहरू गर्न सक्छन् भन्ने देखाउन चाहन्छु।
त्यसैले त मैले उनलाई सुखीशान्त घरपालिकाको मेयरमा समर्थन गरेको। सुन्दैछु नमुना टोलका अधिकांश घरपालिकाहरूमा हाम्रो बारेमा कुरा हुन्छ रे। धेरै घरपालिकामा महिलाहरू घरपालिका मेयरमा निर्विरोध निर्वाचित हुने सम्भावना छ रे। अझ खुसीको कुरा त तिवारी दाइदिदीले घरमा काम गर्ने नानीहरू विद्यालय भर्ना गरिदिनु भयो रे, अब घरको काम दाइ दिदी मिलेर गर्ने रे।
हाम्रो टोलमा धेरै परिवर्तन हुँदैछ। तपाईंको तिर चाहिँ कस्तो छ? तपाईंहरू पनि सुरु गरिहाल्नुस् है! घरपालिका समृद्ध, घरपालिकाका सदस्यहरू सुखी र खुसी नभई राष्ट्र कहिले समृद्ध हुँदैन र जनता कहिले खुसी र सुखी हुँदैनन्। त्यसैले आजैदेखि समृद्ध घरपालिका निर्माणमा सहकार्य गरौँ।